10.1 C
Kathmandu
December 2, 2021
कृषि र बजार विविध

असारे गीतमा ननाचेको असार

न भित्र बोक्रो न बाहिर खोक्रो गुलियो कसार ।
पुरबै ढोका खोलेर हेर्दा लाएछ असार ।।

– द्रौपती अर्याल

असार मानो खाई मुरी उब्जाउने महिना हो। यस महिनामा दानो रोपेपछि मङ्सिरमा मानाको प्रतिफल पाइन्छ। यसैले असारलाई निर्माण गर्ने महिना पनि भनिन्छ । नेपाली लोकजीवनमा असार महिनालाई वर्षायाम या खेतिपातीको महिना भनेर चिनिन्छ । नेपाल कृषिप्रधान देश भएकाले पनि किसानको व्यस्तता साटिएको महिना असारको महत्त्व आफैमा अर्थपूर्ण छ । किसानहरुले पसिना बगाएर श्रमले वर्षभरिको अर्थको आधार बनाउने महिना पनि हो । यसैले असार महिनाको सामाजिक सांस्कृतिक महत्त्व र आर्थिक महत्त्व पनि रहेको छ ।
नेपाली जीवनको आफ्नै ऋतुचक्र छ । यहाँ बारै महिना अनेक चाडपर्व र जात्रा मेलाहरु रहेका छन् । कृषि नै मुख्य आधार बनाएकाहरुका लागि भने असार महिनाको महत्त्व भिन्दै खालको छ । असारलाई पुर्खादेखि नै लोक जीवनमा महत्त्व दिइएको पाइन्छ । माटोको उत्पादनसँग जोडिएको यो महिना पसिनाको स्वादमा रमाएको छ र माटोको गन्धमा सुवासित बनेको छ । त्यसैले कृषकहरुको पर्व असार हो र यसलाई विशिष्ट चिनारीमा भने असार पन्द्र भनिन्छ । किसानहरु माटोलाई माता मान्छन् र माटोमा सृष्टिको मर्म बोध गर्दे रोपाइँ उत्सव मनाउँछन् । माटो र ढु«ङ्गाको पूजामा रमाउने नेपाली लोकजीवनलाई यही किसानको उत्साहमा नै हेरिने गरिन्छ ।
माटामा जीवन खोज्नेहरुका लागि असारको आगमनले जति उत्साह थप्छ त्यति नै संस्कार खोज्नेहरुलाई यसले मोीलक भाका दिएको छ । यी भाकाभित्र साटिएको असारको लोक जीवनमा विशेष अर्थ पनि छ । यी लोक भाकाहरु ठाउँ अनुसार फरक फरक रहेका छन् । पूर्वतिर रसिया भनेर गाइने यी गीतमा असारको हिलोमा टुँसाउको ममता यसरी साटिएको छ ।

काँधैमा हलो काँधैमा जुवा कम्मरमा बसिला
ल है कम्मरमा बसिला
ती पन्चे बाजा राखीदेऊ दर्जी म गाउँछु रसिया ।।
पूर्वमा मात्र नभई पश्चिममा पनि असारे गीतसँग रोपाइँको व्यस्तता भुल्ने गरेको पाइन्छ । यी गीत ओहालकिा नाममा पनि चिनिन्छन् । असारे भाकासँग साटिएको यो भाका पनि रसिलो नै छ ।
असारै मासको दब्दबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
बेलौती काँचो ख्याल होइन साँचो छ बिस रिन लाग्यो ।

काठमाडौँ उपत्यकामा र वरिपरि भने काँठे भाकामा नै असारे गीत गाइन्छ । ठिटाठिटी रउसे भएर माटासँग जीवनको ऊर्जा साटेको यस गीतमा समयको छाप पनि सुनिन्छ ।

हात्तिबनको हातो जाउलाखेलको जाँतो ठिमीटारको चिलिम
नकदेशको पातो भोटाहिटी तमाखुलाई आगो हाल्ने रातो
तमाखुले गछृ च्वाइँ, खसीको मासु सही आफ्ना आँसु पुछ
मैले कैले भने नाइँ ।

असारे गीतमा खेतमा काम गर्ने कामदार नै सहभागी भएर दोहोर िपनि खेल्छन् । आपसमा गरिने छेडखानमा नै रमाइलो हुने र समय बितेको पत्तै नहुने यसको विशेषता हो । असारे भाकासँग हली, बाउसे खेताली सबै जना रमाइलो गर्दै श्रममा सहभागी हुन्छन् । यी विभिन्न क्षेत्रमा गाइने र गीतबाट कामप्रति प्रेरणा र काम गराइमा उत्साह थप्ने भएकाले कर्मगीत पनि हुन् । कर्म गीतको आधार पुर्खाले दिएका छन् र पुर्खाको यो भाकामा साटिने काम कर्मयोगीहरुको नै हो ।
विडम्वना भन्नु पर्छ अहिले असार हिलामा फुल्दैन र असारे भाका खेतका गरामा सुनिँदैन
नेपाल कृषि प्रधान देश हो । यहाँ कर्म गीतको कत्ति पनि कमी छैन । असारे भाका जति रेडियोमा घन्किन्छ त्यति खेतका गरामा सुनिन छोडेको छ । विकसित देशको प्रभावका कारण हो वा कृषिबाट जीवन सहज नभएर हो अहिले आफू किसानी भएकामा गवै गर्ने मानिस पाउन दुर्लभ नै हुन थालेको छ । संसारभर पहिचानको लडाइँ भइरहँदा र नेपालमा पनि यसको प्रभाव अछुतो नभएको अवस्थामा किसानको पहिचान भुलन हुँदैन । हामीले आफ्नो पहिचान किन लुकाउनै परयो र ? हामी किसानको धरातलमा रहेर गर्व गर्न सकेनौँ र किसानको आदर्शलाई पनि जोगाउन सकेका छैनौँ ।
नेपालीहरुमा किसानीप्रतिको मोह घटेको छ । हामी आफ्नो खेत बाँझै राखेर विदेशमा गएर अरुको आदेशमा जङ्गलमा खेती लगाउँदा गौरव गर्ने परिस्थितिमा छौँ । खेतीयोग्य जमिनमा बस्ती बसालेर सहरीकरणका नाममा मरुभूमिकरणमा हाम्रो कृषि कर्म साटिएको छ । सरकारले प्रत्येक वर्ष कृषि क्षेत्रमा बजेट थपेको घोषणा गरे पनि खेती गर्ने युवालाई विदेश जाने अनुमतिमा पनि त्यत्ति नै खुकुलो नीति बनाउँछ । नेपालमा किसानलाई सम्मान गर्ने चलन अझै आएको छैन । कृषिमा प्रवाह गरेको रिन पनि विदेशका लागि खर्च भएको छ । यही नीति भएमा हाम्रा सन्ततिले असार चिन्ने छैनन् र असारे गीतमा असार नाच्ने पनि छैनन् । हाम्रो लोकजीवनको मौलिक पक्ष पनि रहने छैन ।
असार भएन भने मङ्सिर फल्दैन । प्रकृतिले सिकाएको यो सङ्घर्ष जीवनको सङ्घर्ष हो । अनि किसानहरु सामूहिक भएर पुर्खादेखिको यो सानलाई सम्झन्छन् ।

छुपु र छुपु धानै र रोपौं, हातको बिउ छन्जेल
खान र लाउन दौलतै थियो बेँसीको खेत छन्जेल

अहिले टारी खेतहरु सहरीकरण र घडेरीकरणका चापमा परेका छन् । सहरीकरणले असार एकादेशको कथा बनाएको भए पनि पेटले एकादेशको कथा बनाउन भने सक्ने छैन । त्यसैले हामी असारको आवाहन गरौं । असारे गीत गाउँदै असारलाई नचाऔं अनि नयाँ संस्कारसँग असारलाई चिर जीवित बनाइराखौं । असारे गीतलाई यन्त्रमा साटेर होइन खेतका गरागरामा हृदयबाट प्रस्तुत गरेर कर्मसँग साट्ने सङ्कल्प गरौँ ।

Related posts

तिजको रमझम

Khoj Sanchar

साइबर अपराध र कानुन

Khoj Sanchar

कीर्तिपुर-किपू

Khoj Sanchar