24.1 C
Kathmandu
October 2, 2022
स्वास्थ्य

जीवन, डर र मृत्यु

हामी मृत्यु वारे कुरा गर्न वा छलफल गर्न प्राय चाहदैनौ, किनकि त्यसले टेनसन दिन्छ , चिन्ता लाग्छ, आफुलाई केहि हुने हो कि वा छोराछोरी, श्रीमान श्रीमतीलाई केहि भै हाल्छ कि भन्ने डर लाग्न थाल्छ । केहिलाई निन्द्रा नलाग्ने, डर लाग्ने वा नराम्रो सपना देख्ने समेत हुन्छ ।

डा. कपिल देव उपाध्याय
मनोचिकित्सक

४० वर्षका वुद्धीजीवी पुरुष, वहाँको ज्यादै मिल्ने साथीको ३६/३७ वर्षको उमेरमा हृदयघात (Heart attack) भएर मृत्युनै भएछ। आफुलाई पनि हृदयघात हुन्छ र अचानक मरिन्छ भन्ने डरले वहालाई सताई रहेको छ। हृदय रोग विशेषज्ञलाई जचाउने र विभिन्न खाले रगतको परिक्षण गर्दा वहाँको स्वास्थ्य राम्रो छ भनेर चिकित्सकहरु वताउछन तर वहाँको डर यथावत छ ।

त्यस्तै आफ्नो पिताको मृत्यु हृदयघातबाट भएपछी उनको युवा छोरालाई पनि हृदयघात भएर मरिन्छ कि भनेर सताएको छ । घरका कुनै परिवारका सदस्यलाई मानसिक रोग छ भने यो रोग लाग्छ कि ? क्यान्सर छ भने क्यान्सर हुन्छ कि ? वा अन्य कुनै सर्ने खालको रोग छ भने त्यो सर्छ कि भनेर डराउने व्यक्तिहरु विभिन्न ठाउँमा जचाउन पुगी रहनु भएको हुन्छ ।

एक जना युवक आउनु भयो, वहाँलाई कसैको मृत्यु भयो भन्ने समाचारले नै धेरै अत्याउने रहेछ, मृत्यु भन्ने शब्द नै सुन्न नहुने, खलखल पसिना आउने र आत्तीने हुने रहेछ । कसैले बर्खि वारेको लुगा लागाएको देख्दा पनि त्यस्तै डर लाग्ने रहेछ ।

ग्रीक फिलोसोफर एपिक्युरस(Epicurus)ले भन्नु भएको रहेछ “Primary source of human misery was our omnipresent fear of death” अर्थात मृत्युको डर त हामी सवैलाई नै छ। धेरैले यो डरलाई दवाएर राख्नु भएको छ, आफु यति व्यस्त हुने कि यो सोच मनमा आउनै नपाओस भनेर होला, एकै छिन पनि एक्लै वस्न नसक्ने, आफ्नो मन भुलाउन टेलिभिजन, मोवाइल, गफगाफ, पत्र–पत्रिका, अखवार आदीमा भुलाउने । भन्न त धेरै मानिसहरु, एक पटक मर्नै पर्छ के को डर प्राय भन्छन, तर त्यो सतही कुरा मात्र हो । मृत्युको डर र वाच्ने इच्छा प्राय सवैमा हुन्छ ।

आखिर यो डर किन होला ? आफ्नालाई हेर्न, सुन्न र छुन नपाउने डर, आफ्नो परिवार र आफुलाई माया गर्नेहरु सँग छुट्टीनु पर्ने डर, आफ्नो मृत्यु पछि परिवारलाई के हुन्छ होला भन्ने डर आदी अनेक कारणहरु नै होलान।मृत्यु शैयामा पुगेका एक व्यक्तिलाई “आफन्तजनलाई के सुझाव दिन चाहनु हुन्छ भन्दा “वाँच्दा खुसी हुने कुराहरु धेरै छन, प्रकृतिको सुन्दरता, साथीभाईसँग समय विताउनुको आनन्द, परिवारसँगको प्रेम, सवैलाई प्रेम वाडन सकिने सम्भावना र संसारलाई राम्रो देख्ने सपना” भन्नु भएछ ।मृत्यु पछी आफ्नो लागी त सवै हरायरै जाने हुन तैपनि सवैलाई गर्न सकिने गहिरो प्रेम (Warm heartedness) र त्यसको अनुभवले जीवन आनन्दीत त हुन्छ । मत्यु पछी त हाम्रा सवै संझनाहरु र अनुभवहरु हराउने नै छन ।

डा. इरभिन डि.यालुम, अमेरिकन साइक्याट्रिस्टले आफ्नो किताव Becoming myself मा एकजना क्यान्सर रोग वाट पिडित महिला पौला(Paula) का वारेमा उदाहरण दिएका छन । क्यान्सर रोग लागेका र उपचार गराई राखेकाहरुको समुह(Group) को अन्तरक्रिया हुदा ति महिलाले भनिछन “What a Pity I had to wait until now, until my body was riddled with cancer, to learn how to live”। अर्थात क्यान्सर रोग लागेपछी मात्र जीवन कसरी जीउने भन्ने सिकिन । क्यान्सर भएपछीका विगतका ३ वर्षहरुलाई उनले सुनौला समय(Golden Period) भनेकि छन जुन अवधिमा उनले क्यान्सर रोग वारे जान्ने र मृत्युको भए र मृत्यु सँग कसरी लडने भन्ने कुराहरु सिकिन रे ।

मृत्युलाई कसरी सहज रुपमा उच्च तहमा पुगेका गुरुले लिन सक्नु हुन्छ भन्ने कुरा श्री योङगे मिन्गुर रिन्पोछेका पिता तथा गुरु श्री टुल्कु उर्गेन रिन्पोछेको मृत्यु वारे आफ्नो पुस्तक Turning Confusion into Clarity को पेज १०७ मा यसरी लेख्नु भएको छ “एकदिन टुल्कु उर्गेन रि¥पोछे कुनै खास कारण विना नै, जसले वहाँको स्याहार सुसार गरेका थिए सवैलाई धन्यवाद दिन थाल्नु भयो । उपचार गर्ने चिकित्सक, नर्सको तालीम प्राप्त आँनी खाना पकाउने भान्छे आदी सवैलाई नै । योङगे मिन्गुर रिन्पोछे र वहाँको दाजुले एक अर्कालाई हेरेर यो के हुदैछ ? किन सवैलाई धन्यवाद दिदै हुनुहुन्छ ? भन्ने लाग्यो । अर्को दिन विहान टुल्कु उर्गेन रिन्पोछेलाई उठेर पिसाव फेर्न जान केहि असजिलो भयो, फर्केपछी वहाँ ध्यान गर्ने आसनमा वस्नु भयो। दुवै छोराले तपाई थाक्नु भएको छ, विस्तरामा आराम लिनु ठिक होला कि ? भन्दा “हैन” भन्नु भएछ । त्यसबेला वहाँको अनुहार हँसिलो र आसन सुविधाजनक नै देखिन्थ्यो । त्यसपछी वहाँको सास ढिलो ढिलो चल्न लाग्यो, अक्सीजन पुगेनकी भनेर आँनीले औषधी दिनु भयो तर साँस फेर्ने क्रम अरु घटदै गयो, स्वाँस लिने क्रम छोटो र स्वाँस फाल्ने क्रम लामो हुन लाग्यो र स्वाँस पुरै नरोकिदा सम्म यहि क्रम चल्यो । स्वास रोकिएपछी पनि वहाँको अनुहार शान्त थियो र केहि रातोपना पनि । ३ दिन सम्म वहाँको शरिर ध्यान गरेको अवस्थामा नै रह्यो, त्यसपछी विस्तारै दाहिने तिर ढल्कीदै त्यसतर्फ भुईमा पुग्यो” ।
(मैले यो नेपालीमा अनुवाद अँगे्रजीवाट गरेको हो र यसमा त्रुटी हुन सक्छन, इच्छुक पाठकले उक्त पुस्तक नै पढनु हुन अनुरोध छ)
श्री टुल्कु उर्गेन रिन्पोछे, वज्रयानको ठूलो गुरु हुनुहुन्थ्यो र वहाँका धेरै शिष्यहरु हुनुहुन्छ भन्ने महायान वज्रयानमा लागेका सवैलाई जानकारी छ । वहाँले भन्नु हुन्थ्यो रे “सन्तहरुको लागी विरामी पर्नु खुसीको कुरा हो र मृत्यु राम्रो समाचार हो । मृत्युको समय ज्ञान प्राप्त गर्ने ठूलो अवसर हो” । सन्तहरुले मृत्युलाई यति सहज रुपमा लिएको हेर्दा, सुन्दा वा पढदा मृत्युलाई सहज रुपमा वरण गर्न सक्ने र अझ मृत्युलाई ज्ञान प्राप्त गर्ने ठूलो अवसरमा लिन सक्ने हो भने मरिन्छ कि भन्ने डर त पुरै हराएर जाने रहेछ । Primary Source of human misery  अर्थात दुःख र चिन्ताको मुल कारण नै नष्ट हुने रहेछ । Our Omnipresent fear of death अर्थात हामी सवैमा रहेको मृत्युको भय स्वत हराउने रहेछ ।

Related posts

अनुहारमा आएको डन्डिफोरलाई घरेलु उपाय बाट हटाउनुहोस्

Khoj Sanchar

तनाव व्यवस्थापन कसरी गर्ने ?

Khoj Sanchar

राती भयो कि कोहि आएर अनुहारमा मुक्कै मुक्काले हान्छ

Khoj Sanchar