11.1 C
Kathmandu
January 23, 2022
स्वास्थ्य

हाम्रो विचार (Thoughts) र मनोरोग

हाम्रो मन अत्यन्त चंचल छ, अनेक किसिमका विचारहरु हाम्रो मनमा आइरहेका हुन्छन । विगतमा घटेका पिडादायक घटनाहरु, आफु वा अरुवाट भएका गल्तीहरु, झगडाहरु, कुटपिटका घटनाहरु वा यस्तै यस्तै मनमा चोट पु¥याउने खालका घटनाहरु प्राय विचारका रुपमा आइरहेका हुन्छन । त्यस्तै गरेर भविष्यमा के होला, कस्तो होला, आफुले भने जस्तो गर्न पाइएला वा नपाइएला भन्ने विचारहरु पनि धेरैको मनमा आइरहेको हुन्छन ।

डा. कपिल देव उपाध्याय
वरिष्ट मनोरोग विशेषज्ञ

भनिन्छ प्रति मिनेट करिव २५ देखि ३० वटा शब्दहरु विचारको रुपमा आउछन रे। अर्थात दिनभरीमा करिव ४० हजार शब्दहरु विचारको रुपमा आउछन वा आउन सक्छन । यसरी हेर्दा हाम्रो मश्तिस्कमा विचारहरुको वाढी नै छ भन्दा पनि हुन्छ । यी विचारहरु मध्ये धेरै जसो नकारात्मक विचारहरु, दुःख र पिडाका विचारहरु, रिस, आक्रोस र अरुसंग वदला लिने खालका विचारहरु, दुःख, चिन्ता, डर र निराशापनका विचारहरु आफ्नो परिवार जनका कुनै सदस्यलाई केहि हुन्छ कि ? नराम्रो घटना घट्छ कि भन्ने सोचाईहरु, आफुलाई नराम्रो रोग लागेको छ कि ? यसले मार्छ कि ? अकालमै वा छिटै मरिन्छ कि जस्ता विचारहरु आदिले कतिपयलाई सताई रहेका हुदाँ रहेछन ।

अस्पतालमा जचाउन आउने केही विरामीहरुले भनेका कुराहरु यहाँहरु समक्ष राख्न चाहान्छु :

  • अचानक मुटुको धडकन वढन थाल्छ, स्वाँस फेर्न मुश्किल हुन्छ घाँटीमा केहि आएर अडकिए जस्तो हुन्छ, मुख सुक्छ र मरिन्छ कि भन्ने डर लाग्छ र अस्पतालको इमरजेन्सीमा कति पटक आइसके, तर डाक्टरले सवै ठिकै छ चिन्ता नलिनुस भन्छन् ।
  • एक्लै वाटोमा हिडदा लडछु कि ? वेहोस हुन्छु कि जस्तो लाग्छ एकजना साथी भएमा भने त्यस्तो डर लाग्दैन ।
  • मन निराश हुन्छ, गल्ती गरे जस्तो लाग्छ, सबैलाई दुःख दिए जस्तो लाग्छ, भोक, निद्रा लाग्दैन ।
  • मैले जीन्दगीमा केहि पनि गर्न सकिन, भविष्यमा पनि गर्न सक्दीन जस्तो लाग्छ ।
  • कसैको माया लाग्दैन, कुनै कुरा पनि रमाइलो लाग्दैन, त्यत्तिकै रिस उठछ ।
  • श्रीमान समयमा घरमा नाआउँदा अरु आइमाईसंग लागेका छन कि भन्ने शंका लाग्छ ।
  • आफु घरमा नभएको वेलामा श्रीमती कुनै पुरुष संग वाहीर जान्छे कि भन्ने शंका लाग्छ। फोन गरी राख्छु तर फोनमा त घरमै छु भन्न सकिहालिन्छ नि?

यस्तै यस्तै अनगिन्ती सोचाइको समस्या लिएर विरामी अस्पताल, क्लिनिकहरु धाइ रहेका हुन्छन । विभिन्न परिक्षणहरु गर्दा कुनै ठूलो रोग वा स्वास्थ्य समस्याहरु देखिदैनन्। यस्ता सोचाईहरु र यस्तो होलाकि भन्ने कल्पनाहरुले त्यसै डर, निराशापन र चिन्ता दिन थाल्दछन र समस्या नवुझ्ने हो भने बढदै जान्छन ।

हाम्रो मश्तिस्कले कल्पना हो कि वास्तविक घटना हो सजिलै छुट्याउन सक्दैन । मानौ तपाइको मनमा ‘आँप’ भन्यो भने आँपको आकार र त्यस्तै गरेर सुन्तला, केरा, मेवा, आदि सोच्यो भने तिनै फलफुलको आकार दिमागमा आउँछ । त्यस्तै गरेर विरामी, दुर्घटना, या मरेको मानिसको विचार गर्दा त्यस्तै आकार मश्तिस्कमा आउछ । फेरि मश्तिस्क यति ज्यादै सेनसेटिव छ कि त्यस्ता सोचाई आउने वित्तिकै रियाक्सन देखाइहाल्छ । अर्थात डर लाग्ने कुराहरु सोच्यो भने झन डर लाग्दै जान्छ । त्यसैले नकारात्मक सोचाई हुनु हुदैन, यस्ता सोचाईहरुले नकारात्मक प्रभाव पार्दछन र विभिन्न मनोरोग निम्त्याउन सक्छन भन्ने गरेको हो । यस्ता विचारहरु नआउनको लागी के गर्न सकिन्छ त भन्ने प्रश्न स्वभाविक रुपमा आउन सक्छ ।

वैज्ञानिक दृष्टिकोणले भन्ने हो भने कगनेटिव विहेवियर थेरापी (Cognitive Behaviour Therapy) भन्ने एउटा उपचार विधि छ जसमा नकारात्मक विचारहरुलाई चिन्ने र सकारात्मक विचारमा परिवर्तन गर्ने तरिकाहरु सिकाइन्छ । तर आफै के कस्ता प्रयासहरु गर्न सकिन्छ भन्ने वारे चर्चा गर्न चाहन्छु । यहाँ गौतम वुद्धले भन्नु भएको एउटा भनाईवाट सुरु गर्न चाहन्छु “The path I have found is the path of living each hour of the day in awareness, mind and body always dwelling in the present moment” गौतम वुद्धलाई पूर्वका महान मनोवैज्ञानिक भन्दा पनि हुन्छ । वहाँले भन्नु भएको “संसारमा दुःख छ, दुःखका कारणहरु छन, दुःखवाट मुक्ति पाउने उपायहरु छन” भन्ने उपदेश दिनु भएको कुरा त हामीहरुलाई थाहै छ । अव वहाँले भन्नुभएको “Living each hour of the day in awareness” को कुरालाई नै लिउँ । प्रत्येक घडी हामीले होसपूर्ण तरिकाले विताउनु पर्छ भन्ने यो भनाई वहाँ पछीका धेरै सन्तहरुले पनि भन्नु भएको छ, धेरै लेखकहरुले पनि यो कुरामा निकै जोड दिनु भएको छ । Awareness भनेको हामी जे गर्दा पनि होस पूर्वक गर्ने र केहि नगरेर वस्दा समेत होस पूर्वक वस्ने भनेको हो । धेरैलाई आश्चर्य लाग्न सक्छ हामीले खाँदा, काम गर्दा, कुराकानी गर्दा, मोटरसाइकल वा गाडी चलाउदा वा हिडदा होस पूर्वक यी कामहरु गरी रहेका हुदैनौ । थोरै मात्र होस त अवश्य हुन्छ तर पूर्ण रुपले हामी होसमा हुदैनौ । हामीले जे गरिरहेका हुन्छौ त्यसलाई नै होसपूर्ण तरिकाले वा पूरा होसले गर्ने वानी वसाल्न सक्यौ भने मात्र Living in Awareness हुन्छ ।

आफ्नो विचारको कुरा गर्दा एक मिनेटको लागी एउटा सानो प्रयोग गरौ “आँखा चिम्लेर तपाईले आफ्नो विचारलाई हेर्नुस” । जव तपाइले आफ्नो विचारलाई हेर्न थाल्नु हुन्छ विचारहरु कम हुदै जान्छन, शायद यो अनुभव यहाँले गर्नु भयो होला । आँखा चिम्लनु पनि पर्दैन, अहिले के विचार आइरहेको छ भनेर हेर्ने वानी भने वसाल्नु पर्छ । आफ्नो मनमा आएका विचारलाई यसरी हेर्नु लाई “Awareness of mind” भनिन्छ र आफ्नो शरीरलाई के भइराखेको छ हेर्नलाई “Awareness of body” भनिन्छ ।

आफ्नो मनमा आउने विचारहरुलाई हेर्ने वानी वस्यो भने नराम्रो विचार आएको वा काल्पनिक विचार आएको तुरुन्तै थाहा पाइन्छ । नराम्रा विचारहरु आउन कम हुदै गएपछि मन आत्तिने, डराउने र निराश हुने स्वत कम हुदै जान्छ ।

हाम्रो अर्को सोचाइको समस्या हो– वितेका कुराहरुलाई सोचेर दुखी हुने । भन्ने चलन पनि छ “Past is Past” । विती सकेको कुरा जसलाई फर्काउन सकिदैन त्यस वारे दुःखी भएर किन वस्ने ? विगतमा गरेका गल्तीहरु प्रति दुःख लाग्छ भने “अव त्यस्तो गल्ती फेरी गर्दिन भन्न सम्म सकिन्छ” । त्यसकारण जव विचार वितेको समय तीर फर्किन्छ त्यसलाई चिन्ने र कम गर्ने प्रयास गर्ने ।

रह्यो भविष्यको कल्पना गरेर दुःखी हुने। एकजना व्यक्ति आएर मलाई भन्नु भयो “मलाई भूकम्प आउछ कि भनेर ज्यादै डर लाग्छ, त्यस्तै अर्को व्यक्तिले भन्नु भयो आकाश गर्जिदा ज्यादै डर लाग्छ” तर यस्ता कुराहरुमा डराउनु भन्दा भूकम्प आउदा कसरी सुरक्षीत हुन सकिन्छ, घर वनाउदा सुरक्षित घर कसरी वनाउने भन्ने तर्फ ध्यान दिदा राम्रो हुन्छ । विजुली चम्कीदा र आकाश गर्जिदा आवाज कै कारण तर्सिने त धेरै लाई हुन सक्छ। चट्याङ पर्न सक्छ भनेर रुख मुनी नवस्ने सकभर घर भित्र वस्ने गर्न सकिन्छ । यी कुराहरु आफ्नो नियन्त्रण भन्दा वाहिर भएकाले चिन्ता लिएर पनि केहि गर्न सकिन्न ।

फेरी गौतम वुद्धले भन्नु भएको माथिकै कुरा लिउँ, “Always dwelling in the present moment” अर्थात अहिलेको क्षण नै सर्वाधिक महत्वको क्षण हो, प्रत्येक यस्तो क्षणलाई सचेत भएर विताउने वानी वसाल्न सक्यो भने अनावश्यक चिन्ता र डर वाट मुक्ति पाउन सकिन्छ। तर यसको लागि प्रत्येक क्षण सचेत हुने वानी भने वसाल्नु पर्छ जसको लागी केहि हप्ता वा केहि महिना लाग्न सक्छ। “Present moment is the most important moment” भनेर हामीले धेरै ठाउँमा पढेका छौ र सुनेका पनि छौ तर समस्या के हो भने हामीले यसलाई प्रयोगमा ल्याउदैनौ । वुद्धको यो भनाई “Always dwelling in the present moment” लाई प्रयोग गरेर हेरौ त मनका चिन्ता र डरहरु हराएर जानेछन ।

Related posts

जीवन, डर र मृत्यु

Khoj Sanchar

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

Khoj Sanchar

खाना खाने बित्तिकै गर्न नहुने कुरा, निम्त्याउँछ विभिन्न रोग

Khoj Sanchar