24.1 C
Kathmandu
May 19, 2022
अभियान साँचो जीवननिर्माण अभियान

आत्मव्यवस्थापन जरुरी छ

आत्मव्यवस्थापन जरुरी छ

बाहिरी व्यवस्थापनको जति जरुरी छ त्योभन्दा बढी व्यक्ति-व्यक्तिको आफ्नो व्यवस्थापन जसलाई हामी आत्मव्यवस्थापन भन्छौँ त्यसको अति जरुरी छ

-डा. गोविन्द टण्डन

विकासको गतिसँगै हिजोआज व्यवस्थापन शब्द अति नै प्रचलित हुन पुगेको छ। व्यवस्थापन भन्नासाथै त्यसभित्र अनुशासन, कार्यदक्षता, कार्यक्षमता, निश्चित लक्ष्य र उदेश्यका साथ तोकिएको गन्तव्यसम्म पुग्न भरमग्दूर प्रयत्न गर्नु तथा आदर्श कायम गरी अरूका लागि पनि उदाहरण बन्न सक्नु भन्ने हुन्छ। निर्दिष्ट लक्ष्यको प्राप्ति र सफलता मात्र व्यवस्थापनको लक्ष्य हुन सक्तैन। सफलतालाई मात्र लक्ष्य मान्दा तथा आफूलाई, आफ्नो घरलाई, आफ्नो कार्यालयलाई, आफू संलग्न आफ्नो संस्थालाई, आफ्नो दललाई उचित ढङ्गले राम्ररी व्यवस्थापन गर्न नसक्दा तहस-नहस हुन पुगेका अनगिन्ती उदाहरणहरू प्रस्तुत गर्न सकिन्छ।

दिनानुदिन प्रतिस्पर्ध्दात्मक बन्दै गइरहेको अहिलेको समयमा सर्वत्र व्यवस्थापनको माध्यमबाट परिणाममा सर्वोत्कृष्टता एकदमै जरुरी बन्दै गइरहेको छ। समुचित व्यवस्थापन बिना कुनै पनि कार्य सरल, सहज बन्न सक्तैन। जति विकास हुँदैछ त्यति जटिलताहरू थपिदै गइरहेका छन् र यसैको कारण उदेश्यप्राप्ति पनि झन्-झन् कठिन बन्दै गइरहेको छ। बाहिरी व्यवस्थापनको जति जरुरी छ त्योभन्दा बढी व्यक्ति-व्यक्तिको आफ्नो व्यवस्थापन जसलाई हामी आत्मव्यवस्थापन भन्छौँ त्यसको अति जरुरी छ।

यसैले व्यवस्थापनको कुरा गर्दा आफ्नो व्यवस्थापन अर्थात् आत्मव्यवस्थापनदेखि लिएर आफ्नो कोठाको व्यवस्थापन, घरको व्यवस्थापन, कार्यालयको व्यवस्थापन, कलकारखाना, उद्योग-व्यवसाय, मठ-मन्दिर, गुम्बा-विहार, चर्च, मस्जिद,विद्यालय, कलेज, विश्वविद्यालयको व्यवस्थापन तथा देश र विश्वकै व्यवस्थापनको कुरा पनि अगाडि आउँछ। आत्मव्यवस्थापन अर्थात् आफ्नो व्यवस्थापन, घर-परिवारको व्यवस्थापन गर्न नसक्नेको हातमा कार्यालयको, उद्योग-धन्दाको, राजनीतिक दलको, देशको व्यवस्थापन गर्ने जिम्मा दिएर ठूलठूला गल्तीहरू भएका अनेक उदाहरणहरू पाइन्छन्। आफ्नै व्यवस्थापन गर्न नसक्नेको हातमा समाज र राष्ट्रको व्यवस्थापनको जिम्मा दिएर के कुनै सफलता, तरक्की र चकाचौँध होला भन्ने विश्वास राख्न सकिएला? घर-परिवार भनेको आन्तरिक कुरा भयो त्यसलाई किन ध्यान दिइराख्नु प-यो र? भन्ने जस्तो धारणा यस क्रममा नआउने होइन। घर त आफ्नै त हो नि चलिहाल्छ भन्नेहरू पनि छन्। तर चलाउनु र व्यवस्थित गर्नुमा धेरै फरक छ। यसमा बिचार गर्नै पर्ने हुन्छ यदि नतिजा असल निक्लियोस् भन्ने चाहना राख्ने हो भने।

जसरी चल्छ चलोस् भनेर काम गर्ने हो भने कामै नथाल्नु राम्रो हुन्छ। त्यसो नगर्ने हो र जे काम सुरु गरिएको छ त्यसलाई पूर्णतामा लग्छु र उत्कृष्ट नतिजा दिन्छु भन्ने हो भने कुनै पनि प्रारम्भ गरिएको कार्यलाई कसरी व्यवस्थित ढङ्गले लग्ने भन्नेतर्फ दृष्टि दिनै पर्छ। यसैले हो व्यवस्थापनको महत्त्व र उपादेयता दिनपरदिन बढ्दै गइरहेको छ। कुशल व्यवस्थापनको लागि व्यवस्थापनमा कौशलता हासिल गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ। बिना अभ्यास, बिना प्रयत्न, बिना चाहना र दृढ अढोट नभई कौशलतालाई पाउन सकिन्न। कौशलता ज्ञान, अनुभव, अभ्यास र निरन्तरताबाट प्राप्त हुने एउटा विशिष्ट प्रकारको कला हो भनिदिए हुन्छ। जानेको मानिसले त्यही कुरालाई सजिलैसँग सम्पन्न गरिरहेको हुन्छ भने के गाह्रो होला र! भने जस्तो देखिन्छ तापनि नजानेको मानिसको लागि त्यो परिभारत र गाह्रो कार्य हुन पुग्छ। यो दैनिक जीवन व्यवहारमा हरकोहीले भोगिरहेको विषय हो। यसैले पनि व्यवस्थापनको महत्त्व, उपादेयता र आवश्यकतालाई बुझ्न सकिन्छ। एक जना व्यक्तिले सबै विषयमा चाहेर पनि विशेषज्ञता हासिल गर्न सक्तैन र सबै विषयमा पोख्त छु भनेर अघि बढ्नु पनि हुँदैन। यसको अवज्ञाको अर्थ हुन्छ “लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ चार बल्ड्याङ” भन्ने उखानको सार्थकता। यसैले अरूको व्यवस्थापनको जिम्मा लिनेले या लिनुभन्दा अघि आफूलाई व्यवस्थित राख्न सकेको छु कि छैन भनेर बिचार गर्नु अन्त्यन्त जरुरी छ।

Related posts

जीवनको सही रूपान्तरण कस्तो हुन्छ?

Khoj Sanchar

राजनीतिमा युवा नेतृत्व

Khoj Sanchar

साँचो धर्मको खोजी

Khoj Sanchar