8 C
Kathmandu
January 26, 2021
अभियान साँचो जीवननिर्माण अभियान

बलिको रहस्य र बुझ्नै पर्ने कुरा

नेपालीहरूको महान् चाड दशैँ नजिकिदै छ। यो साधनाको पर्व हो। नवरात्रभरी साधना गरेर आफूले आफैलाई चिन्ने, बुझ्ने र जान्ने पर्वको रूपमा लिइन्छ।यसो भएता पनि यसभित्र संस्कृतिको साथै अनेक विकृति पनि लुकेर रहेको छ।विकृतिलाई समयमै चिन्न सकेनौँ भने विजयादशमीको महानतालाई बिर्सदै जाने परिस्थिति आउँछ। दशैँ भन्नासाथ कति जना मानिसहरू पशुपक्षीको काटमार, पशुबलि आदिलाई बुझ्ने गर्दछन्। वास्तवमा यो के हो? बुझ्नु जरुरी छ।

-डा.गोविन्द टण्डन

पूजा तीन प्रकारले गर्न सकिन्छ – सात्विक, राजसिक र तामसिक। यसले मानिसको स्वभाव र गुणको प्रतिनिधित्व गर्छ भने हुन्छ। यसैलाई तन्त्र साधनामा देवभाव, दिव्यभाव र पशुभाव पनि भन्ने गरिन्छ। जसको जस्तो रुचि, स्वभाव र गुण हुन्छ उसले आफूलाई मिल्दो किसिमको मार्गको अवलम्बन गर्छ भन्ने सम्झिन्छ तन्त्रमा। दैवी र असुर दुवै प्रवृत्तिको लागि स्थान छ तन्त्रमा। किनभने जगज्जननी माता सबैकि हुन्। तन्त्रमा ‘बलि’, ‘बलिदान’ आदि शव्द खुबै प्रचलनमा छ। हिजोआज अझ यी शव्दहरू रुढ भएर व्यवह्रित भएका पाइन्छन्, जसले यिनमा निहित उपयुक्त अर्थ नै लोप हुँदै गइरहेको देखिन्छ। यी दुबै शव्दको अर्थ अर्पण गर्नु, चढाउनु, समर्पण गर्नु या उत्सर्ग गर्नु भन्ने हुन्छ। कोही भने ‘बलि’ शव्द सुन्न पाएको छैन ‘पशुबलि’ लाई नै सम्झनेहरू पनि नभएका होइनन्। वस्तुत: ती दुवै शव्द धर्म-अध्यात्मसँग सम्बन्धित रहस्यले भरिएका शव्दहरू हुन्।

आफ्नो आराध्य या इष्टदेवको पूजा प्रसङ्गमा दुवै शव्दको प्रयोग बारम्बार हुन्छ। यसको कारण के हो भने उपासकले यदि उपासनाको अन्तमा, पुजारीले पूजाको अन्तमा आफ्नो आराध्यदेवमा सबै थोकको बलि वा बलिदान दिएर इष्टदेवसँग आफ्नो भेदभाव मेटाएन, उसैमा विलीन गराउन सकेन, तन्मय भएर तद्रूप हुन सकेन भने ‘ब्रह्मैव ब्रह्म भवति’, ‘शिवो भूत्वा शिवं भजेत्’ भन्ने भाव आउने कुरै भएन, ‘दासोSहम्’ को ‘दा’ नष्ट भएर ‘सोSहम्’ रहेन भने पूजाको पूर्णता नै कहाँ हुन् सक्छ र ? यसैले ‘बलिदान’ पूजाको प्रमुख अङ्ग हो। बलिदान बिना न जगन्माता, न धर्तीमाता, न नेपालमाता नै प्रफुल्ल हुन्छिन्। जुन देशमा जति धेरै राष्ट्रसेवकहरू, राजनेताहरू, राष्ट्रभक्तहरू बलिदानको लागि तम्तयार हुन्छन् त्यत्ति नै त्यो राष्ट्र हरेक दृष्टिले समुन्नतिको शिखरमा आसिन हुन पुग्छ।

यहाँ प्रश्न उठ्न सक्छ बलिदान भनेको के हो वा यो कस्तो हुनुपर्छ? बलिदान सामान्यत: चार किसिमको हुन्छ- (१) आत्मबलिदान – यसमा साधक जीवात्माभावबाट माथि उठेर परमात्मामा आफूलाई लीन गराउन उद्यत हुन्छ। यस प्रकारको बलिदानबाट अज्ञानतावश परमात्माभन्दा आफूलाई जसरी भिन्न देखिरहेको थियो त्यो एकै पटकको ज्ञानबाट जाग्रत हुन पुग्छ। अन्तत: साधक स्वरूपमा स्थित भएर ब्रह्मको साक्षात्कार गर्न समेत पछि पर्दैन। जबसम्म यो हुन सक्दैन तबसम्म दोस्रो प्रकारको बलि वा बलिदान गर्न उद्यत रहनुपर्छ त्यो हो- (२) बोकारूपी काम, राङोरूपी क्रोध, भेँडारूपी मोह आदिलाई बलिदान गर्न तयार हुनुपर्छ न कि पशुपक्षीहरूको महानिर्वाणतन्त्र नामको तन्त्रग्रन्थमा भनिएको पनि छ-“ कामक्रोधौ पशुतुल्यौ बलिंदत्त्वा जपं चरेत्” अर्थात्, काम, क्रोध यी दुवै पशुहरू ठूला विघ्नकारि छन्। ती अवगुणरूपी पशुहरूको विनाशार्थ तिनैलाई बलिदान दिनुपर्छ। यत्ति पनि बलिदान गर्न सकिएन भने तेस्रो प्रकारको बलि (३) आफ्नो इन्द्रियलाई प्रिय लाग्ने गरेको वस्तुलाई त्यागिदिनु उपयुक्त हुन्छ। प्रत्येक विशेषपूजाको अवसरमा आफूलाई जुन वस्तुमाथि बढी लोभ, लालच छ त्यसैको सङ्कल्पपूर्वक त्याग गरिदिनुपर्छ। यही नै तेस्रो किसिमको बलिदान हो। मद्य, मांस, मिठाई, चुरोट, बिडी, खैनी, पान, सुपारी, लागू औषधि आदि जे जति अबगुणजनित लत छन्, त्यसलाई यसैगरी छोड्न सके आफ्ना कमी-कमजोरीहरूबाट मुक्ति पाइन्छ। चारौँ नम्बरमा परिसङ्ख्या विधि पर्छ। त्यो विधि भनेको जानाजान घटाउँदै लग्ने, हटाउँदै जाने तौरतरिका हुन्। यो विधि हेर्दा धर्मले साथ दिएको जस्तो कसैलाई लाग्न सक्छ तर त्यो प्रवृत्तिका लागि नभई निवृत्तिका लागि हो। स्मृतिकार मनुले भनेको- ‘प्रवृत्तिरेषा भूतानाम्’ त्यसैको सङ्केत हो। साथै ‘निवृत्तिस्तु महाफला’ अर्थात्मा निसले प्रवृत्तिलाई छोड्दै जानुपर्छ भन्ने कुरा पनि सँग-सँगै आउन सके मात्र मुक्तिदायक हुन सक्छ। मैथुनकै निवृत्तिको लागि विवाह, तामसिक स्वभाव भएका मानिसहरूको मांसभक्षणको तीव्र इच्छालाई निवृत्तिका लागि यज्ञ-यागादिपूर्ण पशुबलि आदि निवृत्तिकै लागि हुन् न कि प्रवृत्तिका लागि भनेर विद्वान्‌हरू बताउँछन्। कुनै कठिन एवं गाह्रो नियममा बाँधिएर त्यस्तो कर्म गर्नु परे स्वत: ती हट्दै जान्छन्, घट्दै जान्छन् भन्ने परिसङ्ख्या सिद्धान्तको गूढ रहस्य हो। तर परिसङ्ख्या सिध्दान्त सबैका लागि सधैँका लागि नभई अवसरविशेषका लागि मात्र हो। यो संयमको लागि हो, जहिले चाहियो त्यही वेलाको लागि हुँदै होइन। उदाहरणको लागि अश्वमेध सबैका लागि होइन, यो त चक्रवर्ति राजाको लागि त्यसमा पनि उत्तराधिकारी कोही नहुँदा पुत्रलाभका लागि मात्र हो। त्यस्तै सोमयाग छ।

कसैको संहार, मारण, मोहनको लागि कुनै तन्त्रसाधना गरिन्छ भने उद्देश्य गलत भएकोले त्यसलाई तामसिक साधना मानिन्छ।सात्विक पूजा चाहे त्यो आगम होस् वा निगम त्यहाँ कहिल्यै पनि हिंसालाई स्थान हुँदैन। सात्विक पूजाको माध्यमबाट गरिने क्रियाकर्मले मानिसले खोजेको आत्मनिष्ठ जीवन, सुख-समुन्नति र अखण्ड आनन्द प्राप्त हुन सक्छ। तन्त्रसाधनामा यसको ज्यादै ठूलो महत्त्व छ। विश्वको चातुर्दिक उन्नतिको लागि पनि सात्विकताकै अपरिहार्यता छ।तन्त्रसाधनाको परम लक्ष्य पनि आत्मसंयमपूर्ण जीवनको माध्यमबाट ईश्वरको प्राप्ति नै हो। विडम्बनाको कुरा के छ भने हिजोआज जसलाई जुन वेला मनलाग्यो त्यही वेला जहाँ मन लाग्यो त्यहीँ जौजहान गनेर जिब्रोको स्वाद र पेटभरणको लागि जसरी पशुबलि गर्ने प्रचलन बढ्दै गएको छ त्यो कुनै हालतमा उपयुक्त छैन। यस्तो प्रवृत्तिले मानिसमा धर्मप्रति वितृष्णाभाव बढ्ने मात्र नभई मानिसको मनोभावना नै कलुषित हुन गई दया, माया, करुणा, स्नेहजस्ता मनुष्यका सर्वोत्तम भूषण नै विलुप्त बन्दै पशुताभावको जताततै अभिवृध्दि हुन गई डर, सन्त्राशले युक्त विश्व बन्न जाने कुरामा कुनै शङ्का छैन।

सोच्नु पर्ने कुरा के छ भने कसैलाई मार्नु, काट्नु, रेट्नु धर्म हो भने अधर्मचाहिँ के होला? कसैलाई मार्नु, काट्नु जस्तो ठूलो पाप संसारमा कुनै छैन। शास्त्रमा भनिएको पनि छ- “ दया समं नास्ति पुण्यं पापं हिंसा समं नहि” (देवीभागवत ७।१६।३९) अर्थात्, दयाजस्तो पुण्य अर्को छैन हिंसा जस्तो पाप अर्को कुनै छैन। तन्त्रको अधिष्ठाता भगवान् शिव हुनुहुन्छ। शिव स्वयं कल्याणकारी, शान्ति र अहिंसाको द्योतक हुनुहुन्छ। यसैले तन्त्रमा पशुबलिलाई देख्नु वा पशुबलिको स्थान छ भन्नु तन्त्रको गूढ रहस्यलाई नबुझी वाह्यरूप र सतही कुराको पछिलाग्नु मात्र हो।सङ्क्षिप्तमा इन्द्रियहरूको पशुस्वभावको त्याग नै बलि हो। कुनै पशुपक्षीलाई बलि दिनु त्यो निकृष्टता हो।

विजयादशमी हिंसारहित बनोस्, सबैको मङ्गल होस्, कल्याण होस्, प्राणी मात्रको जय होस्।

Related posts

जीवन वरदान बनाउने कि अभिशाप ?

Khoj Sanchar

आफै शत्रु आफै मित्र

Khoj Sanchar

सच्चा गुरु कस्तो हुन्छन् ?

Khoj Sanchar