8 C
Kathmandu
January 26, 2021
स्वास्थ्य

मृत्युको सोचले दिने पिडा

पूर्विय दर्शन श्रीमदभागवत गीता कै कुरा गर्ने हो भने “आत्मा छ, आत्मा अमर छ, कहिले पनि मर्दैन र यसले पुनर्जन्म लिइ रहन्छ” भन्ने विश्वास गर्ने हरुका लागी डर कम गर्ने यो राम्रो तरिका हुन सक्छ ।

डा. कपिलदेव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

कोभिड–१९ को लकडाउन भएको वेला सि.एम.सी नेपालले काउन्सेलिङ सेवा फोनबाट दिने निर्णय ग¥यो यसै सिलसिलामा मलाई विदेशमा कामगर्ने एकजना नेपालीले फोन गर्नु भयो र आफ्नो समस्या यसरी वताउनु भयो “मलाई वेला वेलामा मर्छु भन्ने धेरै डर लाग्छ, नेपालमा मेरो वृद्ध पिताको मृत्युको समाचार आउछ भन्ने डर लाग्छ, मेरो छोरी सानै छ, उसलाई विहे गरेर घर पठाउदा कसरी विछोड सहने भन्ने डर लाग्छ” र यी डरले गत २ वर्ष देखी सताई रहेका छन । कुनै औषधीले पनि यो डर कमगर्न सकेन । वहाँको डर खास गरेर आफ्नो मृत्यु वा आफ्नो पिताके मृत्युको डर लाई अस्तित्वगत संकट भन्ने गरिन्छ । यो डर त शायद धेरैलाई हुन्छ । मनोचिकित्सक भएर मैले धेरै विरामीहरु हेरे । सवभन्दा वढी मानिस डराउने मृत्यु सित नै रहेछ । अर्को दुई वटा डर मानसिक असन्तुलन हुन्छ भन्ने र निको नहुने रोग लाग्छ कि भन्ने रहेछन । यी २ वटा डर त मार्क ट्वाएनले भनेको विचार सँग मेल खान्छन र सम्झाउन र थेरापी गर्न पनि सजिलो छ तर मृत्युको डर, अहिले लाई तपाई कल्पना गरेर डराउनु भएको हो भन्ने वाहेक अरु के भन्ने ।
जीवन भनेको जन्मे देखि मृत्यु विचको यात्रा हो, जीवनमा सवै कुरा अनिश्चित छ, अनिश्चितता मै जीवन विताउने हो । संसारमा प्रत्येक कुरा परिवर्तनशील छ, स्थायी भन्ने कुनै कुरा छैन, मृत्युलाई स्वीकार गर्नु वाहेक कुनै उपाए पनि छैन, जीवन कसरी जीउने भन्ने कुरा भने आफ्नो हातमा छ । अनेक कुराहरु गरेपनि, यो सवै कुरा त मलाई थाहा छ तर थाहा भएर पनि मनले माने पो, डराउन कम भएपो, भन्ने धेरै को भनाई हुन्छ ।

ग्रीक फिलोसोफर इपिक्युरस भन्छन “Our Omnipresent fear is of death” अर्थात मृत्यु को डर त सर्वव्यापी छ । कुनै ठाउँमा पढेको थिए प्यारासूट जम्प, वन्जीजम्पीङ, ¥याफ्टीङ र माउन्टनयरिङ आदी गर्दा मनले निकै कन्सन्ट्रेट गर्न सक्छ, फोकस गर्न सक्छ, एडरेनलीन रश हुन्छ र निकै एक्साइटमेन्ट हुन्छ वा उत्साह हुन्छ । शायद मृत्युको डर घटाउन यो केहि सहायक हुन्छ कि ?

यस्तो पनि भनाई रहेछ “Death anxiety is the mother of all religion” आफ्नालाई हेर्न, सुन्न र छुन नपाउने डर आफन्तजन सँग छुट्टीनुको डर र भविष्यमा परवारलाई के हुन्छ होलाभन्ने डर प्राय चिन्तारोगका विरामीहरुले भन्नु हुन्छ । जस्तै “म मरे भने मेरा केटाकेटीहरुको के हुन्छ होला” मेरा नातीले “हजुरबा”भनेर टास्सी रहन्छ, त्यसैले मरिन्छ भन्ने डर लाग्छ जस्ता, अनेकौ डर मृत्यु सँगै जोडिएका हुन्छन ।

एक पटक रमाइलो घटना पनि भएको छ, धेरै वर्ष देखि मैले हेरि राखेको महिला आउनु भयो र भन्नु भयो “डाक्टरको कपाल आखिभौ पुरै फुलि सकेको थियो, काठमाण्डौ नआएको पनि २ वर्ष भयो, औषधी त छोडेको छैन, डाक्टर हुनुहुन्छ कि हुनुहुदैन संखा थियो, धन्न भेट भयो” आफ्नो नभए पनि अरुको मृत्यु वारे मानिस सोच्छन भन्ने लाग्यो । हुनत विरामीहरुले वेला मौकामा सोध्नु हुन्छ “अव डाक्टर साहेव वुढो हुनु भयो, तपाई नहुदा कसलाई जचाउने” भनेर । यस्तो लाग्छ मृत्युको सोच त सर्वव्यापी नै छ । चाहे अरुको वारे किन नहोस । मृत्यु निश्चित छ र जुनसुकै वेला पनि हुन सक्छ भन्ने सोच राख्दा डर शायद केहि कम हुन्छ ।

एडोल्फ मेएर जो एक निकै प्रसिद्ध मनोचिकित्सक हुनुहुन्थ्यो र वहाँले लेखेको पुस्तक हामीले पढेका थियौ वहाँले सुझाव दिनुहुन्छ “Do not scratch where it does not itch” अर्थात मृत्यु लगायत यस्तो कुरा कोट्याउने नगर जसको बारे हामीलाई थाहा छैन र छलफल गर्न पनि सक्दैनौ । तर हामीलाई जे कुरा थाहा छैन त्यसै प्रति वढी चासो लिन्छौ । जे थाहा छ त्यसको सहि उपयोग गरेर रमाउन जान्दैनौ । तर जुन कुरा सय प्रतिशत निश्चित छ, त्यसवारे सोच्दै नसोच्ने पनि सम्भव छ र । यदि सम्भव भए, यो सर्वव्यापी डर किन हुने थियो र ?

जव मृत्यु हुन्छ, हाम्रा अमुल्य, अनुभवहरु, आनन्दका क्षणहरु, प्रत्येक व्यक्तिका आ–आफ्ना विशेष किसिमका संझनाहरु सवै विलाएर नै जानेछन, कुनै संस्मरण वा पुस्तक लेखिएका रहेछन भने कसैका लागी रहन पनि सक्छन र उत्प्रेरणा दिने पनि हुन सक्छन ।
केहि व्यक्तिहरुले आफ्नो मृत्यु पूर्व आफ्नो परिवारलाई के भनौ भन्ने सोच्ने गर्नु हुन्छ, भनेको सुझाव मनन गर्नु भन्दा तपाईले जीन्दगी कसरी विताउनु भयो त्यो कुरा को याद परिवारका सदस्यहरुले राख्छन। तैपनि भन्नै पर्नेछ भने रमाउने कुराहरु धेरै छन प्रकृतिमा होस, परिवारसँग होस, मिल्ने साथीहरुसँग होस, प्रेम पूर्ण जीवन वाच्न सकिन्छ। हृदयदेखि को प्रेम भन्दा ठूलो जीवनमा केहि पनि त छैन। जीवनलाई प्रेम गर र अरु सवै प्रति प्रेम भाव राख भन्न सकिन्छ।

महान फिलोसोफर फ्रेडरिक नित्से भन्नु हुन्छ “Consumate your life and Die at the right time” अर्थात जीवनमा पूर्ण आनन्द लेउ र मृत्यु जव आउछ स्वीकार गर” । तैपनि मृत्यु कति वेला आउछ, कसरी आउछ, कहाँ भएको वेलामा आउछ वा के गरि राखेको वेलामा आउछ सवै अनिश्चित भएकोले मृत्यु को डर लागी रहने तर मर्नु पर्छ भन्ने सवै थाहा छ भन्ने लाई कसरी काउन्सेलीङ गर्ने भन्ने ठूलै समस्या देखिन्छ ।

हुनत अस्तित्वको संकट वा डर कमगर्न Existential therapy भन्ने विधि पश्चिममा विकास गरे । यसले जीवन कस्तो हो, के हो यसैमा चर्चा गरेर वुझाउने प्रयास गर्ने त हो वा सकारात्मक सोच विकास गरेर जीवन जीउने कला सिकाउने त हो ।

एकजना मित्रले Preparing to Die भन्ने पुस्तक मलाई दिनु भयो । एनड्रयू होलसेकले लेखेको यो पुस्तकमा तिब्वेतियन बुद्धिस्ट परम्परा अनुसार मृत्यु वारे विभिन्न सुझावहरु छन् जस्तै :

  • मृत्युको अनुभव आध्यात्मिक प्रगतिको लागी राम्रो अनुभव हुन सक्छ यदि पहिले देखि नै मृत्यु वारे केहि ध्यान विधीको प्राक्टीस गर्ने ग¥यो भने ।मृत्यु शान्त वातावरणमा हुन दिनु पर्छ । परिवारजन रुने, कराउने आदी गर्दा मृत्यु हुने व्यक्तिको मन विचलित हुन्छ ।
  • धेरै मानिसहरु भन्छन, थाहै नपाई मृत्यु भए हुन्थ्यो । अध्यात्मिक दृष्टिले यसलाई ठिक मानिदैन । पुरै होस भएको वेलामा मृत्यु हुनु राम्रो मानिन्छ ।
  • मृत्यु हुदा “मान्नुस शरिर एउटा रकेट जस्तै हो र चेतना शरिरवाट फूत्त वाहिर आकाश (space) मा निस्कन्छ । शरिर छोडियो, संसार पनि छोडियो अव मन मात्रै छ वा चेतना मात्रै छ । मैले शरीर छोडें भन्ने होस भयो भने अको जन्म राम्रो हुन्छ”।

यस्ता धेरै कुराहरु Andrew Holecek को कितावले समेटेको छ । इच्छुक व्यक्तिले उनको भनाई वारे youtube मा हेर्न पनि सक्नु हुन्छ ।

महाभारतमा युधिस्ठिर र यक्ष विच लामो प्रश्नोउत्तरको शिल शिला छ । यहाँ यमराज भेष वदलेर यक्षको भेषमा आएका हुन्छन । उनले युधिस्ठिरलाईृ अन्तिम प्रश्न सोध्छन “मानिसको सवभन्दा आश्चर्य लाग्दो स्वभाव के हो”? र युधिष्ठिरले उत्तर दिन्छन “जताततै मानिसको मृत्यु भएको देखेर पनि आफ्नो पनि मृत्यु हुन्छ भन्ने विश्वास नगर्ने मानिसको स्वभाव सव भन्दा आश्चर्य लाग्दो छ” यहाँ शायद भन्न खोजेको कुरा, मृत्यु भएपनि अहिले हुदैन आज हुदैन वा अझै धेरै समय वाकी छ भन्ने सोचलाई हो । यदि मृत्यु जुनसुकै वेला पनि हुन सक्छ भन्ने हो भने मानिसको आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण नै पुरै वदलिएको हुन्छ ।

साइकोलोजी अनुसार मृत्युको चिन्ता हटाउन Defens mechanism of Denial को प्रयोग गर्छौ । अरुको मृत्यु भएपनि आफ्नो हुदैन भन्ने सोचलाई आफ्नो वरीपरी पर्खाल जस्तो वनाउछौ अर्थात मृत्युको सम्भावनालाई अस्वीकार गर्दछौ ।

मृत्यु हुदा स्वास प्रश्वास बन्द हुन्छ अर्थात प्राण वायु वन्द हुन्छ भन्ने त सवैलाई थाहै छ । प्राण वायु वन्द भएपछी होस पनि हराउछ । यहि चेतना वा होस वा consciousness लाई नै आत्मा भन्ने गरेको हो कि?

पूर्विय दर्शन श्रीमदभागवत गीता कै कुरा गर्ने हो भने “आत्मा छ, आत्मा अमर छ, कहिले पनि मर्दैन र यसले पुनर्जन्म लिइ रहन्छ” भन्ने विश्वास गर्ने हरुका लागी डर कम गर्ने यो राम्रो तरिका हुन सक्छ ।

Related posts

लसुन, बेसार र ल्वाङको प्रयोगले ७ रोगको उपचार

Khoj Sanchar

आध्यात्मिकता र मानसिक स्वास्थ

Khoj Sanchar

नेपालमा मानसिक स्वास्थ्य सेवाको स्थिती र भविष्यमा चाल्नु पर्ने कदमहरु

Khoj Sanchar