24.1 C
Kathmandu
October 2, 2022
अभियान साँचो जीवननिर्माण अभियान

नेता या मार्गदर्शकको गुण कस्तो हुनुपर्छ?

नेता वा मार्गदर्शकको भूमिका चाहाने वा त्यस स्थितिमा पुगेकाहरूले समाजबाट खोजी-खोजी विकृतिलाई, कुप्रवृत्तिलाई सबैभन्दा पहिले निरुत्साहित गर्नतिर ध्यान दिन सके संसारमा धेरैभन्दा धेरै यस्ता यस्ता असल र गुणकारी कार्यहरू गर्न सकिन्छ कि के भनौँ! त्यसले मानवताको जिउँदो-जाग्दो स्वरूप संसारसामु ल्याउन सकिन्छ तर दु:खको कुरा हिजो यसैगरी चल्यो आज पनि त्यसैगरी चल्छ किन टाउको दु:खाउने ? भन्ने प्रवृत्ति यत्र-तत्र हावी भएको कारण “चलाचलीका मेला यसैगरी चल्दै जाला” भन्ने प्रवृत्ति दुर्भाग्यपूर्ण छ। किन हामी समाजमा देखिएका विकृति, विसङ्गतिहरू हुन् भन्ने जान्दा-जान्दै पनि त्यसलाई सच्याउन र परिस्कार गर्न पछि पर्छौ? यो हरेकले मनन गर्नु पर्ने विषय छ भन्ने तपाईँलाई लाग्दैन?

-डा.गोविन्द टण्डन

मानिसको हरेक क्रियाकलापको प्रवृत्ति मनुष्यताको उचाइलाई छुने, मानवीय संवेदनालाई प्राप्त गर्ने तथा पशुताको स्थितिबाट मुक्ति पाउने हुन सक्नुपर्छ।यसमा हामी सफल भयौँ कि भएनौँ त्यो हेरिएन र मात्र काम चलाउने प्रवृत्ति र भावनाले ग्रस्त भएर सोच्यौँ वा सोच्छौँ भने नेतृत्वमा कमी छ भन्ने कुरालाई मान्नै पर्छ। यो जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। चाहे हामी सामाजिक, धार्मिक, आध्यात्मिक, राजनीतिक, शैक्षिक, प्रशासनिक जुनसुकै क्षेत्रको कुरा गरौँ त्यहाँ यो कुरा लागू हुने उहाँ नहुने भन्ने नै छैन। धेरै जसो हामी यस दिशातर्फ ध्यान दिइराखेका हुँदैनौँ, जसको कारण हामी अन्धकार, गरीबी, अभाव एवं चेतनाहीनताको अवस्थालाई प्राप्त गर्न वाध्य हुन्छौँ र सधैँ शून्यको स्थितिबाट माथि उठ्न खोज्छौँ। प्राप्त भइसकेको वा प्राप्त हुन सक्ने अवस्थालाई इन्कारेर वा नजरअन्दाज गरेर अन्यत्र दृष्टि दिनुको अर्थ हो लक्ष्यलाई चाँडो प्राप्त गर्न सक्ने अवस्थाबाट बिमुख हुनु।

हिजोआज संसारको कुनै पनि भागमा कुनै पनि क्षेत्रमा नेताहरूको कमी छैन। तर त्यहाँ सबैभन्दा ठूलो कमी छ सत्यताको, इमानदारी र निस्वार्थताको। समुदायको हित, समाजको कल्याण, राष्ट्र र विश्वको उपकार वा मानव मात्रको हित-कल्याणभन्दा पनि निजी स्वार्थ, एकदेशीय हितको प्रवृत्तिले व्यापकता पाएको हुन्छ यत्र-तत्र सर्वत्र! उदारता, महानता भन्दा सङ्कीर्णतामा, लघुतामा, सीमिततामा अलमलिन पुगेको देख्नुपर्दा दु:ख लाग्छ।यिनै कारणले गर्दा कैयौँ महत्त्वपूर्ण अवसरहरू तुहिदै गइरहेका छन्, त्यसको पत्तो नै हुँदैन उनीहरूलाई। समय बितिसकेपछि पछुतो गर्ने बानी परिसकेको भान पर्छ। एउटा अवसर गुम्नुको अर्थ हो पट्यारलाग्दा धेरै दिनहरूको प्रतिक्षा गर्नु पर्ने अवस्थाको सूत्रपात स्वयं आफैले गर्नु। फेरि यो पनि छ कि त्यस्तो अवसर पुन: आउने हो कि होइन के पत्तो?

दूरदर्शिता नेतृत्व गर्न चाहनेहरूको गुण हुन सक्नुपर्छ। भावना, आवेश र स्वेच्छामा होइन उदेश्य र लक्ष्यनिर्दिष्ट भएर अगाडि बढ्न सके मात्र सफलता हात पर्न सक्छ भन्ने कुरा बुझ्न उनीहरू पछि परे भने जितबाट उनीहरू कोसौकोस टाढा हुने कुरा घाम जत्तिकै टड्कारो छ। सबै प्रति समान व्यवहारका साथै मेरो, उसको, हाम्रो होइन ‘राम्रो र असल’ भन्ने आत्मीय भावनाको अनुभूति नेतृत्व गर्नेहरूको आस गरेर बस्नेहरूले पाउन सके भने मात्र नेतृत्वको वाहवाहति हुन्छ अन्यथा त्यो केही छिनको पानीको फोका जस्तो हुन पुग्छ।

नेतृत्व गर्न चाहनेले सधैँ ध्यान दिनु पर्ने कुरा के छ भने उसको कार्यकाल वा समयको साक्षी कोही न कोही निश्चित रूपले हुने भएकोले भविष्यमा उसको नाम कसरी लियुन् भन्ने चाहने? मानिसले स्वीकारुन् या दुत्कारुन् के चाहने? कोही नेता वा नेतृत्व गर्न चाहनेले उसलाई स्वीकारुन् भन्ने चाहने हो भने आजैदेखि त्यस्तो कर्म वा सुकर्ममा आफूलाई लगाउन कम्मर कस्नुपर्छ, जसले इतिहासमा स्वर्णाक्षरले उसको नाम लेखियोस् र अनेकौँको लागि उदाहरणीय व्यक्तित्व बन्न सकियोस्।असल नेताले, समाजको हित, राष्ट्रको कल्याण र विश्वको वर्चस्व चाहने व्यक्तिले छान्ने नै यही हो। अरू त इतिहासको कालखण्डमा कति आए कति गए, तिनको गन्तीको के साधी! यसैले सधैँ आवश्यकता असल नेताको, असल नेतृत्वको हुन्छ कसैले बुझ्नु नबुझ्नु आर्कै कुरा हो।

Related posts

सर्वोत्कृष्ट जीवनको यात्रामा

Khoj Sanchar

बलिको रहस्य र बुझ्नै पर्ने कुरा

Khoj Sanchar

के आफूलाई चिन्ने प्रयाश ग-यौँ …?

Khoj Sanchar