24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

अवचेतनमन, विश्वास र रोगहरुको उपचार

हाम्रो देशमा विरामी पर्दा भूत, प्रेत, मसान, वनझाक्री, नागदेवता लागे कि भनेर धामी झाक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठिक छन् छैनन् हेर्ने चलन छ । ग्रह दशा विग्रेको देखिएमा पुजा आजा गर्ने चलन छ । नेपालमा अहिले पनि अन्दाजी पाँच लाख धामी झाक्रीहरु छन् र प्रत्येक गाउँमा कोहि न कोही झारफुक गर्न जान्ने व्यक्ति भेटिन्छन् । आफ्नो घर नजिकै वा केहि टाढा भए पनि एकपटक झाक्रीलाई देखाउने र उनीसँग उपचार गराउने चलन प्रशस्त छ । नेपालमा सयौं वर्ष देखि चल्दै आएको यो चलन र यसका फाइदा बेफाइदा बारे यस लेखमा चर्चा गरिएको छ ।

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक, सल्लाहकार ( सी.एम.सी. – नेपाल)

म एक मनोचिकित्सक, लामो समयदेखि विभिन्न मानसिक स्वास्थ्य समस्याहरु भएका विरामीहरुलाई हेर्दै र उपचार गर्दै आएको छु । विरामीका परिवारले धामी झाक्रीलाई पहिले देखाउने र उपचार हुन नसके मात्र डाक्टरलाई देखाउने चलन छ र मैले हेर्ने विरामीहरु मध्ये नब्बे प्रतिशत भन्दा बढिले जान्नेलाई देखाएकै हुन्छन् । ती मध्ये कतिपयले पहिले विरामी हुँदा धामीले निकै पारेका थिए, यस पटक निको भएन र ल्याएको पनि भन्नुहुन्छ । यदि मानसिक स्वास्थ्य समस्या हो भने पहिलो पटक कसरी निको भयो र यसपाली किन निको भएन भन्ने प्रश्न मनमा उठ्यो र केहि धामी झाक्रीहरुलाई नै भेटेर वहाँहरुसँग अन्तरवार्ता लिएर मैले केहि समय अनुसन्धान नै गरें।
धामी, झाक्री, जान्ने लामा, झारफुक, गुरुवा, गुभाजु, माता आदि विभिन्न नामले चिनिने वहाँहरु मध्ये धेरैको सेवा निःशुल्क हुने, वा आफुखुसी दिए केहि लिने रहेछ । कसै कसैले विरामी निको पार्छु भन्ने ग्यारेन्टी लिने र ठूलै रासी हात पार्ने रहेछन् । ड्याग्रों ठट्याएर देउता बोलाउने र विरामीलाई बकाउने गर्नेहरुले पुजाको सामान, बली, खानपिन आदि गरेर विशेष दिन रातीको समयमा हल्लिने, बकाउने गर्दा रहेछन् । नामी झाक्री कहाँ र माँता कहाँ सधैं जस्तो उपचार गर्न आउने हरु धेरै हुने रहेछन्। जहाँ विश्वास छ, जसले निको पार्छ भन्ने छ त्यहि नै विरामी जाने हुनाले धामी झाक्री कहाँ जाने धेरै विरामीहरुलाई फाइदा हुने रहेछ भन्न सकिन्छ। अन्यथा किन धामी झाक्री कहाँ जाने त ? यहि मनोविज्ञान के हो भन्ने खोज थियो ।
मेडिकल साइन्समा विभिन्न औषधिहरुले रोग निको पार्न सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गर्दा विरामी भएका व्यक्तिहरुको २ वटा समुह बनाइ एउटा समुहलाई परिक्षण गरिने औषधी र अर्को समुहलाई हेर्दा औषधी जस्तै देखिने तर विना औषधीको चक्की शरिरलाई नोक्सान नगर्ने र फाइदा पनि नगर्ने तत्व दिइन्छ । दुवै समुहलाई अरु परिक्षण गर्ने , कुरा गर्ने , रोग घटबढ के भएको छ सोध्ने आदि सबै उस्तै गरिन्छ र अनुसन्धानको अवधि सकिएपछि रिजल्ट हेरिन्छ । यस्ता धेरै अनुसन्धानहरुमा दुवै समूहका विरामीको रोग कम भएको वा निको भएको कम्तीमा ३० प्रतिशत भेटिएको हुन्छ । वास्तविक औषधी खानेहरुमा यो प्रतिशत ४० वा ५० पनि पुग्न सक्छ । तर औषधी जस्तै देखिने चक्कि वा क्याप्सुल खानेहरुमा पनि ३० प्रतिशत रोग कम भएको वा निको भएको भेटिन्छ । अनुसन्धानकर्ताहरुले औषधी जस्तै देखिने चक्की (placebo) खानेहरुलाई राम्रो भएको कारण Placebo effect हो भन्ने निष्कर्ष निकाले । Placebo effect भनेको :

  • विरामीलाई गरिने परिक्षण, उनीहरुलाई गर्ने व्यवहार आदी दुवै समुहमा उस्तै भएकोले त्यसको सकारात्मक असर पर्यो ।
  • औषधीले निको पार्छ भन्ने सकारात्मक विचारले रोग कम गर्न वा निको पार्न सहयोग गर्यो ।
  • रोग आफै निको भएको र उपचारको जस पाएको

यस्तै Nocebo effect भन्ने पनि छ जुन Placebo effect को ठिक उल्टो हो । अर्थात् दुवै समुहका विरामीलाई रोग निको हुदैन भन्ने सोचाइ भएमा रोग दुवै समुहका केहि प्रतिशतलाई फाइदा हुदैन ।
Placebo effect/ Nocebo effect कै कारण चिकित्सक कहाँ जचाउन आउने विरामी मध्ये कतिलाई २/३ दिनमै फाइदा भएको देखिने हुन्छ भने कतिलाई फाइदा हुदैन । मेडिकल साइन्समा देखिने यो Placebo effect धामी झाक्रीले गर्ने उपचारमा पनि लागु हुने रहेछ । उपचार गराउन जाने कम्तीमा ३० प्रतिशत विरामीहरुलाई त रोग कम हुने वा निको हुने रहेछ । यसको अर्को पक्ष पनि छ । जति बढि नाम चलेको चिकित्सक होस् उति विरामीको बढि विश्वास हुन्छ र त्यति निको हुने सम्भावना बढ्छ । नाम चलेका झाक्री वा माताहरुको हकमा पनि यहि कुरा लागु हुन्छ ।
हामीहरु प्रायः सकारात्मक र नकारात्मक विचारहरुको कुरा गर्छौं । विरामीलाई निको हुन्छ भन्ने विश्वास गर्नुस्, भरोसा गर्नुस् भन्ने चलन छ । वास्तवमा आस्था र विश्वासले कतिपय रोगहरु निको पार्न निकै सहायक हुन्छन् यसबारे केहि पछि चर्चा गर्नेछु ।

  • मैले उपचार गरेको केहि panic attacks का विरामीहरुले मलाई भन्नु भएको “मलाई मन आत्तिएला जस्तो लाग्यो भने तपाईलाई भेट्न अस्पताल आउँछु, यहाँ आएपछि मन आत्तिन आफै ठिक हुन्छ र एकछिन यहाँ बसेर घर फर्किन्छु”
  • अस्पतालको इमरजेन्सीमा कतिबेला पुग्छु जस्तो लाग्छ , त्यहाँ पुग्ने वित्तिकै आत्तिने आफै हराउँछ ।
  • मध्यरातमा निन्द्रा खुल्यो भने यस्तो बेलामा केहि भयो भने कसरी अस्पताल जाने भन्ने डर लाग्छ तर दिनमा मन ढुक्कै हुन्छ ।

यहाँ विरामी भएमा सहायता पाउँछु भन्ने मनोविज्ञानले काम गरेको छ । हाम्रो चित्त (mind) लाई मनोविज्ञानमा पुरै होस् भएको चित्त (Conscious mind) र अवचेतन मन तथा अचेतन मन (Subconscious mind ) वा (unconscious mind)  मा विभाजन गरिएको छ । भनिन्छ हाम्रो जिवनमा १० प्रतिशत होस् भएको चित्तले काम गरेको हुन्छ । उदाहरणको लागि साइकल मोटर साइकल वा गाडी राम्रो सँग सिकेर चलाउन जानेपछि मैले चलाइ राखेको छु वा ब्रेक लगाए वा घुमाए भन्ने याद नगरिकन सबै आफै वा अटोमेटिक भइराखेका कामहरु हुन्छन् सबै अवचेतन मन बाट भइराखेका हुन्छन् । हामीले खाना खाँदा, हिड्दा, नुहाउँदा, ब्रस गर्दा, कपडा फेर्दा सबै आफै भैराखेको हुन्छ । कसैलाई त खाना खाइसकियो तर खाना कस्तो थियो याद हुदैन, यादै भए पनि थोरै मात्र याद हुन्छ ।

अवचेतन मन बारे ज्यादै महत्वपूर्ण कुरा के हो भने यो चित्त चेतन मन भन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । हामी भित्र हुने रिस, लोभ, डर, घृणा आदी यहि हुन्छन् । यहाँ रहेका रिस डर लाई त्यति सजिलै चिन्न र थाहा पाउन सकिन्न र तिनीहरुले हाम्रो बोली, बानी व्यवहार, इच्छा आकांक्षा मा प्रभाव पारि रहेका हुन्छन् । त्यसैले कतिपय कुराहरु गर्छौं र त्यो भैसकेपछि पछुताउछौ अर्थात् धेरै कुराहरु अटोमेटिक हिसावले गाडि मोटरसाइकल चलाए जस्तै गरेर भै राखेको हुन्छन् । मनोवैज्ञानिक उपचार विधि विभिन्न किसिमका साइकोथेरापी (psychotherapy) मा यिनै अवचेतन चित्तमा दविएका विचार, भावनाहरुलाई conscious mind वा होस मा ल्याउने काम गरिन्छ ।
आजकल केहि ध्यान विधिहरु खास गरेर स्मृति ध्यान (Mindfulness Meditation) बाट पनि अवचेतन मनका कुराहरु र समस्याहरुलाई चिन्न सकिन्छ ।
सम्मोहन (Hypnosis) विधिमा पनि व्यक्तिलाई सम्मोहन गरी उनको अवचेतन मनमा रहेका समस्याहरुको पहिचान गरिन्छ र ती व्यक्तिलाई विभिन्न सुझावहरु दिइन्छ । अवचेतनमनले सुझाव अनुसार काम गर्यो भने, समस्याको समाधान हुन्छ ।
धामी झाक्रीले गर्ने उपचार विधि, विरामीले पुरै विश्वास गरे भने, उनको अवचेतन मनले उनलाई निको पार्छ जस्तो लाग्छ । अन्यथा विभुती लगाउँदा, मँन्त्रेर दिएको पानी पिउँदा या यस्तै अन्य विधिहरु अपनाउदा रोग त निको नहुनु पर्ने हो ।
मैले अति नै महत्वपूर्ण लागेको एउटा प्रसंङ्ग यहाँ उल्लेख गर्न चाहान्छु। स्वामी शिवानन्द कहाँ यदि कुनै व्यक्ति आएर आफ्नो समस्या वा विरामीको वारे भने वा पत्र लेखेर नै आफ्नो कुरा राखे भने, आफ्ना शिष्यहरुसँग वसेर त्यो व्यक्तिलाई संझेर मन्त्रहरु जप्नु हुन्थ्यो रे । पाठक वर्गले भन्नु होला, सन्तहरु र स्वामीहरुले त यस्तो गर्छन नै । तर स्वामी शिवानन्द आध्यात्ममा लाग्नु अघि भारतका नागरीक, एक चिकित्सक र मलेसियामा १० वर्ष काम गर्नु भयो। वहाँको ऋषिकेसमा ठूलो आश्रम छ र वहाँले नै डिभाइन लाइफ सोसाइटी (Divine life Society) सुरु गर्नु भयो । वहाँका २०० भन्दा वढी योग र वेदान्त वारे किताहरु छन । यो सन्दर्भ वहाँका शिष्य स्वामी सत्यानन्दले आफ्नो पुस्तक गुरु (पेज ३९) मा लेख्नु भएको छ ।
मनोविज्ञानको कुरा गर्दा डाक्टरको छोराछोरी प्रायः डाक्टर बन्ने, राजनितिज्ञका छोराछोरी राजनितिमा लाग्ने, व्यापारीका छोराछोरीले व्यापारमा चाख राख्ने र कलाकारका छोराछोरीहरु त्यतै तिर लाग्ने गरेको देखिन्छ । यस्तो आखिर किन र कसरी?
मश्तिस्क लाई ठूलो कम्प्यूटर मानिएको छ । केटाकेटी अवस्था देखिनै बालबालिकाहरुमा घरको वातावरण, कुराकानी, जीवनशैली आदि बाबुआमाबाट कम्प्युटरमा प्रोग्रामिगं हुने रहेछ या भनौ प्रोग्राम download हुने रहेछ । कम्प्युटर मै Programming भएका कारण बहूसंख्यकहरुको आकर्षण त्यस तर्फ हुदो रहेछ ।
घरमा बाबु वा आमालाई कुनै रोग लागे त्यसको मनोवैज्ञानिक असर छोराछोरीमा पनि पर्दो रहेछ । पहिले कतिपय परिवारमा भएका रोगहरु जस्तै रक्तचाप, मधुमेह, हृदयघात आदि Genes सँग सम्बन्धित हुन्छन् भन्ने थियो र अहिले पनि छ । तर यस्ता रोगहरु हुनसक्ने कारणमा वातावरणको असर र अवचेतन मनमा रहेको डरको कारण पनि हो । वास्तवमा यो रोग लाग्छ कि ? भन्ने अवचेन मन भित्रको डर हो भने मुर्त रुप लिन पनि सक्छ किनकि त्यो डर, त्यो विचार निकै शक्तिशालि हुन्छ ।
पहिलेको विश्वास अनुसार मानिस जन्मिदैखेरि उसको भविष्य निर्धारित हुन्छ, कर्म अनुसार हुन्छ, Genes अनुसार हुन्छ र केहि पनि बदल्न सकिन्न भन्ने धारणाहरु सहि होइनन् । वातावरणिय प्रभाव, पिउने पानी, हावा, खानपान, जीवनशैली, मानसिक तनाव, सबैले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पारेका हुन्छन् ।
मानसिक तनावकै कुरा गरौं लगातारको मानसिक तनावका कारण धेरै किसिमका स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् भन्ने छ र तनावको व्यवस्थापन गर्ने स्वास्थ्य जीवनको महत्वपूर्ण अंग भैसकेको छ ।
धामी झाक्रीको उपचार , फुकफाकमा विश्वास भएमा केहि सामान्य खालका मानसिक स्वास्थ्य समस्याहरु निको हुने वा कम हुने हुँदा रहेछन् भन्ने कुरा ग¥यौ । तर कडा खालका स्वास्थ्य समस्याहरु चाहे शारीरिक हुन् वा मानसिक हुन् विश्वास गर्दैमा झारफुकले कम हुदैनन् ।
धामीझाक्रीको कुरा गर्दा एउटा डर लाग्दो वास्तविक घटना मलाई याद आउँछ २०/२२ वर्ष अघिको कुरा हो, एकजना १९/२० वर्षकि महिला बेहोस भएको अवस्थामा अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो र हिस्टेरिया हो कि भन्ने शंका गरेर मलाई हेर्न , जाँच गर्न बोलाइयो । ती महिला २ दिन देखि बेहोस रहिछन् । धामीले लुछ्ने, डाम्ने गरेकाले पोलिएका डामहरु शरीरका विभिन्न भागमा थिए । त्यति गर्दा पनि महिला होसमा नआएपछि अस्पताल ल्याएका रहेछन् । उनको परिक्षण गर्दा मेनिनजाइटिसका लक्षणहरु थिए । तुरुन्तै फिजिसियनलाई बोलाएर सल्लाह गरेर अस्पतालमा भर्ना गरियो । थप परिक्षण गर्दा मेनिगोंकोकल मेनिनजाइटिस भएको निश्चित भयो। त्यसको उपचार गर्दा २ हप्तामा निको भएर उनी घर गइन् । ढिलो भएको भए र राम्रो उपचार नपाएको भए उनको ज्यान जान्थ्यो। कडा खालको रोग रहेछ भने धामी झाक्रीलाई देखाउदा के हुन्छ भन्ने यो एउटा उदाहरण हो ।

Related posts

विरामीको कुरा सुन्नु र सात्वना दिनु पनि उपचार हो

Khoj Sanchar

प्राण शक्ति अर्थात् प्राणायाम

Khoj Sanchar

यी ५ कुरा अनुहारमा लगाउनाले कुरुप बनाउँछ

Khoj Sanchar