10.1 C
Kathmandu
December 2, 2021
News स्वास्थ्य

प्राण शक्ति अर्थात् प्राणायाम

हाम्रो शरीर पनि प्राण शक्तिकै कारणले चलायमान भइरहन्छ । खाना नखाँदा हामी केही दिन बाँच्न सक्छौँ तर प्राणशक्तिविना हामी एकछिन पनि बाँच्न सक्दैनौँ । प्राण शक्ति नै जीवनको आधार हो ।

-द्रौपदी अर्याल

१.विषय प्रवेश
मानव समुदाय आजभोलि आफ्नो धार्मिक विश्वास गुमाएर दिन प्रतिदिन बढी अशान्त भइरहेको छ । हामी मानव इन्द्रिय सुखलाई नै परमसुख मानेर अग्निशिखामा भस्म हुनका लागि अन्जान भएर डढ्न लागेका छौँ । धार्मिक भावको उपेक्षा नै हाम्रो अनुशासनहीनताको प्रमुख कारण हो । प्राचीनकालमा जीवनका सम्पूर्ण क्षेत्र धार्मिक भावले ओतप्रोत हुने गरेको भेटिन्छ। । वेदादि शास्त्रहरुमा ती सबै धार्मिक नियमहरुको व्याख्या पाइन्छ । यी शास्त्रमा मानवका दु:खका कारण र यसबाट कसरी हट्ने भन्ने कुराको व्याख्या धेरै पाइन्छ । जसलाई योग शब्दले परिचित गराइएको छ ।
हिन्दूशास्त्रमा योगको अर्थ र प्रयोग व्यापक रूपमा गरेको पाइन्छ । योगका विभिन्न रुप तथा व्यापकताले गर्दा योग यो नै हो भन्ने कुरा विचारणीय छ । यो एक दर्शन मात्र होइन । यो आत्माको अनुभूति गर्ने कला पनि हो । यसको व्याख्या सामान्य भनाइबाट हुन सक्दैन । यो प्रयोगात्मक अनुभवगम्य विधा हो । यसका लागि निरन्तर अभ्यासको आवश्यकता पर्छ । योग एक विज्ञान हो यसलाई प्रमाणित गर्न व्यावहारिक प्रयोग गर्नु नै पर्छ । योग अनुशासन हो । योग साधना भए पनि यो कुनै धर्म वा सम्प्रदाय होइन । यो विशुद्ध विज्ञान हो । यो अस्तित्वगत छ । यसमा विश्वास अनुभवपछि मात्र गर्न सकिन्छ । योगविज्ञानको खोज महर्षि पतञ्जलिले गरेका हुन् । यसैले उनी एक वैज्ञानिक हुन् । उनले मानव जगतका नियम तथा मानवीय प्रणालीको विस्तारको खोजी गरे । महर्षि पतञ्जलिले योगलाई आठवटा अङ्गमा विभाजन गरेर व्याख्या गरेका छन् । यसको पालनाबाट नै योगी बन्न सकिन्छ । यो अष्टाङ्ग योग धर्म, अध्यात्म, मानवता, तथा विज्ञानको प्रत्येक परीक्षणमा सफल देखिएको छ । यसैको चौथो अङ्ग प्राणायाम हो ।
२. प्राणायामको अर्थ
प्राणायाम शब्दको प्रयोग आजभोलि श्वासप्रश्वाससँग जोडेर गरेको पाइन्छ । सामान्य भाषामा प्राण तथा श्वासको गतिलाई नियन्त्रण गर्नु नै प्राणायाम हो । प्राणायाम संस्कृत भाषाको शब्द हो र यसको अर्थ जीवन अर्थात् जीवित हुन्छ । सम्पूर्ण ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली भन्नु नै प्राण हो । यसैका कारणले , सम्पूर्ण ब्रह्माण्ड चलायमान भइरहेको छ । हाम्रो शरीर पनि प्राण शक्तिकै कारणले चलायमान भइरहन्छ । खाना नखाँदा हामी केही दिन बाँच्न सक्छौँ तर प्राणशक्तिविना हामी एकछिन पनि बाँच्न सक्दैनौँ । प्राण शक्ति नै जीवनको आधार हो ।
३ . श्वासप्रश्वास र प्राणायाम
प्राणायामका बारेमा विभिन्न व्याख्या तथा परिभाषा पाइन्छ । योगसूत्र तस्मिन् सति श्वासप्रश्वासयोर्थत्तिविच्छेद प्राणायाम ।।४९।। अर्थात् आसन सिद्धि भएपछि श्वास र प्रश्वास दुवैको गतिलाई रोक्नु प्राणायम हो । बाहिरको वायु भित्र पस्नुलाई श्वास भन्दछन् र त्यही भित्र पसेको वायु बाहिर निस्कनुलाई प्रश्वास भनिन्छ । श्वास प्रश्वासका गतिको प्रवाहलाई रेचक,पूरक तथा कुम्भकद्वारा भित्र तथा बाहिर दुवै ठाउँमा रोक्नुलाई प्राणायाम भन्दछन् । रेचक प्राणायाममा बाहिरको गति हुने हुनाले यसमा श्वासको स्वाभाविक गतिको अभाव हुन्छ नै तर भित्रको वायुलाई बाहिर निकालेर बाहिर रोक्नाले प्रश्वासको स्वाभाविक गतिको पनि यसमा अभाव हुन्छ । कुम्भकमा प्रश्वासको गतिको अभाव हुन्छ नै तर बाहिरको वायुलाई तानेर शरीरभित्र रोक्नाले यसमा श्वासको स्वाभिक गतिको पनि अभाव हुन्छ । कुम्भक प्राणायामद्वारा रेचनपूर्ण प्रयत्नविना केबल जहाँको त्यहीँ रोकिदिनाले श्वास प्रश्वास दुवैको गतिको अभाव हुन्छ । प्राणायामलाई केबल श्वास तथा प्रश्वासको नियन्त्रणसँग मात्र व्याख्या गरेर पर्याप्त हुदैन । प्रणायामको महत्वले पनि प्राणायाम के हो भन्ने परिभाषा गरेको पाइन्छ ।
ततः क्षीयते प्रकाश आवरणम् ।।५२।। अर्थात् हामीभित्र बसेको विवेक ज्ञानलाई दर्शनमा यसको व्याख्या यस प्रकार गरिएको छ चित्तमा स्वाभावतः समस्त ज्ञान भरिभराउ छ हुनत यो भरिएको सत्वलाई रज र तम पदार्थले ढाकिदिएको छ । प्राणायामको अभ्यासले त्यो आवरण हटाइदिन्छ । आवरण हटेपछि प्रकाशका मार्ग खुल्दछन् । अर्थात् प्रकाश पाउने सम्भावना निर्मित हुन्छ । आवरण हट्दैमा प्रकाशको उपलव्धि हुन्छ भन्ने सूत्रको तात्पर्य होइन आवरण हट्नु मुख्य उपलब्धि हो । तर, यत्तिकैमा प्रकाश हुन्छ भन्ने सोच्नु हुँदैन, यसका लागि अझ तीन चरण बाँकी छ, धारणा, ध्यान र समाधि । यसमा पञ्चशिखाचार्यको यस्तो वचन पाइन्छ तपो न परं प्राणायामात् विशुद्धिर्मलाना दीप्तिश्च ज्ञानश्य । अर्थात् प्राण भन्दा अर्को ठूलो तप छैन । यसले मनभित्रको धुलो पखालिदिन्छ र ज्ञानको प्रकाश हुन्छ अनि मार्ग सरल हुन्छ । यसरी प्राणायामले रज तमको गुणलाई दबाएर वा हटाएर सत्वको प्रकाश बढाउँछ र मन एकाग्र हुन्छ । प्रणायामले मानवलाई स्वस्थ, दीर्घायु प्राप्त गराउँछ साथै मन र इन्द्रियहरुमाथि विजय प्राप्त गराउँछ । मन र प्राणको घनिष्ट सम्बन्ध छ । मन चन्चल छ । यसलाई बशमा राख्नु अति कठिन छ । प्राणको निरोधद्वारा मनलाई वशमा राख्न सजिलो हुन्छ । यसैले प्राणायाम योगको आवश्यक साधन हो ।
४.प्राणायाम र स्वास्थ्य
प्राणायामको हाम्रो स्वास्थ्यसँग घनिष्ट सम्बन्ध छ । हाम्रो छातीमा रहेको फोक्सो नै प्राणको मुख्य आधार हो । त्यहाँ विश्वव्यापी प्राणशक्ति वायुको साथ नाकद्वारा पुग्दछ र रगतमा मिल्दछ । रगतबाट सम्पूर्ण शरीरमा फैलिन्छ । हाम्रो फोक्सो प्राणको स्थान हो, यो जति धेरै फुल्दछ त्यति नै धेरै प्राणशक्ति प्राप्त हुन्छ । जसको छाती तथा फोक्सो खुम्चिएको छ त्यसको प्राणशक्ति कम हुन्छ जसबाट अनेक प्रकारका रोग लाग्दछन् । खप्तडबाबा (२०५७) का अनुसार मानिस अन्नका अभावमा ३ महिनासम्म बाँच्न सक्छ, जलको अभावमा १०देखि २० दिनसम्म बाँच्न सक्छ तर शुद्ध वायुको विना केही क्षण पनि अशक्य छ । प्राणले हाम्रो शरीरमा दुईवटा कार्य गर्दछ । पहिलो कार्य फोक्सोद्वारा सम्पूर्ण शरीरमा पुगेर नवजीवनको सञ्चार गर्नु र दोस्रो रगतलाई शुद्ध पार्नु हो । अशुद्ध रगत फोक्सोमा पुग्छ र वायुको सम्पर्कमा आउनाले त्यो शुद्ध हुन्छ ।
प्राणायामको उपयुक्त समय या उमेर आठ वर्ष मानिएको छ । बाल्यावस्थादेखि यसको अभ्यास गर्नाले प्राणधारण शक्ति बढ्दछ । यसैले बालकहरुको आठ वर्षको उमेरमा उपनयन गर्ने विधान छ । त्यसपछि सन्ध्याबन्धन दैनिक कर्म हुन जान्छ । यो प्राणायामको प्रमुख कार्य हो । यो उमेरबाट प्राणायामको अभ्यासलाई बढाउँदै लैजानाले १०देखि १२ वर्षमा अति उत्तम प्राणायामको सिद्धि प्राप्त हुन्छ । यो प्राणायाम सिद्धिका साथै मनको संयम पनि सिद्ध हुनसक्छ ।
५. प्राणायाम र सृष्टि
सृष्टिको उत्पत्तिको सम्बन्धमा पनि प्राणको वर्णन गरिएको छ । प्रश्नोपनिषद मिथुनमुत्यादयतेरविच प्राण च । अर्थात् प्रजापति –हिरण्यगर्भ ) ले रयि र प्राण एक जोडाको उत्पन्न गरे । आकासबाट वायु, अग्नि, जल र पृथ्वीको उत्पत्ति भयो । यिनीहरुमा परमाणुदेखि लिएर ठुलाठुला तारागण र सूर्यमण्डलसम्म सबै रयि हुन् तथा त्यो शक्ति जसबाट यिनीहरुमा कम्पन भइरहेको छ जसद्वारा यिनीहरु स्थिर रहेर आफ्ना कार्यहरु गरिरहेका छन्, त्यो प्राण हो । प्राण जीवन शक्ति हो । रयि मूर्त तथा अर्मूत सम्पूर्ण पदार्थ हुन् । जुन प्राणशक्तिद्वारा आफ्नो अस्तित्व कायम राख्दै कार्य गरिरहेका छन् (खप्तडबाबा, २०५७पृ १३६)। प्राण धन विद्युत् हो, रयि ऋण विद्युत् हो । सम्पूर्ण प्राणलाई उपनिषद्हरुमा मातरिश्वा तथा सूत्रात्मा भनिएको छ । यो प्राण नै समष्टि रुपमा सम्पूर्ण ब्रह्माण्डलाई नै चलाइरहेको छ । मनुष्य शरीर मात्र होइन सम्पूर्ण जड पदार्थहरु वृक्ष, लहरा तथा चेतनशील किरा फट्याङ्ग्रा जलचर पशुपक्षी आदिको सम्पूर्ण शरीरमा प्राण यसैबाट पाइरहेका छन् । त्यसैले यी सबैलाई प्राणधारी भनिन्छ ।
६.प्राणायामका प्रकार
हठयोग प्रदीपिका तथा धरड संहिता आदि ग्रन्थहरुमा आठ प्रकारका प्राणायामको उल्लेख छ ।
१.सूर्यभेदन,२.उज्जायी,३.शीतकारी,४.शीतली,५.भस्त्रिका,६.भ्रामरी,७.मूच्र्छा र ८.प्लाविनी
७.प्राणायामको सावधानी
आजभोलि मानिसहरुले यसका फाइदा तथा रोगको उपचारको रुपमा प्राणायाम अभ्यास गरेको पाइन्छ । बुझ्नुपर्ने कुरा के हो भने फाइदा मात्र हेर्ने यसको विधिका बारेमा वास्ता नगर्दा फाइदाको साटो हानि हुन्छ । यसमा सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा प्राणायामको सङ्ख्या तथा अवधि विस्तारै बढाउँदै लैजानुपर्छ ।
८.निष्कर्ष
यसरी प्राणायामको व्याख्या यसको प्रयोग केबल श्वासप्रश्वाससँग मात्र निकट नभएर यसको क्षेत्र व्यापक छ । जब मनाव शरीर मर्छ उसको प्राण गयो भनेर व्याख्या गरेको पाइन्छ । यसरी हेर्दा प्राण जीवन हो यसलाई मिलाउनाले सम्पूर्ण जीवन नै मिल्न सक्छ । यही मिलाउने कार्यसँग प्राणायामको व्यापकता लुकेका छ । प्राणको आयाम मिलाउने कार्य नै प्राणायाम हो । यो कार्य आसन, यम, नियम जस्ता योगको स्वतन्त्र अङ्ग होइन । यो प्राणायामको सिद्धको उपाय हो । त्यसैले तस्मिन् सति अर्थात् त्यसको वा आसनको सिद्धि भएपछि भनिएको हो ।
सन्दर्भ सामग्री ग्रन्थ
अधिकारी, चेतनाथ (२०५९) वैज्ञानिक योग काठमाडौँ योगरेकी तथा प्राकृतिक स्वास्थ्य प्रतिष्ठान
अधिकारी,नरकान्त (२०७०) पातञ्जलयोग दर्शन –दो.सं काठमाडौँ विद्यार्थी पुस्तक भण्डार ।
खप्तड बाबा (२०५७) धर्मविज्ञान –तृतीय खण्ड) काठमाडौँ खप्तड आश्रम प्रकाशन समिति

Related posts

मानसिक रोगीहरु लान्छना तथा भेदभावको शिकार हुने गर्छन्

Khoj Sanchar

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

Khoj Sanchar

नियमित शारीरिक व्यायाम र यसवाट हुने फाइदाहरु

Khoj Sanchar