20.1 C
Kathmandu
December 2, 2021
साँचो जीवननिर्माण अभियान

आफै शत्रु आफै मित्र

सुख, शान्ति, आनन्दको स्रोत हामी आफूसँगै छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ। साच्चै भन्ने हो भने मानिसको स्थिति कस्तुरीमृगको जस्तै स्थिति छ। आफैसँग सुगन्धको स्रोत छ तर ऊ भड्किरहेको हुन्छ त्यसको परिप्राप्तिमा जङ्गल-जङ्गल र कुना-कन्दरामा! अन्तमा गलित र थकित भएर शिकारीको फन्दामा पर्न पुग्छ या कतै खाड्लमा गएर खस्छ। यसैगरी मानिस पनि आफैसँग भएको सुख, शान्ति र आनन्दको स्रोतलाई नजान्दा पल-पल छटपटिएको हुन्छ।

-डा.गोविन्द टण्डन

आफूमा भएको प्रेम, स्नेह, आत्मीयता, सहानुभूति, सौहार्द्र, सद्‌भाव, विनय, इमानदारी, सत्य, न्याय, निष्ठाको भण्डारलाई फुकाउने हो भने यति धेरै सुख, शान्ति र आनन्दको स्रोतलाई आफ्नो बनाउन पुग्छौँ कि के भन्ने यत्रतत्र सर्वत्र त्यसको महक फैलन शुरू हुन्छ। गल्ती कहाँनिर हुन्छ भने आफूसँग भएका ती अमूल्य गुणहरूलाई प्रकट हुन कञ्जुसाइ गर्दा हामी उदार, विशाल र विराट हुनुबाट वञ्चित हुन पुग्छौँ। जसको अभावमा सङ्कीर्णताको घेरामा अझ भनौँ सानो पोखरीलाई नै महासागर सम्झेर पौरख गरेको सम्झने पोखरीको भ्यागुतोको जस्तो लघुतामा जीवन बिताइरहेका हुन्छौँ।

सुख,शान्ति, आनन्दको स्रोत हामी आफूसँगै छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ। साच्चै भन्ने हो भने मानिसको स्थिति कस्तुरीमृगको जस्तै स्थिति छ। आफैसँग सुगन्धको स्रोत छ तर ऊ भड्किरहेको हुन्छ त्यसको परिप्राप्तिमा जङ्गल-जङ्गल र कुना-कन्दरामा! अन्तमा गलित र थकित भएर शिकारीको फन्दामा पर्न पुग्छ या कतै खाड्लमा गएर खस्छ। यसैगरी मानिस पनि आफैसँग भएको सुख, शान्ति र आनन्दको स्रोतलाई नजान्दा पल-पल छटपटिएको हुन्छ। आफूमा भएको प्रेम, स्नेह, आत्मीयता, सहानुभूति, सौहार्द्र, सद्‌भाव, विनय, इमानदारी, सत्य, न्याय, निष्ठाको भण्डारलाई फुकाउने हो भने यति धेरै सुख, शान्ति र आनन्दको स्रोतलाई आफ्नो बनाउन पुग्छौँ कि के भन्ने यत्रतत्र सर्वत्र त्यसको महक फैलन शुरू हुन्छ। गल्ती कहाँनिर हुन्छ भने आफूसँग भएका ती अमूल्य गुणहरूलाई प्रकट हुन कञ्जुसाइ गर्दा हामी उदार, विशाल र विराट हुनुबाट वञ्चित हुन पुग्छौँ। जसको अभावमा सङ्कीर्णताको घेरामा अझ भनौँ सानो पोखरीलाई नै महासागर सम्झेर पौरख गरेको सम्झने पोखरीको भ्यागुतोको जस्तो लघुतामा जीवन बिताइरहेका हुन्छौँ।

संसारमा रहेर सांसारिक नबनी सुखीभन्दा सुखी, आनन्दभन्दा आनन्द, शान्तभन्दा शान्त जीवन व्यतीत गर्न चाहेमा मानिसको लागि पूरा सम्भव छ। तर एउटा कुरा छ चाहानेले चाहानु प-यो। तिर्खा लागेको छैन भने नजिकबाट बहिरहेको पानी जत्ति नै स्वच्छ, कञ्चन र पवित्र होस् त्यो बगिरहन्छ, बगिरहन्छ। त्यसैगरी युगयुगान्तरसम्म बगिरहन्छ जसरी आजसम्म बगिरहेको छ।

वाह्य वस्तुमा, भौतिकतामा क्षणिक सुख, शान्ति, आनन्दको झलक पाइन सकिन्छ। तर त्यो चिरस्थायी हुन सक्तैन। साँचो सुख, शान्ति र आनन्द त जीवनको गन्तव्यलाई चिनेर अनासक्त भई जीवनलाई सुकर्ममा लगाउनुमा हुन्छ; मन, वचन, कर्मले कुनै पनि अवस्थामा कसैलाई दु:ख, पीर-पिराउ, प्रताडना नगर्नुमा छ। हिंसा नगर्नुमा छ। विशाल, विराट, बृहत् बन्नुमा छ। संकीर्णताबाट मुक्त हुनुमा छ। वाह्य वस्तुमा होइन सुख, शान्ति, आनन्द निर्भर गर्दछ अन्तरको विशालतामा। त्यो कुरा नजान्दा, नबुझ्दा अलमलिइरहेका छौ बाहिर-बाहिर र खोजिरहेका छौँ नखोज्नु पर्ने ठाउँमा, गइरहेका छौ जानु नपर्ने ठाउँमा। जानु पर्ने ठाउँमा चाहिँ गइरहेका छैनौँ, ग्रहण गर्नु पर्ने विषयलाई चाहिँ त्यागी रहेका छौँ। भनौँ न उल्टो बाटो हिँडेर गन्त्व्यमा पुग्न खोजिरहेका छौँ। अनि कसरी सम्भव हुन्छ लक्ष्यको प्राप्ति?

जो आफैमा रम्न सक्छ, जो अन्तरको यात्रा गर्न सक्छ, जो आत्मसंयममा रमाउन सक्छ, जो इन्द्रियनिग्रहमा खुल्न सक्छ, जो भक्ष्याभक्षको विचार पु-याउन सक्छ, जो गन्तव्यागन्तव्यको ख्याल गर्न सक्छ त्यहाँ नै सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ। हरेक मनुष्यको अस्तित्व बाहिर होइन भित्र छ। अझ भनौँ अन्तरहृदयमा प्रस्फुटित हुन्छ। “ नबिराउनु नडराउनु” मा पनि धेरै शक्ति लुकेको हुन्छ। जो आन्तरिकरूपले आफैमा रमाउन सक्छ ऊ वाह्य संसारमा स्वत: रम्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ र आनन्दको अनुभूति गर्न सक्छ।

भनिन्छ, मानिसको शत्रु पनि आफै हो मित्र पनि आफै हो। आफैमा विरोधाभाष जस्तो लाग्ने भनाइ भएता पनि यो यथार्थ कुरा हो। सत्य हो। यसको विरोध गर्नुको कुनै तुकै छैन भन्छु म। यसको सोझो, सिधा अर्थ छ कुकर्म र दुष्कर्म गर्नेले आफूले आफैलाई शत्रु बनाइरहेको हुन्छ भने सुकर्म गर्नेले आफूले आफैलाई मित्र बनाइरहेको हुन्छ।

अशान्ति अरूको कारणले भन्दा पनि ज्यादात्तर आफ्नै कारणले, दु:खी अरूको कारणले भन्दा पनि आफ्नै कारणले गर्दा हुन पुगिरहेको हुन्छ, जसको ख्याल कमैले गर्न भ्याउँछन्। कस्तो दुर्भाग्य ! हुँदा-हुँदा म किन दु:खी भएमा त्यत्ति चिन्ता लिँदैन मानिस तर अर्कोले कसरी सुख पायो, कसरी सफलता प्राप्त ग-यो या सम्पत्ति आर्जन ग-यो भन्नेमा बढी दु:खित, बढी चिन्तित बन्न थाल्यो र पो अनर्थ हुने स्थिति देखिदै छ जताततै।यस्तै प्रकारको ईर्ष्या, जलन, डाह, रिसले मानिस स्वयंमा भित्र-भित्रै जलिरहेको भान पर्दछ जसलाई हेरे पनि।साधु, महात्मा भन्नेहरूमा रिसराग, विद्वान्-विदुषी भन्नेहरूमा रिसराग, सन्न्यस्त भन्नेहरूमा होडबाजी, सम्पन्न-सम्पन्न भन्नेहरूमा खिचातानी, राजनीतिज्ञहरूमा छिनाझप्टी, कार्यकर्ताहरूमा मारामार हुने अवस्था जहाँ गयो त्यही देखिन्छ भने सिक्नेले के सिक्ने? आदर्श केलाई बनाउने? परिस्थिति जटिल बन्दैगएको जस्तो के तपाईँ महसूस गर्नु हुन्न?

साराशंमा जोसँग जे छ सामान्यत: उसले त्यही दिने हो। यसैले हामी स्वयं पहिले आफै सुखी, शान्त र आनन्दको अनुभूति नगरीकन अरूलाई दिन सक्दैनौँ। यहाँ सुखी, शान्त र आनन्द भन्ने कुरा बाहिरी भौतिकतासँग त्यत्ति सरोकार राख्दैन। नत्र त यसो भन्नुको अनर्थ हुन जान्छ कि पहिले आफू कमाऊ, भोगू अनि अरूलाई सोचौँला भन्ने जस्तो कुरा आइहाल्छ नि। यहाँ त्यसो भन्न खोजिएको पटक्कै होइन। स्वयं सुखी बन्ने, आनन्दित बन्ने कुराको महामन्त्र हो पहिले त्यो कुरा स्वयं आफैमा लागू हुन सक्नुपर्छ तब मात्र अरूको लागि त्यो कारगर हुन सक्छ, महामन्त्र बन्न सक्छ।

Related posts

जीवनलाई ऊर्जामय तुल्याउँछ- ध्यान

Khoj Sanchar

साँचो धर्मको खोजी

Khoj Sanchar

सच्चा गुरु कस्तो हुन्छन् ?

Khoj Sanchar