8 C
Kathmandu
January 26, 2021
जीवनशैली

ऋतुकालीन जीवनशैली र प्राचीन ग्रन्थको आधार

शारीरिक तथा मानसिक कल्याणका लागि हाम्रा ग्रन्थहरूमा उल्लेख गरेका यी नियमहरू पक्कै पनि वैज्ञानिक छन् । यी नियमहरूका बारेमा आधुनिक चिकित्साविज्ञान, आहारविज्ञान, विद्वान्,वैज्ञानिक, तथा शास्त्रका ज्ञाताबाट प्रामाणिक ज्ञानको उदय हुनपर्ने आजको आवश्यकता हो

-द्रौपदी अर्याल

हाम्रो जीवनशैलीमा रूढ भएका मान्यता प्राचीन जीवन पद्धतिकै शृङ्खला हो । एक महिना बितेसँगै सङ्क्रान्ति भनिएको र यस समयभित्रका खानपान, उपवास अर्थात् जीवनशैली लोकजीवनको उपज मात्र होइन । दैनिक जीवन कर्म र समय अनुसारका रीतिरिवाजमा पनि ऋतुकालीन जीवन पद्धतिको प्रभाव देखिन्छ । माघमा घ्यु खाने, साउन महिनामा खिर खाने भन्ने लोकमान्यतामा पनि पुराना जीवन पद्धतिको निरन्तरता देखिन्छ । हाम्रा परम्परा र मान्यताहरूलाई धर्मसँग जोडेर पनि व्याख्या गरिएकोे छ । यी प्रचलनलाई धार्मिक आड या लोकमान्यता जे दिए पनि प्राचीन ग्रन्थ र स्वाथ्य पद्धतिमा यी मान्यता लिपिबद्ध भएको पाइन्छ । हाम्रा ग्रन्थहरूमा प्रकृति अनुरूप जीवनशैली हुनुपर्छ भन्ने मान्यता नीति भएर समाजमा विकसित भएको पाइन्छ । यस प्रसङ्गमा यो श्लोक हेर्न सकिन्छ: घृष्टं घृष्टं पुनरपिपुनश्चन्दनं चारुगन्धं । छिन्नं छिन्नं पुनरपिपुन: स्वादुचैवेक्षुदण्डम् ।। दग्धं दग्धं पुनरपिपुनः काञ्चनं कान्तवर्ण । प्राणन्तेपिप्रकृति विवृतिर्जायते नोत्तमानाम् ।। अर्थात् बारम्बार घोट्दा पनि चन्दनमा सुगन्ध रहन्छ । टुक्राटुक्रामा काट्दा पनि उखुमा गुलियो नै रहन्छ । सुनलाई जति डढाए पनि उज्यालो नै रहन्छ । त्यसै गरी प्राणीहरूमा उत्तम मानिस प्राणै जाने अवस्था आए पनि आफ्नो प्रकृति विपरीत जाँदैन । यसबाट हाम्रा मान्यताले हामीलाई प्रकृति अनुरूप चल्न निर्देश गरिरहेका छन् । हाम्रा प्राचीन ग्रन्थका निर्देशहरूलाई आधुनिक स्वास्थ्य विज्ञानसँग जोडेर खोज तथा अनुसन्धान अघि बढेको छ । यो जीवनशैलीका लागि गौरवको कुरा हो ।

हाम्रो जीवनशैली रोग, रोगको कारण, उपचारका बारेमा आयुर्वेद ग्रन्थमा व्याख्या गरिएको पाइन्छ । हाम्रो शरीरलाई हृष्टपुष्ट, स्वस्थ राख्न आयुर्वेदमा तीन आधार (१) आहार(भोजन), (२) निद्रा(विश्राम) (३) ब्रह्मचर्य (संयमित जीवन) को चर्चा गरिएको छ ।यिनीहरूलाई शरीर स्वस्थ राख्ने तीन उपस्तम्भ भनेर व्याख्या गरिएको छ । आयुर्वेदको ग्रन्थ चरकसंहितामा वात, पित्त वा कफ यी तीन दोषको मात्रा सम (उचित प्रमाण) हुनु नै आरोग्य हो र यसको विषमता नै रोग हो भनिएको पाइन्छ । आयुर्वेदको मुख्य मान्यता यही त्रिदोष (वात,पित्त र कफ) को खोजी र उद्देश्यमा स्वस्थ व्यक्तिको रक्षा र रोगी व्यक्तिको उपचार गर्नुरहेको छ । आयुर्वेद लगायत रामायण, महाभारत, पुराण, उपनिषद् आदि ग्रन्थमा चिकित्ससा क्षेत्रका पक्ष तथा जीवनशैलीका विषयमा भिन्नभिन्न प्रसङ्गमा चर्चा गरिएको पनि पाइन्छ । यस्तै बौद्ध ग्रन्थ नावनितकम् विनयपिटक, मिलन्दप्रश्नमा पनि आयुर्वेदको मान्यताकेन्द्री रोग तथा त्यसका निदानका विषयमा चर्चा गरिएको छ । हाम्रा प्राचीन ग्रन्थका आधारसँगै आयुर्वेदको परम्परा पनि जीवन्त नै रहिआएको छ । विज्ञान, कला, दर्शन आदिका मिश्रणबाट यो परम्म्परा वाङ्मययमा छरिएको मात्र छैन यसका आधारमा उपचार तथा औषधिको पनि खोजी भई लोेकमा सुपाच्य बनेको देखिन्छ । विडम्वना नै मान्नुपर्छ, यो शास्त्र अनुसारको जीवनशैली ओझेलमा परेको छ । स्वास्थ्यका रक्षाका लागि अपनाएका जीवन पद्धति बचाइका उज्याला पक्ष अनुसन्धानको आधार नै हो । प्राचीन ग्रन्थमा हाम्रो प्रकृतिलाई ध्यानमा राखेर ऋतुचर्याको चर्चा गरिएको पाइन्छ । यस्तो जीवनशैलीले मानव जीवनमा कसरी काम गर्छ भन्ने विषयमा खोज तथा हाम्रो शरीर र प्रकृतिसँगको सम्बन्धका विषयमा अनुसन्धान आधुनिक चिकित्साशास्त्रको पनि अन्वेषणको विषय बन्दा नै यो प्र्राचीन सम्पत्तिको रक्षा र हाम्रो शास्त्रीय आधारको पनि वैज्ञानिक आधार स्पष्ट हुने देखिन्छ ।

आयुर्वेदले ऋतुअनुसारको जीवनशैली निर्देश गरेकोे छ । ऋतुचर्या जीवन पद्धतिको प्रकार्र्य हो । वर्षभित्र आउने ऋतुहरूमा भिन्नभिन्न प्रकृतिको वातावरण हुन्छ । एक वर्षमा सूर्य १२ राशिमा घुम्छ र दुई दुई राशिमा ऋतु बदलिन्छ । यसैका आधारमा छ ऋतुको कल्पना गरिएको छ । यही ऋतु संयोग अनुसार हाम्रो शरीरमा पनि परिवर्तन हुने गर्छ । त्यसै अनुरूप हामीले आफ्नो आहारविहारको नियम अपनाउनु पर्छ । शारीरिक शास्त्रमा ऋतुअनुसार अपनाइने नियमहरूको नाम ऋतुचर्या हो। वर्षमा दुईवटा अयन उत्तरायण र दक्षिणायन हुने गर्छ । उत्तरायणका छ महिनाको अवधि माघदेखि असारसम्मलाई मानिएको छ । यस समयमा उत्तरतर्फका प्रदेशमा विशेष गर्मी हुन्छ । यी छ महिना शारीरिक बल कम हुने समयका रूपमा लिइन्छ । साउनदेखि पुससम्मका महिनाहरूलाई दक्षिणायन मानिएको छ । यी महिना या यो समय शारीरिक बल बढाउने खालको हुन्छ । प्रत्येक अयनमा ३ ऋतु रहेका छन् । यी ऋतुहरूमा हुने केही रोग र अपनाउन पर्ने नियम पनि शास्त्रमा उल्लेख गरिएका छन् । यसमा कतिपय निदान प्रकृति आफैले गर्र्छ भने कतिपय नियम हामीले जीवनशैलीबाट मिलाउनु पर्छ ।

यस पृष्ठभूमिमा ऋतुअनुसारका नियमलाई यस प्रसङ्गमा चर्चा गर्र्नु सान्दर्भिक नै देखिन्छ । वसन्त ऋतु (चैत बैशाख) मा शिशिर ऋतु (माघ फागुन)मा खाएको खानाले शरीरमा कफको सङ्ग्रह हुन्छ। वसन्तमा गर्मी बढ्न थालेसँगै विस्तारै कफ निस्कन थाल्छ । यसलाई राम्ररी शान्त गरिएन भने खोकी ज्वरो आदि रोग उत्पन्न हुन्छन् । कफ पग्लेर गलामा आउँदा खोकी लाग्छ भने पेटमा पुग्दा पेटसम्बन्धी रोग लाग्छ । शरीरमा जम्मा भएको कफलाई रोग लाग्नुपूर्व नै कफलाई शान्त पार्ने र कफलाई निकाल्ने उपाय निकाल्नुपर्छ । आफ्नो प्र्रकृति इच्छा र अनुकूलता अनुसार यसलार्ई समाधान गर्नुपर्छ । जसको शरीरमा बल छ जो बढी कफको पीडित छ त्यसका लागि बमन तथा विरेचन राम्रो मानिन्छ । कफलाई शान्त पार्न निम्न लिखित आहरको पालना गर्नु उत्तम मानिन्छ:

(क) गरिष्ट र सर्दी अन्न, दिवा स्नान, चिल्लो, अमिलो, गुलियो नयाँ अन्न नखाने र खाएमा अति थोरै खानुपर्छ ।
(ख) पुरानो अन्न, व्यायाम, तेल मालिस, मह सेवन गर्नाले कफ शान्त हुन्छ । पुरानो अन्नबाट कफ अति कम उत्पन्न हुन्छ । महले कफलाई फटाउँछ । व्यायाम तथा मालिसले कफलाई बाहिर निकाल्न सजिलो हुन्छ । वसन्त ऋतुलाई मानिसको जीवनशैलीमा राम्रो मानिएको छ । यस ऋतुमा मित्र तथा प्रेमीप्रेमिका नयाँ र सुन्दर स्थानमा घुम्न जानुलाई राम्रो मानिएको छ ।

ग्रीष्म ऋतु (जेठ असार ) मा वसन्त ऋतुमा कफ शान्त भएपछि ग्रीष्म ऋतुको कडा गर्मीले शरीरभित्रको शेष कफ पनि विस्तारै सुक्दै जान्छ र शरीरमा वायुको अंश एकत्रित हुन थाल्छ । यस समयमा कफको क्षय र वायुको वृद्धि हुन्छ । शरीरमा वायु कम गर्नका लागि यस ऋतुमा प्रशस्त रसयुक्त अर्थात् रस बढाउने पदार्थ सेवन गर्नुपर्र्छ । यस ऋतुमा गर्र्मी बढाउने खाना भन्दा शितलता दिने रसयुक्त आहारमा बल गर्नुपर्छ । ऋतुअनुसार प्रकृतिले दिएको फलको विशेष महत्त्व हुने हुँदा यस ऋतुमा फल्ने आरु, आँप आदि खानु उपयुक्त हुन्छ ।

ग्रीष्म ऋतुमा निम्न अनुसार नियम पालना गर्नुपर्छ ।
(क) सुख्खा, बढी अमिलो पदार्थ र बढी व्यायाम आदिको त्याग गर्नुपर्छ ।
(ख) यस ऋतुमा चिसो, ठण्डा र रस भएका खानालाई विशेष ध्यान दिनुपर्छ । कागतीको सेवन राम्र्रो मानिन्छ ।
(ग) यस ऋतुमा दही भन्दा मही खानुलाई राम्रो मानिन्छ ।

यस ऋतुमा वायु वृद्धि, छाला सुख्खा तथा कालो हुन्छ । दुब्लोपन आउँछ । शरीरका अङ्गहरू पड्किन्छन् । मल कडा हुन्छ । यसैले यस ऋतुमा योग व्यायाम पनि सीमित गर्नुपर्छ ।

वर्षा ऋतु(साउन भदौ) यस ऋतुमा वायु बदलिन्छ र वर्षा आरम्भ हुन्छ । यस ऋतुमा ग्रीष्ममा कुपित वायुले दिसा सम्बन्धी, बमन हुने, ज्वरो आउने आदि रोग लाग्न सक्छन् । यस ऋतुमा गरम खानपानले पित्तदोष बढ्छ । शरीरमा आगाले पोले जस्तो हुन्छ । अमिलो डकार आउँछ । पसिना बढी आउँछ । शरीरबाट दुर्गन्ध आउँछ । शरीरमा रातो रातो डाबर र खटिरा आउँछ । दिसा पातलो हुन्छ । यस ऋतुमा तीन दोष (वायु, पित्त, कफ) का बिच परस्पर युद्ध हुन्छ । ती दोषका शान्तिका लागि युक्तिपूर्वक आहार गर्नुपर्छ तथा विरेचन गर्ने औषधिले आमाशय सफा गर्नुपर्छ । यसैगरी पित्तका शमनका लागि देश, काल परिस्थिति अनुसार मधुर, तिक्त, कषाय(टर्रो) रस भएका शीतल औषधिहरूको सेवन गर्नुपर्छ । केरा, अमला, अनार, छोकडा, काक्रो, करेला, त्रिफला, शताबरी, पुरानो चामल, गहुँ, चिनी, चना, जौ, मुग, मुसुरो, आदिको सेवन गर्नुपर्छ । साथै जुनेली रातमा खुला ठाउँमा बस्नु , नदी किनारमा घुम्नु, स्नान गर्र्नु, मोतीको माला लगाउनु, असल मित्र, पति या पत्नी र सन्तानसँग मिलन गर्नु आदि पित्त शमनका उपाय हुन् ।

शरद ऋतु ( असोज र कात्तिक) महिनामा पर्दछ । शरद ऋतुको प्रबलता भदौको उत्तराद्र्धदेखि कात्तिक महिनाभरि रहन्छ। अरू ऋतुको तुलनामा यस ऋतुमा बढी पित्त प्रकोप हुने गर्छ । वर्षामा भिजेका जमिनबाट जुन वायु निस्कन्छ त्यही वायुले नै ज्वरो उत्पन्न गर्छ । यस किसिमको ज्वरो एक दुई दिन आउने खालको हुन्छ । यो ज्वरो पित्त ज्वरो हो । पित्त बढ्ने समय भनेको यौवन अवस्थामा, दिनको मध्याह्नमा, आधा रातमा, गर्मीको मौसम तथा शरद ऋतुमा विशेष रूपमा पित्त कुपित हुन्छ । पित्तको वृद्धिमा शरीर पोल्ने, जलन हुने हुन्छ तथा अमिलो डकार आउँछ ।

शरद ऋतुमा कुपित पित्त शान्त पार्ने दुई वटा उपाय छन्। यी उपायमा पहिलो खानपान र औषधिले त्यसलाई दबाउने र अर्को वमनद्वारा पित्तलाई बाहिर निकाल्ने हो । वायु प्रकृति भएकालाई शरद ऋतुमा घिउ पिलाएर पित्त शान्त गर्नुपर्छ । तितो पदार्थ खाएर पनि पित्त शान्त हुन्छ । यस ऋतुमा प्रातकालीन वायुको सेवन, अत्यधिक भोजन, दही, तेल, तथा तीक्ष्ण पदार्थको भोजन, सूर्यको ताप, तथा दिउसो सुत्न त्याग गर्नुपर्छ । यी सबैबाट शरीरलाई हानि हुन्छ। यस ऋतुमा दुध, गुलियो पदार्थ, अमिलो तथा पिरो पदार्थ, चिसो हलुका पदार्थ, मास, गहुँ, जौ, मुगी नदीको जल, चन्दन, चन्द्रमाको किरण, सफा लुगा, सफा वस्तु हितकारी मानिन्छ । आयुर्वेदको नियम अनुसार ग्रीष्ममा राम्ररी सुत्नु, हेमन्तमा राम्ररी खानु र शरदमा धेरै दुध पिउनु भनिएको छ । उक्त नियमको पालना गर्दा आरोग्य तथा आयुको वृद्धि हुन्छ । असोजको अन्तिम आठ दिन र कात्तिकको पूरा महिनामा विशेष सावधानीपूर्वक जसले दिन व्यतीत गर्छन् उनीहरू आफ्नो जीवनको रक्षा गर्दछन् भनेर आयुर्वेदमा वर्णन गरिएको छ । शरद ऋतुमा नदीको पानी पिउनु विशेष लाभदायक छ । यस ऋतुमा पानीमा दिनमा सूर्यको किरण र रातमा चन्द्रको किरण पर्छ । यस्तो पानीले कफ,वात, पित्त दोषलाई हटाउँछ । यस ऋतुमा टयाङ्कीमा ढाकेको पानी पिउनु राम्रो मानिँदैन । शरद ऋतुमा भुलेर पनि दही खानु हुँदैन । यसले पित्तलाई कुपित गर्छ । धेरै तीक्ष्ण र अमिलो पदार्थ पनि सकभर कम खानुपर्छ ।

हेमन्त ऋतु (मङ्सिर पुस ) ग्रीष्म ऋतुमा शरीरमा बल कम हुन्छ तर हेमन्त र शिशिर ऋतुमा भने मानिसका शरीरमा बलको वृद्धि हुन्छ । यस समयमा सूर्य दक्षिणायन हुने हुँदा दक्षिणायन सूर्यको किरण शरीरमा सङ्ग्रह भएर बल वृद्धि हुने गर्छ र रातको चन्द्रमाको किरणले पनि शरीरमा बल वृद्धि गराउँछ । हेमन्त ऋतुमा चन्द्रमाको शितलता बढ्नाले मनुष्यमा बल बढ्दछ । यस ऋतुमा ठण्डी हुने भएकाले जठराग्नि प्रदीप्त हुन्छ । भोजन राम्ररी पच्छ । शरीरमा स्फूर्ति आउँछ । शरीरमा यदि अग्नि प्रदीप्त छ भने त्यसलाई शान्त पार्न प्रशस्त भोजन मिलेन भने त्यस अग्निले शरीरको रस,रक्त आदि धातुलाई जलाउन थाल्दछ । यसकारण यस ऋतुमा अधिक पुष्टकारी भोजन खानु जरुरी छ । यस ऋतुमा गुलियो, अमिलो र क्षार पदार्थ खानुपर्छ । मधुर रसले कफ बढ्दछ, कफको प्रबलताले जठराग्निको पोषण हुन्छ । यसकारण मिष्ठान्नका साथ अमिलो र क्षार पदार्थ खानु उपयुक्त मानिन्छ । यस ऋतुमा तीन चिजहरू एकपछि अर्को गरी खानुपर्छ अर्थात् हेमन्त ऋतुको साठी दिनमा पहिलो बीस दिन गुलियो, दोस्रो बीस दिन अमिलो र तेस्रो बीस दिन क्षार पदार्थ खानुपर्छ । भोजनको क्रमलाई यसरी नै नराखी क्रम छोडेर उल्टो भयो भने शरीरमा हानि हुने सम्भावना हुन्छ । यसमा हेमन्त ऋतुको पहिलो पक्षमा शरद ऋतुको पित्तको कुपित दोष हुन्छ यसलाई अमिलो र क्षारले उत्तेजित गर्छ । यस ऋतुमा अमिलो क्षार तथा तीक्ष्ण स्वाद भएका पदार्थ सेवन गर्नुपर्छ । यस ऋतुमा खुला ठाउँमा सुत्नु, दिउँसो सुत्नु, चिसो पानीले स्नान गर्नु हानिकारक छ । साथै पौष्टिक भोजन, तेल मालिस, व्यायाम, रासायनिक पौष्टिक ओषधि, बलकारक पाक, तातो कपडा, दुध आदि यस ऋतुमा लाभकारक छन् ।

शिशिर ऋतु (माघ फागुन) यस ऋतुको नियम हेमन्त ऋतुको समान छ ।

शारीरिक तथा मानसिक कल्याणका लागि हाम्रा ग्रन्थहरूमा उल्लेख गरेका यी नियमहरू पक्कै पनि वैज्ञानिक छन् । यी नियमहरूका बारेमा आधुनिक चिकित्साविज्ञान, आहारविज्ञान, विद्वान्,वैज्ञानिक, तथा शास्त्रका ज्ञाताबाट प्रामाणिक ज्ञानको उदय हुनपर्ने आजको आवश्यकता हो । यी नियम हाम्रो माटो, परिवेश सुहाउँदा छन् । हाम्रा ग्रन्थहरूमा हाम्रो जीवनशैलीलाई प्रकृतिसँग मिलाएको पाइन्छ र प्रकृति अनुकूल चल्नुपर्छ भन्ने जीवनशैलीका बारेमा चर्चा गर्दै त्यसको लोकआधार दिनु नै यी ग्रन्थको मुख्य मान्यता रहेको छ । तेजस आप अर्थात् पानीबाट आगो निस्कन्छ भन्ने आधार पुराना ग्रन्थमा पाइन्छ र यो बिजुलीको रूपमा आएको छ । हाम्रा प्राचीन ग्रन्थहरूमा यस किसिमका वैज्ञानिक आधार लुकेका छन् । प्राचीन ग्रन्थमा व्याख्या गरिएका प्राकृतिक खानपान, रहनसहन, उठबस, घुमफिर, दिनचर्या, ऋतुचर्या एवम् जीवनशैली नै आधुनिक विज्ञानका आधार हुन् ।

Related posts

संगीत, मन र मेडिसिन

Khoj Sanchar

शौचालयको प्रयोग सँगै सरसफाई पनि जरुरी

Khoj Sanchar

समयको व्यवस्थापन

Khoj Sanchar