आफ्नै अनुभव र भोगाइ नै यसको अनुसनधान रहेछ । आफूले जानेका, भोगेका, देखेका, सुनेका, कुराहरू आफ्नो बाँच्ने आधार बन्यो । हाम्रा वैद्य, पुर्खाले बनाएका भौतिक दुरीका कुरा, हात धुने, सरसफाइ गर्ने कुरा, स्वस्थकर खानपानका कुरा वैज्ञानिक र जीवन शैलीसँग भिजेको बोध भयो । आधुनिक उपचार विधि भन्दा भिन्न यस्ता विधि नै हाम्रा विश्वासका खम्बा रहेछन् । यसबाट भाइरस विरुद्धको लडाइँमा उपयुक्त जीवन शैली, आत्मविश्वास, सकारात्मक सोच आदि नै रहेछन भन्ने मा मेरो अनुभव रह्यो ।
द्रौपदी अर्याल
चीनको वुहानमा देखापरेर विश्वभरि आफ्नो परिचय बनाउन सफल एक शक्तिशाली भाइरसको नाम कोभिड—१९ हो । यसलाई कोरोना भाइरसको नामले पनि चिनिन्छ । यो भाइरस मानवको जिनसँग नाता जोडेर मानव शरीरलाई नै सखाप पार्ने लडाइँमा लागेको छ । यस भाइरसले विश्वका कैयौं वैज्ञानिकहरूलाई नै सोचनीय बनाएको छ । यसले छोटो समयमा नै आफ्नो स्वरूपलाई बदल्ने भएकाले पनि यसको अनुसन्धानमा थप चुनौती थपिएको छ । विश्वसँग नाता बनाएको यो भाइरसले नेपालमा पनि सहज रूपमा प्रवेश पायो । यसले नेपालमा झन्डै दस हजार जनाको ज्यान लियो । यस क्रममा यो भाइरस गत वैशाख २५ गते हाम्रो घरमा पनि प्रवेश गर्यो कहाँबाट कसरी प्रवेश गर्यो ? भन्ने कुरामा हामीले केही सोच्यौँ। लाग्यो, यसको प्रवेशद्वार छिमेकमा भएको विबाह ,किराना पसल ,दुध डेरी आदि हुन सक्छ । जहाँबाट जसरी प्रवेश भएपनि यसको प्रवेशलाई रोक्ने कुरामा हामी कमजोर भएको कुरा प्रष्ट भयो ।
परिवारमा कोभिडको प्रवेश भएको संकेत वैशाख १९ गतेबाट नै मेरो शरीरमा देखियो । यसपछि म आफूलाई गृह एकान्तवासमा राखे जसबाट परिवारमा थप संक्रमण नहोस भन्ने लाग्यो । वैशाख २३ गते शरीरको तापक्रम बढ्यो अब पक्का भयो कि यो सबै भाइरसकै कमाल हो । यसै क्रममा वैशाख २५ मा परीक्षणका लागि गएँ, साँझ परिणाम आयो —पोजेटिभ । पोजेटिभ परिणामको सन्देशले शरीरका सबै अङ्गमा एक किसिमको शिथिलता आयो । एक पछि अर्को गर्दै कोभिडका सबै सङ्केत या लक्षण ममा देखापरे । म संक्रमित भएता पनि परिवारका सदस्यहरू सुरक्षित छन् भन्ने कुरामा म ढुक्क थिएँ । परिवारका सदस्यमा कुनै किसिमको संकेत थिएन तर पनि पक्का गर्नका लागि पाँच दिनपछि सबैको परीक्षण गरियो । विडम्बना भन्नुपर्छ यसको परिणाम पनि नसोचेकै आयो । घरमा दुबै छोरी, भाइ, बुहारी सबै सङ्क्रमित भइसकेका रहेछन् । लाग्यो म गृह एकान्तवासमा बस्नु भन्दा अगाडि नै यो भाइरसले परिवारमा आफ्नो स्थान सुरक्षित गरेको कुरा थाहा भयो यसबाट के लाग्यो भने यो भाइरस को बाट कसरी सर्यो भन्ने कुरा एकिन गर्न कठिन छ । साथै भाइरस शरीरमा प्रवेश गरेता पनि सबैमा यसका संङ्केत नहुँदा रहेछन साथै विना सङ्केत हामीमा भाइरस हुँदो रहेछ । यसबाट बच्ने उपाय भनेको परिवारमा पनि हामी भौतिक दुरीमा बस्न सक्नुपर्दो रहेछ ।
कोभिडका लक्षण तथा सङ्केत मेरो शरीरमा पर्याप्त मात्रामा थिए । त्योभन्दा बढी मेरो मनमा देखिन थाले । कैयौँ रात म निदाउन सकिन निदाइहाले भने पनि मृत्युको सपनाले सताउन थाल्यो । अस्पतालका रोदनका दृश्य, मृत्युको खबर, सामाजिक सञ्जालमा चिनजानका व्यक्तिको नाममा लेखिएका श्रद्धाञ्जलीका शब्द आदिले ममा पनि मृत्युको भय थपिदियो । अस्पतालमा शय्या बेडको अभाव,अक्सिजनको हाहाकार, महङ्गो उपचार खर्च यी सबै पक्ष हाम्रो पहुँच भन्दा माथि थिए । यसले मलाई अस्पतालको परिवेश आकाश फल जस्तै लाग्यो । यो परिवेशले गर्दा मलाई गारो भएता पनि आफुलाई सहज भएको नाटक गरिरहेँ । सानी छोरीले ढोकाबाट टुलुटुलु हेरेको देखेर मेरा आँखाबाट आँसु आउन थाले । त्यस रात म धेरै रोएँ । रुँदारुदै आफू पनि मृत्युको लडाइँमा हारेको अनुभूित भयो । आफ्नो मृत्युपछि यो अबोध बालिकालाई के होला ? भन्ने कुराको दृश्य आँखामा आइरह्यो । उसलाई आमाको माया कसले देला ,उसका साना साना प्रश्नहरूको जवाफ झर्को नमानी कसले दिन्छ ,घर बाहिरबाट घर आउँदा मम्मी भनेर बोलाउँदा को बोल्ला ? जस्ता विचार आउन थाले यसै बिचमा मन टक्क अडियो लाग्यो म जसरी पनि बाँच्नु पर्छ । मनमा सहास आयो र आफूले जानेका जति प्रयास गर्ने अठोट गरेँ। मैले आफूले बुझेको प्रणायामका विधि सबै गर्न थालेँ साथै जब टाउकोमा पिडा हुन्छ तब ध्यानको विधिबाट त्यस पिडालाई हेर्न थाले । तीन दिनपछि शरीरको तापक्रम कम भयो । तर, अर्को समस्या आयो शरीरले खाना पचाउन छोड्यो । फेरि शरीरमा कमजोर अनुभव हुन थाल्यो । यसपछि शरीर कति कमजोर थियो थाहा भएन मन भने धेरै कमजोर भयो साथै खोकी पनि लगातार आउन लाग्यो । सास फेर्न पनि गारो भयो । मनमा नकारात्मक बिचार बढ्न थाले ।
यसै बिचमा सानी छोरीलाई कोभिडका सङ्केत देखिन थाले । मनमा चिन्ता थपिन थाल्यो । उसलाई पहिलादेखि आस्थामाको समस्या थियो अब सम्पूर्ण ध्यान उसैको उपचारमा जान थाल्यो । अब उसलाई अक्सिजनको आवश्यक हुनसक्छ के गर्ने कसो गर्ने भन्ने भयो । धेरै जनालाई फोन खबर गर्यौ । धेरैले हामी छौँ नि केही परे भन्नुभयो । हामीले अब अक्सिजन लगातार नाप्न थाल्यौँ । जे भए पनि हामी उसका लागि धेरै खटियौँ । छोरीको समस्याले गर्दा आफ्नो समस्या कतिखेर सकियो थाहा भएन । आफूलाइ ठिक भए जस्तो मात्र लागेको होइन सबै ठिक भयो । यसबाट मलाई के लाग्यो भने आफूमा भन्दा ठुलो समस्या आफन्तमा अर्थात् आफ्नो सन्तानमा आयो भने आफनो समस्या त यत्तिकै कम हुँदोरहेछ ।
वैशाख महिनाको दोस्रो सातादेखि कोभिडले भयानक रूप लियो । यसैबिचमा धेरैले ज्यान गुमाए । यस्तो समयमा हामी छौँ भन्ने शब्दले पनि ठुलो राहत हुँदो रहेछ । सात समुद्रपारिबाट आदरणीय दाइले बारम्बार फोन गरिरहनु भयो । मैले दाइलाई सबै भन्दा धेरै पीडा भएको महसुस गरेँ । उहाँ यहाँको खबरमा बारम्बार अपडेट हुनुहुन्थ्यो । समाचारमा आइरहेका मृत्युका समाचार हेरेर होला दाइभित्र एक प्रकारको डरले डेरा जमाएको मैले बुझे पनि केही भन्न सकिन । सकारात्मक भन्दा नकारात्मक समाचारले स्थान पाएकाले पनि यस्तो प्रभाव भएको हुनसक्छ । सकारात्मक समाचारका विषयमा पनि समाचार माध्यममा बहस हुनपर्ने देखिन्छ ।
कोभिडका कारण मानिसका बिच भौतिक दुरी बढे पनि भावनात्मक दुरी भने नजिकै थियो । यस बिचमा मैले आफन्त सम्झेका नातेदारमा भन्दा भावनात्मक रूपमा जोडिएका साथीहरूले निकै सहायता गर्नुभयो । उहाँहरूलाई म आत्मैदेखि धन्यवाद दिन चाहन्छु । हामी आफ्ना नातेदारबाट सहायताको अपेक्षा गर्दा रहेछौँ । आफ्नो चाहना अनुसारको सद्भाव नहुँदा मनमा अलिक अमिलोपन बढ्दो रहेछ । यसबाट मलाई के लाग्यो भने मान्छेको अपेक्षामूलक इच्छा पनि दुखको कारण बन्दो रहेछ । कोभिड —१९ अर्थात् कोरोना भाइरसका बारेमा अनुसन्धान हुन बाँकी नै छ । यसका लक्षण पनि विरामी अनुसार फरक फरक देखिएका छन् । औषधी बनेको छैन तर प्रतिरोध गर्ने क्षमताको औषधी नै एक मात्र आधार बनेको छ । यस्ता अवस्थामा मान्छे मान्छेका फरक अनुभव सुन्नुबाहेक अर्को कुनै उपलब्धि भएन । यसैले केही आयुर्वेदिक औषधीबाहेक अरू औषधीसेवन गर्न पनि मनले मानेन । आयुर्वेदिक औषधीले हाम्रा शरीरको प्रतिरोध क्षमतालाई वृद्धि गर्छ भन्ने विश्वासले थप काम गरेको मेरो अनुभव छ । यस विषयमा पनि अनुसन्धान हुन आवश्यक छ । यस्तो सङ्कटका घडीमा राज्यले अनुसन्धान र जनताका स्वास्थ्य समस्याका विषयमा विशेष लगानी हुनपर्ने हो तर राज्यमा राजनीतिक खिचलो सत्ता, पद र पैसामा नै नेताहरूको ध्यान केन्द्रित भएको स्थिति विडम्वना नै हो । राज्यले यस्तै सङ्कटका समयमा जनताले राहत महसुस गर्ने काम अघि बढाउन सक्दा राम्रो हुने थियो । हाम्रा पुर्खाको अनुभव पक्कै पनि वैज्ञानिक छ भन्ने विश्वासले आयुर्वेदको मार्गमा लागिपरेको अर्थ अर्थपूर्ण बनेको छ ।
महामारी अर्थात् प्राकृतिक प्रकोपको बेलामा धेरै जनधनको क्षति हुने पक्का नै हो । यस बेलामा जनताले राज्य आफ्नो साथमा भएको अनुभव गर्दा नै ठुलो सहास बढ्ने पक्का हो । तर विडम्वना भन्नुपर्छ, मेरो देशमा उपचार गर्ने खर्चका अभावमा धेरैले ज्यान गुमाएका छन् । यसबाट स्वास्थ्य र शिक्षा क्षेत्र निशुल्क हुनुपर्र्छ र यो राज्यको दायित्व हो भन्ने विषय गम्भीर बनेको छ । निजी अस्पतालले पनि यस्तो सङ्कटका बेलामा निशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए पछि मात्र अस्पताल खोल्ने इजाजत दिँदा उत्तम हुने देखिन्छ । महामारीका बेलामा पनि उपचारका सामग्री खरिदमा भ्रष्टाचारको कुरा, अस्पतालको चर्को शुल्कको कुरा, सञ्चार माध्यममा प्रमुख समाचार हुनु दुखको कुरो हो । अस्पतालमा उपचार गर्दा लापरवाहीका कारण ज्यान गएका कुराले त मनमा डर रहिरह्यो । अस्स्पतालको उपचारमा पनि शङ्का जन्मियो । यसले सम्पूर्ण उपचार घरकै एकानतवासमा सीमित बन्यो र आफूले जानेको ध्यान, साधना नै एक मात्र साथी बन्यो । यही आत्मविश्वासका कारण नै स्वास्थ्यमा सुधार आएको महसुस भयो ।
कोरोना लागेको चौध दिनपछि अब कोरोना सर्दैन सामान्य दैनिकीमा फर्किनु भन्ने स्वास्थ्य मन्त्रालयको विभागीय सन्देश पाएपछि अब त बाँचियो भन्ने लाग्यो । यस समयसम्म पनि शरीरमा कमजोरी, थकान, खोकी सबै थियो । यस थकानमा तुरुन्तै कोभिड परीक्षण गर्न जान मन लागेन । कोभिड परीक्षण गरेको २५ दिनपछि जाँच गर्दा मेरो परिणाम पोजेटिव नै आयो । यसबाट झनै द्विविधा बढ्यो । मेरो शरीरमा भाइरस भए पक्कै पनि अरूलाई सर्छ तर किन चौध दिनपछि सर्दैन सामान्य दैनिकीमा फर्कनु भनिएको होला ? म अलमलमा नै परिरहेँ । लामो समयसम्म शरीरमा भाइरस हुँदो रहेछ । यसमा अब सर्दैन भन्ने पनि हुँदैन । यी सबै पक्ष परीक्षणमा नै भए जस्तो लाग्यो । यसमा भन्नु पनि केही छैन किनकी यस भाइरसका बारेमा भरपर्दो अनुसन्धान हुन सकेको छैन । आफ्नै अनुभव र भोगाइ नै यसको अनुसनधान रहेछ । आफूले जानेका, भोगेका, देखेका, सुनेका, कुराहरू आफ्नो बाँच्ने आधार बन्यो । हाम्रा वैद्य, पुर्खाले बनाएका भौतिक दुरीका कुरा, हात धुने, सरसफाइ गर्ने कुरा, स्वस्थकर खानपानका कुरा वैज्ञानिक र जीवन शैलीसँग भिजेको बोध भयो । आधुनिक उपचार विधि भन्दा भिन्न यस्ता विधि नै हाम्रा विश्वासका खम्बा रहेछन् । यसबाट भाइरस विरुद्धको लडाइँमा उपयुक्त जीवन शैली, आत्मविश्वास, सकारात्मक सोच आदि नै रहेछन भन्ने मा मेरो अनुभव रह्यो ।