शिक्षक जहाँ खोजे पनि पाइन्छ,
गुरुलाई खोज्नुपर्छ मात्रै होइन शिष्यलाई स्वीकार्नु पनि पर्छ।
-डा. गोविन्द टण्डन
सच्चा गुरुले मिथ्याबोधलाई नष्ट गरिदिन्छन् र हामीलाई जीवनको परम लक्ष्यको मार्गदर्शन गरिदिन्छन्। सुगति के हो? कुगति के हो? पाप के हो ? पुण्य के हो? धर्म के हो ? अधर्म के हो ? गर्नु हुने के हो? गर्न नहुने के हो? ठीक के हो ? बेठीक के हो? कर्तव्य के हो? अकर्तव्य के हो? त्यसको भलीभाँती ज्ञान दिन्छन् र अन्तरआत्मातिर, ईश्वरको प्राप्तिको बाटोतिर, भगवद्दर्शनको मार्गतिर, प्राणी मात्रको हिततिर लाग्न सदैव प्रेरित गर्छन्।
कुनै व्यक्तिगत लाभको लागि, अर्थप्राप्तिको लागि नभई निष्कामभावले जसले आफूसहित अरूलाई जीवनरूपी डुङ्गापार गर्न मार्गदर्शन गर्छन् वा गर्न सक्छन् उनैलाई सच्चा गुरु भन्न सकिन्छ। त्यसदेखि बाहेकका त नामधारी गुरु हुन् भनिदिँदा फरक पर्दैन।आजकाल नामधारी गुरु धेरै पाउन सकिन्छ, कोही जटाले गुरु बन्न खोजेका हुन्छन्, कोही तिलक-चन्दनले, कोही वस्त्र-परिधानले, कोही शास्त्रको सुगारटाइले, कोही आलिसान आश्रम र भौतिक सम्पन्नताले गुरु पदलाई ओगटेर बसेको देख्न नपाइने होइन।जबकि गुरुको तिनीहरूसँग कुनै सम्बन्ध रहेको हुँदैन।शिष्यको सन्तापलाई हर्ने सद्गुरुदेव पाउन कठिन मात्रै होइन अत्यन्त गाह्रो छ।
‘गुरु’ गुरुत्वसँग सम्बन्ध राख्ने हुन्छ न कि प्रमाणपत्र, जात, वर्ण आदि वाह्य र सतही विषयसँग। गुरुत्वको प्राप्तिमा आफ्नो जीवनलाई न्यौच्छावर गर्ने, ईश्वरलाई, धर्मलाई, मनुष्यत्वलाई राम्ररी जानेका-बुझेका, समाज, राष्ट्र र विश्वमा असल कुराहरू- अहिंसा, दया, माया, करुणा, न्याय, सत्य, अनुशासन,सुख,शान्ति,इमानदारी र सद्चरित्रताको माध्यमबाट “वसुधैव कुटुम्वकम्”, “आत्मवत्स र्वभूतेषु”, “मानवा वान्धवा सर्वे” जस्ता सर्वकल्याणकारी उदार, विशाल र विस्तृत उदात्त भावनाको सञ्चारमा समर्पित व्यक्तित्व नै यथार्थतामा गुरु बन्न योग्य हुन्छन्, लायक हुन्छन्। बोली र कुराले होइन मन,वचन, कर्मका साथै आचरण र व्यवहारले साँचो रूपमा सद्मार्गमा जो समर्पित छ, उही वास्तवमा ‘गुरु’ भन्नलायक श्रध्देय हुन्छ।
गुरु कस्तो व्यक्ति बन्न सक्छन् ? या जो कोही गुरु बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न सक्छ। यो स्वाभाविक पनि हो। गुरु जो कोही बन्न सक्छ तर निष्ठासाथ आफ्नो जीवनलाई सदमार्गमा, परमार्थपथमा, अध्यात्मको मार्गमा, प्राणी मात्रको हितमा जसले जीवनलाई न्यौछावर गरेर आफू, परिवार, समाज, राष्ट्र र विश्वको हित हुने कार्यमा जीवनलाई समर्पित गरेको छ, त्यस्तो व्यक्ति नै गुरुत्वले भरिपूर्ण भएका महान्व्य क्तिहरू हुन्।
हुन पनि गुरु प्रकाशक, मार्गदर्शक र उध्दारक हो। गुरु त्यस्तो सशक्त आधार हो, जसद्वारा आध्यात्मिक शक्ति जन-जनमा पु-याउन सकिन्छ। शिक्षा जसले पनि दिन सक्छ किन्तु शिष्यको लागि केवल गुरुले मात्रै आध्यात्मिक शक्तिको सञ्चार प्रदान गर्न सक्छ, जसबाट शिष्यको आत्मिक उन्नति सम्भव छ।
गुरु प्रकाशक, मार्गदर्शक, उध्दारक भए पनि पाखण्डी, व्यभिचारी, धूर्त गुरुहरूबाट चाहिँ बच्नुपर्छ। जसमा “बाँच र बाँच्न देऊ” को महान् भावना छ, सात्विकता छ, महानता छ, विशालता छ, उदारता छ, सबैलाई समानरूपले ज्ञान, खुशी बाँड्न सक्ने क्षमता छ, गुण छ त्यही व्यक्तिमा ‘गुरुत्व’ छ र त्यस्तै व्यक्ति महान्क हलिनलायक हुन्छन्।
गुरुपूर्णिमाको अवसरमा सम्मान गर्दैमा र सम्मान पाउँदैमा गुरु भनिने र होइने होइन।मुख्यत: गुरु भनिने व्यक्तिमा गुरुत्व छ कि छैन त्यो महत्त्वपूर्ण छ।आजको भौतिकवादले ग्रस्त समयमा गुरुत्वले भरिपूर्ण सच्चा गुरुहरूको आवश्यकता पहिलेभन्दा झन बढी हुँदै गएको छ। आफ्नो आचरण, मर्यादा र अनुशासनमा रहने गुरुहरूबाटै विद्यार्थी वा शिष्यहरूको वा अनुयायीहरूको भविष्य कस्तो हुने हो निर्धारण हुने हो।
शिक्षक र गुरुमा के अन्तर छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हुन सक्छ। शिक्षकले छात्र-छात्राको उन्नतिको जिम्मेवारी लिन सक्लान् तर गुरुले स्वयं छात्र-छात्रालाई उन्नतिको तौर-तरिका सिकाएर उनीहरूलाई नै पोख्त तुल्याइदिन्छन्। शिक्षकले नभएको भौतिक कुरा प्राप्त गर्ने शिक्षा दिन्छन् जबकि गुरुले नचाहिने कुरा सङ्ग्रह गर्नु हुन्न भन्ने मूलमन्त्र दिन्छन्। शिक्षक हरेक विद्यार्थीको प्रश्नको जवाफ दिन्छन्, गुरु भने शिष्यको जवाफमा पनि प्रश्न गर्छन्। शिक्षकले समस्या समाधानको उपाय सिकाउँछन्, गुरु समस्या नै नआउने वा आए पनि त्यसबाट निवृत्ति हुने गूढता सिकाउँछन्। शिक्षक छात्र-छात्राहरूबाट आज्ञाकारिता र अनुशासन खोज्छन्, गुरु शिष्यहरूमा विश्वास र मानवता चाहन्छन्। शिक्षक आफ्ना विद्यार्थीहरूलाई विभिन्न उपाधिका बाहिरी लुगा लगाइदिएर दुनियाँको यात्राका लागि तम्तयार तुल्याउँछन्, जबकि गुरु भएको उपाधिको निस्सारता बताएर आन्तरिक यात्राको लागि तयार पारिदिन्छन्।
शिक्षकले कुन उपायले धन-सम्पत्ति जोड्न सकिन्छ त्यस बाटोको मार्गदर्शन गरिदिन्छन्, जबकि गुरु जीवनयात्राको सुगम बाटोको पहिचान गर्ने ज्ञान दिन्छन्। शिक्षक ठूलो, राम्रो, सफल र केरियर बनाउने उपाय सिकाउँछन्, गुरु असल बन्ने कारगर उपाय सुझाउँछन्। शिक्षक संसार र यसको स्वरूपको बारेमा भलीभाँती बताउँछन् गुरु आत्मा र यसको प्रकृतिको बारेमा दर्शाउँछन्। शिक्षक संसारमा कसरी अगाडि बढ्ने भन्ने विद्या दिलाउँछन्, गुरु संसारसँग कस्तो सम्बन्ध राख्ने र आफूलाई कहाँ राख्ने? भन्ने ज्ञान दिन्छन्।शिक्षकले शिक्षादान गरेर समर्थ तुल्याइ अहंतालाई बढोत्तरी गराइदिन्छन्, गुरु आत्मज्ञानको बाटोमा लगाइदिएर भएको अहंकारलाई विलुप्त पारिदिन्छन्।
सङ्क्षिप्तमा भन्ने हो भने शिक्षकले बुध्दिलाई तिखारिदिन्छन्, जबकि गुरु मनलाई खोलिदिन्छन्। शिक्षकले मष्तिष्कलाई तिखारिदिन्छन्, गुरु आत्मतत्त्व बुझाइदिन्छन्। शिक्षकले लठ्ठीले सजाय दिन सक्छन्, गुरुले शिष्यको गल्ती भएमा करुणाले क्षमा दिन्छन् । शिक्षक सन्तानको लागि बाबु जस्तो हुन् गुरु चाहिँ आमा जस्तो ! शिक्षक जहाँ खोजे पनि पाइन्छ, गुरुलाई खोज्नुपर्छ मात्रै होइन शिष्यलाई स्वीकार्नु पनि पर्छ।
शिक्षकले हात समाएर अगाडि बढाउँछन् गुरु आफू उदाहरण बनेर अरूलाई हिँडाउँछन्। कोर्ष सकिएपछि विद्यार्थी शिक्षकप्रति कृतज्ञ हुन्छन् प्रवचन सकिएपछि शिष्य गुरु प्रति नतमस्तक हुन्छन्। शिक्षकले शिक्षादान सकेपछि स्नातक बनिन्छ। गुरुले ज्ञानदान दिइसकेपछि जीवन सदा सुख, शान्ति र आनन्दमय बन्छ। कहाँ शिक्षकलाई चुन्ने कहाँ गुरुलाई छान्ने यी उदाहरणहरूले जरुर केही मार्गदर्शन गर्न सक्छ होला। चुन्न र भुल्न व्यक्ति स्वतन्त्र छ।