27.1 C
Kathmandu
June 25, 2022
जीवनशैली

सम्यक स्मृति (Right Mindfulness)

शाक्यमुनि बुद्धले २५०० वर्ष अघि सिकाउनु भएको सम्यक स्मृति(Right Mindfulness)  ध्यान आज संसार भरि प्रसिद्ध हुँदै छ । पश्चिमि देशहरुले ध्यानले के कस्ता फाइदाहरु गर्ने रहेछन् भनेर अध्ययन गरे र कति अध्ययनहरु अहिले भै पनि रहेका छन् । यी नै अध्ययनका आधारमा धेरै कितावहरु पनि निस्के र कतिपयले National Best Seller वा International Best Seller को उपाधि पाए । यि नै कितावहरु पढेर शाक्यमुनि बुद्धले सिकाएका कुराहरु हामीहरु मध्ये कतिपयले सिक्दै छौ र जान्दै छौ ।

डा. कपिल देव उपाध्याय
मनोचिकित्सक

स्मृति ध्यानमा लामो समय देखि काम गरेका र अमेरिकामा यसै क्षेत्रमा काम गरका प्रोफेसर जोन कवात जीन (Jon Kabat zinn) ले google Technical Talk Programme मा भन्छन् “हाम्रो अहिलेको क्षण(moment) सर्वाधिक महत्व राख्छ, भविष्यको केहि निश्चित छैन, वितेको समय विति सक्यो, केहि गर्न सकिन्न, जे गर्न सकिन्छ यहि क्षणमा नै गर्ने हो” । हुनत present time is the most important time  भन्ने कुनै नयाँ भनाइ होइन, नयाँ किसिमले भनेको मात्र हो ।

हाम्रो जीवन असिमित छैन जन्मिने, हुर्किने, जवान हुने, बुढो हुने, विरामी पर्ने र मर्ने क्रम चलिनै रहेको छ । मृत्यु कति वेला हुन्छ भन्ने निश्चित छैन, अहिले पनि हुन सक्छ, आजै पनि हुन सक्छ । त्यसैले प्रत्येक विहान जाग्दा आज एकदिन थप प्राप्त भयो, केहि राम्रो काम गर्नु पर्छ भन्ने मानिसहरु पनि छन् । यसको अर्थ हामी प्रत्येक क्षण जुन प्राप्त गरि राखेका छौ, त्यसको राम्रो उपयोग गर्नुपर्छ र त्यसमा आनन्द लिनुपर्छ भन्ने हो । मनुष्य जीवन अमुल्य छ र यी प्रत्येक क्षणहरु राम्रो सँग विताउनु पर्छ भन्ने मान्यता हो । Thich Nhat Hanh  को प्रसिद्ध भनाइ छ :

Waking up this morning. I smile. Twenty four brand new hours are before me. I vow to live fully in each moment.

तर वास्तविकता भने बहुसख्यक मानिसहरुमा छुट्टै छ । हामीहरुले के खाइ रहेका छौ, के गरिराखेका छौ, के सोचि राखेका छौ, आदि हामीलाई राम्रो जानकारी हुँदैन । खाना खाइ रहेका छौं तर ध्यान अर्कै तिर छ, ढिलो भै सक्यो, हतार भैसक्यो, आज धेरै काम छ, व्यस्तता छ, या फोनमा कुरा भैराखेको छ, खाना त पेट भित्र गयो, पेट भरियो, तर खाना खाँदा जुन स्वाद लिएर खानु पथ्र्यो र आनन्द आउनु पथ्र्यो त्यो भने आएन । त्यस्तै हामी नुहाई रहेका छौ, दाँत माझी रहेका छौं, हिंडी रहेका छौं तर पनि हाम्रो मन भने कुन ठाउँमा पुगेको छ थाहै हुँदैन । अहिले यो क्षण के गरिराखेका छौं भन्ने याद नै हुँदैन ।

जोन कवात भन्छन “जब तिम्रो मन भाग्छ, मनलाई फेरि तानेर अहिलेको क्षणमा ल्याऊ” । हुनत यो काम सजिलो छैन । मन त बाँदर जस्तै छ चुप लागेर नबस्ने, चञ्चल, एक ठाउँबाट अर्को ठाउँमा उफ्रि राख्ने र यसलाई कावुमा ल्याउन निकै प्रयास गर्नुपर्छ । प्रत्येक क्षण “मैले के गरि राखेको छु” भन्ने स्मृति नै स्मृति ध्यान हो भन्दा पनि हुन्छ । उठ्ने, बस्ने, सुत्ने, हिड्ने देखि लिएर आफ्नो मनमा आउने भावनाहरु विचारहरुको समेत स्मृति राख्ने नै स्मृति ध्यान हो । भन्न र लेख्न जति सरल छ तर गर्न धेरै कठिन छ र यसको लागि बर्षौ लाग्न सक्छ र कसरी गर्ने भन्ने समेत जानकार व्यक्ति सँग सिक्नु पर्ने हुन्छ । किताव पढेर वा इन्टरनेटमा हेरेर मात्र सिक्न सकिदैन ।

हामीले गर्ने प्रत्येक कामहरु जव पूर्ण होस सित गर्छौ, त्यो काम राम्रो हुन्छ, पकाउने काम, लुगा धुने काम, भाडा सफा गर्ने काम, खाने काम, हिड्ने, गाडी चलाउने, अफिसको काम गर्ने आदि सबै कामहरु गर्दा होस पूर्वक गर्ने , मन त भाग्छ फेरि तानेर ल्याउने र सकभर लामो समय सम्म होस राख्ने गर्नुपर्छ । आफ्नो शरिर, भावना, विचार बारे प्रत्येक क्षण स्मृति राख्न सक्यो भने शरिरले गर्ने काम राम्रो हुन्छ, भावनाहरु अनावश्यक रुपमा आउदैनन् र तनाव दिदैनन् र विचारहरुमा सुधार हुदै जान्छ । भनिन्छ स्मृति ध्यान सिकेर राम्रो सँग गर्ने मानिस ‘सत्य’ सम्म पुग्न सक्छ । सत्य सँग परिचित हुने, त्यहाँ सम्म पुग्ने भन्ने धेरै ठूलो कुरा हो, यसको बारेमा शब्दमा लेख्न सकिन्न, यो त अनुभवमा आउने कुरा हो भनेर सिद्ध गुरुहरुले भन्ने गर्नु हुन्छ ।

स्मृति ध्यान शुरु गर्दा सबभन्दा पहिले आफ्नो स्वास–प्रस्वासमा ध्यान दिनु सवभन्दा सजिलो मानिन्छ । प्रत्येक स्वास भित्र आएको र बाहिर गएको हेरि रहने । शुरु शुरुमा मन भाग्छ तर फेरि मनलाई तानेर ल्याउने र स्वास प्रश्वासमा ध्यान दिने । स्वास प्रस्वासमा राम्रो सँग ध्यान दिन सक्ने भएपछि अर्को चरणमा जान सकिन्छ ।

अर्को विद्धान जे गोल्डस्टेन (J. Goldstein)आफ्नो पुस्तक Insight Meditation  मा लेख्छन्”Mindfulness practice means the pratice of awareness of breath, thoughts, sensations, emotions and mind status in every moment. Experience may be pleasant, unpleasant or neutral .

अर्थात स्मृति ध्यानमा हामीले स्मृति राख्न सक्ने क्षमताको विकास गर्ने हो। भावनाहरु आउछन्, जान्छन्, विचारहरु आउछन् जान्छन, स्वास प्रस्वासको क्रम चलि रहन्छ, शरिरमा पनि मासु फरफराउने, दुख्ने, घोच्ने, चिलाउने, पट्टिने आदि अनेक अनुभवहरु भइरहन्छन् तिनलाई स्मृतिमा राख्ने हो । यो अभ्यास गर्दै गएपछि हामीलाई प्रत्येक कुरा होस पूर्वक गर्ने अभ्यास हुन्छ । हामी प्रत्येक क्षणलाई होस पुर्वक सहि तरिकाले विताउछौं ।

Related posts

खुलेर हास्नुहोस स्वास्थमा पुग्नेछ यति धेरै फाईदा

Khoj Sanchar

ऋतुकालीन जीवनशैली र प्राचीन ग्रन्थको आधार

Khoj Sanchar

आफ्नो लक्ष्य कसरी हासिल गर्ने

Khoj Sanchar