10.1 C
Kathmandu
December 2, 2021
सम्पादकीय

पत्रकारिता र प्रतिबद्धता

समाजको परिवर्तनसँग पत्रकारिताको पनि परिवर्तित परम्परा निर्माण भएको छ । उद्देश्य र मान्यता उही भए पनि सामाजिक परिवर्तन र विज्ञान प्रविधिका विकासले पत्रकारिताका स्वरूप र माध्यममा पनि क्रमिक परिवर्तन भएको छ ।

द्रौपती अर्याल

पत्रकारिता समाजको एक अभिन्न अङ्ग हो । यो सत्य तथ्यसँग जोडिएको हुन्छ । यसको उद्देश्य सन्तुलित तथ्यको प्रस्तुति हो । सन्तुलित र सकारात्मक तथ्यलाई समाजसँग जोड्दा नै समाजमा सकारात्मक परिवर्तन देखिन्छ । पत्रकारिता सामाजिक पहरेदारीको आधार होे । समाजमा भएका अन्याय, अत्याचार, अपराध, आदिका विपक्षमा रहने र न्यायपूर्ण समतामूलक समाजका पक्षमा पत्रकारिताको उद्देश्य जोडिएको हुन्छ । सत्यलाई नजिकबाट उदिनेर यथाशक्य चाँडो समाजको जानकारीमा पु¥याउनु पत्रकार र पत्रकारिताको प्रतिबद्ध आवाजका साथै उद्देश्य पनि हो ।
समाज र सञ्चारको प्रत्यक्ष सम्बन्ध रहन्छ । पत्रकारितालाई समाज रूपान्तरणको माध्यम मानिन्छ । समुन्नत समाजका निर्माणमा यो एक आधार हो । समाजमा भएका घटनाको यथार्थ बोधमा स्वच्छ पत्रकारिताको अहम् भूमिका हुन्छ । यसर्थ यसलाई अनिर्वाचित संसद, तेस्रो आँखा, शक्तिशाली प्रतिपक्ष पनि भनिएको पाइन्छ । यो राज्ययको चौथो अङ्ग पनि हो । यी सबै मान्यताका पृष्ठभूमिमा समाजसँग यसको भूमिका नै प्रमुख पक्ष हो भन्ने देखिन्छ । हिजोदेखि समाजसँग जसरी अभिन्न रूपमा पत्रकारितालाई लिइएको छ त्यसरी नै आजको समाजको दर्पणका रूपमा पत्रकारिताको गरिमा बोध हुन जरुरी छ । सैद्धान्तिक पक्षको प्रायोगिक आधार व्यवहार हो । यसलाई व्यवहारका कसीमा जोख्दा र घोट्दा नै समाजसँग अभिन्न आधार निर्माण हुन्छ ।
समाजको परिवर्तनसँग पत्रकारिताको पनि परिवर्तित परम्परा निर्माण भएको छ । उद्देश्य र मान्यता उही भए पनि सामाजिक परिवर्तन र विज्ञान प्रविधिका विकासले पत्रकारिताका स्वरूप र माध्यममा पनि क्रमिक परिवर्तन भएको छ । हिजोको आखेटक युगमा दिने गरेको सूचना नै समाचारको आधार हो । यो आधार हस्तलिखित पत्रकारितामा आउँदा नयाँ पाइलो या फटको बनेको यथार्थ बिर्सन मिल्दैन । यस्तै छापामा घटनाको प्रस्तुति क्रान्तिकारी परिवर्तन नै मान्न सकिन्छ । प्रविधिको विकाससँगै रेडियो, टेलिभिजनसँग यो नयाँ माध्यमको नयाँ आधार भएर विकसित भएको पक्ष पनि स्मरणीय नै छ । कम्प्युटरको विकाससँगै पत्रकारिता साइबर युगको नयाँ माध्यम बनेको छ । साइबर स्पेसमा नै यसको भूमिका आजको नयाँ आधार भएर लेखिएको छ । आजको अनलाइन पत्रकारिताको प्रतिस्पर्धामा सायबर स्पेस र भर्चुअल मूल्य उल्लेख्य छ ।
अहिलेको समाज प्रविधिमैत्री र सञ्चारकेन्द्री बनेको छ। अहिलेको पुस्ता प्रविधिको नवीनतासँग हुर्किरहेको अवस्थामा सूचनाको त्यस किसिमको पहुँचका खोजीमा पनि रहेको छ । आजभोलि समाजका हरेक घटना डिजिटल संस्करणमा नै सुलभ बनेको पाइन्छ । यसैलाई आत्मसात् गरी नेपाली डिजिटल पत्रिका खोज सञ्चार को प्रकाशन आरम्भ गरिएको हो । खोज सञ्चार सूचना विभागमा दर्ता नं १७०५-२०७६/७७ दर्ता गरी प्रकाशन सुरु गरिएको डिजिटल पत्रिका हो । खोज सञ्चार पत्रिकामा जीवनशैलीलाई प्राथमिकता दिई यसै विषयमा केन्द्रित भई हालसम्मको यात्रा अघि बढेको हो । स्वस्थ जीवनशैली र पूर्वीय दर्शनका खोजमूलक चिनारीमा खोज सञ्चारको पहिचान बनिसकेको छ । यस पहिचानलाई कायम राख्दै अबका दिनमा यस डिजिटल पत्रिकामा समसामयिक सामाजिक मुद्धा र पहिचानको विषयलाई पनि थप प्राथमिकतामा राखी प्रकाशन गर्ने उद्देश्य राखिएको छ । राष्ट्रिय मुद्धा तथा यहाँका दर्शन, धर्म, शिक्षा, संस्कृति, अध्यात्म तथा यसका वैज्ञानिक पक्षको खोजीको विषय यस अनलाइन पत्रिकाको प्राथमिकतामा रहने छ । खोज सञ्चार तपाईका साथमा छ र तपाईले पनि खोज सञ्चारलाई साथी बनाउनु नै हुने छ । यसका लागि यहाँको अमूल्य सल्लाह, सुझाउ तथा सहयोगको अपेक्षासहित अबको यात्रा अघि बढाएका छौँ । यही नै हाम्रो प्रतिबद्धता हो ।