24.1 C
Kathmandu
October 2, 2022
अभियान साँचो जीवननिर्माण अभियान

असल व्यक्तिकै चाह हुन्छ

परिवार, समाज र राष्ट्रमा सफल र असल व्यक्तिहरूको आवश्यकता र चाहना हुन्छ। जहाँ पनि, जुन क्षेत्रमा पनि, जसका लागि पनि असल व्यक्तिको आवश्यकता परेको हुन्छ।

-डा. गोविन्द टण्डन

कतिपय मानिसहरू के सम्झन्छ भने मसँग धन-सम्पत्ति छ, केही न केही शिक्षा छ, सीप छ, चलाखी छ त्यति भए पुगिहाल्यो। त्यसले चाहेको सबै कुराको प्राप्ति भइहाल्छ। यो सोचाइ बिल्कुलै गलत हो। होलान् कुनै व्यक्ति वा संस्थाविशेष त्यस्तो घारणा राखेर आक्कल-झुक्कल सफल भएका तर सही सोच, चिन्तन र व्यवहारिकताको अभावमा संसारमा धेरै व्यक्ति, संस्थाविशेष सडकमा झर्न पुगेका छन्। विशाल आर्थिक विरासतबाट सामान्य नागरिकको कोटीमा ओर्लन बाध्य भएका मानिसहरूको सूची खोज्ने हो भने निकै
लामो सूची बन्छ।

हामी के गल्ती गर्छौँ भने सफल एक-दुई जनालाई देखेर सबैलाई त्यही दृष्टिले हेर्न पुग्छौँ र पटक-पटक असफलतालाई चुम्न पुग्छौँ। अर्को कुरा सफलता प्राप्त गर्नेले अहिलेको सफलताको अवस्थामा आइपुग्न कति कष्ट, कति परिश्रम र कति मेहनत गरेको थियो, कति रात नसुतेर भोक-भोकै बसेको थियो त्यो बुझेको हुँदैन। यही कारण हो कि अर्काले कुनै एक विषयमा सफलता पाएको देखेर उनीहरूले गरिरहेको कामको पछि लागेर हिँडनेहरू कतिले असफलतालाई ग्रहण गर्न पुगेको यत्रतत्र प्रशस्त देखिन्छ।

सफलता पाउनेहरूको गूढ रहस्य के देखिन्छ भने काम उस्तै उस्तै जस्तो लाग्ने भए पनि त्यसलाई उसले अरूको भन्दा भिन्न तरिकाले सञ्चालन गरिरहेको हुन्छ, जुन अरूले जान्नै पाएको हुँदैन। जीवनमा जसले सफलतालाई हात पार्न सकेका छन्, उनीहरूको सफलताको कुञ्जी नै त्यही हो। अरू सुत्दा ऊ उठेको हुन्छ, अरू आराम गर्दा ऊ परिश्रम गरिरहेको हुन सक्छ। अरू रक्सीले मात्तिएर इन्तु न चिन्तु भएको बखत ऊ परिश्रम र मेहनतको पसिना बहाइरहेको होस् या हुन सक्छ योग र ध्यानमा मग्न भएर कुनै विषयमा
आफूलाई केन्द्रीकृत गरेर सफलतालाई पाउने कुनै चमत्कारिलो रहस्य वा तौर-तरिका अजमाइरहेको होस्।

सफल हुनेहरूले समयको महत्त्वलाई भलिभाँति बुझेका हुन्छन्। जबकि सपना देख्नेहरू त्यसलाई विपना बनाउनेतिर नभई सपनामै रम्न चाहन्छन्।कति त चिठ्ठा परेको कल्पना गर्छन्। कसैको धन सित्तैमा पाए कस्तो हुन्थ्यो भन्ने कल्पनामा डुब्छन् र अमूल्य समयलाई बेकारमा खेर फालिरहेका हुन्छन्।उनीहरूलाई थाहा हुँदैन वा थाहा पाएर पनि बुझ पचाइरहेका हुन्छन् कि बिना परिश्रमको, बिना मेहनतको, दु:ख नगरी आर्जन गरिएको वा लुटिएको धन कसैको हातमा पनि धेरै बेर टिक्न सक्दैन। बरु नचाहिने काममा खर्च भएर
जान्छ। कसरी खर्च भयो पत्तै हुँदैन।यसैलाई त हो “लुटको धन फुपूको श्राध्द” भनि उपमा दिइएको।

चिठ्ठामा विश्वास गर्नेहरू प्रत्येक दिन वा प्रत्येक हप्ता चिठ्ठामा केही न केही खर्च गरिरहेका हुन्छन्। चिठ्ठा किन्नेहरूको मनोवृत्तिको कारण चिठ्ठा सञ्चालन गर्ने कम्पनी मालामाल भइरहेको हुन्छ र अरू कसैले गरेको गल्तीको कारण तिनले फाइदा उठाइरहेका हुन्छन्। ढुकुटी खेल्नेको यही दशा हो। बाजी राख्नेको पनि यही अवस्था हो। कुनै एकले बाजी मारेको सुनेर वा देखेर अरू पछि लागेका हुन्छन् लहै-लहैमा। जसको कारण क्यासिनो या जुवाघरमा घरबार बुझाउन पुग्छन्। परिश्रमै नगरी रातारात मालामाल हुन चाहनेहरूको
धोकोले यस्ता मनोरञ्जनका खेलाहरू भइरहेका छन्। सजिलोसँग सुख-सम्पत्ति प्राप्त गर्ने चाहनाले कत्तिको जीवन बर्बाद भएको देख्न-सुन्न पाइन्छ। भाग्यलाई अजमाउन खोज्नुभन्दा कर्म त्यसमा पनि सुकर्मलाई अँगालेर जीवनलाई अगाडि बढाउन खोज्नु वास्तवमै जीवनलाई बुझ्नु हुन्छ। सुगाले तपाईँको भाग्यको पत्र टिपेर दिनु र फलित ज्योतिष वा मुख, अनुहार, नङ हेरेर भविष्यवाणी गर्नेहरूबीच के नै फरक हुन्छ र?

मानिसको स्वभावअनुसार उसलाई तीन किसिमले वर्गीकरण गर्न सकिन्छ। यो वर्गीकरण यहाँको लागि ठीक उहाँको लागि बेठीक भन्ने नभई सर्वत्रका लागि लागू हुन्छ।

  1. व्यवसायी- लक्ष्य हुन्छ, आदर्श हुँदैन – आफ्नै सीमित सेरोफेरोमा अल्मलिएको हुन सक्छ।
  2. सेवक/सुधारक – केही आदर्शतिर उन्मुख – सामाजिक, धार्मिक, राजनीतिक कार्यकर्ता – समाजको हितखातिर सक्रिय हुन्छन्।
  3. कर्मयोगी – लक्ष्य पनि हुन्छ, आदर्श पनि हुन्छ – न तलव, न यश, न इन्द्रियसुखको लालसा नआसक्ति – जीवनको सही सदुपयोगमा प्रवृत्त हुन्छन्।

माथि दिइएका तीन वर्गीकरण मध्ये आफूलाई कुन स्थानमा राख्न सक्छौँ मनमनै सोचौँ। यदि पहिलो नम्वरमा छौँ भने दोस्रो, तेस्रो तहमा कसरी पुग्न सकिन्छ त्यसका लागि प्रयास गर्नु उपयुक्त सम्झिएर त्यसको प्राप्तिमा लाग्नु हितकारी हुन सक्छ। कर्मी प्रशस्त हुन्छन् तर कर्मयोगी दुर्लभ हुन्छन्, बिरलै फेला पर्छन्।परिवार, समाज, राष्ट्र र विश्वमा आवश्यकता र खोजी यस्तै योजकको भूमिका निर्वाह गर्ने, संयोजकको भूमिकामा रही महत्त्वपूर्ण योगदान गर्न सक्ने कर्मयोगीहरूको बढ्दै गइरहेको छ। हिजोभन्दा आज, आजभन्दा भोलि यस्तै व्यक्तिहरूको चाहना संसारमा बढ्दै गइरहेको छ र बढ्दै जान्छ। कुनै पनि परिवार, समाज र राष्ट्रमा सफल र असल व्यक्तिहरूको आवश्यकता र चाहना हुन्छ। असल व्यक्तिको चाह कहाँ हुन्न ? जहाँ पनि, जुन क्षेत्रमा पनि, जसका लागि पनि असल व्यक्तिको आवश्यकता परेको हुन्छ।

Related posts

आफूले आफैलाई चिन्ने साधन-ध्यान

Khoj Sanchar

असल परिणाम खोज्ने हो भने!

Khoj Sanchar

नेता या मार्गदर्शकको गुण कस्तो हुनुपर्छ?

Khoj Sanchar