8 C
Kathmandu
January 26, 2021
स्वास्थ्य

आध्यात्मिकता र मानसिक स्वास्थ

नेपाली समाजमा कुनै पनि रोग लाग्दा आफ्नो कर्म, भाग्य, ग्रह दशा आदि विग्रेर हो भन्ने कुरा धेरैले विश्वास गर्छन । भूत, प्रेत, मृत आत्माको राम्रो सत गत नगरेको, आफ्नो भाकल पुरा गर्न नसकेको जस्ता विश्वास पनि रोग लाग्दा परिवारले गर्ने गरेको पाइन्छ ।

डा. कपिल देव उपाध्याय
वरिष्ट मनोचिकित्सक

मानसिक रोगहरुको कुरा गर्ने हो भने, कुनैपनि कडा खालको मानसिक रोग लाग्दा सर्व प्रथम धामी झाक्रीलाई देखाउने र धामीको सल्लाह अनुसार विभिन्न उपचार विधि गर्ने चलन करिव करिव ९५ प्रतिशत परिवारमा छ होला । किन कि अस्पताल, क्लिनिकमा रोग जचाउन आउने शत प्रतिशतले नै धामी झाक्री लाई देखाएर, झारफूक गराउने र जन्तर लगाउने गरि सकेका हुन्छन । आजकल कतिपय धामीहरुले अव अस्पतालमा गएर उपचार गरे औषधीले काम गर्छ भन्ने समेत गरेका छन, जसलाई सकारात्मक परिवर्तन भन्नु पर्छ किनकि विरामीले आधुनिक चिकित्साको फाइदा लिन पाउछन ।

चाहे गाँउ घरमा होस या शहरमा धामी झाक्रीलाई, देखाउने, ज्योतिषलाई देखाउने, पूजा आजा गरेर ग्रह शान्ती गर्ने, घाँटीमा या हातमा जन्तर वाध्ने चलन छ। यस्तो विश्वास र चलन सदियौ देखि चल्दै आएकोले, यसको आफ्नै खालको महत्व पनि छ। कतिपय मानसिक स्वास्थ्य समस्याहरु विभिन्न पारिवारिक र सामाजिक समस्याहरुवाट उत्पन्न भएका हुन्छन । त्यस्तै आफु भित्रैवाट उत्पन्न हुने शंखा, डर, नकारात्मक सोचाईवाट पनि केहि मानसिक रोगहरु देखिन सक्छन। आफुभित्र देखिएका इच्छाहरु, अकांक्षाहरु र जान अनजानमा भएका गल्तीहरुले दिने मानसिक तनावका कारण पनि केहि मानसिक स्वास्थ्य समस्याहरु देखिन सक्छन । पश्चिमी देशहरुमा यस्ता स्वास्थ्य समस्याहरुलाई साइकोथेरापी (Psychotherapy) को विधिवाट उपचार गरिन्छ । क्लिनिकल साइकोलोजीस्टहरुले विरामीसंग कुरा गरि रोग उत्पन्न गराउने कारण वा मानसिक तनाव पत्ता लगाई, त्यसलाई व्यवस्थापन गर्ने तरिकाहरु सिकाउछन, शरीर र मनलाई रिल्याक्स गर्ने तरिकाहरु सिकाउछन र रोगको उपचार गर्छन ।

नेपालमा स्वास्थ्य सेवाको पहुँच राम्रो छैन, त्यसमा पनि मानसिक स्वास्थ्यको कुरा गर्दा, यो त धेरै पछाडी छ। मानसिक स्वास्थ, मानसिक अस्पताल र मानसिक रोग भन्ने वित्तिकै प्राय मानिसहरु डराउछन र मेरो दिमाग के भएको छ र भन्ने गर्छन । तर उनीहरु धामी झाक्रीलाई देखाउन प¥यो, वा झारफूक गर्नुप¥यो भने खुशी साथ जान्छन र सर सल्लाह मान्छन । कतिपय यस्ता रोगहरु छन जुन विश्वास कै भरमा पनि निको हुन सक्छन, खास गरेर मानसिक तनावका कारण वा नराम्रो रोग छ कि भनेर कल्पना गरेर चिन्तै चिन्ताले निकालेका रोगहरु धामी झाक्रीले सजिलै निको पार्दछन । धामी झाक्रीले रोगको कारण वताइदिन्छन र त्यो कारणलाई हटाउने व्यवस्था पनि गरिदिन्छन, विरामीले ति काल्पनिक कारणको विश्वास गर्छन, रोग हराउछ । अर्थात नेपालमा धामी झाक्रीले गर्ने कामलाई एक प्रकारको साइकोथेरापी मान्न सकिन्छ जसले विरामीको मन शान्त गर्छ, चित्त बुझाई दिन्छ र ठिक हुन्छ भन्ने ग्यारेन्टी समेत दिएको हुन्छ । हुन पनि कति मानसिक स्वास्थ्य समस्याहरु परिवारमा हुने गरेका पक्षपात, दवाव, कामको वोझ, श्रीमान/श्रीमती विचको अनमेल, यौन सम्वन्धी समस्याहरु, छोराछोरी नहुनु या छोराछोरीले दिने समस्याहरु, पठन पाठनमा समस्या र स्कुलमा हुने विभिन्न समस्याहरुले विभिन्न मानसिक स्वास्थ्य समस्याहरु दिइराखेका हुन्छन । यी विभिन्न समस्याहरु केहि समयका लागी भएपनि कम भए भने रोगका लक्षणहरु पनि कम हुन्छन ।

हामी आध्यात्मिकताका कुरा गर्दै थियौ । आफ्नो आस्था, धर्म र विश्वासको आधारमा करिव करिव सवैले ईश्वरमा विश्वास गर्छन वा धर्म स्थापना गर्ने गुरुलाई ईश्वरको रुपमा पुजा गर्छन । त्यस्तै धेरैले पृथ्वी, स्वर्ग, नर्क र मृत्यु पछि भोग्नु पर्ने कुरामा विश्वास गर्छन । मन्दिर, गुम्वा मस्जिद तथा चर्चमा गएर प्रार्थना, पूजा गर्ने वत्ति वाल्ने चलन पनि आफ्नो आस्था र विश्वास कै कारण हो ।

विरामी तथा विरामीको परिवारमा आध्यात्मीक विश्वास कस्तो छ, परमात्मा प्रतिको सोचाई के छ, रिति रिवाज के छ आदि हरेक कुराको ध्यान उपचार गर्ने चिकित्सक तथा साइकोथेरापी काउन्सेलीङ गर्ने साइकोलोजिस्टले ध्यान राख्नु पर्ने हुन्छ । आध्यात्मिकता, धर्म, आस्था, विश्वाश, ईश्वर, परमात्मा भुत प्रेत, लागो आदि सवै व्यर्थका कुरा हुन भनेर कुनै चिकित्सक वा साइकोलोजिस्टले भन्छ भने उ उपचार गर्न सफल हुदैन। आफ्नो आस्था र विश्वास आफ्नै ठाउँमा छदै छ, विरामीको तथा उनका परिवारको आस्था र विश्वासलाई कुनै नकारात्मक प्रभाव नपर्ने गरी उपचार गर्नु उपयुक्त हुनेछ ।

यस्तै गरेर आजकल विभिन्न सन्तहरुले अनेक किसिमका रोगहरु, ध्यान विधिहरु, पुजा/अर्चना गर्ने तरिकाहरु, टेलिभिजनको माध्यमवाट र विभिन्न सिविरहरु आयोजना गरेर सिकाउने गर्नुहुन्छ । योग र ध्यानमा तालीम प्राप्त शिक्षकहरु द्वारा प्रत्येक सहरमा इच्छुक व्यक्तिहरुलाई ध्यान गर्ने तरिका सिकाउने समेत गर्नुहुन्छ । धेरै मानसिक स्वास्थ्य समस्याहरु यी ध्यान विधिवाट निको हुन्छन भन्ने प्रचार प्रसार पनि निकै छ । मानसिक स्वास्थ्य समस्या लिएर उपचार गराउन आउने विरामीले कुनै ध्यान विधि गरि रहेको पनि हुन सक्छ त्यसप्रति पनि उपचार गर्ने चिकित्सकले विचार गर्नु पर्छ।

केहि कडा खालका मानसिक स्वास्थ्य समस्याहरु जस्तै मानसिक असन्तुलन, कडा खालको डिप्रेसन, मदिरापानको लत आदिमा औषधी उपचार नै गर्नुपर्छ, यस्ता विरामीले ध्यान गर्न पनि सक्दैनन र उपचार गरेर रोग नियन्त्रणमा आएपछि मात्र यस्ता योग वा ध्यान गर्ने तर्फ सोचाई राख्न सकिन्छ ।

योग, ध्यान, पूजा/अर्चना, प्रार्थना आदि उपचारको साथ साथै जान सक्ने तरिकाहरु हुन। तालिम प्राप्त शिक्षकद्वारा सिकाइएको ध्यान विधि गर्ने र औषधी पनि साथ साथै सेवन गर्न पनि कतिपए मानसिक रोगहरुमा सकिन्छ । कडा खालको मानसिक रोगमा ध्यान गर्दा केही विरामीहरुले डर लागेको र मन आत्तिएको अनुभव सुनाउने गर्नु भएको छ, यदि आफुलाई असजिलो हुन्छ भने त्यस्तो ध्यान नगर्दा हुन्छ । किन त्यस्तो हुन्छ भन्ने वारे आफुलाई सिकाउने शिक्षकले भन्न सक्नु हुनेछ । ध्यान गर्ने तरिका नमिले पनि त्यस्तो हुन सक्छ ।

सफल उपचारको लागी विरामी र विरामीका परिवारको विश्वास आवश्यक पर्छ र त्यसका लागी विरामी र उनको परिवारको आस्था र विश्वास प्रति ध्यान दिनु महत्वपूर्ण हुन्छ । आजकल तनाव घटाउने र विभिन्न रोगहरु वाट वच्ने उदेश्यले योग र ध्यान गर्ने चलन निकै प्रचलित छ र यो क्रम वढदै पनि छ । मानसिक समस्याहरु घटाउन र उपचारमा सहयोगीको रुपमा पनि विभिन्न ध्यान गर्ने तरिकाहरु प्रचार प्रसारमा छन । उपचारको क्रममा यी कुराहरुलाई महत्व दिनु उपयुक्त हुने छ ।

Related posts

चिसो पानी भन्दा तातो पानी पिउनु फाइदाजनक

Khoj Sanchar

सुन्दर शरीर भन्दा पनि स्वस्थ शरीर बनाउन तिर लाग्नुहोस्

Khoj Sanchar

निन्द्रा र हाम्रो स्वास्थ्य

Khoj Sanchar