10.1 C
Kathmandu
December 2, 2021
समाज

मानवीयता र अमानवीय शहर

“शहरीया जीवन ग्रामिण जनजीवनको तुलनामा अमानवीय हुन्छ”

बि.के.महर्जन
शहरी योजना तथा स्थानीय सुशासन बिज्ञ

भनिन्छ, “शहर अमानवीय हुन्छ” । सुनेको कुरा “लण्डन शहरमा घडि नभएको कसैले समय सोध्यो भने पनि घडि भएको मानिसलाई घडि हेरेर समय वताउने फुर्षद हुदैनन् रे” के त्यसो भए बिकसित शहरका मानिसहरुसंग हातको घडि हेरेर उत्तर दिने समय नभएकै हो त ? के शहरीया जीवन ग्रामिण जनजीवनको तुलनामा अमानवीय भएकै हो त ? यो लेखको मूल उद्देश्य यसको सैद्धान्तिक र व्यवहारिक पक्षबाट संक्षिप्त चर्चा गर्ने प्रयास हुनेछ ।

सर्वप्रथम बिश्वका साना ठूला शहरहरुको वस्ती बिकासको क्रमलाई हेर्दा मूलतः मानव जीवनको लागि अति अपरिहार्य वस्तु “पानी” को सहज प्राप्ती हुने स्थानलाई छनोट गरेको देखिन्छ, परिणामतः बिश्वमा बिकास भएका जति पनि सभ्याताहरु नदि वा जलप्रवाहसंग नजिक रहेको पाइन्छ र केही अपवाद वाहेकका बिश्वका सवै ठूला शहरहरु नदि किनारमा बिकास भएको देखिन्छ । सुरुमा गाउ (Village), गाउवाट सानो नगर (Township), सानो नगरबाट शहर (City), शहरबाट महानगर (Metro City), महानगरबाट ठूलो शहर (Mega City) र ठूलो शहरबाट वैश्विक शहर (Global City) को रुपमा बिस्तार र बिकास भएको पाइन्छ । उदाहरणका लागि आर्थिक गतिविधि विशेषत बिश्व शेयर बजार केन्द्र शहरको रुपमा हङ्गकङ, लण्डन, टोकियो, न्युयोर्क जस्ता शहरलाई बैश्विक शहरको रुपमा लिइन्छ भने जनसंख्याको हिसावले १ करोड भन्दा वढि मानिस वसोवास गर्ने जस्तै मुम्वई, ढाका जस्ता शहरलाई मेघा सिटीको रुपमा लिइन्छ ।

अव शहरको बिकास र बिस्तारसंगै मानवीय सोच र मानसिकतामा ल्याउने परिवर्तनको पक्षलाई केलाउदा जसरी ग्रामिण वस्तीबाट बिस्तार र बिकास हुदै बैश्विक शहरको स्तरसम्म बिकास हुन्छ अर्थात बिकास र समृद्धि (Economic prosperity) को स्तर वढ्दै जान्छ मानिसमा स्वच्छन्दता (Absolute Freedom) र व्यक्तिवादि (Individualistic Mentality) मानसिकता हावी हुदै जान्छ । परिणाम स्वरुप व्यक्तिमा सामुहिकता, परोपकारिता वा अरुका वारेमा सोच्ने मानसिकता क्रमशः ह्रास हुदै जान्छ । हरेकले आफ्नो मात्र चासो र चिन्ता गरेको हुन्छ यद्यपि श्रीमान र श्रीमती वीचमा पनि सामुहिकता र साझा जिम्मेवारी भन्ने भावना अत्यन्त कम हुन्छ । यसो हुनुमा मूलतः मानिसमा व्यक्तिगत सक्षमताका कारण सृजना भएको समृद्धि र समृद्धिका कारण सृजना भएको स्वनिर्भरता नै कारक तत्वको रुपमा रहेको देखिन्छ । यसैको प्रतिकात्मक भाषामा शहर अमानवीय हुन्छ भनेर आख्यान गरेको हुन सक्छ ।

भनिन्छ, “मानवताको सिमा, जात, थर, वर्ण, रुप हुदैन” । यसको दार्शनिक पक्षलाई नियाल्दा मानिसको जन्म पछि थपिएको नाम, थर, ठेगाना, योग्यता, क्षमता, पद, प्रतिष्ठा, पहिचान जस्ता सवै वाहिरी आवरण हटाएपछि प्राकृतिक रुपमा जे वांकी रहन्छ, त्यो नै मानवताको पृष्ठभूमी हो । बिश्वको कुनै पनि भूभागमा जन्मिने शिशुले जन्मने बित्तिकै निकाल्ने आवाज र खाने वस्तुमा कुनै अन्तर देखिदैन । उदाहरणका लागि अमेरिकामा जन्मेको शिशुले अंग्रेजीमा, नेपालमा जन्मने शिशुले नेपालीमा अनि जापनामा जन्मने शिशुले जापानी भाषामा रोएको हुदैन । त्यसै गरी हिन्दु, मुसलमान, सिख, इसाई जुनसुकै धर्म सम्प्रदायमा जन्मेको शिशु होस वा धनी गरिव, राजा रंक जुनसुकै कुलमा जन्मेको शिशुले जन्मने बित्तिकै निकाल्ने आवाजमा कुनै अन्तर छैन र जन्मने बित्तिकै खाने आमाको दुधको रंग र स्वादमा पनि अन्तर छैन । यहि शाश्वत सत्य नै मानवता अनि मानवीयताको आधारभूमी हो । यहि शाश्वत सत्यले नै मानिसमा सामुहिकता, परोपकारी भावनालाई जागृत गराइरहेको हुन्छ र मावनीय कर्ममा आफुलाई समाहित गर्न उत्प्रेरित भइरहेको हुन्छ ।
जव हामी व्यक्तिगत सक्षमताको जगमा प्राप्त हुने समृद्धि अनि समृद्धिको जगमा जागृत भएको चरम वैयक्तिक स्वतन्त्रता र स्वच्छन्दतामा सिमित भएर मानव जीवन जस्तो उत्कृष्ट सृष्टि अनि मानवता र मानवीयता जस्तो शाश्वत सत्यलाई नजरअन्दाज गर्न गर्दछौ वा समृद्धि, वैभव, ऐश, आरामको जगमा सामुहिकता, परोपकारीता जस्ता मानवीय गुणहरुलाई विर्सदै जान्छौ, त्यही बिन्दुबाट मानवीयताले ओरालो यात्रा सुरु गर्छ । जव व्यक्तिगत समृद्धि, स्वतन्त्रता र स्वच्छन्दता चरम अवस्थामा पुग्छ, त्यही विन्दुबाट अमानवीयता सुरु हुन थाल्छ । यसैले हुन सक्छ, “शहरीया जीवन ग्रामिण जनजीवनको तुलनामा अमानवीय हुन्छ” भन्ने भनाईमा आंशिक सत्यता देखिन्छ । अस्तु ।

सुझाव तथा प्रतिक्रियाका लागिः maharjanbk65@gmail.com   

Related posts

बिज्ञापनकी सानी नानी र हाम्रो व्यवहार

Khoj Sanchar

शहरी क्षेत्रमा नैतिकताको जनचेतना

Khoj Sanchar

कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा

Khoj Sanchar