20.1 C
Kathmandu
December 2, 2021
अभियान साँचो जीवननिर्माण अभियान

महत्त्वाकाङ्क्षा घातक हुन्छ

विश्वमा अनेक किसिमका अझ भनौँ विचित्र किसिमका समस्याहरूले गर्दा अनेकौँ किसिम र स्वभावका सङ्कटहरू एकपछि अर्को गर्दै थपिदैजादै छन्। यो एक देशमा वा महादेशमा सीमित छैन बरु सर्वत्र झाँगिदो छ। भुमण्डलीकरणको फाइदा भनौँ वा बेफाइदा कुनै देशमा पल्पिदैगएको सङ्कट र समस्या उद्‌गमस्थलमा मात्र सीमित नभएर अनेक रूपमा सुगम सञ्चार प्रविधि र मिडियाको माध्यम बाट अन्यत्र पनि सजिलै आगोको लप्काझैँ फैलिनु स्वाभाविक देखिनथालेको छ।

-डा. गोविन्द टण्डन

दोस्रो विश्वयुध्दको दानवीय लीला समाप्त नहुँदै तेस्रो विश्वयुध्दको डरले सबैको मनमा सन्त्रास हिजो जुन थियो, त्यो आज पनि छ र भोलि पनि रहि नै रहने छ। कुन सामान्य कारणले मानववंश र मानवतालाई सखाप पार्न सक्ने दिन देख्नु पर्ने हो भन्ने भय यावत् सचेत मानिसहरूमा छ भन्दा हुन्छ। विश्वका ठूला भनिने हरेक मुलुक शान्तिको लागि भनेर अशान्ति र वितण्डा मच्चाउने किसिमका अनेक डरलाग्दा आणविक अस्त्र-शस्त्रको व्यापक भण्डारणमा व्यस्त तथा परेको खण्डमा शत्रु देशमा विनाश निम्ताउन तम्तयार भएर बसिरहेका छन्। परमाणु अस्त्र-शस्त्रको व्यापक भण्डारणको कारण संसारलाई चाहेमा अनेकौँ पटक ध्वस्त तुल्याउन सक्ने हातहतियारले लेस भएको आजको दुँनियाको अवस्था हेर्दा/सुन्दा लाग्छ हामी सबै निरीह छौँ र काँचको घरमा बसेर ठूल्ठूला कुरा त गरिरहेका छैनौँ? हातहतियारलाई तकियामुनि राखेर निन्द्रा खोजिरहेको भान पर्छ। यो हुन सक्ने कुरै होइन। किन मानिसहरूले बुझ्न सकेका छैनन् आश्चर्य लाग्छ ।

दिग्भ्रमित भएर सुख भन्दै दु:खलाई, शान्ति भन्दै अशान्तिलाई हातेमालो गर्न पुगेको देख्दा जीवनसँग जोडिएको चेतनालाई प्राप्त गर्न हरेक दृष्टिकोणले मानिस पछि परिरहेको अनुभव हुन्छ।यद्यपि शिक्षा र ज्ञानको नाममा अनेक विधि प्रयत्नपश्चात् उपाधि, मान, सम्मान र अवसर आ-आफ्ना किसिमले नपाएका होइनन्।

अवसरको कुरा गर्ने हो भने अनेक सम्भावनाहरू दिनानुदिन बढ्दैगइरहेका छन्। यस्तो अवस्था विश्वमा पहिले कहिल्यै थिएन भने हुन्छ। उदारीकरणका सङ्केतहरू सबैतिर देखिदैजानु सुखद् हो।विस्तारै मानिस-मानिसमा विभेद खडा गर्ने पर्खालहरू ध्वस्त हुँदैछन्।जातीय, वर्गीय, लैङ्गिक बिभेदहरूको पर्दाफास हुँदै छ। यसो हुनै पर्छ। यसो हुँदा-हुँदै पनि अनेक यस्ता नदेखिने, नबुझिने, नसुनिने भित्री रहस्यहरू छन् जसले कहीँ न कहीँ विध्वंस मच्चाउन कारक भूमिका निर्वाह गरिरहेको हुन्छ।

मानिसलाई शान्त र आनन्दसँग बसेको देख्नै नचाहने तत्त्वहरूको घुसपैठ यत्रतत्र छ। जसको कारण विभिन्न किसिमका सुन्नु नपर्ने, भोग्नु नपर्ने, देख्नु नपर्ने समाचारहरू सुन्न भोग्न मानिस बाध्य छ।यस्ता किसिमका वातावरण तयार पार्ने काम फितलो दण्डसजाय, निहित स्वार्थ र मानिसमा भएका कमजोरीका कारण जानी/नजानी बढ्दो छ। बाहिर देखाउने एउटा कुरा छ, भित्र अर्कै स्वार्थले भरिएको महत्त्वाकाङ्क्षाले गर्दा पो जताततै उकुसमुकुसको अवस्था बढ्दैगइरहेको छ।कहाँ, कहिले के हुने हो र सुन्नु पर्ने हो? को अवस्था यत्रतत्र सबै तिर व्याप्त छ। यस्तो अवस्थाको विद्यमानता रहनु निश्चय नै मानवताको लागि, समृद्धिको लागि, शान्ति र आनन्दको लागि कतै उपयुक्त छैन।

Related posts

साँचो धर्मको खोजी

Khoj Sanchar

दिशा बदलौँ दशा बदलिन्छ

Khoj Sanchar

के आफूलाई चिन्ने प्रयाश ग-यौँ …?

Khoj Sanchar