24.1 C
Kathmandu
October 2, 2022
अभियान साँचो जीवननिर्माण अभियान

सर्वोत्कृष्टताको मार्गको आनन्द!

सर्वोत्कृष्ट जीवन जिउने मानिसले नै यथार्थमा भन्ने हो भने जीवनलाई, जगतलाई र ईश्वरलाई भलिभाँति बुझेको हुन्छ। यसैको अर्को नाम हो दिव्यता, पूर्णता र सर्वोत्कृष्टता!

-डा. गोविन्द टण्डन

आध्यात्मिक जीवन कुनै घना जङ्गल अथवा भनौँ कुनै निर्जन गुफामा गएर एकान्त वास बस्ने वा घर-समाजबाट टाढिने कुरो हुँदै होइन। यो त जहाँ छौँ त्यहीँबाटै आफूलाई ‘सत्यं शिवं सुन्दरम्’ को यात्रामा अगाडि बढ्न/बढाउन प्रयत्न गर्ने विषय हो।अर्को शव्दमा भन्ने हो भने हिलोबाट कमल फक्रे जस्तो सांसारिकताको कोलाहलैमा पनि त्यसबाट किनारलागे जस्तो गरी उत्रन सक्नु पो आध्यात्मिकता हो। फेरि यो विषय कुनै निश्चित जात, वर्ण, क्षेत्रका लागि मात्रै हो कि भन्ने पनि होइन। वास्तवमा आध्यात्मिकतामा सबैको उत्तिकै हक-अधिकार छ। कतिपय समाजमा यसका लागि पनि बारबन्देज लगाइदिनाले त्यसबाट धेरै कुराहरू गुमाउनु प-यो। आज पनि गुमाइरहेका छौ। अझ सुदूर भविष्यमा के कति गुमाउनु पर्ने हो? त्यसको लेखाजोखा अहिले गरिहाल्नु मनासिव नपर्ला। देखिएका खाल्डोहरूलाई सदभाव, आत्मीयता, प्रेमको माध्यमबाट सम्याउँदै र पुर्दै जानु बुध्दिमानी हुन्छ न कि घृणा वा भेदभावको अहंकारले। घर-समाजबाट उतर्सिएर वा पलायन भएर हिमालयको कुनै गुफा-कन्दरामा गएर, रूखको फेदीमा सुखासनमा बसेर वा त्यसैको प्रचार-प्रसार स्वयं आफूले विभिन्न रूपमा गरेर वा अकर्मण्यको जीवन बिताएर सर्वोत्कृष्टताको त्यो महान् लक्ष्यलाई प्राप्त गर्न सकिन्न।

यो त सुकर्मको मार्ग हो। कर्म गर्ने त धेरै हुन्छन् सुकर्म गर्ने, असल जीवन बिताउने, सात्विकतालाई आत्मसात् गर्ने, सेवाव्रती जीवनलाई व्यवहारमा स्वीकार्नेहरू नै श्रध्दाका पात्र छन्, नमनलायक छन्। त्यस्ता व्यक्तिहरूलाई लाएको कपडा रङ्गाउनुको कुनै अर्थ छैन्, दाह्री-जुङ्गा, टीका-चन्दन, दण्ड-त्रिदण्ड वा कुनै विशेष चिह्न धारण गर्नुको पनि केही अर्थ छैन। शरीरलाई दु:ख दिएर सूर्यनारायणलाई हात चढाउनुको पनि मतलव छैन, काँढाको ओछ्यानमा वा आगोको लप्कामा हिँडनुको पनि केही अर्थ छैन। जमिनमुनि तप गर्नुको पनि केही अर्थ छैन। न त्यस्ता व्यक्तिलाई व्याघ्रचर्ममा आसन जमाउनुको कुनै अर्थ हुन्छ। आध्यात्मिक जीवनमा वाह्यप्रतीकहरूको कुनै अर्थ छैन बरु आभ्यन्तरिक शुद्धिको महत्त्व धेरै लाग्ने हुन्छ। पातमा खाने कि चाँदीको वा सुनको थालमा खाने त्यसको के मतलव! कस्तो खानेसँग बरु केही अर्थ राख्छ। किन भने आहारअनुसार नै विहार र विचारको प्रक्षेपण जीवनमा भइरहेको हुन्छ। तर यस्तो अनुभुति गर्ने थोरै मात्र हुन्छन्। आध्यात्मिक जीवन भनेको के-के न हो भनेर तर्सिनुभन्दा सचेततापूर्वकको जीवन जिउनु नै आध्यात्मिक जीवनको प्रवेशमार्ग हो भनेर बुझेमा सजिलो पर्ने हुन्छ। आध्यात्मिक जीवन भनेकै सर्वोत्कृष्ट जीवन हो, दिव्य जीवन हो, असल जीवन हो, सौन्दर्यपूर्ण जीवन हो। आजकाल कतिपय मानिसहरू ‘धर्म’, ‘अध्यात्म’ को नाम लियो कि नाक चेप्राउन थाल्छन्। वास्तवमा यसो किन र के कारणले भइरहेको छ त्यो बुझ्नु जरुरी छ। धर्मको सही अर्थ बुझ्ने/बुझाउने काम नभएरै यसो भइरहेको छ भन्दा अत्युक्ति हुँदैन। वास्तवमा धर्म भनेको न कुनै कर्मकाण्डको नाम हो न विधिविधानको नाम। धर्म भनेको सत्य हो, इमानदारी हो, न्याय हो, अनुशासन हो, सद्भाव हो, अहिंसा हो, परोपकार हो, सेवा हो। त्यसैगरी अध्यात्म भनेको आत्मालाई बुझ्नु हो, आत्मोन्नतिको मार्गलाई पहिल्याउने मार्गको पहिचानमा प्रवृत्त हुनु हो। यथार्थमा भन्ने हो भने धर्म-अध्यात्ममय जीवन भनेको नै सर्वोत्कृष्टतातर्फ उन्मुख हुनु हो। हिजोआज हामी धर्मान्धतालाई, विकृतिलाई, अन्धविश्वासलाई, रूढिबूढीलाई धर्म सम्झन थालेका छौँ, जसको कारण सजिलैसँग मानिसहरू त्यसप्रति नफरतको व्यवहार गर्न शुरू गरिहाल्छन्। कोही त धर्मलाई ‘अफिम’ को संज्ञा दिन पनि पछि पर्दैनन्। धर्मान्धता, विकृति, अन्धविश्वास र रूढिबूढीलाई अफिम मात्रै होइन मानवजीवनको लागि काम नलाग्ने विषय भनेर रद्दीको टोकरीमा हालिदिए पनि फरक पर्दैन। धर्मको वास्तविक अर्थलाई बुझेपछि भने ‘धर्म’ बेकारको विषय नभई यो त मानिसको जीवनशैली पो रहेछ, धर्म भनेको असल कार्यको नाम पो रहेछ भन्नेतिर मानिस पुग्न थाल्छ। हुन पनि धर्म भनेको त्यही हो। अशिक्षा, अज्ञानताको कारण आज काल धर्मलाई तोढमरोढ गरेर आफ्नो अनुकूल बनाउनेतिर केही तथाकथित व्यक्तिहरू परम्परा र संस्कृतिको नाम दिएर धर्मलाई बदनाम बनाउनेतिर उद्यत भएका छन्। यसबाट समयमै सचेत भएनौँ भने धर्म प्रति नै मानिसमा आजको भन्दा बढी वितृष्णा भाव बढ्न जान्छ, जसको अर्थ हुन्छ संसार बस्नलायक हुनुबाट टाढिनु।

असङ्ख्य सीमाहरू, अनगिन्ती दु:ख-दर्द, ताडना-प्रताडना,सफलता-असफलताहरूको श्रृङ्खलाहरूको नाम हो सांसारिक जीवन भने फरक पर्दैन, जहाँ एकाध इन्द्रियजन्य क्षणिक आनन्दको मिथ्या मादकताले रोमाञ्च पैदा गरेको हुन्छ र त्यही जीवनको सर्वोपरि क्षण हो कि भनी अधिकांशले आफ्नो जीवनको उर्वर समयलाई नष्ट तुल्याइरहेका हुन्छन्। खानु, पिउनु, मोज-मज्जा गर्नु, सङ्ग्रह गर्नु नै कतिको लागि जीवनको सर्वोच्च आनन्द भइरहेको हुन्छ। यसको विपरीत जीवनलाई राम्ररी बुझेर यसको गन्तव्यको पहिचान गरी “आफू पनि बाँचु अरूलाई पनि बाँच्न देऊ” को सिध्दान्तमा रहेर मर्यादित, अर्थपूर्ण, असल जीवन बाँच्न प्रवृत्त हुनुको नाम हो सर्वोत्कृष्ट जीवन। आफू असल बनेर अरूलाई पनि त्यही मार्गको आस्वादन सुखकरी छ भनी व्यवहारबाट चरितार्थ गर्नु यथार्थमा सर्वोत्कृष्टताको सौन्दर्य हो। सेवामय जीवनद्वारा हरेक सेवालाई ईश्वरसेवा सम्झेर कर्मक्षेत्रमा जुट्दा प्राप्त हुने अलौकिक आनन्द नै ईश्वरपूजा बनेर जुन व्यक्तिन पुग्छ, त्यसले नै यो बाटोमा यसका पथिकहरूलाई आकर्षित तुल्याइरहेको हुन्छ।

सर्वोत्कृष्ट जीवन स्वयं नै एक यस्तो चिरस्थायी अनुभव हो जहाँ जीवनलाई सदैव यस्तो अनुपम आनन्द मिल्छ कि जहाँबाट यस मार्गमा हिँड्ने पथिकहरू वा साधकहरू वा अनुयायीहरू सच्चिदानन्दघन परमात्माको सत्तामा विलीन हुन अगाडि बढिरहेको भान हुन्छ। हुन पनि यही जीवनको गन्तव्य हो, लक्ष्य हो र साधनाको पराकाष्टा पनि। देश, काल, परिस्थिति एवं कार्य-कारणको सीमाभन्दा पर रोग, शोक, भय, मृत्युबाट मुक्त, आशा-आकाङ्क्षाभन्दा माथि उठेर त्यस्तो साधक वा पथिक परिपूर्णानन्दमा मग्न भएर सांसारिक वस्तुहरूबाट नपाइने दिव्य आनन्दलाई प्राप्त गर्न सफल हुन्छ।

सर्वोत्कृष्ट जीवन भनेको सांसारिक सबै सङ्ग्रहणीय वस्तुहरूको सङ्ग्रहमा लीप्त हुनु भन्ने नभई जीवनको सच्चा स्वरूपलाई जानेर जीवनको सदुपयोग गर्नु हो न कि दुरुपयोग गर्नु। मानिसले बाँचुञ्जेल बुझ्नै प्रयाश गरेको हुँदैन कि सांसारिक जीवन जिउँदा ऊ कत्ति भडकिलो, विषयासक्त, लोलुप र लोभी हुन्छ भन्ने कुरा! यी यस्ता विषय हुन् कि जसले मानिसलाई जीवनभर अनेक दुश्चक्रमा घुमाइरहेको हुन्छ। दुर्भाग्य त कहाँनिर हुन्छ भने यस्तै कारणले गर्दा उसले सर्वशक्तिमान, सर्वव्यापी, सर्वदर्शी, सुन्दराति-सुन्दर, घटघटबासी परम प्रभु परमात्मा जो आफ्नै अन्तर्हृदय र हरेकको हृदयमा वास गर्नुभएको छ त्यो साँचो यथार्थलाई समेत अज्ञानताको कारण सम्झन-बुझ्न सकिरहेको हुँदैन। बत्तीमुनि अध्यारो भनेजस्तो भइरहेको हुन्छ। आफूमा भएको अज्ञानरूपी अन्धकारलाई कसैले हटाउन खोज्यो कि सम्झे हुन्छ ऊ अब परमतत्त्वको खोजमा निक्लियो वा आत्मिक उन्नतिको मार्गमा यात्री बन्यो। यही यात्राबाट सम्भव छ आत्मदर्शन, ईश्वरानुभूति, भगवद् दर्शन। ढोँगबाट केही प्राप्त हुँदैन सिवाय अहंकार।

आत्मिक यात्रामा निक्लिएका वास्तविक ज्ञानी, ध्यानी, योगी, भक्त र साधकहरूले नै सर्वोत्कृष्ट जीवनको आनन्द र दिव्यतालाई प्राप्त गर्न समर्थ हुन्छन्। अमृतमय आत्मज्ञानको उल्यालोमा उनीहरूले ‘सत्यं शिवं सुन्दरम्’ लाई आत्मसात् गर्न पुग्छन्। सर्वोत्कृष्ट जीवन वास्तवमा जीवनको एक यस्तो निर्माण प्रक्रिया हो जसद्वारा बाहिरी र सतही भ्रान्तिहरूलाई समूल नष्ट तुल्याउन मदत गर्दछ। यसैबाट तिनले जीवनको त्यो परम सत्य, जसबाट आनन्दको धारा बर्सिन थाल्छ त्यसलाई पाउन सफल हुन्छन्। सर्वोत्कृष्ट जीवन जिउने मानिसले नै यथार्थमा भन्ने हो भने जीवनलाई, जगतलाई र ईश्वरलाई भलिभाँति बुझेको हुन्छ। यसैको अर्को नाम हो दिव्यता, पूर्णता र सर्वोत्कृष्टता!

Related posts

आफै शत्रु आफै मित्र

Khoj Sanchar

सच्चा गुरु कस्तो हुन्छन् ?

Khoj Sanchar

जे बनौँ तर असल बनौँ

Khoj Sanchar