24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

मानसिक रोगीहरु लान्छना तथा भेदभावको शिकार हुने गर्छन्

मानिसको शरीर हो, रोग लाग्न सक्छ । सर्ने खालका रोगहरु त आफ्नो प्रयास वाट रोक्न सकिन्छ तर नसर्ने खालका रोगहरु वा भनौ शरीर भित्रवाटै निस्कने रोगहरु कति वेला ,कसलाई निस्कन्छन भन्न कठिन हुन्छ र स्वस्थ्य जीवन शैली विताएर यस्ता रोगहरुवाट वच्न केहि हद सम्म सकिएपनि पुरै वच्न सकिदैन। अर्थात जानी वा नजानीकन नसर्ने खालका रोग लाग्न सक्छन र विभिन्न मानसिक रोगहरु पनि यस्तै नसर्ने खालका रोगहरुको समुहमा पर्दछन ।

डा.कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

व्यक्तिलाई कुनै रोग लाग्यो र त्यो रोग वारे कसैले थाहा पाए भने के भन्लान, कस्तो लाजमर्दाे हुन्छ होला, इज्जत जान्छ ,अरुलाई मुख कसरी देखाउने, कस्तो नराम्रोदाग सधैको लागी लाग्छ होला, कस्तो वेइज्जत हुन्छ होला आदी कुराहरुको विचार गरेर कुनै रोग सकेसम्म लुकाउने प्रयास हुन्छ भने यस्तो रोगमा लान्छना तथा भेदभाव (Stigma) धेरै छ भनिन्छ। लुकाउन खोज्ने शारिरिक रोगहरुमा कोर (Leprosy) यौन रोगहरु जस्तै गोनोरिया, सिफलिस आदी , एच आई भी को संक्रमन , छारे रोग (मृगि) आदी पर्दछन भने प्राय गरेर सबै खाले मानसिक रोगहरु पर्दछन ।

विभिन्न किसिमका मानसिक रोगहरु र छारेरोगलाई सयौ वर्ष देखि नेपाली समाजले रोग नभएर अर्कै समस्या हो भन्दै आएको छ । भुत,प्रेत, पिशाच,नाग वा देवीदेवता लागेर यस्तो हुन सक्छ भन्ने विश्वास धेरै छ । कसै कसैले यस्ता रोगहरुलाई पुर्वजन्मको फल, पापको परिणाम वा दुर्भाग्य पनि भन्ने गरेका छन् ।

मानसिक रोगहरु र छारेरोग आफुलाई सर्छ कि ? वा आफ्नो परिवारका कुनै सदस्यलाई सर्छ कि ? भन्ने अर्काे डर पनि धेरै मानसिहरुमा पाइन्छ। यी रोगहरु सरुवा होइनन र सर्दैनन भन्ने कुरा को जनचेतना ब्यापक रुपमा जगाउन सक्यो भने मात्र लान्छना तथा भेदभाव (Stigma) कम गर्न र हटाउन सकिन्छ। हुनत कुनै परिवार को एक जना सदस्यलाई मानसिक रोग मध्ये कुनै छ वा छारे रोग छ भने र अन्य सदस्यहरु लाई सरेको छैन भने, सरुवा रोग होइन रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । याद रहोस कि मानसिक रोगहरु धेरै किसिमका हुन्छन। सवै किसिमका यी रोगहरु सरुवा होइनन र त्यसैले यी रोगहरु नसर्ने रोगहरुको समुह भित्र परेका हुन्।अर्काे कुरा “मानसिक” भन्ने नामनै कतिजना सुन्न चाहदैनन् जस्तै मानसिक रोग, मानसिक अस्पताल, मानसिक चिकित्सा, मानसिक रोग विशेषज्ञ, मानसिकमा काम गर्ने नर्स, मानसिकमा दिइने औषधीहरु आदी आदी । त्यस्तै गरेर छारेरोग शब्द पनि हुनसक्छ, शायद मानसिक शब्द भन्दा कम डरलाग्दो होला । यसकारणले मानसिक विभागमा गएको , मानसिक रोग विशेषज्ञ लाई जचाएको वा मानसिक रोग सम्बन्धी औषधी खाएको भन्न पनि डराउने अवस्था छ र त्यस्तै अवस्था छारे रोगमा पनि छ । अरु संग को त के कुरा, आफ्नै श्रीमान वा श्रीमतिलाई समेत औषधी खाएको छु भन्न डराउनु पर्ने अवस्था समेत छ । श्रीमानले थाहा पाउलान भनेर औषधि लुकाएर खानु पर्ने वा खानै छोडने समस्या पनि छ। जस्को कारणले नियन्त्रणमा आएको रोग उल्टीने र थप समस्या पर्ने गरेको छ। तर रोग लाग्नु अपराध होइन , विरामी पर्नु पाप होइन, शरीर हो रोग लाग्न सक्छ तर रोग लाग्यो भने जचाउन र उपचार गर्न पनि डराउनु प¥यो, औषधी लुकाउनु प¥यो भने उपचार कसरी सम्भव हुन सक्छ। हुनत कतिपय रोगहरु आफ्नो जीवन शैलीका कारण र अज्ञानताका कारण लाग्न सक्छन जस्तै मदिरापान वढी गर्नालाई विभिन्न शारिरिक र मानसिक रोग लाग्न सक्छन ,लागुपदार्थ दुव्र्यसनलाई त्यस्तै गरेर धेरै रोगहरु लाग्न सक्छन ,यस्ता रोग लाग्न सक्ने कारणहरुवाट भने वच्ने प्रयास गर्नुपर्छ । धेरै सरुवारोगहरु फोहर पानी, वासी सडे गलेको खाना, सर सफाईको कमी आदीले लाग्छन् , जस्तै झाडा पखाला, रगतमासी, जन्डीस, टाइफाइड, आदी सरुवा रोगहरु लाग्न सक्छन । पानी र आफ्नो खानपिनमा मात्र ध्यान दिने हो भने कतिपय यस्ता रोगहरुवाट वच्न सकिन्छ । रोगहरु लाग्न वाट वच्नु सक्नु भनेको पनि एक किसिमको आम्दानी हो, विरामी पर्ने वित्तिकै धेरै पैसा खर्च हुने हुनाले ,पानी र खानपिनमा अलिकति पैसा खर्च गरेर भएपनी रोगवाट वच्ने प्रयास आवश्यक हुन्छ ।

नसर्ने खालका रोगहरु लापरवाही जीवन शैलीले ,वंशाणुगत कारणले ,वढी मोटोपनाले र अत्याधिक मानसिक तनावका कारण हुने गरेका छन्। नियमित शारिरिक व्यायाम गर्ने, वजन वढ्न नदिने र मानसिक तनाव कम हुने तरिकाहरु अवलम्वन गर्ने गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ ।

मानसिक रोग र छारेरोगहरुमा दाग अथवा धब्वाको कुरागर्दा धेरै यस्ता विरामीहरु सर्वप्रथम धामी झाक्री कहाँ देखाउन जान्छन । झाक्रीले दोष नाग, वन झाक्री, भुत ,प्रेत, पिशाच आदी लागेको कुरा वताउछन् र आफ्नो चलन अनुसार झरफुक गर्छन । नेपालमा आन्दाजी चार, पाँच लाख धामी झाक्री भएको अनुमान छ । आफ्नो आस्था, विश्वास सहजै उपलब्ध हुने हुदा प्राय विरामीहरुले एक दुइ पटक धामीझाक्रीहरुलाई देखाएकै पाइएको छ । धामी झाक्रीको उपचार पछी संजोगले भनौ या मनोवैज्ञानीक कारणले भनौ विरामी निको भए भने धामीझाक्री प्रति विश्वास वढ्ने रहेछ । त्यस्ता कतिपय मानसिक रोगहरु छन् जुन मनोवैज्ञानिक उपचारले निको हुन्छन् ,औषधी नखाइकननै यस्ता विरामीहरु धामी भाक्रीको उपचार पछी पनि सहजै निको हुने रहेछन । यो राम्रो पक्ष हो । तर कडा खालका मानसिक रोगहरु र छारेरोगहरुलाई धामीझाक्रीको उपचारले वेफाइदा हुन्छ । किनकि कडा खालको रोगलाई भुत, प्रेतलाई पन्छाउने निहुँमा वर्षाै आधुनिक उपचार नपाई वस्नु परेको हुन्छ । समग्रमा भन्ने हो भने:

  • लान्छना तथा भेदभाव (Stigma) को कारण उपचार ढिलो हुने वा उपचारै नहुने हुन सक्छ ।
  • एक पटकको मानसिक रोगी वा छारे रोगी निको भएपछी पनि सधैको रोगी वन्न पुग्छ ।
  • जागीर वा व्यवसायमा व्यक्तिहरु प्रति भेदभाव गरिन्छ , चाहे रोग निको भैसकेको किन नहोस ।
  • वौलाहा, पागल, दिमाग खुस्केको जस्ता अपमान जनक शव्दहरु आफ्नै घर आफ्नै परिवारवाट समेत सुन्नु पर्छ ।
  • औषधि खाइराखेको र रोग नियन्त्रणमा आएको भएपनि परिवार र समाजले हेर्ने तरिका फरक हुन्छ।

मानसिक रोगहरु वारे र छारे रोगहरु वारे समाजमा नकारात्मक सोचाई सयौ वर्ष देखि चलि आएको हो र यो कुनै नयाँ कुरा होइन । केटाकेटी अवस्थामा आफ्नो वावु आमा वा अविभावकले जे जस्ता कुरा वोले वा ब्यवहार गरे, आफ्ना बालबालीकामा पनि त्यस्तै विचारहरु प्रवल हुन्छन । त्यसैले यस्ता कुराहरुमा सकारात्मक परिवर्तन आउन धेरै समय लाग्ने गर्छ ।

मानसिक रोग र छारे रोग वारे राम्रो जानकारी नभएका स्वास्थ्य कर्मीहरुलाई नै मानसिक रोग भनेको के हो ? भनेर प्रश्न ग¥यो भने, “दिमागको रोग ,पागलपन, वौलाहा” जस्ता जवाफ आउछन् भने अरु सामान्य मानिसको के कुरा गर्ने ? मानसिक असन्तुलन मानसिक रोग त हो तर धेरै खालका मानसिक रोगहरुमा मानसिक असन्तुलन हुदैन। तर हाम्रो समाजमा सबैखाले मानसिक रोगहरुलाई “मानसिक असन्तुलन वा पागलपन” भन्ने बुझाई वढी भएको देखिन्छ। अर्काे कुरा जे रोग लागेको भएपनि विरामी भनेको विरामी नै हो। मानसिक रोग र छारे रोग लागेका विरामीहरुलाई अन्य विरामीहरु सरह लिनु पर्नेमा त्यसरि लिइदैन। मानसिक असन्तुलन भएका वा छारे रोगका विरामीहरु प्रति मानिसहरुको हेराई निम्न हुन सक्छन् :

  • जिस्क्याउने
  • हाँसोको पात्र बनाउने
  • विश्वास नगर्ने
  • डराउने, रोग सर्ला कि जस्तो गर्ने
  • नजिक जान नचाहने
  • रिसाउने,गाली गर्ने
  • आश्चर्य चकित हुने
  • कुटपिट गरेर ठिक पार्न खोज्ने आदी

मानसिक रोग लागेका विरामीहरु प्रति यस्तो व्यवहार आफ्नै परिवारका सदस्यहरु, आफन्तजन वा छिमेकीहरु, साथिभाईहरु बाट हुन् सक्दछ। यसै कारणले, सामान्य खालको मानसिक स्वास्थ्य समस्या वा रोग लाग्दा पनि अरुले थाहाँ पाउलान कि भनेर रोग लुकाउने चलन भएको छ ।

मानसिक रोग लाग्यो भने उपचारको लागी के गर्नु पर्छ भनेर सोध्यो भने प्राय जवाफ आउछ “जान्नेलाई देखाउनु पर्छ ,झारफुक गर्नुपर्छ, ग्रह दशा कटाउनु पर्छ आदी। दिमागमा गरम चढेर हो, शीतल गर्ने कुरा खुवाउनु पर्छ , विवाह गरिदिनु पर्छ वा आराम गर्नु पर्छ जस्ता जवाफ पनि आउछन् । अस्पताल जानु पर्छ र औषधी गराउनु पर्छ भन्ने जवाफ प्राय आउदैन किनकि मानसिक रोगहरु वारे त्यति जनचेतना जन समुदायमा अझै पुगिसकेको छैन । मानसिक रोगहरु मध्ये कुनै रोग लागेर अस्पतालमा उपचार गराएको र रोग निको भैसकेको भए पनि ति मानिसहरुले अरुलाई अस्पताल जान सुझाव दिन चाहदैनन किनकि उनीहरुलाई नै आफ्नो रोग र उपचार वारे कसैले थाहा पाउछन् कि भन्ने डर त भै नै राखेको हुन्छ । यस्तो गुर्नपर्ने कारण त मानसिक रोगप्रतिको धारणा तथा दाग वा धव्वा लाग्ने डर ले नै हो ।

मानसिक स्वास्थ्य समस्या भएर उपचार गरी निको भएका वा उपचारको क्रम मै रहेका ब्यक्तिहरुलाई विवाहको लागी केटी वा केटा पाउन, जागीर पाउन र शहरमा डेरा पाउन समेत कठिन हुदो रहेछ । यस्ता विभेदकारी व्यवहारले त्यस्ता विरामीको मनोवल गीर्छ, अरुसंग वोल्न, हास्न, रमाइलो गर्न समेत डर लाग्छ जसको परिणाम रोग घट्नुको वदला वढ्दै जान्छ ।

केहि मानसिक रोगहरु जस्तै चिन्तारोगमा डर लाग्ने र आत्तिने हुन्छ । त्यस्तै डिप्रेसन भयो भने मन निराश हुने हुन्छ यदि घरमा कसैलाई डिप्रेसन भयो भने “के को डर” के को चिन्ता “वा डरपोक, के पुगेको छैन र भन्ने जस्ता कुरा परिवारवाट सुन्नु पर्ने रहेछ । कोही पनि डराउछु भनेर डराउने र चिन्ता लिन्छु र विरामी पर्छु भनेर पर्दैन। रोगका कारण लागेको डर वा चिन्ता ˝नडराउ वा चिन्ता नगर” भन्दैमा हराउने पनि होइन। डर र चिन्ता कम गर्ने तरिका सिकाउन सक्यो भने मात्र यस्तो समस्या निको हुन्छ वा नियन्त्रणमा आउछ। छोटकरीमा भन्ने हो भने मानसिक रोगहरु र छारे रोगहरुलाई अरु रोगहरु जस्तै उपचार गर्नु पर्ने रोग संझनु प¥यो, विभेदकारी व्यवहार गर्नु भएन, जन चेतना जगाउनु प¥यो, र नकारात्मक दृष्टिकोणले हेर्नु भएन। यस्तो भएमा मात्र रोग लुकाउने गर्नु पर्दैन र रोगको उपचार गर्नको साथै सम्मानजनक जीवनयापन गर्न समेत यस्ता रोग लागेका विरामीहरुले पाउने छन् ।

Related posts

अनुहारमा आएको डन्डिफोरलाई घरेलु उपाय बाट हटाउनुहोस्

Khoj Sanchar

नेपालमा मानसिक स्वास्थ्य सेवाको स्थिती र भविष्यमा चाल्नु पर्ने कदमहरु

Khoj Sanchar

फुड पोइजनको घरेलु उपचार

Khoj Sanchar