20.1 C
Kathmandu
December 2, 2021
विविध

कृषिमा विविधता, आवश्यक कि अपरिहार्य ?

मिश्रित बालि प्रणालीलाइ त्यागी एक नयाँ प्रणालीको अबलम्बन भयो जसले जन्म दियो आजको बिशाल एकबालि प्रणालीमा आधारित आधुनिक कृषिलाइ, जहाँ रसायनको प्रयोग बिना उत्पादन लिने कल्पना गर्न सम्म सकिन्न।

-प्रशान्त राउत
(AGRICULTURAL TECHNOLOGY CENTER)

दोश्रो बिश्वयुद्धको समाप्ति पश्चात सन् १९५० को दशकमा संसारका बिकसित तथा विकासोन्मुख देशहरुको कृषि प्रणालीमा ठुलो परिवर्तन भयो। गँहु र धानका होचा तथा अत्यन्त उत्पादनशील प्रजातिहरु को प्रयोग, सिचित क्षेत्रको बिस्तार र रासायनिक मलखाद तथा बिषादीको व्यापक प्रयोग संगै विश्वोका धेरै क्षेत्रमा खाद्दान्नको उत्पादन क्रमिक रुपमा बढ्दै गयो। उत्पादनमा भएको यसै बृद्दीकै कारण संसारभरमा १ खरब भन्दा बढी मानिसहरु भोकमरिबाट जोगिन पुगे भन्ने तर्कको आधारमा यस परिवर्तनलाइ हरित क्रान्ति भनेर
प्रचार गरियो। ल्याटिन अमेरिकालाई प्रयोगशाला बनाइ, संयुक्त राज्य अमेरिकाको प्रायोजनमा भएको यस बिश्वोब्यपी परिवर्तनका मुख्य अभियन्ता नर्मन बोर्लगले यसै कामका लागि नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरे। तर हरित क्रान्तिका सफलतालाई जति सकारात्मक रुपमा प्रचार गरिए पनि यसका नकारात्मक पक्षका बारेमा पनि उत्तिकै प्रश्नहरु उठ्ने गरेका छन्।सन् १९८० को दशक देखि नै यसको पक्ष र विपक्षमा बहसको शुरुवात हुन थाल्यो।यस मध्येको सबै भन्दा महत्वपुर्ण मुद्दा बन्यो – कृषिमा रसायनको प्रयोग र यसले बिश्वोब्यापी रूपमा निम्त्याएको बहुआयामिक समस्याहरु ।

परापुर्व काल देखि नै कृषिलाइ बिभिन्न किसिमका बालीनाली र पशुपालनको मिश्रित प्रणालीको रुपमा अबलम्बन गरिदै आएको थियो। खेतीपाती प्राकृतिक रुपमा हुन्थ्यो, बाह्य श्रोतबाट प्राप्त रसायनहरुको प्रयोग हुदैनथ्यो। तर आधुनिक कृषिमा रासायनिक मलखाद र बिषादीहरुको प्रयोगको शुरुवात भएपछी, यो प्राकृतिक प्रणालीमा जुन असन्तुलन पैदा भयो त्यसलाई एउटा ट्रेडमिल संग तुलना गर्न सकिन्छ । टेकेपछि कुदनै पर्ने, नकुदे लड्ने निश्चित छ। एक पटक रासायनिक बिषादी र मलखादको प्रयोग गर्न शुरु गरेपछि उत्पादन र उत्पदकत्वमा सुधार अवश्य आउछ तर त्यसलाई निरन्तरता दिनका निम्ति त्यसपछिका हरेक बालि चक्रहरुमा सोहि मात्रामा वा त्योभन्दा बढी मात्रामा यस्ता रासायनिक बिषादी र मलखादको प्रयोग गर्दै जानु पर्ने हुन्छ। रासायनिक बिषादीले बातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरहरुको बारेमा हामी सबै जानकार नै छौ। त्यसैले औद्योगिक कृषिमा आफ्नो जीविकोपार्जन र आम्दानीका निम्ति कृषकहरुले मानव स्वास्थ्य र बातावरणको मूल्य चुकाउनु पर्ने निश्चित छ।औद्योगिक कृषिका पक्षधरहरुले भने गरिवी र खाद्द असुरक्षालाइ त्यो भन्दा पनि ठुलो र बिकराल समस्याको रुपमा चित्रित गर्दै औद्योगिक कृषिलाइ नै यसको एक मात्र समाधानको रुपमा प्रस्तुत गर्ने गरेका छन्।

परम्परागत कृषिको एउटा अत्यन्त राम्रो पक्ष भनेको यसमा बिबिधता थियो। विविधतायुक्त मिश्रित प्रणालीबाट विश्वो कृषि कसरी सघन एकबाली प्रणालीतर्फ उन्मुख हुन पुग्यो त ? हामि जुन समयको कुरा गर्दैछौ, त्यो समयमा सिमित कृषियोग्य जमिनबाट विश्वोको बढ्दो जनसंख्यालाइ पुग्ने खाद्दान्न उत्पादन गर्नका लागि उत्पादकत्व वृद्धि गर्नु र क्षति न्यूनीकरण गर्नु, दुवै उत्तिकै जरुरि थियो। यी मुख्य चुनौतिहरुको सामना गर्नका लागि शक्तिशाली राष्ट्रहरु र अन्तरास्ट्रिय समुदायद्वारा भएका योजनाबद्ध प्रयासहरु सघन खेति प्रविधिको विकास र प्रसारमा केन्द्रित भइदिनाले आधुनिक कृषिमा विविधतालाइ भन्दा एकरुपतालाई महत्व दिन थालियो। त्यो समयमा शुरुवात भएको कृषि प्रणालीले अधिकांश मुलुकहरुमा अझै पनि निरन्तरता पाइरहेको छ। संसारभर लगभग एकै समयमा यस्तो कृषि प्रणालीको शुरुवात हुनुलाइ बिकासशिल समाजको माग र समय सापेक्षिक परिवर्तनको रुपमा पनि हेर्न सकिन्छा। । समाज शिक्षित हुदै जाने क्रममा धेरै मानिसहरु कृषि जस्तो श्रममुखी पेशालाइ छोडी अन्य सेवा तथा उद्योग व्यवसायतिर आकर्षित हुन थाल्छन। फलस्वरूप ग्रामिण क्षेत्रमा कृषि श्रमिक र जनशक्तिको कमि हुदै जान्छ। यो कमिलाइ बिकसित मुलुकहरुले कृषि यन्त्रीकरण मार्फत सम्बोधन गरेका छन्। मिश्रित बालीमा यन्त्रीकरण सम्भव थिएन । यसलाई सम्भव बनाउन मिश्रित बालि प्रणालीलाइ त्यागी एक नयाँ प्रणालीको अबलम्बन भयो जसले जन्म दियो आजको बिशाल एकबालि प्रणालीमा आधारित आधुनिक कृषिलाइ, जहाँ रसायनको प्रयोग बिना उत्पादन लिने कल्पना गर्न सम्म सकिन्न।

शतब्दिऔ देखि मिश्रित प्रणालीमा कपास खेति गर्दै आएका दक्षिण अमेरिकी राष्ट्रहरुले हरित क्रान्तिकै समयदेखि एकाबाली प्रणालीमा कपास खेति गर्न शुरुवात गरे। यन्त्रीकरणको व्यापक प्रयोग भयो। रासायनिक बिषादी र मलखादको पनि। अल्पकालीन रुपमा किसानका समस्याहरु समाधान भए। उत्पादनमा केहि वृद्धि भयो तर यस प्रकारको कपास खेति शुरु भएको मात्र २० वर्षको अवधिमा यी देशहरुको कपास उद्योग तहसनहस भयो। कारण थियो रासायनिक बिषादीको प्रयोगको बावजुद पनि बढ्दै गएको रोग र किराको प्रकोप। रसायनहरुको अनियन्त्रित प्रयोग बढ्दै जाँदा बतावरणमा शत्रुजीवहरुको प्रतिरोधात्मक क्षमता बढ्दै गयो भने मित्रजीवहरुको संख्या क्रमिक रुपमा घट्दै गयो। विषादीको ट्रेडमिलको गति संग गति मिलाउन नसक्दा, कुनै समयमा विश्वोकै ठुला कपास निर्यात गर्ने देशहरु मध्यका दुइ देश पेरु र निकारागुआमा १९८० पछिको २ – ३ दशकमा कपासको उत्पादन लगभग शुन्य रह्यो। हरित क्रान्तिको उद्गम स्थल (र सम्भवत अवसान स्थल पनि) मेक्सिको पनि यसका नकारात्मक प्रभावबाट टाढा रहन सकेन। असफलताका यस्ता कथाहरु सतहमा नआउनु दुर्भाग्यपुर्ण छ।

बिश्वोमा अझै पनि यस्ता थुप्रै ठाउहरु छन् जहाँ मिश्रित प्रणाली अन्तर्गत रसायनहरुको प्रयोग बिनै सफलतापुर्वक खेतिपाती हुदै आइरहेको छ। औद्योगिक कृषिमा त्यस्ता के दोषहरु छन् जसले यसलाई एउटा दिगो कृषि प्रणाली बन्न बाट रोकिरहेको छ ? पहिलो त यो प्रकृतिको आधारभूत नियमहरु भन्दा बिपरित छ। प्रकृतिमा बिबिधता छ। यहाँ बनस्पति र जिव जन्तुहरुको एक अर्काको बिचमा अन्तरसम्बन्ध हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त यहाँ हरेक जीवहरुमा बातावरण संग अनुकुलन हुन सक्ने क्षमता हुन्छ। यसको ठिक बिपरित एक बालि प्रणालीमा आधारित औद्योगिक कृषिमा एकरुपता हुन्छ। अन्तरसम्बन्धको कमि हुन्छ र यस्तो प्रणालीको अनुकुलन क्षमता पनि कम हुन्छ। फलस्वरूप यस्तो प्रणालीमा अस्थिरता र जोखिम हुन्छ।

बिगत केहि समय यता नेपालमा पनि व्यवसायिक कृषि र कृषि यन्त्रीकरणका बिषयलाई नीतिगत तहमा महत्व दिन थालिएको छ।ग्रामिण क्षेत्रबाट युवाहरु पलायन भैरहेको र कृषि श्रमिकहरुको अभाव भैरहेको हालको अवस्थामा व्यवसायिकता तथा यन्त्रीकरणमा जोड दिईनु पक्कै पनि सान्दर्भिक छ। तथापी डाक्टरको प्रेसक्रिप्सन जस्तो सबै ठाउको लागि मिल्ने एकै खाले नीति भन्दा भूगोल, सामाजिक परिवेश, स्थानिय श्रोत साधन र नागरिकको अपेक्षा अनुसारको कृषि नीति आजको आवश्यकता हो। असफलताका कथाहरु बाट पनि हामीले सिक्नुपर्ने कुराहरु धेरै छन्। प्रकृतिसंग जुधेर भन्दा प्रकृतिसंग मिलेर गरिने कृषि दिगो तथा समाज र प्रकृति दुबैको लागि लाभदायक हुन्छ। तसर्थ हाम्रा प्राथमिकता हरुलाई हामी आफैले छुट्टयाउनु पर्छ। जुन नियति पेरु र निकारागुआले भोग्नु पर्यो त्यो हामीले भोग्नु हुदैन।

Related posts

सुपर इगो कलाकारको मानसिकतालाई असन्तुलित बनाउन सक्छ

Khoj Sanchar

सस्तो खाने कि सुरक्षित…?

Khoj Sanchar

साइबर अपराध र कानुन

Khoj Sanchar