24.1 C
Kathmandu
October 2, 2022
अभियान साँचो जीवननिर्माण अभियान

विज्ञानको पनि आफ्नै सीमा छ

विज्ञानले नयाँ-नयाँ रोबोटहरूको आविष्कार गरी जरुर चमत्कार गर्नेछ तर रोबोटमा चेतना हुने छैन, हृदय हुने छैन, आत्मा हुने छैन, त्यसमा न नसनलीमा रक्तप्रवाह हुनेछ।मानिसले राखिदिएको सफ्टवेयरबाट सञ्चालित हुने हो उसको आफ्नोपन केही हुने छैन। त्यसैले विज्ञानको पनि आफ्नै सीमा छ भन्ने कुरालाई बिर्सनु हुन्न।

-डा.गोविन्द टण्डन

मानिसहरू विज्ञानमा धेरै आश्रित हुन थालेको अहिलेको अवस्था छ। कतिपय विषयमा मानिसहरू एक किसिमले अहिले पङ्गु र अल्छी हुन थालिसके भने हुन्छ। विज्ञानको खोजीले कुनै दिन मानिसको मृत्यु टर्छ, मरेकोलाई व्युताइनेछ, रोग, व्याधि सबै हट्ने छन् भन्ने जस्तो आशा गरेर मानिस बस्न थालेको देखिदैछ। यस दिशामा कहीँ न कहीँ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा केही न केही सोच, बिचार र अध्ययन जरुर भएको हुनुपर्छ। यो शाश्वत छ कि विज्ञानले नयाँ-नयाँ रोबोटहरूको आविष्कार गरी जरुर चमत्कार गर्नेछ तर रोबोटमा चेतना हुने छैन, हृदय हुने छैन, आत्मा हुने छैन, त्यसमा न नसनलीमा रक्तप्रवाह हुनेछ।मानिसले राखिदिएको सफ्टवेयरबाट सञ्चालित हुने हो उसको आफ्नोपन केही हुने छैन। त्यसैले विज्ञानको पनि आफ्नै सीमा छ भन्ने कुरालाई बिर्सनु हुन्न। यो जरुर हो कम्प्युटरको चमत्कार दिनानुदिन उत्कर्षमा पुगेको देख्ने, सुन्ने, भोग्ने दिनलाई नकार्न सकिदैन। यसो भए पनि मानिसले बनाएकै सफ्टवेयर र हार्डवेयर जस्ता प्रविधि विस्तारले कम्प्युटरमा नवीनता र चमत्कार आउने हो उसैले स्वयं कहिल्यै नयाँ आविष्कार गर्ने होइन। धन्य छ ईश्वरले रचना गरेको प्राणी मात्रको शरीर संरचना र त्यसमा पनि मानिसको मष्तिष्क।

मौसममा देखिदै गएको परिवर्तनको संकेत नबुझ्ने हो र यसलाई कसरी सुरक्षित तुल्याइ राख्न सकिन्छ भन्नेतिर समयमा नै नसोच्ने हो र आ-आफ्नै निहित स्वार्थपूर्तिमा मात्र ध्यान दिने हो भने विनाश ढोकैसम्म आइपुगिसकेको छ भनेर सम्झे हुने बखत आइसकेको छ। यसबारे जान्न कुनै ठूल-ठूला अनुसन्धानका ठेली पल्टाउनु पर्दैन तपाईँले हिजो देखेको, भोगेको वातावरण र आज अनुभव गर्दै गरेको भोगाइमा जुन अन्तर पाइराख्नुभएको छ त्यसले अनिष्टलाई बताइरहेको छ भन्ने मान्न तयार हुनुहुन्न? आकाशमा हेर्नुहोस् खै हिजोको नील गगन? समुद्र, नदी, कुवा, पोखरी, झर्नामा हेर्नुहोस् खै हिजोको पानीको प्राचुर्यता? बनतिर जानु होस् खै हिजोको घना जङ्गल? खै जङ्गली जनावरहरूको बासस्थान? मानिसहरूको नचाहिँदो सोख र बढ्दै गएको आवश्यकताहरूले जङ्गल विनाशको गर्तमा पुगि सक्यो। जङ्गल विनास हुनु भनेको मात्र रूख-विरुवा नासिनु-मासिनु होइन त्यसमा प्राणी र विश्वब्रह्माण्डसँग अन्तर सम्बन्ध भएका धेरै वस्तुहरूको विनाश पनि गाँसिएका छन्।वनस्पति, जङ्गली पशुपक्षी, कीटपतङ्गहरूको जति विनाश हुँदै जान्छ त्यति मानिस लगायत विश्वब्रह्माण्डको विनाशलाई निम्त्याउँदै जान्छ।

विज्ञानले जतिसुकै विकास गरेको हामी सम्झौँ पानीलाई प्रयोगशालामा तयार गरेर नदीमा वा कुवामा जम्मा पार्ने अवस्था कहिल्यै आउने छैन। संसारमा विद्यमान विभिन्न ग्यासहरूको जत्ति नै कुरा गरौँ प्राणीजगतका लागि चाहिने प्राणवायुहरू पृथ्वीमा मनग्य उत्पादन गरी छोडन सकिने अवस्था आउने छैन। दुई-चार हजार लिटर पानी आकाशबाट वर्षाउन सकिएला तर विश्वलाई आवश्यक पर्ने पानीको वर्षा गराउन विज्ञानले सक्ने छैन।

यत्ति मात्र होइन मानिसको आनीबानी र स्वभाव हेरौँ। धेरै मानिसको बानी-बेहोरामा हेरौँ खै सौहार्दता? स्वार्थको गन्ध सम्बन्धमा, सम्पर्कमा पाउनु हुन्न? मानिसमा जत्ति निर्दयी स्वभाव के अरू पशुप्राणीमा देख्न पाइएला! स्वाभाविक दैवी स्वभावलाई दवाएर सङ्गत, संस्कार र वातावरणले प्रभावित तुल्याएर उसको स्वभावलाई यति कठोर बनाएको छ कि ढुङ्गाको हृदय चरितार्थ हुन पुग्छ कहिले काहीँ। इतिहासका पाना पल्टाएर हेरौँ के त्यही देखिदैन? सानो स्वार्थको लागि अर्काको हानी-नोक्सानी पु-याउन र प्राण लिन मानिस पछि पर्दैन। आज हिंसक पशुप्राणीहरूसँग भन्दा पनि मानिससँग डराउनु पर्ने अवस्थाबाट तपाईँ पक्कै अनभिज्ञ हुनुहुन्न। किन यसो भइरहेको छ? कहाँनिर गल्ती भइरहेको छ? के गम्भीरतापूर्वक सोच्नु पर्ने वेला आएको छ भन्ने लाग्दैन?

परमाणु हतियारको होडबाजीले अर्कोतर्फ विनाश कुन क्षण हुने हो भन्ने अवस्थाको सृजना भइरहेको चिन्ताको विषय छ। परमाणु हतियारको नयाँ-नयाँ संस्करणहरूको खोजीमा ठूला राष्ट्रहरू यसरी लागि रहेका छन् कि उनीहरूमा एक किसिमको प्रतिस्पर्धा नै छ। आनुवंशिक परिवर्तनद्वारा निर्मित जीवाणुहरू पनि मानिस र विश्वब्रह्माण्डको लागि कम खतरायुक्त छैनन्। यी सबै कुरालाई हेर्दा अब विश्वमा जति पनि राष्ट्रहरू छन् तिनले एक ठाउँमा जम्मा भई विश्वको अस्तित्व जोगाउने हो भने विश्वलाई एउटै देश मानी सीमा र अलग-अलग स्वार्थको लागि लडाइ-झगडा गर्ने परिस्थितिबाट मुक्त तुल्याउन र परमाणु हतियार लगायत अन्यान्य यावत् घातक हतियारहरूलाई विनष्ट गरिदिनेतर्फ पहल गर्नु विश्वब्रह्माण्डकै लागि लाभदायी हुनेछ भन्ने कुरामा बहस थालेर यो विश्व र प्राणी मात्रलाई खतरामुक्त तुल्याउनु समयसापेक्ष हुनेछ। सबैभन्दा पहिले यसका लागि हामी सबै सङ्कीर्णताबाट मुक्त भएर विशाल, उदार र विराट हृदययुक्त बन्न सक्नुपर्छ।“म पनि बाँचु अरू पनि बाँचुन” को उदात्त भावना हरेकको मन-मस्तिष्कमा उदाउन सक्यो भने यस्तो दिन कल्पानाभन्दा बाहिरको विषय नहुन सक्छ। संकीर्णता, कटुता, लघुताबाट माथि उठ्न हरसम्भव प्रयत्न गर्न सकियो भने नै मानवताको प्रवर्द्धन हुन सक्छ नत्र खोक्रो चिन्तनबाट सर्वोत्कृष्ट नतिजा प्राप्त हुँदैन यो ध्रुवसत्य छ। विज्ञानलाई जगाऔँ साथसाथै शाश्वत ज्ञानलाई नबिर्सौँ।

Related posts

आफूले आफैलाई चिन्ने साधन-ध्यान

Khoj Sanchar

प्राणायाम: जीवन ऊर्जा हो

Khoj Sanchar

जे बनौँ तर असल बनौँ

Khoj Sanchar