22 C
Kathmandu
February 25, 2021
अभियान साँचो जीवननिर्माण अभियान

सर्वोत्कृष्ट जीवनको यात्रामा

आत्मानुभूति भनेको सार्वजनिक उद्यान हो, जहाँ जो कोही गएर त्यहाँको सुवासको आस्वादन गर्न सक्छ

-डा.गोविन्द टण्डन

‘जस्तो कर्म त्यस्तै परिणाम’ भन्ने सिध्दान्त जीवनको हरेक क्षेत्रमा त्यत्तिकै लागू हुन्छ। यो भौतिक जीवनमा लागू हुने आध्यात्मिक जीवनमा लागू नहुने भन्ने छैन। आध्यात्मिक जीवन पनि साधनाको जीवन हो। त्यहाँ सबै कुरा त्यत्तिकै प्राप्त भइहाल्छन् भन्ने छैन। ठीक हो भौतिक जीवनमा एक थरि आफ्नै किसिमको सङ्घर्ष होला आध्यात्मिक जीवनमा आफ्नै किसिमको आत्मशुध्दिको साधना। दृढता र निष्ठापूर्ण साधना बिना कुनै पनि क्षेत्रमा केही प्राप्त हुनेवाला छैन। कुनै व्यक्तिमा सर्वोत्कृष्टता प्रति भनौँ न परम सत्य प्रति चाह त्यत्ति बेला पैदा हुन सक्छ या त जीवनबाट कोही निरास होस् वा कोही जीवनमा प्राप्त गर्नु पर्ने अब के छ र भन्ने किसिमको स्थितिमा पुगेको होस्। थोरै मात्र त्यस्ता हुन्छन् जो ती दुवै स्थितिभन्दा भिन्न रहेर आफ्नै स्वविवेकले जीवन भनेको मात्र जन्मनु, भोग गर्नु, मोज गर्नु होइन त्यसभन्दा भिन्नै केही छ, फरक छ र त्यो पछि होइन अहिले प्राप्त गर्नुपर्छ भनी जिज्ञासापूर्वक लागेको हुन्छ। दृढतापूर्वक खोजिरहेको हुन्छ। नखोजीकन त केही पनि पाउन सकिन्न। सङ्कल्प भनेकै खोजीको शुरूवात हो। सङ्कल्प भएन शून्यको स्थितिमा छ, सङ्कल्प भयो कि एक हुँदै अनेकको तर्फ बढिहाल्यो। त्यसमा पनि सद्सङ्कल्प हुनसक्यो भने के चाहियो! पूर्णतातिर अभिमुख हुने बाटो खुल्यो भन्ने सम्झे हुन्छ।

मानिस गजवको प्राणी छ। जन्मदै पूर्वजन्मको संस्कार र वर्तमान जीवनमा उसको लागि सुलभ भएका अनेक संस्कार, सङ्गत र आफ्ना अनुभवहरूबाट डोरिदै अघि बढेको हुन्छ। भ्रम, अज्ञानता र मोहन्धताले पनि उसलाई दिग्भ्रमित तुल्याइराखेको हुन्छ, जसको कारण व्यक्ति आफू बाँच्नु र आफ्नालाई बचाउनुकै जीजिबिषाको चक्रव्यूहमा फस्न पुगेको हुन्छ। यही कारणले त हो केवल लेना/देना, जोड/घटाउ, आम्दानी/खर्च, स्वीकार/अस्वीकार, सङ्ग्रह/त्याग, प्रेम/घृणाको धेराबन्दीमा जानी नजानीकन ऊ भासिन पुगेको हुन्छ। यही बाध्यता र परिस्थितिले उसलाई जीवनभर दौडाइरहेको हुन्छ नजाने कुन दुनियाँमा!

सङ्घर्षको यस्तै खिचातानीमा अनेक आशा, मनोकाङ्क्षाहरूको पूर्तिको चाहना राख्दा-राख्दै एक दिन जीवनले सदाको लागि विश्रान्ति लिन्छ। शरीरले अन्तिम स्वास फेर्छ। शरीरान्त हुन्छ। भनौँ न देहान्त हुन्छ। उसको मृत्युमा आफन्त, नाता-कुटुम्व, शुभेच्छुजनहरू दु:खित हुँदै अनेक अश्रुधारा बगाउँछन् मानौ रोएर ऊ व्युतिनेवाला छ! जीवन कहाँ फर्किन्छ र! जति नै कोही रोओस्, बिलौना गरोस्।पञ्चतत्त्व को शरीर पञ्चमहाभूतमा मिल्न पुग्छ। पृथ्वी, जल, तेज, आकाश, वायु बस! तिनैमा मिल्न पुग्छ। मात्र कीर्ति शेष रहने हो त्यसपछि त। कसैलाई अमर गराउने केही छ भने त्यही कीर्ति मात्र हो।

अनेक पूर्वजन्महरू तथा अनगिन्ती अनिश्चित भावी जीवन पाएर असङ्ख्य आशाहरू, अतृप्त इच्छाहरू, अनित्य सुखहरू, अनेक बोझहरू, कैयन् अनुत्तरित प्रश्नहरूको जवाफ नपाउँदा-नपाउँदै पनि यदि चेतनाको स्तर बढाउने इच्छाको सङ्कल्प गर्छ भने उसको मनमा बारम्बार प्रश्नहरू ठोक्किन पुग्छन् कि जीवन के हो? म किन यो संसारमा पैदा भए? मेरो जीवनको लक्ष्य के हो? के गर्नु पर्ने हो, के गर्दैछु आदि-आदि। के मानिसको जीवन जन्म र मृत्युको अनिश्चित बिन्दुहरूको बीच चल्ने निष्फल सङ्घर्षहरूको अर्थहीन प्रवाह मात्र हो? जरुर होइन। मानिस प्राणीहरूमा बुध्दि-विवेकको कारणले गर्दा उत्कृष्ट प्राणी जरुर हो तर आफूमा निहित त्यो उत्कृष्टता लाई बुझेको छ कि छैन यहाँनिर प्रश्न आउँछ। यहीबाट मानिसको बाटो छुट्टिन थाल्छ आ-आफ्नै किसिमले।

उहिले कुनै बखत पूर्वजन्म र पुनर्जन्मको कुरा विवाद र छलफलको विषय मानिन्थ्यो। अब एक किसिमले भन्ने हो भने त्यो स्थिति छैन। सबैले स्वीकारेको अवस्था छ। विज्ञानका विभिन्न खोज-अनुसन्धानले पनि त्यसलाई नकार्न नसकेको अवस्था हुनुको अर्थ हो प्रकान्तरले स्वीकार्नु। यसैले पनि हो यूरोप-अमेरिकाका कैयन् विश्वविद्यालयहरूमा यस विषयमा पढाइ र गहन अनुसन्धानमा समय, परिश्रम र जनशक्तिको प्रयोग भइरहेको छ। दिनानुदिन नयाँ-नयाँ तथ्यहरू सामुमा आउँदैछन्। अनेकौँ साना, मसिना, मझ्यौला योनिका जीवनलाई पार गर्दै त्यही जीव कर्म र प्रारव्धवशात् आज मानिसको रूपमा एउटा यस्तो द्वारको सामुन्ने खडा छ कि त्यहाँबाट सर्वोत्कृष्ट जीवन वा दिव्य जीवनतर्फ आफूलाई डो-याउन पनि सक्छ। होइन नचाहने हो भने यहाँको जिन्दगी पनि घोर अन्धकार र भ्रममा बिताएर अमूल्य जीवनलाई खेर फाल्न पनि स्वतन्त्र छ। सामान्य जीवन त पशुपक्षीले पनि बिताइरहेका छन् त्यसको के अर्थ ? भन्ने मनमा लाग्ने हो भने र जीवनलाई सार्थक तुल्याउने हो भने जो कसैलाई पनि सार्थक, आनन्दमय, दिव्य जीवनको खोजी नगरी सुखै छैन। घृणाको अध्यारो खतरनाक जङ्गलबाट आफ्नो बाटो खोज्दै प्रेमको प्रदीप्त र सुरक्षित उद्यानमा प्रवेश जो कोहीले चाहेको हुन्छ। तर त्यसको सही माध्यम फेला नपर्दा जीवन डगमगाइरहेको हुन्छ।साधनाको सही तरिका जानेको खण्डमा अहंकारको नीरस र मलीन गुफाहरूलाई पार गर्दै नि:स्वार्थ प्रेमको खुला र स्वच्छ मैदानमा पुग्न कसैलाई पनि गाह्रो पर्दैन। स्वार्थपूर्ण क्रूरताहरू र कामनाजनित छुद्रताहरू तथा वासना एवं लोभको जबरजस्त पकडबाट आफूलाई मुक्त राखेर जीवनलाई गति दिने हो भने मौलिक स्वतन्त्रता, सन्तोष र आनन्दको यस्तो अनुभूतिहरूको वर्षात् हुन थाल्छ कि त्यसको के वयान गर्ने! वास्तवमा जीवनको पूर्णताको अभिव्यक्ति भनेकै यही हो। त्यसलाई नजान्दा मानिसहरू अनेक किसिमका गोरेटो,घोडेटो र अलमलमा फस्न पुग्छन्। सर्वोत्कृष्ट जीवनकै माध्यमबाट मानिसले आत्मिक शान्ति, आत्मिक समुन्नति र दिव्यताको गन्तव्यलाई पहिल्याउन सक्ने बन्छ।

साधनाको मार्ग निसन्देह सजिलो हुँदैन। अनेक आरोह-अवरोह देखिन सक्छ। बाधा-व्यवधान पहाड बनेर अघिल्तिर खडा हुन सक्छ। तर साधनाको पथमा लाग्नेहरूको अनुभव छ कि यस्तो शुरू-शुरूताका हुन्छ।गौतम बुध्दले पनि मारको आक्रमण सहनु प-यो। ‘मार’ अवरोधहरूको प्रतीकात्मक रूप हो। यो जसमाथि पनि घट्न सक्छ। लगनका साथ यस पथको दृढनिश्चयी बन्दै गएपछि वा भनौँ रस बस्दै गएपछि यावत् अप्ठेराहरू किनारातिर लाग्न शुरू भइहाल्छ। गजव के छ भने यस मार्गको यात्री बनिसकेपछि त यो यात्राको समाप्ति प्रेम, सहिष्णुता, क्षमा, सत्य, अहिंसा, सन्तोष, समदृष्टि, शान्ति एवं शाश्वत वसन्तऋतुको हरियालीमा पुगेर मात्र हुन्छ। यस्तो विरलै हुन्छ कि कुनै वास्तविक आध्यात्मिक साधक आत्मानुभूतिको स्वर्णद्वारमा प्रवेश गर्ने साहसै नगरी त्यहीँ भ्रम र सन्देहमा अलमलिएर समय बिताएको होस्।त्यस्तो व्यक्ति शायद यो जान्दैन कि आत्मानुभूति भनेको सार्वजनिक उद्यान हो, जहाँ जो कोही गएर त्यहाँको सुवासको आस्वादन गर्न सक्छ, स्वच्छ हावाबाट फाइदा लिन सक्छ। ढकमक्क फूलेका फूलहरूबाट जीवनको चेतलाई सचेत गराएर सृष्टिकर्ताको महिमालाई बुझ्न कुनै क्षण कुर्नु पर्दैन।आज, अहिले, तत्काल सर्वोत्कृष्टताको राजमार्ग पहिल्याएर जीवनलाई दिव्य एवं मनोहारी बन्न/बनाउन उद्यत हुन सकियो भने जीवनको देदीप्यताको अनुभूति हुन थाल्छ।

Related posts

आवेश घातक हुन सक्छ

Khoj Sanchar

विश्वको विकास कि विनाश?

Khoj Sanchar

आफै शत्रु आफै मित्र

Khoj Sanchar