27.1 C
Kathmandu
June 25, 2022
अभियान साँचो जीवननिर्माण अभियान

परपीडामा रमाउने प्रवृत्ति दानवी स्वभाव हो

संस्कृति र सभ्यताको नाममा कति यस्तै प्रवृत्तिलाई बढावा दिएको अवस्थाले परपीडामा कतै मजा आएको अनुभव त तपाईँ गर्दै हुनु हुन्न? विचार गर्नुहोस्।

-डा.गोविन्द टण्डन

म अहिले पनि सम्झन्छु त्यस्ता घटनाहरू जो मेले केटाकेटी अवस्थामा गाउँ-घर, शहर-बजारमा देख्थेँ। मानिसहरू बाहिर कतै झगडा, तनावको स्थिति भयो रे भन्ने सुन्नासाथै दौडदै पुग्थे। मानौँ त्यो कुनै रमाइलो घटना हो भन्ने सम्झी रमितेहरू दौड्दै पुगेको देख्थेँ। म मात्र भन्दिनँ तपाईँहरूले पनि देख्नु भएको होला बीचमा कुनै जनावरलाई राखी धारिलो हतियारले मार हान्न कोही खुँडा-खुकुरी या हतियार उठाइरहेको होस् र त्यो मानौँ कुनै रमाइलो क्षण हो भन्ने सम्झी वरिपरि मानिसहरू घेरिएर मज्जा लिइरहेका दृश्य देख्दा योभन्दा परपीडामा रमाउने मानिसको स्वभावको बारेमा अरू कुनै कुरा बताइरहनु पर्ला जस्तो लाग्दैन। विचरो खोरमा बसेको सुङ्गुर-बङ्गुरलाई भालाले घोची-घोची मारेको र त्यसकै मासु एकछिनपछि खान तम्तयार भएका मानिसको भीड देख्दा मानवता कहाँ हरायो भन्ने लाग्दैन भने तपाईँमा पनि कतै परपीडानन्दको शेष कतै बाँकी छ भनेर सम्झिए हुन्छ।

अझ देवी-देवताको नाउँमा या दैनिक बिना कुनै अपराध मारिने हजारौँ-लाखौँ पशुप्राणीको क्रन्दन, रुवाइ र पीडालाई मेरो आफ्नै पीडा हो भन्ने अनुभूति नआउञ्जेल तपाईँ जतिसुकै धर्मको विषयमा प्रवचन गर्नुहोस्, जतिसुकै शास्त्रको नाउँमा दुहाइ दिनुहोस् त्यसको कुनै औचित्य छैन। शास्त्रको सुगा रटाइले के हुन्छ? आचरणमा जबसम्म असल आनीबानीलाई आत्मसात् गर्न सकिन्न तबसम्म त्यसको कुनै अर्थ रहन्न भन्ने कुरा घाम जत्तिकै टड्कारो छ भन्ने लाग्छ मलाई।

यस्तै किसिमका अनेक तौरतरिका तपाईँ-हाम्रा संस्कृतिका नाममा अवोध पशुपक्षीले पाइराखेको तर्फ चुपचाप लागिरहनु मनुष्यता माथि नै कलङ्क हो भन्ने सम्झनु हुन्न? या यही हो पुरुषार्थ भन्ने ठान्ने जमातबाट मनुष्यता जिउँदो रहला भन्ने ठान्नु हुन्छ? यस्तै प्रवृत्तिले समाजले विकृतिग्रस्त तुल्याउने हुन्। आफूमा दया, माया, करुणा, अहिंसाको केही लेस मात्रको भाव अन्तर्हृदयमा छ भन्ने लाग्छ भने यस प्रकारको क्रूरता र नङ्गनृत्यप्रति सहमति दर्शाउनञ्जेल मनुष्यताको स्तरमा वृध्दि होला भन्ने ठान्नु गलत हुने छ। अहिलेसम्म बिग्रेको यसैले हो। विना आचरणको शिक्षा, दीक्षा, सिकाइ र दर्शनको करामत हो आजको विश्वको ध्वंशात्मक स्वरूप, मानिसको विकृत स्वभाव, नकारात्मक चिन्तन!

यदि व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वमा सकारात्मक चिन्तन, असल स्वभावको गुणले हरेक व्यक्ति-व्यक्तिमा लहलेस गराउने चाहना राख्ने हो भने चुटकीको भरमा सम्भव छ। सवैको चाहना र दृढ अढोट हुने हो भने नहुने भन्ने के कुरा छ? तर जसरी चलेको छ चल्दै जान्छ भन्ने नेतृत्वकर्ताहरूको भित्री आशय र स्वार्थपूर्ण उपयोगवादी आदर्शको कारण विश्वले ताडना र प्रताडना बेहोर्नु परेको छ।मानवता ह्रासोन्मुख हुँदै गएको छ। निरीह, अबोध, लाटासुधा पशुप्राणीले दु:ख पाइरहेका छन्। साथै संसार रोग, भोक, आँधी र ब्याधिले आक्रान्त छ। विश्वमा आतङ्क बनेर फैलिएको कोभिड-१९ को पनि कतै न कतै परपीडा, क्रूरता, पाशविकता, नृशंसता प्रति लगनगाँठो गाँसिएको छ। समयमै सचेत, विवेकवान र मानवीय व्यवहारलाई पुनर्जागृत गराउन सकेनौँ भने पृथ्वीमा अरू कति कहर, पीडा, आतङ्क फैलिने हुन् तिनको के साँधी?

संस्कृति र सभ्यताको नाममा कति यस्तै प्रवृत्तिलाई बढावा दिएको अवस्थाले परपीडामा कतै मजा आएको अनुभव त तपाईँ गर्दै हुनु हुन्न? विचार गर्नुहोस्। यदि यसो हो भने त्यस्ता कुप्रवृत्तिलाई जरैसहित हटाउन लागिएन भने पछिका अनेकौँ पुस्ता यस्ता मनोविकृति बाट प्रताडित हुनु पर्ने अवस्था आउँछ भन्ने कुरालाई बुझी छानी-छानी त्यसलाई हटाउनतिर ध्यानदृष्टि दिनु समयको माग भइसकेको छ भन्ने कुरा प्रति कत्ति सहमति हुनुहुन्छ मलाई थाहा छैन। तर असत्य, अनाचार र दुष्कर्मलाई प्रेरणा र प्रोत्साहन दिनुहुन्न भन्नेतिर तपाईँ हुनहुन्छ भनेदेखि, परपीडामा त्यही कुराहरूको केही न केही संमिश्रण छ भन्ने कुरा थाहा पाइसकेपछि त्यसको निवृत्तितिर जरुर ध्यान जाँला र त्यसमा विमति आज भए पनि कुनै न कुनै दिन यसमा सहमति खोज्न लालायित हुने अवस्थाको सृजना हुने छ भन्नेमा म सोह्रै आना आश्वस्त छु। किनकि यो समग्रमा अबको शताव्दीको आवाज र चाहना हुने छ।

Related posts

आत्मव्यवस्थापन जरुरी छ

Khoj Sanchar

राजनीतिमा युवा नेतृत्व

Khoj Sanchar

धार्मिक कि आध्यात्मिक…?

Khoj Sanchar