8 C
Kathmandu
January 26, 2021
अभियान साँचो जीवननिर्माण अभियान

साधनामा अन्त:करणको शुद्धि जरुरी छ

सत्य प्रतिको निष्ठाबाटै जीवनमा अन्त:करण शुध्दि हुन्छ, पवित्र हुन्छ र स्वच्छ हुन्छ। अन्त:करण शुध्दिको अध्यात्म साधनाको क्षेत्रमा ठूलो महत्त्व छ। अन्त:करण शुध्द नभईकन साँच्चै भन्ने हो भने साधनाको मार्गमा हिँडे पनि अघिचाहिँ बढ्न सकिदैन।

-डा.गोविन्द टण्डन

कुनै एक जना व्यक्ति छ पढेको छैन, कुनै शिक्षाको सर्टिफिकेट छैन, न लेख्न आउँछ, न पढ्न आउँछ तर हृदय निर्मल छ, चित्त शुध्द छ भने त्यस्ता व्यक्तिले जीवन, जगत्‌ र ईश्वरको महत्त्व र अस्तित्वलाई बुझ्न समय लगाउँदैनन्। प्रशस्त किताबी ज्ञान हासिल गरेको छ, धन छ, सम्पत्ति अथाह छ, प्रतिष्ठा छ भने पनि यदि अन्त:करण शुध्द छैन, चित्त निर्मल छैन, कटुताले भरिएको छ, द्वेष छ, ईर्ष्या छ, अहंता छ भने जत्ति नै डिग्री हासिल गरेको भए पनि जीवनलाई त्यस्ता व्यक्तिले राम्ररी बुझ्नै पाएकै हुँदैनन।चाहे वेदान्तको क्षेत्रमा होस् वा भक्तिको क्षेत्र, चाहे ज्ञानको क्षेत्र होस् कि विज्ञानको क्षेत्र अन्त:करणको शुध्दिलाई अहम् मानिएको छ।वेदान्तको क्षेत्रमा त यदि अन्त:करण शुध्दि भएको छैन भने त्यस्ता व्यक्तिमा वेदान्त दर्शनको अवतरण नै हुन नसक्ने कुरा बताइएको समेत पाइन्छ।

अन्त:करण शुध्दिको लागि सत्सङ्ग, अध्यात्म साधना र उपासनालाई स्वीकारिएको छ।उपासनाबाट अन्त:करण शुध्दि हुन सक्छ तर आफ्नो स्वार्थपूर्ति र वासनापूर्तिको लागि उपासनाको ध्येय छ भने अन्त:करण शुध्द हुन सक्दैन। हिजोआज मठ, मन्दिर वा साधनास्थलहरूमा खुट्टा राख्नै नसक्ने गरी मानिसको भीड लागेको पाइन्छ। कुनै प्रवचन कार्यक्रम छ भने त्यहाँ पनि त्यत्तिकै मानिसहरूको भीड लागेको छ। ती सबै दृश्यलाई देखिसकेपछि जो कोहीको मनमा आउँछ कि धर्मको कतिविधि ख्याति बढेछ, प्रगति भएछ।मानिसहरूमा आस्था जागेछ भन्ने नै लाग्न सक्छ। मानिसहरूमा धर्म-अध्यात्म प्रति झुकाव र लगाव बढेछ भन्ने नै ज्यादात्तर आउँछ। दु:ख कहाँनिर लाग्छ भने अधिकांश मानिसहरूको उपासनामा स्वार्थ छ, वासना छ, कामना लुकेको हुन्छ। यस्तै कामना भएका गुरु-शिष्यहरूले बेलाबखत विभिन्न रूप र शैलीका नयाँ-नयाँ विधि र तरकिबहरू ल्याउँछन्। सर्वसाधारण व्यक्तिहरू तिनै विधि र उपायको खोजीमा जुटिहाल्छन्।मानौँ तिनको प्रयोगले छिटोभन्दा छिटो चाहेको कुराको प्राप्ति भइहालोस्। यही हतारले मानिसहरू अनेक फन्दा र जादुगरीमा फस्न पुग्छन्।

मानिसले केलाई मात्र पूँज्न बाँकी राख्यो र! अलग-अलग प्रतीकहरू बनाएर देवत्वको कल्पना गरियो, रुख, विरुवा, पत्थर, जल, हावा, भूत, प्रेत, आकाश, सूर्य, चन्द्र के नै बाँकी छ पूँज्नलाई ? हेरौँ त । अलग-अलग देवी-देवताको अलग-अलग लीला, भिन्न-भिन्न महत्त्व र उपादेयताका अनेक बखानहरू गरिए/ भए र छन्। ती सबैलाई पूजिए। केका लागि उनीहरू पूजिए ? वरदान देऊ, मनोकामना पूरा गरिदेऊ भनेर नै होइन? यस्ता कामनापूर्तिको लागि हुने कुनै पनि पूजा-उपासनाले अन्त:करणमा जमेर बसेको वासना क्षय हुने नभई अझ बढ्दै जान्छन् र अन्ततोगत्वा मानिसले साध्यलाई भूलेर साधनमै अल्मलिएर बस्दा आज संसारमा धर्म-संस्कृतिको नाउँमा दुर्गति र विकृति देख्न परिरहेको हो।

लोकैषणा, सन्तानैषणा र वित्तैषणाको कामनाले जब उपासनाको ध्येय बन्छ भने त्यसबाट अनेक विकृति र विसङ्गतिहरूको जन्म हुनु त स्वाभाविकै भइहाल्छ। उपासना विशुध्द र पवित्र भावले हुन सक्यो र ईश्वरसँग “म सत्यप्रति निष्ठावान् बन्न सकौँ”, “कसैको हित गर्न नसके पनि कमसे कम अहित नगरौँ” भन्ने भावले हुन सक्यो र मनमा रहेका कलुषितपनालाई हटाउन सक्ने सामर्थ्य प्राप्तिको लागि हुन सक्यो भने मात्र त्यसले व्यक्ति, समाज र राष्ट्रको हित, कल्याणको लागि केही उपलब्धी हुन सक्छ। उपासना ब्रह्मदर्शनको लागि हुन सक्यो, भगवत्दर्शनको लागि हुन सक्यो, आत्मसाक्षात्कारको लागि हुन सक्यो भने त्यसले जीवनमा सौन्दर्य फुलाउन सक्छ। अन्यथा “चलिचलनका मेला” मै सीमित हुन पुग्छ। जसरी हिजो चल्यो, आज चल्दैछ र भोलि पनि त्यसरी नै चल्दैजाला।

ब्रह्मदर्शन, भगवत्दर्शन, आत्मसाक्षात्कारलाई यसरी बुझिएको छ कि यी अति कठिन साधना हुन् जो कोहीले पाउन सक्ने कुरै होइन भनेर तर्साइन्छ र अमुक वर्ण, जाति, देश र समूहका लागि मात्र हो कि भने जस्तो पनि कहिले-काहीँ गरेर कसैको वपौति बनाउन खोज्ने गलत प्रवृत्ति पनि नपाइने होइन।अरू केही नभई आ-आफ्नो चङ्गुलमा फसाउने प्रयत्न नै हर कोही सम्प्रदाय, वाद र मतको नाउँबाट गरिएको देख्न, सुन्न पाइन्छ। मानिसले नजानी नहुने मूल कुरालाई एकातिर पन्छाएर बाह्याडम्बर, ढोँग र सतही कुरामा अल्मलाएर जान्नु पर्ने, बुझ्नु पर्ने विषयहरूचाहिँ सधैँ ओझेलमा पर्ने गरेकै कारण आजको विकृति र विसङ्गति बढेको हो भन्न हिच्किचाउनु पर्दैन।

कामना, लालच र स्वार्थवशात् गरिएका उपासनाहरूले कहाँ असल परिणाम दिन्छन् ? कोही मानिस मन्दिर, गुम्बा, विहारमा जान्छ, कुनै माला जप्छ, पाठ गर्छ, कुनै अनुष्ठान गर्छ, कुनै कर्मकाण्डीय कार्य गर्छ, तीर्थभ्रमण गर्छ तर त्यसको लक्ष्य वा प्रयोजन नपाएको कुरा प्राप्त गर्ने, पाएको कुरा जोगियोस् वा नष्ट नहोस् भन्नेमै सीमित छ भने उपासनाको ध्येय गलत हुनाले जीवनमा त्यसको कुनै अर्थ रहँदैन। तर हिजोआज मानिसहरू यस्तै वृत्ति र प्रवृत्तिमा अल्मलिएका छन्। यो यथार्थ हो कि जुन चीज अहिले प्राप्त छ त्यो कुनै न कुनै दिन नाश हुन्छ हुन्छ। तैपनि भगवान्‌सँग गुहार माग्छन् कि यस्तो नगरिदेऊ, उस्तो नगरिदेऊ भनेर।त्यसमा पनि कति मानिस भागल गर्छन् बोका चढाउँला या भाले चढाउँला भनेर! यो ज्ञानकै अपमान होइन?

जे-जस्तो प्राप्त छ त्यो नछुटोस् भन्ने आग्रह गर्न छोडेर जो प्राप्त छ समयको, अवस्थाको, ज्ञानको, विवेकको, बुध्दिको सदुपयोग गर्नतिर लाग्नु सबैभन्दा बुध्दिमानी होइन ? जे पाइएको छैन त्यसको प्राप्तिको कामना पनि किन गर्ने? मेहनत, श्रम र सम्पत्तिको सदुपयोग हुन थाल्यो भने परिणाम स्वत: फलदायक हुनुपर्छ र हुन्छ नै। यो सबै सर्वसमर्थको मङ्गलमय विधानमा छोडिदियौँ भने “ जे भइरहेको छ राम्रो भइरहेको छ, जे हुन्छ सबै राम्रै हुन्छ” भन्ने गूढ ज्ञानलाई बुझ्न समर्थ हुन सक्छौँ। मेहनत खुब गर्ने, जे राम्रो र उपयुक्त काम भेटिएको छ त्यसमा आत्मीय दृष्टिले लाग्ने, आफ्नै काम सम्झने, नराम्रो कुनै काममा लाग्दै नलाग्ने, त्यतापट्टि ध्यानै नदिने र गरिएको काममा कुनै अतिरिक्त चाह नराखी अचाहको अवस्थामा पुग्न सकियो भने अन्त:करण शुध्द हुन थालिहाल्छ।अन्त:करणको शुध्दिले स्वरूपको स्मृति हुन्छ, आत्मस्मृति जागृत हुन थाल्छ। आत्मस्मृति जाग्यो भने यस्तो अनुभवको अवस्थामा पुगिन्छ कि आत्मतत्त्वभन्दा भिन्न कोही पनि छैन र केही पनि छैन। कोही गैर छैन, कोही पराया छैन।कुनै न कुनै रूपले हामी सबै आफ्नै हौँ, आफू नै हौँ। सबैमा हामी छौँ, हामी सबैमा छौँ को भावना जब विकास हुन थाल्छ अनि कहाँ कलह, झगडा, अशान्ति ! चराचर जगत्‌मा मानिस, पशुपक्षी, वनस्पति सबैप्रति हेर्ने दृष्टिकोण यसैगरी समभावको दृष्टियुक्त हुन पुग्यो भने यही नै ब्रह्मदर्शन हो, यही नै आत्मदर्शन हो, यही नै भगवद्‌दर्शन हो।कोही पनि आफ्नो आत्माभन्दा भिन्न छैन भन्ने भावमा पुगेर त्यहीअनुसार व्यवहार जगत्‌मा उत्रन सकियो भने त्यो जत्तिको आनन्दानुभूतिको क्षण अरू कुनै हुन सक्तैन।

Related posts

विश्वको विकास कि विनाश?

Khoj Sanchar

जीवन वरदान बनाउने कि अभिशाप ?

Khoj Sanchar

धार्मिक कि आध्यात्मिक…?

Khoj Sanchar