29.1 C
Kathmandu
August 16, 2022
स्वास्थ्य

विभिन्न रोगको घरेलु औषधिहरु

रोग भन्ने कुरा बाजा बजाएर पक्कै आउँदैन। मानिसको शरीर कुन बेला बिरामी पर्दछ भन्ने भरोसा नै छैन। जुन सुकै बेला बिरामी पर्न सकिन्छ।

प्रस्तुति: सिर्जना शर्मा

चोटपटक लाग्न सक्छ। बिरामी हुने बित्तिकै तत्कालै अस्पताल जान पनि सम्भव हुँदैन। साथै सामान्य किसिमको रोगलाई ठीक पार्न अस्पताल पुग्नु जरुरी पनि हुँदैन। किनकि हाम्रो घरमा नै सामान्य रोगलाई निको पार्ने विभिन्न घरेलु औषधिहरु उपलब्ध छन्। घरेलु औषधिहरुको प्रयोग मार्फत सामान्य तरिकाले उपचार गर्न सकिन्छ। के के छन् त घरेलु औषधिहरु !

(१) लसुन
लसुनमा औषधीय गुण हुन्छ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउनुको साथै पेटको अल्सर, नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्या, क्यान्सर, कोलेस्टेरोलको समस्या, ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ। सुन्निएको, जोर्नी दुख्ने, खोकी, चिसोका कारण अपच भएर पेट ढाडिएको जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ। यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ। लसुन सेवन गर्दा हाम्रो शरीरमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ।
(२) अदुवा
अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ। अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ। त्यस्तै बान्ता आएमा मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ। दम खोकी, चिसोको बाथ र कम्मर दुखेमा, मुटु रोग, भोक नलागेमा अदुवाको चिया बनाएर खाएमा उपयोगी हुन्छ।
(३) प्याज
प्याजको प्रयोगले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजको दैनिक सेवन गरेमा शरीरमा फुर्ति बढ्छ, पाचनको समस्या, हात खुट्टा कठ्याङग्रिने, निन्द्रा नलाग्ने जस्ता समस्याबाट राहत पाउन सकिन्छ। प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिक बाट पनि बचाउछ। हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ। नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाई बेस्सरी सुँघ्ने हो भने नाकबाट रगत आउन छाड्छ। नियमित प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ। प्याजमा प्रोटिन, चिल्लो पदार्थ, खनिज, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फरस, फलाम, भिटामिन सी आदि विभिन्न पौष्टिक तत्वहरू पाइन्छन्।

(४) तुलसी
तुलसीले विभिन्न रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। तुलसीमा एन्टीबायोटिक गुण हुन्छ। यसले रुघाखोकी, निमोनिया, कफ, दम, ज्वरो, कम गर्नुका साथै मुटुको रक्तनली, कलेजो, फोक्सो, उच्च रक्तचापसँगै चिनिको मात्रा कम गर्न समेत सहयोगी मानिन्छ। तुलसीको रसले रगत सफा गर्नुका साथै कोलेस्ट्रोलको स्तरमा समेत कमी ल्याउँछ। पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ। तुलसीको प्रयोगले स्मरणशक्ति पनि बढाउँछ। तुलसीको पातलाई काँडा बनाएर हरेक दिन सेवन चियाको सेवन गर्न सकिन्छ।
(५) हीङ
हीङमा औषधिय गुण हुन्छ। यसको सेवनले पेटसम्बन्धी बिभिन्न समस्याका लागि फाइदाजनक हुन्छ। हीङमा एन्टी अक्सिडेन्ट हुन्छ जसले पेट दुख्ने, अपच हुने , ग्यास्ट्रिक तथा कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्छ। हिङलाई पेटको वरिपरी लगाउनाले पेट दुखेमा, पेट फुलेमा तथा पेटमा भारी महसुस भएमा आराम मिल्छ। हिङमा स्वाइनफ्लु जस्ता घातक बिरामीका लागि पनि लाभदायी हुन्छ। यसमा एच.वन.एन.वन भाइरसलाई नष्ट गर्ने क्षमता हुन्छ। टाउको दुखेमा पानीसंग हिङ खानाले तुरुन्त आराम मिल्छ। यसमा कोमरिन्स नामक तत्व हुन्छ।
(६) बेसार
वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गर्दछ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ। आयुर्वेदमा यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ। एक अध्ययनले प्रमाणित गरे अनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। ग्याष्ट्रिक, रक्तअल्पता, डिप्रेसन अर्थात् मानसिक चिन्ता, क्यान्सर, अनिद्रा, डायबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या, मिर्गौलासम्बन्धी रोग, रुघाखोकी, घाउ, चोटपटक लागेमा, हड्डी सम्बन्धी समस्या बेसारको प्रयोग निकै उपयोगी मानिन्छ। पानी वा दुध घोलेर पिउँन सकिन्छ साथै घाउमा लेप बनाई लगाउन सकिन्छ।
(७) सुकुमेल
भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ। रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ। सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ। यसले कफ बाहिर निकाल्न मद्दत गर्छ। ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ।यसरी आपतकालिन अवस्थामा आवश्यकता अनुसार घरेलु औषधिहरुको प्रयोग मार्फत उपचार गर्न सकिन्छ। यी सामग्रीहरुले शरीरमा कुनै किसिमको नोक्सान गर्दैन।

Related posts

विरामीको कुरा सुन्नु र सात्वना दिनु पनि उपचार हो

Khoj Sanchar

स्वस्थ शरीरको लागि कस्तो खाना खाने

Khoj Sanchar

जीवन, डर र मृत्यु

Khoj Sanchar