29.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

नेपालमा मानसिक स्वास्थ्य सेवाको स्थिती र भविष्यमा चाल्नु पर्ने कदमहरु

मानसिक स्वास्थ्यको क्षेत्रमा गत १५/२० वर्ष भित्र धेरै नयाँ नयाँ जानकारीहरु आएका छन । जनसमुदायमा पनि जनचेतना थोरै नै किन नहोस वढेको् छ । मानसिक स्वास्थ्य सेवामा क्लिनिकल साइकोलोजी, सोसीयोलोजी र अध्यात्मीकताको महत्व पनि प्रष्ट हुदै आएको छ ।

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक


भारतका प्रसिद्ध मानसिक रोग विशेषज्ञ प्रोफेसर नरेन्द्र नाथ विगले भन्नु भएको थियो “Mental Health is too important to be limited to mental health professionals” अर्थात मानसिक स्वास्थ्य साइक्याट्रिस्ट, क्लिनिकल साइकोलोजिस्ट र साइक्याट्रिक सोसल वर्करमा मात्र सिमित गर्नु हुदैन । यस्तो वहाँले किन भन्नु भएको थियो, त्यो पनि धेरै वर्ष पहिले भनेको कुरा अहिले आएर प्रष्ट हुदै छ ।

मानसिक स्वास्थ्यको कुरा गर्दा, यो सवैको चासोको विषय हो । मानसिक स्वास्थ्य भनेको मानसिक रोगहरु र तिनको उपचार भनेको मात्र त होइन । स्वस्थ्य शरीर, स्वस्थ्य मन, मनमा पर्ने वातावरणको प्रभाव, संस्कृतीको असर, पारिवारिक, सामाजिक र आर्थिक स्थीतीहरु, जीवन शैली खास गरेर खानपिन, योग, ध्यान र नियमित व्यायाम आदि सवै कुराहरुले प्रभाव पारेका हुन्छन । मानसिक रोग नै लागेपनि, सामान्य खालका मानसिक स्वास्थ समस्याहरुमा औषधीको आवश्यकता पर्दैन, उपचार गर्ने विधिहरु पनि धेरै छन, जसको लागी मानसिक रोग विशेषज्ञ वा चिकित्सक नै हुनु आवश्यक छैन । कडा खालका मानसिक रोगहरुमा भने साइक्याट्रिस्ट क्लिनिकल साइकोलोजिष्ट र साइक्याट्रिक सोसल वर्करको महत्वपूर्ण योगदान हुन्छ । साथै विरामीको परिवार र समुदायको पनि सहयोग चाहिन्छ । मानसिक रोग विशेषज्ञले रोगको निदान गर्दैमा र औषधी लेख्दैमा रोग पुरै निको हुने होइन । औषधी खान प¥यो, खान सक्ने क्षमता हुनु प¥यो, औषधी पाइन प¥यो, परिवारले औषधी खुवाउने र वेला वेलामा फलोअपमा ल्याउन सक्नु प¥यो । कडा खालका मानसिक रोगहरुको कुरा गर्दा इन्डियामा ७० देखि ८० प्रतिशत विरामीले उपचार नगरेको, उपचार नपाएको वा १–२ पटक उपचार गरेर छोडेको अवस्था छ रे । नेपालमा यो समस्या अझ वढी छ होला । यदि यस्तो अवस्था छ भने मनोचिकित्सकहरु, मनोविज्ञहरु र साइक्याट्रिक सोसल वर्करहरुले मात्र कसरी समस्या समाधान गर्न सक्छन होला ?

मानसिक स्वास्थ्य समस्या वारे जान्न यसको इतिहास केहि खोतलौ :– १७ औ शताव्दीमा लेखिएको डकुमेन्ट “Malleus Maleficorum” अनुसार मानसिक असन्तुलन भएका व्यक्तिहरुलाई सजाय दिइन्थ्यो रे । घरमा राख्न र नियन्त्रण गर्न नसकिने यस्ता व्यक्तिहरुलाई पागलखाना (Asylum) मा राख्नु सुरु गरियो । एसाइलुम मानसिक विरामी राख्ने एक प्रकारको अस्पताल जस्तै भएपनि त्यसवेला उपचार गर्ने औषधीहरुको पत्ता नलागेकोले, उपचारको सुविधा थिएन । एसाइलुम पश्चिमी देशहरुवाट सुरु भएको हो । त्यसबेला नेपाल, भारत जस्ता देशहरुमा झारफुक गर्ने, ठेडुल्कोमा हाल्ने, सिक्रीले बाध्ने वा पुजा आजा गर्ने थियो होला र अझै पनि छ । अंग्रेजहरुको शासनकालमा यस्ता एसाइलुमहरु भारतमा पनि धेरै खुलेका थिए जसलाई मेन्टल हस्पीटल भनिन्थ्यो । सन् १९०८ मा मानसिक अस्पतालको डर लाग्दो अवस्थालाई सुधार गर्न भारतमा मेन्टल हाइजीन (Mental Hygiene) को नामले सुधार कार्यक्रम चलेको थियो । सन १९५० मा कडा मानसिक रोग लागेका विरामीको उपचार गर्न पहिलो पटक औषधी पत्ता लाग्यो।नयाँ नयाँ औषधीहरु पत्ता लाग्दै गए । मेन्टल हस्पीटलमा राखीएमा विरामीहरु निको हुदै वा पहिलेको अवस्थामा धेरै सुधार भएर घर फर्किन लागे । पहिले त मानसिक असन्तुलन भएका विरामीलाई पागलखानामा थुनेरै राखिन्थ्यो, आफै निको भएपनि घरमा ल्याउन डर मान्ने गरिन्थ्यो । केहि मानसिक रोगहरु उपचार पछी र केहि मानसिक रोगहरु निश्चित समय पछी आफै निको हुने पनि हुन्छन । तर एक पटक मानसिक रोग लागे पछी निको हुदैन भन्ने सोच समाजमा वढी छ ।

नयाँ औषधीहरुले उपचार गर्न लागे पछी विरामीको अवस्थामा धेरै सुधार आयो मानसिक स्वस्थ्य सेवाको नयाँ युग सुरु भयो । रोग रहेछ र उपचार हुने रहेछ भनेपछी मेन्टल डिसअर्डर वा मेडिकल इलनेस भनियो । मानव अधिकारका कुराहरु आए । विश्व स्वास्थ्य संघले स्वास्थ्यको परिभाषामा “फिजीकल मेन्टल र सोसल हेल्थ” भन्न सुरु ग¥यो । विश्व स्वास्थ्य संघ सन् १९४८ मा स्थापित भएको थियो स्वास्थ्यको परिभाषामा आध्यात्मीक पछी थपिएको हो ।

मेन्टल हस्पीटलमा भन्दा घरमा राखेर उपचार गर्दा छिटो निको हुने, औषधी उपचारको साथ साथै उनीहरुले सिकेको सिप अनुसार काम गर्ने वा खेतीपाती गर्ने, गाइ भैसी पाल्ने जस्ता पहिले गर्दै आएका कामहरु गर्दा र समाज मै रहेर स्वस्थ्य व्यक्तिहरु सँग कुरा गर्दा सुधार छिटो हुने देखिए पछी सामुदायिक मानसिक स्वास्थ्य सेवाको सुरुवात भयो र मेन्टल हस्पीटलहरुमा विरामीहरु घटे वा वन्द समेत भए। साथ साथै जनरल हस्पिटलमा मानसिक स्वास्थ्य सेवाको पनि सुरुआत भयो ।

नयाँ औषधीहरु, उपचारका नयाँ तरिकाहरु जस्तै साइकोथेरापी, कग्नीटिभ विहेवियर थेरापी (CBT), पुनस्र्थापनाका कार्यहरु, परिवार र समुदायको सहयोग आदी विकास भए सँगै अहिले मानसिक स्वास्थ्य सेवामा धेरै जानकारीहरु भएका छन ।

नेपालमा मानसिक स्वास्थ्य समस्याको अवस्था कस्तो छ, राष्ट्रिय स्तरको सर्भे भै नसकेकोले निश्चित भन्न सकिन्न । नेपाल हेल्थ रिसर्च काउन्सीलले सन २०१८ मा गरेको पाइलट सर्भे अनुसार १३ वर्ष देखि १७ वर्ष उमेर समुहमा ११.२ प्रतिशत र १८ वर्ष भन्दा वढी उमेर समुहमा १३.२ प्रतिशत मानसिक स्वास्थ्य समस्या छ भन्ने देखिएको छ । अहिले राष्ट्रिय स्तरको सर्भे भइराखेको छ र सन २०२१ म रिपोर्ट आउने छ ।

नेपालमा अहिले मानसिक अस्पताल लगनखेल, देशभरीका मेडिकल कलेजका शिक्षण अस्पतालहरु, क्षेत्रिय अस्पतालहरु र प्राइवेट अस्पताल तथा नर्सिङहोम वाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा दिइदै आइएको छ । मानसिक रोग विशेषज्ञले आफ्नो प्राइवेट क्लिनिक वाट पनि यस्तो सेवा उपलब्ध गराइ रहेका छन । यस्तो लिन सक्ने विरामी र उनको परिवारको लागी यो राम्रो हो । यस्तो सेवा लिनेहरु उपचारवाट कति संतुष्ट छन, विचमै उपचार छोडने गरेका छन वा छैनन, उनको समस्या र परिवारको स्थीती के छ यी वारे अध्ययन गर्न सके उपचार पद्धती सफल छ छैन जानकारी हुने थियो ।

नेपालमा केहि गैह्र सरकारी (NGO) हरुले धेरै वर्ष देखि समुदायम मानसिक स्वास्थ्य सेवा पु¥याइ रहेका छन । सामुदायिक मानसिक स्वास्थ्य सेवा दिदा केहि मुख्य मुख्य मानसिक स्वास्थ्य समस्याहरु मात्र लिन सकिन्छ जस्तै मानसिक असन्तुलन, वाइपोलर डिसअर्डर, डिप्रेसन, एन्जाइटी न्युरोसिस र छारे रोग । छारे रोगमा पनि Generalized tonic clonic seizure  लाई मात्र लिइएको छ । रोगको निदान जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रमा सजिलै नहुने सवै विरामीहरुलाई मानसिक रोग विषेशज्ञ उपलब्ध अस्पतालमा रेफर गरेर निदान के हो निश्चित गरिन्छ र उपचार गरिन्छ ।

नेपालमा प्राथमिक स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्रहरु र जिल्ला अस्पतालहरुमा हेल्थ असिस्टेन्ट र एम.वी.वी.एस डाक्टरहरु द्वारा दिइदै आएको छ । जनरल हेल्थ सम्वन्धी सवै सेवाहरु वहाँहरुवाट दिइदै आएको छ र विशेषज्ञ सेवा र थप अनुसन्धानको लागी वहाँहरुले नै रेफर गर्ने चलन छ । मानसिक स्वास्थ्य सेवा त्यहाँबाट दिदा, मानसिक स्वास्थ समस्या भएका धेरै व्यक्तिहरुले सजिलै सेवा पाउनु हुन्छ । हेल्थ असिस्टेन्ट र एम.वी.वी.एस. चिकित्सकहरुको कोर्समा मानसिक स्वास्थ विषय केहि कम भएकाले, छोटो अवधिको थप तालीम आवश्यक हुन्छ जुन सामुदायिक मानसिक स्वास्थ कार्यक्रमहरुमा गर्ने गरिएको छ ।

२०७३ पौषमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरुमा मानसिक स्वास्थ्य सेवाका लागी स्तरिय उपचार पद्धति (Standard Treatment Protocol) स्विकृत भएको धेरैलाई जानकारी छ होला । यो प्रोटोकल वारे मानसिक अस्पताल लगनखेल र शिक्षण अस्पताल महाराजगञ्ज मानसिक विभागका वरिष्ठ चिकित्सकहरु र अन्य मानसिक रोग विशेषज्ञहरुको टोलीले पटक पटक छलफल गरी सुझाव दिएको र त्यसै अनुरुप स्वास्थ्य सेवा विभागले निर्णय लिएको हो ।

सरकारले निशुल्क उपलब्ध गराउने यी औषधीहरुले डिप्रेसन वाइपोलर डिस अर्डर , साइकोसिस, इपिलेप्सी, एन्जाइटी न्युरोसिस र मद्यपानको लत छुटाउन सहयोगी हुने छन । यी औषधीको सहि प्रयोग गरेर करिव ६० देखि ७० प्रतिशत विरामीका उल्लेखित रोगहरु तथा समस्याहरु नियन्त्रण गर्न वा निको पार्न सहयोग पुग्ने छ । मुख्य समस्या भनेको यो प्रोटोकलको सहि प्रयोग गर्ने त्यसको लागी छोटो तालीम चिकित्सक तथा स्वास्थ्य कर्मीलाई दिने र औषधीहरु सजिलै अवाश्यकता अनुसार प्राप्त हुनु नै हो । यसको लागी स्वास्थ्य सेवा विभाग, स्थानीय सरकार तथा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सवैको सहयोग आवश्यक छ ।

प्रोटोकलका औषधीहरु प्रयोग गर्दा नकारात्मक असर (side effects) भए विरामीलाई दिन नहुने भए वा औषधीले फाइदा नभएमा मात्र विरामीलाई रेफर गर्ने तथा अन्य औषधीहरुको प्रयोग गर्नु उपयुक्त हुनेछ । यो प्रोटोकलले उपचार नपाउने, आर्थिक अवस्थाले गर्दा औषधी किन्न नसक्ने, विशेषज्ञ कहाँ फलोअपमा जान नसक्ने वा विचैमा औषधी छोडेर रोग पटक पटक फर्कने स्थीतीलाई धेरै हद सम्म कम गर्ने छ भन्ने आसा गर्न सकिन्छ । लामो समयमा औषधी सेवन गर्नु पर्ने विरामीले ठिक भयो भनेर औषधी नछोडन भन्नको लागि विरामीका परिवारलाई र विरामीलाई राम्रो सँग वुझाउनु आवश्यक छ । घर घरमा गएर भेटने, मोवाइल फोनको प्रयोग गरेर विरामी वा विरामीको परिवारसँग सम्पर्क राख्ने, पुनस्थार्पनाको आवश्यकता छ भने के गर्न सकिन्छ ? समुदायमा काम गर्ने गैर सरकारी संस्थाहरुले विशेष ध्यान दिन सक्नु हुन्छ ।

मानसिक स्वास्थ्य समस्या भनेको कडा खालको मानसिक असन्तुलन मात्र होइन, डिप्रसन, एन्जाइटी न्युरोसिस अव्सेसिभ कम्पलसीभ डिसअर्डर मद्यपानको लत, लागुपदार्थ दुव्र्यसन, पर्सनालीटी डिसअर्डर, चाइल्डहुड मेन्टल डिस अर्डर जस्तै अटिजम, चकचकेपन (ADHD), इमोसनल प्रोवलम आदी अनेक छन ।

केहि समय पहिले इन्डियामा गरिएको एउटा अध्ययन अनुसार मानसिक स्वास्थ्य समस्याहरु र लागुपदार्थ दुव्र्यसन किशोरावस्था तथा युवा अवस्थाका व्यक्तिहरुमा ठूलै समस्याको रुपमा देखिएको छ । तनाव, आक्रोसपना, चिन्तारोग, डिप्रेसन र आत्महत्याको प्रयास वढदो देखिएको छ । नेपालमा पनि त्यस्तै अध्ययन गर्ने हो भने यी समस्याहरु पक्कै पनि दखिने छन । लागु पदार्थ दुव्र्यसन, चिन्तारोग, डिप्रेसन र आत्महत्या नेपालमा वढदै छन ।

घरेलु हिंसा साइको सेक्सवुल प्रोवलम, वैवाहिक सम्वन्धमा कठिनाई डिमेन्सीया, वृद्धावस्थाका साइकोलोजीकल समस्याहरु, एक्लोपना आदी पनि मानसिक स्वास्थ्य भित्रै पर्दछन ।

शहरीकरण, वसाई सराई, गरीवि, वेरोजगारी, आर्थिक कठिनाई, वैदेसिक रोजगारीवाट उत्पन्न समस्याहरु, इन्टरनेट, स्मार्टफोनको लत आदीले धेरै साइकोलोजीकल समस्याहरु थपेका छन । सन् २०१५ को महाभूकम्प र त्यसको कारण अनगिन्ती मानसिक स्वास्थ्य समस्याहरु थिए र अहिले पनि छन । वाढी, पहिरो, भुखमरी, सडक दुर्घटना भएर मृत्यु भएकाहरुको परिवारमा समस्या, दिर्घ रोग र जटिल रोगहरु जस्तै क्यान्सर, डाएविटिज, किडनी फेलिएर, हार्टएटाक जस्ता रोगहरुवाट व्यक्ति र परिवारमा पर्ने असरहरु धरै छन।शारिरिक यातना, मानसिक वा भावनात्मक यातना वालवालिका कै अवस्थामा हुने शारिरिक र भावनात्मक यातना , यौन शोषण, यौन वलात्कार सवैले विभिन्न मानसिक स्वास्थ्य समस्याहरु उव्जाउछन । सडक वालवालिका घरवार विहिन को अवस्था र अपराधिक क्रियाकलापमा लाग्नुले पनि मानसिक स्वास्थ्य समस्या निम्त्याउछन ।

नेपालमा आत्महत्या पनि वढदै छ, रोकथामको खासै प्रयास भएको छैन । धेरै जसो आत्महत्याका घटनाहरु रोक्न सकिन्छ । वहुसंख्यक आत्महत्याहरु मानसिक रोगको उपचार नपाएर हुन्छन, समय मै रोगको निदान र उपचार हुन सके निकै हदसम्म आत्महत्या रोक्न सकिन्छ ।

भावनात्मक समस्यहरु (Emotional Problems) त धेरै लाई हुन सक्छ, एच.आइ.भी को सक्रमण, मधुमेह वा कुनै दिर्घ रोग, हृदयघात, क्यान्सर, यौनजन्य समस्याहरु, एक्लोपना आदी अनेकौ हुन सक्छन, यहाँ औषधी खानु पर्छ भन्ने हैन, केहि सामान्य काउन्सेलीङले मात्रै पनि राम्रो हुन्छ ।

यस्ता अनगीन्ती मानसिक समस्याहरु, मनोवैज्ञानिक समस्याहरु, उपचारमा कठिनाई, आर्थिक समस्याहरु आदी मानसिक रोग विशेषज्ञ, मनोविद वा मानसिक सामाजिक कार्यकर्ताले मात्र के गर्न सक्छन र ? हो उनिहरुको सहायता अवश्य चाहिन्छ तर सवै जनाको लागी होइन । त्यसैले मानसिक स्वास्थ्य समस्या “मेडिकल डिसअर्डर” भन्दा धेरै विशाल छ । यसको व्यवस्थापन पनि त्यसै अनुसार सवै सम्वन्धित निकायहरु मिलेर गर्नु पर्छ ।

हामी सँग नेपालको त कुनै तथ्याङ्क पनि छैन । भारतको गडवाल र उत्तराञ्चलको तथ्याङ्क अनुसार मद्यपानको लत, स्किजोफ्रेनिया, वाइपोलर डिसअर्डर, अवसेसिभ कम्पलसीव डिसअर्डर आदीका ८० प्रतिशत व्यक्तिले सेवा पाएका छैनन रे । शायद नेपालमा यो भन्दा पनी वढी होला ।

छारे रोग (मृगी) को कुरा गर्दा पनि ८० प्रतिशत भन्दा वढीले उपचार नपाएको वा उपचार पाएपनि सहि उपचार नपाएको अनुमान गरिन्छ।

अरु मानिसहरुको त के कुरा गर्ने, अमेरिकामा र इन्डियामा समेत विशेषज्ञ डाक्टरहरु, डाक्टरहरु र मेडिकल स्टुडेन्टहरुमा वर्न आउट (Burn out) को समस्या छ रे । आत्महत्याको खतरा अरु पेशामा भन्दा चिकित्सकहरुमा वढी छ । चिकित्सकहरु जचाउन चाँहदैनन, औषधी खाँदैनन वा आफै औषधी गर्ने प्रयास गर्छन भन्ने छ । शायद मानसिक रोगको स्टिगमाका कारण यस्तो भएको हुन सक्छ । नेपालमा पनि मेडिकल स्टुडेन्ट नर्स र चिकित्सकले आत्महत्या गरेका घटना छन । स्टिग्मा घटाउने कार्यक्रमहरु सुरु गर्न ढिलो भैसकेको छ ।

सिफ्ट वर्क गर्ने, राती सुत्न नपाउने प्रोफ्रेसन जस्तै फ्याक्ट्री वर्कर, एयर होस्टेस, पाइलट आदीको सरकाडिएन रिदम डिस्टर्व भएर विभिन्न मानसिक स्वास्थ्य समस्याहरु हुन्छन । स्कुल र कलेजका विद्यार्थीहरु मध्ये कतिलाई भावनात्मक समस्याहरु तथा अन्य समस्याहरु हुने हुनाले त्यहाँ काउन्सेलरको आवश्यकता हुन्छ । काउन्सेलरले समयमै सेवा दिन सके भने समस्या वढन पाउदैन । त्यस्तै क्यान्सर अस्पताल, हृदय रोग अस्पताल, ट्रान्सपलान्ट सेवा दिने र डाएलासीस सेवा दिने अस्पताल, ट्रमा सेन्टर जस्ता ठाउँमा पनि काउन्सेलिङ सेवा हुनुपर्छ । तर नेपालमा क्लिनिकल साइकोलोजिस्टहरुको संख्या धेरै कम छ, सजिलै काम नपाइने हुनाले पनि यो पेशामा आकर्षित नभएको हुन सक्छ विभिन्न ठाउँमा क्लिनिकल साइकोलोजिस्ट मात्र राख्न सकेपनि मानसिक स्वास्थ्य सेवामा सुधार आउन सक्छ । मनोचिकित्सकको सेवा आवश्यक भए रेफर गर्न सकिन्छ ।

मानसिक स्वास्थ्य सेवाको आवश्यकता यस युगमा अझै वढेर गएको छ किनभने स्ट्रेस वढदो छ, र स्ट्रेसका कारण हुने रोगहरुले ठूलो जनस्वास्थ्य समस्याको रुप लिदैछन । शहरीकरण, वसाइ–सराई, झूपड वस्तीमा वस्नेहरु, भूकम्प, पहिरो, वाढी, दुर्घटना, वलात्कार जस्ता घटनामा परेकाहरु, मानिसक स्वास्थ्य समस्याहरु जस्तै चिन्तारोग, डिप्रेसन, पि.टि.एस.डी आदी बाट ग्रसित हुन्छन भने शहरीकरण कै कारण मद्यपान तथ लागुपदार्थ दुव्र्यसन, लडाई, झगडा, कुटपिट, चोरी, यौन व्यवसाय, आतंकवाद जस्ता समस्याहरु वढछन । वढ्दो शहरीकरण लाई कसरी व्यवस्थित गर्ने र उत्पन्न समस्याहरु कसरी रोकथाम गर्ने भन्ने समस्या हो ।

मानसिक स्वास्थ्य वृहत भएकाले अन्य निकायहरु जस्तै शिक्षा, समाज कल्याण, गृह आदी मन्त्रालयहरु सँग समन्वय आवश्यक पर्छ । नेपाल अहिले संघीयतामा गएकाले स्थानिय सरकार सँग मिलेर कार्यक्रम अगाडी वढाउनु पर्छ । योजनाहरु सफल वनाउन वलियो नेतृत्वको आवश्यकता पर्ने छ ।

(१) छोटकरीमा भन्ने हो भने मानसिक स्वास्थ्य सेवा प्रदान गर्न मानसिक रोग विशेषज्ञ वा मनोचिकित्सकले मात्र सेवा पु¥याउन अहिलेको अवस्थामा सम्भव छैन । छोटो समयको तालिम दिएर मुख्य मुख्य मानसिक रोगहरु र सजिलै निदान गर्न सकिने छारे रोगको उपचार प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा कार्यरत एम.वी.वी.एस चिकित्सक र एम.डी.जी.पी चिकित्सकबाट सुरु गर्न सकिन्छ । आवश्यकता अनुसार विरामी रेफर गर्नु परे मनोचिकित्सक कार्यरत पाएक पर्ने अस्पतालमा पठाउन सकिन्छ । देशमा मानसिक स्वास्थ्य सेवा प्रभावकारी रुपमा कसरी विकास गर्ने भन्ने वारे मनोचिकित्सकहरुको संस्था साइक्याट्रिक एसोसियन अफ नेपालको राय सुझाव लिन सकिन्छ ।

(२) स्कुलका विद्यार्थीहरुलाई र कलेजका विद्यार्थीहरुलाई स्कुल/कलेज काउन्सेलरले सेवा दिने र जटिल केशहरुलाई मनोविद (Clinical Psychologist) कहाँ रेफर गर्ने । स्कुल शिक्षकहरुले केटाकेटीहरुलाई Life skills  सिकाउने गर्नु पर्छ

(३) परिवार, समुदाय, स्कुल–कलेजहरु र स्वास्थ्य संस्थाहरु मानसिक स्वास्थ्य समस्याहरु वारे चेतनामुलक कार्यक्रमहरु गर्ने

(४) आत्महत्या रोकथामका लागी सामान्य तालिम लिएका काउन्सेलहरुले काम गर्न सक्छन ।

(५) मोवाइल फोन र इन्टरनेटको प्रयोग गरेर सम्पर्क राम्रो स्थापना गर्न सकिन्छ । अहिले अनलाईन, क्लिनिकल निर्णय सहयोग सिस्टम (Clinical decision support system), निदान गर्ने तरिका, उपचार र फलोअप, ननस्पेसलिस्ट चिकित्सकहरुले छोटो तालीम पछी प्रयोग गर्न सक्छन भन्ने इन्डियामा चर्चा चलि रहेको छ । छिट्टै नै यसवारे थप जानकारी पाइने छ ।

(६) छारे रोग (Epilepsy) को निदान गर्न, खास गरेर Generalised Tonic Conic Seizure को लागी मोबाइल एप प्रयोग गर्न सकिन्छ । यो Application ले बेहोसे भएको देख्ने व्यक्तिसँग प्रश्नहरु सोधेर रोगको निदान गर्न सहयोग गर्छ र निकै भरपर्दो मानिन्छ।

(७) मानसिक असन्तुलन भएकै कारण रोजगारी गुमाएका वा आम्दानीको श्रोत गुमाएकाहरुको लागि पुनस्र्थापना कार्यक्रममा उनीहरुको सीपको प्रयोग गरेर परिवारको आम्दानी बढाउन सकिन्छ ।

मानसिक स्वास्थ्य सेवा भनेको विरामीहरुको उपचार गर्ने कुरा मात्र होइन । कसरी मानसिक स्वास्थ्य समस्याहरु सकेसम्म नहुन वा कम मात्र हुन (Prevention of Mental Disorders) र मेन्टल हेल्थ उच्च स्तरको होस (Promotion of Mental Health) भन्ने पनि हो । पहिले मानसिक स्वास्थ्य समस्याहरु कसरी कम गर्न सकिन्छ भन्ने वारे थोरै चर्चा गरौ । केटाकेटी र किशोर किशोरी अवस्थामा शारिरिक यातना, भावनात्मक यातना र यौन वलात्कारका कारण मानसिक स्वास्थ्य समस्याहरु हुन्छन । त्यस्तै गरिवी, वेरोजगारी, घरवार विहिन स्थीती, वढदो अपराधीक घटनाहरु, सडक दुर्घटना चोट पटक र मृत्यु हुन्छन व्यक्ति र परिवारलाई पर्ने असरहरु, आत्महत्या, आत्महत्याका कारण परिवारलाई लागुपदार्थको प्रयोग, पोषण तत्वको कमी, परिवारका सदस्यलाई मानसिक स्वास्थ्य समस्या हुदा पनि उपचार नगर्ने वा उपचार गर्न नसक्ने स्थीती ले परिवारलाई पर्ने असर सवैले मानसिक स्वास्थ्य समस्याहरु वढाउछन । यी कारक तत्वहरुलाई कसरी कम गर्ने भन्नु नै मानसिक स्वास्थ्य समस्याहरु सकभर कम गर्ने प्रयास हुन सक्छन । त्यस्तै स्वस्थ शरीर, स्वस्थ मन भन्ने नारा र स्वस्थ जीवन शैलीले शारिरिक र मानसिक समस्याहरु हुन दिदैनन ।

समयमै अर्थात छिटो डिप्रेसन, चिन्ता रोग, मानसिक असन्तुलन, मद्यपानको लत र लागुपदार्थको लत जस्ता समस्याहरु पत्ता लगाउने, उपचार उपलब्ध गराउने र आत्महत्या घटाउने प्रयास गर्दा मानसिक स्वास्थ्य समस्याहरु नियन्त्रण गर्न सहयोग पुग्छ ।

हामी जहिले पनि मानसिक स्वास्थ्य सेवा पु¥याउने कुरा मात्र गर्छौ, मेन्टल हेल्थ प्रमोसन वारे कुरा प्राय गर्दैनौ । कसरी मेन्टली स्वस्थ हुने, कसरी मानसिक रोगहरुवाट वच्ने र आनन्द सँग जीउने वारे पनि केहि कुरा गरौ । खानपिनमा विशेष ध्यान दिने, ७ देखि ८ घण्टा आनन्द सँग सुत्ने, शारिरिक व्यायाम गर्ने वा शारिरिक रुपले सक्रिय हुने, संगीत सुन्ने, योग गर्न सिक्ने, ध्यान (meditation) गर्ने, जीवनको उद्देश्य के हो त्यसमा लागी रहने र अघि वढने, आफ्नो आस्था अनुसार आध्यात्मीकतामा लाग्ने र आफ्ना साथीहरु र परिवार, नातेदारहरु सँग राम्रो सम्बन्ध राखी राख्ने । यी तरिकाहरु अपनाउदा स्ट्रेस निकै कम हुन्छ, रोगहरु वाट वच्न सकिन्छ, योग, ध्यान र आध्यात्मीक चिन्तनले मनलाई स्वस्थ्य र आनन्दीत तुल्याउछ ।

यो लेखमा प्रोफेसर श्रीनिवास मूर्तिले लख्नु भएको “Future of Mental Health”  बाट केहि अंस लिइएको छ ।

Related posts

अनुहारमा आएको डन्डिफोरलाई घरेलु उपाय बाट हटाउनुहोस्

Khoj Sanchar

निन्द्रा र हाम्रो स्वास्थ्य

Khoj Sanchar

चिसो पानी भन्दा तातो पानी पिउनु फाइदाजनक

Khoj Sanchar