8 C
Kathmandu
January 26, 2021
अभियान साँचो जीवननिर्माण अभियान

असल परिणाम खोज्ने हो भने!

चराचर जगत्‌मा मानिस, पशुपक्षी, वनस्पति सबैप्रति हेर्ने दृष्टिकोण यसैगरी समभावको दृष्टियुक्त हुन पुग्यो भने यही नै ब्रह्मदर्शन हो, यही नै आत्मदर्शन हो, यही नै भग्वद्‌दर्शन हो।

-डा. गोविन्द टण्डन 

कामना, लालच र स्वार्थवशात् गरिएका साधना या उपासनाले कहाँ असल परिणाम दिन्छ? कोही मानिस मन्दिर, गुम्बा, विहारमा जान्छ, कुनै माला जप्छ, पाठ गर्छ, कुनै अनुष्ठान गर्छ, कुनै कर्मकाण्डीय कार्य गर्छ, तीर्थभ्रमण गर्छ तर त्यसको लक्ष्य वा प्रयोजन नपाएको कुरा प्राप्त गर्ने, पाएको कुरा जोगियोस् वा नष्ट नहोस् भन्नेमै सीमित छ भने उपासनाको ध्येय गलत हुनाले जीवनमा त्यसको कुनै अर्थ रहँदैन।कसैको अहित गर्ने उदेश्यले, अरूलाई दु:ख, पीडा दिने उदेश्यले स्वार्थवश जस्तो सुकै ठूलो यज्ञ-यागादि, व्रत, पाठपूजा गरियोस् त्यसले कसैको हित गर्दैन।

हिजोआज मानिसहरू यस्तै स्वार्थी वृत्ति र प्रवृत्तिमा अल्मलिएका छन्। यो यथार्थ हो कि जुन चीज अहिले प्राप्त छ त्यो कुनै न कुनै दिन नाश हुन्छ, हुन्छ। तैपनि भगवान्‌सँग गुहार माग्छन् कि यस्तो नगरिदेऊ, उस्तो नगरीदेऊ भनेर। यो ज्ञानकै अपमान होइन? यसैले जो प्राप्त छ त्यो नछुटोस् भन्ने आग्रह गर्न छोडेर जो प्राप्त छ समयको, अवस्थाको, ज्ञानको, विवेकको, बुध्दिको सदुपयोग गर्नतिर लाग्नु सबैभन्दा बुध्दिमानी होइन ? जे पाइएको छैन त्यसको प्राप्तिको कामना पनि किन गर्ने? मेहनत, श्रम र सम्पत्तिको सदुपयोग हुन थाल्यो भने परिणाम स्वत: फलदायक हुनुपर्छ र हुन्छ नै। यो सबै सर्वसमर्थको मङ्गलमय विधानमा छोडिदियौँ भने “ जे भइरहेको छ राम्रो भइरहेको छ, जे हुन्छ सबै राम्रै हुन्छ” भन्ने गूढ ज्ञानलाई बुझ्न समर्थ हुन सक्छौँ। मेहनत खुब गर्ने, जे काम भेटिएको छ त्यसमा लगनको साथ लाग्ने, आफ्नै काम सम्झने, नराम्रो कुनै काममा लाग्दै नलाग्ने, त्यतापट्टि ध्यानै नदिने र गरिएको काममा कुनै अतिरिक्त चाह नराखी अचाहको अवस्थामा पुग्न सकियो भने अन्त:करण शुध्द हुन थालिहाल्छ।

अन्त:करणको शुध्दिले स्वरूपको स्मृति हुन्छ, आत्मस्मृति जागृत हुन थाल्छ। आत्मस्मृति जाग्यो भने यस्तो अनुभवको अवस्थामा पुगिन्छ कि आत्मतत्त्वभन्दा भिन्न कोही पनि छैन र केही पनि छैन। कोही गैर छैन, कोही पराया छैन।कुनै न कुनै रूपले हामी सबै आफ्नै हौँ, आफू नै हौँ। सबैमा हामी छौँ, हामी सबैमा छौँ को भावना जब विकास हुन थाल्छ अनि कहाँ कलह, झगडा, अशान्ति ! चराचर जगत्‌मा मानिस, पशुपक्षी, वनस्पति सबैप्रति हेर्ने दृष्टिकोण यसैगरी समभावको दृष्टियुक्त हुन पुग्यो भने यही नै ब्रह्मदर्शन हो, यही नै आत्मदर्शन हो, यही नै भग्वद्‌दर्शन हो। कोही पनि आफ्नो आत्माभन्दा भिन्न छैन भन्ने भावमा पुगेर त्यहीअनुसार व्यवहार जगत्‌मा उत्रन सकियो भने त्यो जत्तिको आनन्दानुभूतिको क्षण अरू कुनै हुन सक्तैन। 

आज जति पनि समस्या छ चाहे त्यो व्यक्तिगतस्तरमा होस्, चाहे पारिवारिकस्तरमा होस्, चाहे सामाजिक जीवनमा होस् कि राष्ट्रिय जीवनमा होस्, विश्वस्तरीय समस्या होस् कि अन्ताराष्ट्रिय समस्या होस् ती सबैको मूल कारण अज्ञानता नै भएर रहेको छ। ज्ञानमा कहीँ कुनै समस्या छैन। अज्ञानतामै सबै समस्याको गुठरी प्रक्षिप्त भई बसेको हुन्छ। यो त वृक्षलाई जीवित राख्न पातमा सिँचाइँ गरेको जस्तो भएको छ। मानिस आफूलाई सुरक्षित राख्न, आनन्दित तुल्याउन बढीभन्दा बढी अरूमा निर्भर हुँदै गएको छ।वस्तु, व्यक्ति, परिस्थितिमा जब मानिस भूलेर आफ्नो स्वत्वलाई हराउँछ तब अन्योल, विकृति र विसङ्गतिहरूको जञ्जालमा फस्न पुग्छ। यी यस्ता कुरा छन् जब कोही यसमा चुर्लुम्म डुब्न पुग्छन् भने  त्यसबाट त्राण पाउन हम्मे-हम्मे नै पर्छ। 

Related posts

आवेश घातक हुन सक्छ

Khoj Sanchar

आफै शत्रु आफै मित्र

Khoj Sanchar

राजनीतिमा युवा नेतृत्व

Khoj Sanchar