24.1 C
Kathmandu
May 19, 2022
अभियान साँचो जीवननिर्माण अभियान

आफूले आफैलाई चिन्ने साधन-ध्यान

शान्ति बाहिरबाट प्राप्त गरिने वस्तु होइन। शान्ति त आफू भित्रै, आफूमै ल्याउनुपर्छ

-डा.गोविन्द टण्डन

जीवनको हरेक क्षेत्रमा ध्यानको अत्यधिक महत्त्व छ। मानिसहरू ध्यानलाई केवल धर्म-अध्यात्मसँग जोडेर गल्ती गर्छन्। चाहे भौतिक जीवनमा होस् चाहे आध्यात्मिक जीवन जो कसैका लागि ध्यान आवश्यक पर्छ। मात्र लक्ष्यनिर्धारणमा चाहिँ फरक पर्छ यी दुईमा। धर्म-अध्यात्ममा ध्यानको अर्थ हुन्छ आफूले आफैलाई चिन्नु तथा भौतिक जगतमा चाहिँ कुनै वस्तुको प्राप्तिमा निरन्तरको प्रयास या एकाग्रता। अझ भनौँ भने आजको संसारमा ध्यानको महत्त्व दिनानुदिन बढ्दै छ।जीवनको हरेक क्षेत्रमा प्रतिस्पर्धा, दवाव, अभाव तथा महत्वाकाङ्क्षाले जरो गाडिरहेको अवस्थाले त अझ यसको औचित्य सिध्द गर्दछ।

मनलाई शान्त र एकाग्र तुल्याउन ध्यानको ठूलो हात हुन्छ। ध्यानमा निहित ऊर्जाशक्तिको आङ्कलन गर्न सकिन्न। ध्यानको महत्त्व लाई बुझेर यसको अवलम्वन गर्न सकियो भने यसले मानिसको जीवनमा आमूल परिवर्तन र रूपान्तरण ल्याउने समर्थ राख्न सक्छ। मात्र औपचारिकताको निर्वाहको लागि ध्यानाभ्यास गरियो भने त्यस्तो ध्यानको कुनै अर्थ रहदैन। बरु त्यो त ‘बकुल्ले ध्यान’ जस्तो बन्न पुग्छ।

बिना एकाग्रता ध्यानावस्थामा पुग्न सकिन्न। एकाग्रताका लागि चित्तशुद्धि एवं शान्त मनस्थितिको आवश्यकता पर्दछ। शान्ति बिना ध्यान सम्भव छैन। ध्यानको लागि पहिलो आवश्यकता हो शान्ति। अशान्त मनमा एकाग्रताको स्थिति कसरी सम्भव हुनु? शान्ति प्राप्त गर्न वाहिरी वातावरण तदनुकूल हुनु जरुरी छ। बाहिरी वातावरणको पनि केही न केही हात हुन्छ शान्तिप्राप्तिमा तर शान्ति बाहिरबाट प्राप्त गरिने वस्तु होइन। शान्ति त आफू भित्रै, आफूमै ल्याउनुपर्छ। यो व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वकै लागि समान रूपले लागू हुने कुरा हो।

ध्यानलाई केही मानिसहरू नजानेर आ-आफ्नो धर्म-सम्प्रदायको रूप-रङ्ग दिन खोज्छन् तर ध्यानको न कुनै धर्म हुन्छ न सम्प्रदाय! आफूले आफैलाई चिन्न, बुझ्न पनि कुनै निश्चित धर्म-सम्प्रदायमा रङ्गिनुपर्छ र? यसको कुनै जरुरी छैन। विधि-विधान र तौरतरिकामा केही भिन्नता हुन सक्छ तर लक्ष्य सबैको एउटै हो कि आफूलाई चिन्नु, आत्मालाई जान्नु, आफैमा हराउनु, परम सुखानुभूति गर्नु। कोही आकारको चिन्तन गर्दै निराकारमा पुग्छन्, कोही एकै पटक निराकारको चिन्तन गर्छन्। व्यक्तिको तह, पहुँचमा यो भर पर्दछ। सबैलाई एउटै औषधिको मात्राले कहाँ रोग बिसेक हुन्छ र? हामीमा धेरैजसो गल्ती कहाँनिर हुन्छ भने कुनै पनि विषयमा कुरा गर्दा त्यो सबैका लागि लागू हुन्छ जस्तो गरी होलसेलमा सिकाइदिन्छौ, बताइदिन्छौँ। चाहे सिकून् चाहे नसिकूनको सोचले काम गरिरहेको हुन्छ त्यहाँ। उनीहरू कुन तहमा पुगेका हुन् वा छन् त्यतातिर ध्यान कमैले पु-याएका हुन्छन्। त्यसरी हुँदैन।प्रत्येकको आन्तरिक र वाह्य मनस्थितिको विश्लेषणपूर्वक अध्ययन गरी उपयुक्त प्रकारको ध्यान र त्यसको विधिबारे सिकाइएमा ध्यान एक किसिमले उसको लागि साँच्चैको ऊर्जा बन्न पुग्छ।

शान्तिप्राप्तिको लागि मानिसहरू अनेकौँ उपाय गर्छन्। कोही एकान्त खोजेर हिँडछन्, कोही घरबार बाधक भयो भनेर जङ्गल पस्छन्, कोही गृहस्थी जीवन अशान्तिको जड रहेछ भनेर त्यसलाई त्यागेर पो शान्ति पाइन्छ कि भनेर फक्कडबाबा बन्छन्। कोही अनेकथरि दुर्व्यसन र औषधिको कुलतमा फस्न पुग्छन्।

बीसौँ शताव्दीको अन्ततिर पौल ब्रिटेन नामका एक अङ्ग्रेजको मनमा शान्ति प्राप्ति गर्ने अटल इच्छा पैदा भयो। उनले हिन्दूधर्मका साधु-सन्त, महात्माहरूको यसबारेको ख्याति सुनिरहेकोले भारतमा जाने निश्चय गरी पानीजहाजको लामो दूरीको यात्रा तय गरी भारतमा आइपुगे। उनी यत्रतत्र सबैतिर घुम्न थाले। अलिकति पहुँचमा पुगेको साधु-सन्त, महात्माको नाम पाए कि भेट्न गइहाल्थे। उनीहरूको अनुभव र ज्ञान प्राप्त गर्न लालायित हुन्थे। यसरी लामो समय बिताए। यसबारेमा उनले पुस्तकै पनि लेखेका छन्। यो पुस्तक पश्चिमी संसारमा अङ्ग्रेजी भाषीहरूमाझ प्रसिध्द छ। उनलाई आत्मिक भोक लागेकोले त्यति टाढादेखि आएका थिए। धेरै ठाउँ घुम्दा र धेरै जनालाई भेटिसकेपछि पनि उनको भोक शान्त भएन । यत्तिकैमा उनले अरुणाचलमा सामान्य जीवन बिताइरहेका तर आत्मदर्शन गर्न सफल भइसक्नुभएका भनेर चिनिएका रमणमहर्षिको नाम सुने र त्यहाँबाट केही लाभ पाइन्छ कि भनी पुगे।

सामान्य जीवन व्यतीत गरिरहनुभएको महर्षिको सामुन्ने पुगी भलाकुसारी गर्दै जाँदा उनले आफू भगवान्‌लाई खोज्दै हिँडेको र उनलाई भेट्न चाहेको कुरा बताए। यो सुनी रमण महर्षिले भन्नुभयो – मनलाई बिल्कुलै शान्त तुल्याऊ, त्यहाँ परमात्माको बोध हुन सक्छ। तर मन स्थिर हुँदैन, बारम्बार भट्किरहन्छ।परमात्माको ठेगाना थाहा छ तर मनकै कारण त्यहाँसम्म पुग्न कठिन परिरहेको हुन्छ। हो,धेरैले यस्तो अनुभव गरेको हुनुपर्छ ।

परम सुख र परम शान्ति जहाँ प्राप्त हुन्छ त्यो अन्यत्र नभई आफूमै हुन्छ। निद्रा अवस्थामा सुख, शान्तिको अनुभूति त हुन्छ तर त्यसको भान रहदैन। त्यतिखेर हामी अभान अवस्थामा हुन्छौँ। निद्रा अवस्थामा प्राप्त हुने सुख, शान्ति जागृत अवस्थामा पनि प्राप्त गर्न सकियो भने बल्ल शाश्वत सुख र शान्तिलाई पाइयो भनिठान्नुपर्छ।

Related posts

असल परिणाम खोज्ने हो भने!

Khoj Sanchar

सर्वोत्कृष्टताको मार्गको आनन्द!

Khoj Sanchar

मद्यपान र धुमपानबाट हामी कहिले मुक्त हुन्छौँ…?

Khoj Sanchar