29.1 C
Kathmandu
August 16, 2022
अभियान साँचो जीवननिर्माण अभियान

जीवनलाई ऊर्जामय तुल्याउँछ- ध्यान

बिना अभ्यास चाहे भौतिक जीवन होस् चाहे आध्यात्मिक जीवन कहीँ पनि केही पनि प्राप्त हुन सक्दैन।साधना वा अभ्यासको एकदमै जरुरी छ। आकाशमा हवाइजहाजलाई एकै पटक उडाउने धृष्टता ग-यौँ भने दुर्घटना पर्ने निश्चित छ। आकाशमा उडनुभन्दा अघि रनवेमा तयारी गर्नैपर्छ। लक्ष्यलाई हासिल गर्ने हो भने तयारी, साधना, अभ्यास त्यही किसिमले गरेको हुनुपर्छ। इन्जिनियर बन्न चाहनेले कथा, उपन्यासको साधना गरेर हुँदैन। त्यसैगरी चिकित्सक बन्न चाहनेले ज्योतिषशास्त्रको गणना गरेर हुँदैन।

-डा.गोविन्द टण्डन

उदेश्य र लक्ष्यको बारेमा दृढनिश्चय भएन भने मोह उत्पन्न हुन थाल्छ। मोहले मानिसलाई अल्मलाउँछ।अर्जुनलाई मोहले अल्मलायो, धृतराष्ट्रलाई अल्मलायो, गौतम बुध्दलाई पहिले मोहले नै अल्मलायो। मोहको बारेमा पछि राम्ररी बुझेपछि अर्जुन, गौतम बुध्द आदि त्यसबाट उम्किए तर धृतराष्ट्र अल्मलिएको अल्मलियै भए। गौतम बुध्दलाई धन, सम्पत्ति, प्रतिष्ठाले उनन्तीस वर्षको उमेरसम्म अल्मलाएरै राखेको थियो। एक दिन जब सहरमा घुम्न निस्किन्छन् त्यतिखेर देखेका दृश्यहरू- बिरामी, बृध्द, शवको दृश्यले उनको मनमा मेरो पनि यही गति हुने हो? भन्ने चेतनाले मोह भङ्ग तुल्यायो। जन्मेपछि मर्नै पर्छ भन्ने यथार्थतालाई जानेपछि त्यसबाट उन्मुक्ति पाउने कार्य दरबारको रसरङ्गमा लागेर पाउन सकिन्न भनी सम्झी घर त्यागेर निक्लिए। आफ्नो साँचो स्वरूपको साक्षात्कार गरे। उनले त्यसपछि बुध्दत्व प्राप्त गरे र राजकुमार सिद्धार्थ महात्मा गौतम बुध्द बने। त्यसैगरी भर्खरको नरेन्द्रदेव स्वामी विवेकानन्द बने, वेङ्कटरमण रमण महर्षि बने।

अनात्मा, अहंता र अहंकारको त्याग नभएसम्म न ध्यान लाग्छ, न योगमा नै दृढ हुन सकिन्छ।यसैले पातञ्जली योगसूत्रमा पञ्चक्लेशलाई छोडनुपर्छ भनिएको छ। पञ्चक्लेशलाई छोड्नु नै योग हो। “योगचित्तवृत्त निरोध:” अर्थात् चित्तवृत्तिलाई निरोध गर्न सक्नु नै योग हो। वस्तुत: यो एक कला पनि हो। यसलाई सिक्नुपर्छ। ध्यानमा बस्दा आत्मालाई देख्नुपर्छ, शरीरलाई देख्न छोड्नुपर्छ। आत्मातिर अर्जुनदृष्टी जरुरी छ। ध्यानमा इन्द्रियको कुनै काम छैन। मनैदेखि इन्द्रियहरूका काम बन्द गरिदिनुपर्छ।

प्रश्न आउन सक्छ आत्मासाक्षात्कार भएको कसरी थाहा पाउने? जसको ध्यान गर्छौ उसको ज्ञान हुनुपर्छ। जसको बारेमा केही थाहा छैन उसको ध्यान कसरी गर्ने? उदारहरणको लागि कसैले भन्यो रे च्याङ्गोस्याङवोको ध्यान गरौँ। च्याङ्गोस्याङबो भनेकै के हो थाहा छैन भने कसरी ध्यान गर्ने? आत्माबारे मानिसलाई थाहा छ, त्यसैले ध्यान गर्न सकिन्छ।आत्मा सर्वव्यापी, अजन्मा, निर्विकार छ। सबै प्राणीमा आत्मा छ। आत्मा रहेकै कारण प्राणी जीवित छ। यदि आत्माले छोडेर गइदियो भने प्राणीको देहान्त हुन्छ।अनात्माको ध्यान हुन सक्तैन। आत्मामा मनलाई केन्द्रित ग-यौँ भने मन पनि आत्मवत् हुन पुग्छ। आत्मा सूक्ष्म शरीर (मन, बुध्दि, अहंकार) तथा जाग्रत, स्वप्न, सुषुप्ती तीनैको साक्षीस्वरूप छ।प्राणी मात्रमा आफू देख्न सकियो, वनस्पति जगत्‌मा पनि अस्तित्वको महसूस गर्न सकियो र कमभन्दा कम नोक्सान गर्छु भनेर बाँच्न सकियो भने आत्मसाक्षात्कारको बाटोमा साधक अघि बढिरहेको छ भनी सम्झे हुन्छ।

ध्यानको तयारी हुन्छ तर ध्यान कतिखेर लाग्यो थाहा हुँदैन। जसरी निद्राको तयारी हुन्छ तर कत्तिखेर सुतियो थाहा हुँदैन। त्यसैगरी ध्यानको पनि थाहा हुँदैन। कसैले म ठ्याक्कै यतिखेर सुतेको थिए भनेर भन्न सक्दैन। अन्दाजसम्म गर्न सकिन्छ त्यत्ति हो। ध्यानमा मनको चञ्चलताको कारण वाधा-अडचन आउँछन्। शरीर यहाँ छ मन कता हो कता पुगिरहेको हुन्छ। एकैछिनमा घरमा, एकैछिनमा बनमा, एकैछिनमा देश-परदेश कहाँ हो कहाँ मन डुल्न जान्छ। मनलाई अभ्यासको माध्यमबाट आत्मचिन्तनमा लगाउनुपर्छ।अभ्यास सधैँ एउटै समयमा निश्चित अवधिसम्म गर्ने बानी प-यो भने स्वत: मन त्यसतर्फ प्रवृत्त हुन थाल्छ।ध्यान कसैको लागि नभई आफ्नै हितको लागि गरेको सम्झिए त्यसप्रति विश्वास बढ्न थाल्छ। बिना विश्वास ध्यान गर्नुको कुनै अर्थ रहदैन।

ध्यान गर्दा के-कस्तो आसनीमा बस्नुपर्ला भन्ने धेरैको जिज्ञासा हुन सक्छ। प्रारम्भमा बानी लगाउन कुनै मुलायम बस्दा अप्ठेरो नपर्ने किसिमको आसनी न अग्लो, न होचो ठीक्कको आसनीमा बसेर गर्नु राम्रो हुन्छ। कति जना मृगचर्ममा ध्यान गर्दा ध्यान लाग्छ भनी मृगचर्मको खोजीमा नै जीवन बर्वाद पारिरहेका हुन्छन्। आफ्नो कालले मरेको मृगको चर्म कहाँ? कहिले भेट्टाउनु? जीवहिंसा त्याज्य भएकोले कुनै उदेश्यले मारिएको मृगको चर्म ध्यानको लागि कतै उपयुक्त मानिदैन्।पृथ्वीमा हुने नकारात्मक ऊर्जा शरीरमा सोझै जान नपाओस् भनी आसनीलाई ग्राह्यता दिइने गरेको हो ध्यानमा।

ध्यानमा बस्नु अघि मनलाई शान्त र एकाग्र पार्नु जरुरी हुन्छ। त्यसका लागि प्रणव ध्वनिको उच्चारण तथा कुनै मन्त्र वा प्रार्थनाको आवश्यकता महसूस गरी एक्लै वा सामूहिक रूपमा गाउने वा भन्ने चलन छ। ध्यानमा बस्दा आँखा चिम्लेर बाहिरी संसारबाट आफ्नो ध्यानलाई केन्द्रिकृत गर्दै आत्मिक स्वरूपको पहिचानमा पु-याउनुपर्छ। आफ्नो दृष्टिलाई आँखीभौँको बीचमा रहेको भ्रृकुटीमा केन्द्रित गरी सांसारिकताबाट हटदै विचारशून्य अवस्थाको सृजना गर्न तिर लाग्न सके ध्यान जम्न सक्छ, ध्यानको आनन्द प्राप्त हुन्छ। एकाकारको अवस्था यसै बेला प्राप्त हुन्छ। शान्ति यहीनिर भेट्टाइन्छ। सुख, शान्ति र आनन्द बाहिर खोजेर पाइने कुरा होइन त्यो आफैभित्र छ आफैले खोज्नुपर्छ। शान्ति बाहिर छ कि भनेर धेरैजसो मानिसहरू भट्किरहेका हुन्छन्। कोही एकान्तको खोजीमा जङ्गलमा जान्छन्, कोही सिनेमाघरमा पुग्छन्, कोही होटल र रेष्टुराँमा पुग्छन्, कोही नाना किसिमका औषधिको सेवनमा दुर्व्यसनी बन्न पुग्छन्।केही छिन त्यसले सुख दिए जस्तो भानमात्र दिने हुन्।स्थायी आनन्द प्राप्त हुन सक्तैन तिनबाट।शरीरमा कतै दु:ख्दा नदु:ख्ने औषधि खाँदा एक छिनलाई आराम भए जस्तो मात्र हो, त्यसले रोगै बिसेक हुने होइन। त्यस्तैगरी भौतिक सुख, सुविधाले आनन्द दिने होइन केही छिनको लागि आडभरोसासम्म दिने हुन्। आनन्दको आफ्नो स्वरूप भनेको त ईश्वरप्राप्ति, भगवद्प्राप्ति, आत्मासात्क्षात्कार र स्थायी शान्ति हुन्। यी कुरालाई मनमा राखेर ध्यान गर्न थालियो भने बल्ल ध्यानबाट आनन्दको वर्षा हुन थाल्छ। ध्यान गर्दा टेलिफोनको घण्टी, मोवाइलको साथ वा अरू गोरखधन्दामा अल्मलियौँ भने सम्झे हुन्छ ध्यान होइन समयको बर्बादी गरिरहेका हुनेछौँ। ध्यानको धज्जी उडाइरहेका हुनेछौँ। जो यी सबै कुरालाई मनन गरी साँचो ध्यान गर्दछ त्यस्तो व्यक्तिले ध्यानबाट रोग मुक्त, भय मुक्त, चिन्ता मुक्त अवस्थाको अनुभव गर्न पाउँछ। ध्यानको महिमा र गरिमा कस्तो छ भन्ने कुरा आफैले अनुभव गर्नेतिर लागौँ। ध्यानमा साँच्चैको चमत्कार लुकेको छ।

Related posts

आत्मव्यवस्थापन जरुरी छ

Khoj Sanchar

राजनीतिमा युवा नेतृत्व

Khoj Sanchar

आफैलाई चिन्न नसक्दा

Khoj Sanchar