10.1 C
Kathmandu
December 2, 2021
स्वास्थ्य

नियमित शारीरिक व्यायाम र यसवाट हुने फाइदाहरु

शारीरिक व्यायाम गर्नु राम्रो हो भन्ने कुरा हामी सवैलाई थाहा छ तर यस्तो व्यायाम कति गर्नु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ, वढी व्यायाम गर्नु हुन्छ वा हुदैन आदी वारे यहाँ चर्चा गरिने छ ।

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

शारीरिक व्यायाम गर्नेले एकै चोटी, हतारियर, धेरै थाक्ने गरी व्यायाम गर्नु हुदैन । पहिले त Stretching अर्थात हात खुट्टाका जोर्नीहरु तन्काउने गर्नु पर्छ । पहिले शरिरलाई तयार गरेर मात्र पूर्ण रुपमा व्यायाम गर्नु पर्छ । शरिरलाई तयार गर्नु भनेको warming up गर्ने भनेको हो । व्यायाम गरिसके पछि केहि छिन सुस्ताउनु पर्छ । व्यायाम गर्दा यसलाई वोझको रुपमा लिनु हुदैन । मनलाई शान्त राखेर आनन्द लिदै व्यायाम गर्ने हो । व्यायाम गर्दा रुची अनुसार विभिन्न गीत/भजन/क्लासीकल म्यूजिक सुन्न सकिन्छ ।

प्राय जसो शारीरिक व्यायाम स्वस्थ्य रहनको लागि गरिन्छ । त्यसको लागि हिड्नु सव भन्दा उत्तम मानिन्छ । करिब दिनको आधा घण्टा जति छिटो छिटो हिड्दा शारीरिक व्यायाम पुग्छ । कुनै कुनै दिन फूर्सद नहुन सक्छ, अल्छी लाग्न सक्छ वा सञ्चो नहुन सक्छ र त्यस्तो वेलामा व्यायाम गर्नै पर्छ भन्ने छैन । साताको ५ दिन व्यायाम गर्दा पनि दिन दिनै व्यायाम गरे सरह नै शरीरलाई फाइदा हुन्छ । त्यसकारण दुई दिन व्यायाम नगर्दा पनि हुन्छ तर समय छ भने दिन दिनै गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा अघि भने जस्तै सुरुवाटै वढी धपडी गरेर व्यायाम नगर्नुस । पहिलो ५/७ दिन धेरै नथाक्ने गरी १५/२० मिनट मात्र व्यायाम गरे पछि समय वढाई ३० मिनट पु¥याउन सक्नु हुन्छ । रुघाखोकी लागेको वेलामा शरीरलाई वढी आरामको आवश्यकता हुन्छ । त्यस्तै ज्वरो आएको वेला वा पखाला लागेको वेलामा व्यायाम गर्नु हुदैन।

अव शारीरिक व्यायाम ले के के फाइदा गर्ने रहेछ त्यसवारे केहि चर्चा गरौ । व्यायाम गर्दा हाम्रो मश्तिष्कवाट निस्कने केहि रासायनिक पदार्थहरु सक्रिय हुन्छन र त्यस्ता रसहरु निस्कन्छन जसले हाम्रो मनलाई आनन्द दिन्छन । हाम्रो मन ताजा भएको अनुभव हुन्छ । शरीरमा त स्फूर्ती वढेको हुन्छ साथ साथै त्यस्ता रसायनले हाम्रो मनलाई आनन्दित पार्छन । के के हुन त ति रसायनहरु ? व्यायाम गर्दा मश्तिस्कबाट इन्डोरफिन्स (endorphins) र इनकेफालिन्स(enkephalins) नामक हर्मोनहरु निस्कन्छन । यी हर्मोनहरुलाई मनलाई आनन्द दिने हर्मोन पनि भनिन्छ । त्यस्तै व्यायाम गर्दा अन्य न्युरोकेमिकल्सहरु जस्तै सेरोटोनिन र डोपामिन पनि पर्याप्त मात्रामा उत्पन्न हुन्छन जुन डिप्रेसन र चिन्ता रोग जस्ता मानसिक स्वास्थ्य समस्या निको पार्न सहायक हुन्छन ।

नियमित व्यायाम गर्नाले ब्लड प्रेसरलाई नियन्त्रण गर्न सजिलो हुन्छ । मानव शरीरमा वा रगतमा कोलेष्टेरोल (Cholesterol) हुन्छ भन्ने त धेरैलाई थाहा छ । कोलेष्टेरोल एक प्रकारको वोसो तत्व हो र चाहिने मात्रा भन्दा धेरै भयो भने नोक्सान गर्ने तत्व पनि हो । राम्रो कोलेष्टेरोललाई (HDL-Cholesterol) र नराम्रो कोलेष्टेरोल (LDL-Cholesterol) भन्दछन । शारीरिक व्यायामले HDL-Cholesterol लाई वढाउन र LDL-Cholesterol लाई घटाउन सहयोग गर्छ । ब्लड प्रेसर र कोलेष्टेरोल नर्मल भएमा मुटुमा नराम्रो असर पर्दैन।

हामीले खाएको खानावाट शक्ति (Energy) उत्पन्न हुन्छ जसलाई क्यालोरी भनिन्छ । क्यालोरीले शरीरलाई काम गर्दा वा नगर्दा पनि आवश्यक पर्ने शक्ति दिन्छ । काम नगर्दा पनि अर्थात वसी राख्दा र सुति राख्दा पनि शरिरलाई संचालन गर्न त शक्ती चाहिन्छ । हाम्रो खानामा शरीरलाई आवश्यक पर्ने भन्दा धेरै क्यालोरी भयो भने त्यो वोसोको रुपमा शरीरमा जम्मा हुन्छ र शरीरको मोटोपना वा वजन वढ्छ । खानामा आवश्यक पर्ने क्यालोरी कम भयो भने शरीरमा भएको वोसोवाट थप क्यालोरी प्राप्त हुन्छ । लामो समय सम्म क्यालोरीको कमि भयो भने शरीर दुव्लाउदै जान्छ नियमित शारीरिक व्यायाम गर्दा पनि थप शक्ति चाहिन्छ, अर्थात क्यालोरी खर्च हुन्छ र वजन वढी छ भने घटाउन सहयोग गर्छ र मोटो छैन भने पनि खाएको वढी क्यालोरी व्यायाम गर्दा खर्च हुन्छ र वजन वढ्न पाउँदैन । त्यसैले शरीरको वजन नियन्त्रण गर्न शारीरिक व्यायामले सहयोग पु¥याउछ । वजन वढी भएको वा मोटो मानिसले नियमित व्यायाम गर्दा वजन ठिक ठाउँमा ल्याउन वा कमसेकम वढ्न नदिन सहयोग हुन्छ। शारीरिक व्यायाम गर्दा मांसपेशीहरु र हड्डीहरु बलिया हुन्छन।

नियमित शारीरिक व्यायाम गर्दा मुटु वलियो हुन्छ फोक्सोले अक्सिजन लिनसक्ने क्षमता वढ्छ । मुटुले शरीरका विभिन्न भागमा रक्तनलीहरुवाट रगत पु¥याउने काम गर्छ । शारीरिक व्यायाम गर्दा शरीरमा रक्त प्रभाह राम्रो हुन्छ र अक्सिजन र पोषण तत्वहरु शरीरका विभिन्न अङ्ग प्रत्यङ्गहरुमा राम्रो गरी पुग्छन । यसले गर्दा शरीरलाई स्वस्थ्य राख्न र स्फूर्ति दिन सहयोग हुन्छ ।

नियमित व्यायाम गर्ने व्यक्तिहरुमा अनिन्द्राको समस्या हुदैन । भोक लाग्छ, खाना मिठो हुन्छ, पाँचन राम्रो हुन्छ र मिठो निन्द्रा लाग्छ । केहि पुरुषहरुमा पैतालिस/ पचास वर्ष पुग्दा नपुग्दै यौन समस्या सुरु भएर विभिन्न क्लिनिक, नर्सिङ होम धाउने या यौन उत्तेजना वढाउन सकिन्छ कि भनेर महगा औषधी सेवन गर्ने गरेको पाइन्छ । नियमित शारीरिक व्यायाम गर्ने हो भने वहाँहरुको यौन समस्या पनि हराएर जान सक्छ ।

हाम्रो शरीरमा रोग संग लड्ने र विभिन्न रोगवाट वचाउने एउटा सिस्टम हुन्छ जसलाई हामी प्रतिरक्षा प्रणाली भन्छौ । कुनै पनि रोगले हामीलाई आक्रमण गर्दा, प्रतिरक्षा प्रणाली का कोषहरु पहिले लड्छन र यीनीहरुले जीते भने हामीलाई रोगले आक्रमण गर्न सक्दैन । नियमित व्यायाम गर्दा हाम्रो प्रतिरक्षा प्रणाली वलियो हुन्छ र हामी रोगहरुवाट वच्न सक्छौ ।

एक्काइसौ शताब्दीलाई तनावको युग भने पनि हुन्छ । मानिसहरु विहान देखि रातीसम्म दौडधुप गरी राहेका हुन्छन, आवश्यकता वढ्दैछन, महगाई वढ्दैछ, जति दौडधुप गरे पनि मानिस संतुष्ट हुन सकि रहेका छैनन र मानसिक तनाव वढ्दैछ, तनावका कारण हुने समस्याहरु बढ्दैछन, तनावका कारण हुने विभिन्न शारीरिक र मानसिक रोगहरु बढ्दैछन । तनाव वाट उत्पन्न समस्याहरुको उपचार मानिसले औषधी मुलोमा खोजी रहेको छ । तर के कारणले आफुलाई समस्या भएको हो भन्ने वारे भने करिव अनभिज्ञ नै छ । तनाव हुदा शरीरवाट यस्ता रासायनिक तत्वहरु निस्कन्छन जसले ब्लड प्रेसर वढाउछन, पेटको समस्या हुन्छ, पाँचन क्रिया गडवड हुन्छ, निन्द राम्रो लाग्दैन, विनाकारण रिस उठ्छ, पारिवारीक कलह हुन्छ र रोग संग लड्न सक्ने क्षमता समेत घट्छ । यति हुदा हुदै पनि यदि नियमित व्यायाम गर्ने हो भने मानसिक तनाव कम गर्न समेत यसले सहयोग गर्दछ ।

मानसिक तनाव कै कारण मानिसलाई चिन्ता रोग तथा डिप्रेसन रोग लाग्न सक्छ । चिन्ता रोग तथा डिप्रेसनलाई रोकथाम गर्ने एउटा तरिका नियमित व्यायाम गर्नु र मानसिक तनाव घटाउनु हो । सन २०२० सम्ममा संसार मै मुटुरोग र डिप्रेसन प्रमुख रोगहरु हुनेछन भन्ने वैज्ञानिकहरुको अनुमान छ । शारीरिक व्यायाम नगर्ने र मानसिक तनाव वढी हुने मानिसहरु नै यसको शिकार हुने छन । अनियन्त्रित ब्लड प्रेसर, मधुमेह, अत्याधिक कोलेस्टेरोल, ध्रुमपान, मोटोपना यसका अन्य कारणहरु हुनेछन । नियमित शारीरिक व्यायाम गर्ने, तनावको राम्रो व्यवस्थापन गर्ने र अन्य माथी उल्लेख गरिएका कुरामा ध्यान दिने हो भने मुटुरोग र डिप्रेसन दुवैवाट वच्न सकिने छ । उच्च रक्तचाव, मधुमेह डिप्रेसन जस्ता रोगहरुले डिमेन्सिया हुने सम्भावना वढाउछन । तर नियमित व्यायामले डिमेन्सिया रोग वाट वचाउन समेत सहयोग गर्छ।

शारीरिक व्यायामको साथ साथै हामीले कस्तो खाना खान्छौ त्यसको असर पनि शरीरमा पर्छ । सकभर रातो मासु, चिल्लो र तारेको खानाहरुवाट टाढै रहनु वेस । त्यस्तै गरेर फास्टफूड तथा जंक फूड पनि सकभर नखानु वेस । सागपात, फलफूल, गेडागुडी आदी स्वास्थ्य वर्धक तत्व मानिन्छन, त्यसैले यिनीहरु नियमित खानु राम्रो ।

सुरुमा भने जस्तै शारीरिक व्यायाम गर्दा रमाएर गर्नु पर्छ र नियमित गर्नु पर्छ । सवैको चाहना जिन्दगी खुशी पुर्वक विताउने हो, रमाइलो गरी विताउने हो र त्यसको लागि हामी सवैले आफै प्रयास गर्नु पर्छ किन कि खुशी, आनन्द र रमाइलो पना आफु भित्रैवाट आउने हो वाहिरवाट आउने होइन ।

Related posts

प्राण शक्ति अर्थात् प्राणायाम

Khoj Sanchar

राती भयो कि कोहि आएर अनुहारमा मुक्कै मुक्काले हान्छ

Khoj Sanchar

चिसो पानी भन्दा तातो पानी पिउनु फाइदाजनक

Khoj Sanchar