श्री कुञ्ज होमस्टे एक प्रकारको सुविधासम्पन्न आधुनिक पाहुना घर हो। शान्त, आनन्दको ठाउँमा केही दिन बसेर कोही नवीन सृजनाको चिन्तन, मनन गर्न चाहन्छ या रचनात्मक कार्यको लागि बस्ने उपयुक्त स्थलको खोजीमा छ भने त्यो यो होमस्टे हुन सक्छ।
-द्रौपदी अर्याल
‘शाकाहार जीवनको आधार’, ‘पशुबलि धर्म होइन यो भनाइ हो वरिष्ठ संस्कृतिविद् एवं समाजसेवी डा. गोविन्द टण्डनको। पशुपतिक्षेत्र विकास कोषको गठनदेखि पटक पटक गरेर झण्डै एघार वर्ष त्यहाँको संरक्षण, सम्वर्द्धन एवं विकास-निर्माणमा प्रत्यक्ष संलग्न भई अनुभव हासिल गर्नुभएको छ। उहाँ नेपालका कतिपय धार्मिक,सामाजिक संघ-संस्थाको जन्मदाता पनि हुनुहुन्छ।
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय शिक्षण विभागमा झण्डै उन्नाइस वर्ष अध्यायपन गर्नु भयो। सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) का स्रष्टा एवं त्यही संस्थाको मातृत्वमा सञ्चालित मानवसेवा आश्रमको प्रमुख संस्थापक एवं प्रमुख संरक्षक हुनुहुन्छ डा. टण्डन। सयौँ युवाहरूलाई समाजसेवाको क्षेत्रमा उत्प्रेरित गरेर मात्र होइन, युवा नेतृत्वलाई हौसला दिएर सडकआश्रित, सहयोगापेक्षीहरूको खाना, नाना, छाना र औषधोपचारमा सात प्रदेशको सोह्र जिल्लाको छब्बीस ठाउँमा मानवसेवा आश्रम वर्तमानमा सञ्चालनमा छ।
डा. गोविन्द टण्डनको धर्म-अध्यात्म, इतिहास, पुरातत्त्व विषयमा दुई दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। “आफू पनि बाँचौँ अरू पनि बाँचून्” भन्ने आदर्शलाई लिएर प्राणी जगत् लगायत प्रकृतिको संरक्षण अभियानमा समर्पित हुनहुन्छ। वि.सं. २०४८ मा पशुपक्षीप्रति निर्दयता रोकावट समाज गठन गरेर पशुपक्षीको हित तथा कल्याणको लागि चेतना जगाउने काम संस्थागत रूपबाट नेपालमा पहिलो पटक प्रारम्भ भयो। अहिले पनि घाइते बेसहारा गाई, नन्दी, कुकुरहरूको सेवाकार्यमा उक्त संस्था क्रियाशील छ। अनेकौँ अभियन्ता एवं स्वयमसेवकहरू रातोदिन खटिइरहेका छन्।
त्यसैगरी वि.सं.२०६४ मा ‘पशुबलि निषेध चेतना अभियान’ को माध्यमबाट धर्मको नाउँमा अबोध, निरीह पशुपक्षीलाई बलि दिनु, भागल गर्नु कुनै पनि दृष्टिकोणले धर्मसंगत छैन भनेर देशव्यापी चेतना जगाउने काममा पनि सक्रिय हुनुहुन्छ।यो अभियान आजको नेपाली समाजको लागि नवीन मान्यता बनेर कैयन्ले आफ्नो घरमा, मन्दिरमा हुने गरेको हिंसापूर्ण पशुबलिलाई छोडेर सात्त्विक जीवनयापन गरेर जीवन धन्य बनाएका छन्।
डा. गोविन्द टण्डनकै मार्गदर्शनमा काठमाडौँको बत्तीसपुतलीमा श्री कुञ्ज होमस्टे सञ्चालनमा आएको छ। यसको प्रमुख विशेषता भनेको शुद्ध शाकाहार र भिगन खानेकुरा हो। होमस्टेको उदेश्य व्यापारभन्दा पनि शाकाहार अभियानलाई व्यावहारिक रूपमा जनसमक्ष ल्याउनु हो।यसबाट हुने मुनाफा मानवसेवा आश्रम र पशुपक्षीप्रति निर्दयता रोकावट समाजको विभिन्न सेवा कार्यमा लगाउने योजना रहेको पनि बताउनु भयो।
श्री कुञ्ज होमस्टे एक प्रकारको सुविधासम्पन्न आधुनिक पाहुना घर हो। शान्त, आनन्दको ठाउँमा केही दिन बसेर कोही नवीन सृजनाको चिन्तन, मनन गर्न चाहन्छ या रचनात्मक कार्यको लागि बस्ने उपयुक्त स्थलको खोजीमा छ भने त्यो यो होमस्टे हुन सक्छ।साथै शिक्षक, विद्यार्थी र स्वदेशी, विदेशी पर्यटकहरूको लागि पनि स्वच्छ, स्वस्थ र शान्त ठाउँको चाहना हो भने यो होमस्टे उपयुक्त ठाउँ हुन सक्छ।विद्यार्थीको शोधपत्र, अनुसन्धानग्रन्थ, सरकारी कर्मचारीको अध्ययन प्रतिवेदन तयार गर्नको लागि पनि यो अनुकूलको ठाउँ रहेको छ।
श्री कुञ्ज होमस्टे प्रवन्धक विकेश श्रेष्ठ भन्नुहुन्छ- हामीले यस होमस्टेमा प्राकृतिक सुन्दरताको महत्त्वलाई त्यत्तिकै ख्याल राखेका छौँ। साँच्चै नै कुञ्ज अर्थात् बगैँचाको सौन्दर्यलाई बुझेर यहाँको हरियाली र फूल-बिरुवालाई स्याहार-सम्भार गरेका छौँ।शहरको बीचमा भए पनि वन-कुञ्जको अनुभूति हुन्छ यहाँ बस्दा। खानेकुराहरू सबै नेपाली परिकारहरू हुनेछ। होमस्टेमा बस्नेले आफै पकाएर खान चाहेमा सबै आवश्यक सर-सामाग्री व्यवस्था छ। त्यसो भए पनि होमस्टेको क्याफेमा अर्डर गरेर बिहान-बेलुकाको खाना तथा खाजा खान सक्ने व्यवस्था छ।माछा, मासु, रक्सी, चुरोट, बियर होमस्टेमा निषेध गरिएको छ।त्यसैले एक प्रकारको सात्त्विक आनन्द र पारिवारिक वातावरणको रस्वासादन यो होमस्टेमा गर्न पाइन्छ।

भगवान् श्रीपशुपतिनाथको मन्दिरकै सान्निध्यमा बत्तिसपुतलीको प्रसिद्ध श्रीरामचन्द्रमन्दिरको छेउमै, त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल नजिक रहेकोले तीर्थयात्रीहरूको लागि समेत भोलि गएर यो पायक पर्ने होमस्टे हुनेमा विश्वस्त रहेको कुरा प्रबन्धक विकेश श्रेष्ठ बताउनुहुन्छ।

केही दिन अगाडि मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे झण्डै डेढ महिना यहीँ होमस्टेमा बसेर पश्चिम नेपालको जनजीवनसम्बन्धी नयाँ कृति तयार पार्नुभएको छ, जुन केही समयपछि लोकार्पण हुँदैछ। यहाँ केही समयका लागि शान्त, आनन्दसँग बसेर केही सृजना गरौँ भन्नेहरूका लागि तथा स-साना बैठक, साथीभाइबीचको भेटघाटको लागि पनि उपयुक्त छ।यहाँ भएको पुस्तकालयले कैयौँको अध्ययन-अनुसन्धानलाई सहयोग पु-याउन सक्छ।

निकट भविष्यमा शाकाहारी खानाका विविध परिकारसम्बन्धी तालिम तथा केही दिनको कक्षा सञ्चालन हुने कार्यक्रम रहेको छ।
यो नयाँ सोचको साथ आएकोले बुझ्न/ बुझाउन समय लाग्ला तर धेरैको प्राकृतिक जीवन शैलीको अभ्यास गर्ने चाहना हुने स्वभाव भएकोले छिटै नेपालमा यसले आफ्नो गति लिने विश्वास प्रवन्धक विकेश श्रेष्ठ लिनु हुन्छ।

मठ-मन्दिर र धार्मिक स्थलले भरिभराउ भएको नेपालमा सात्त्विकतालाई प्रोत्साहन गर्नको लागि सानै भए पनि यो एउटा कोशेढुङ्गा हो भन्ने लाग्छ भन्ने विचार डा. गोविन्द टण्डनको छ। तीन वर्षभित्र नेपालको पर्यटकीय गन्तव्यहरूमा दुई सय कोठासम्मको श्रीकुञ्ज होमस्टे विस्तार गर्ने लक्ष्य रहेको र यसमा रुचि राख्नेहरू सम्पर्कमा आइरहेको पनि बताउनु भयो।