24.1 C
Kathmandu
October 2, 2022
स्वास्थ्य

उपवास र स्वास्थ्य

स्वस्थ शरीर तथा प्रशन्न मनका लागि सन्तुलित भोजनको जति आवश्यक छ त्यत्ति नै उपवासको पनि महत्त्व रहेको हुन्छ

द्रौपदी अर्याल
हाल:कीर्तिपुर

मानिसका जीवनमा खानाको विशेष महत्व रहेको छ।खानाविना जीवनको अस्तित्व नै रहँदैन।हामीले दिनमा पटक पटक खाइरहन्छौँ । जीवनको गतिशीलता र बचाइसँग जोडिएकाले पनि हाम्रो जीवनमा खानाको अति नै महत्व रहेको छ । हाम्रो शरीरको सम्पूर्ण कुराको विकास खानाबाट नै हुने गर्छ । हाम्रो शरीरको निर्माण र विकास लगभग २५वर्षको उमेरसम्म हुने गर्छ । हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । यी पञ्च तत्त्वमा पृथ्वी,जल,अग्नि, वायु, र आकाश हुन् । यी पाँच तत्त्वमाथि भोजन आधारित छ । यसमा अन्न पृथ्वी तत्त्वसँग जोडिएको हुन्छ । सागपात, दुध जलतत्त्वसँग आधारित छ । सूर्यको किरणद्वारा पाक्ने फलहरु अग्नितत्त्व केन्द्रित रहेका हुन्छन् । पात भएका सागहरु(मेथी, पालुङगो, मूला)आदिमा वायु तत्त्व अधिक हुन्छ । आखिरी तत्त्व आकाश तत्त्व व्रत तथा उपवाससँग सम्बद्ध छ ।

हाम्रा विभिन्न धर्मग्रन्थ तथा औषधि विज्ञानका ग्रन्थहरुमा व्रतका बारेमा व्याख्या गरिएको पाइन्छ । यी व्याख्याहरुलाई पूर्वीय सभ्यतामा धर्मसँग जोडेर व्याख्या गरेकाले पनि यसलाई रुढिवादसँग जोडेको भनी उपेक्षा गरेको पाइन्छ । औषधि विज्ञान तथा मनोविज्ञानमा जोडिएर आधुनिक व्याख्या पनि हुँदै आएको छ । शुद्ध मन, स्वस्थ शरीर , सुखी जीवन शैली नै स्वास्थ्यको प्रथम रहस्य हो । स्वस्थ शरीर तथा प्रशन्न मनका लागि सन्तुलित भोजनको जति आवश्यक छ त्यत्ति नै उपवासको पनि महत्त्व रहेको हुन्छ ।

प्राकृतिक उपचार चिकित्सामा उपवासको अति नै महत्त्व छ । अर्थात् उपवासबाट नै विभिन्न रोगको उपचार गरिन्छ । उपवासले शरीरमा दुर्बलता ल्याउँछ भन्ने भ्रम पनि छ । यसलाई बुझेर चिकित्सकका निगरानीमा उपवास गर्न सके यो रोगीहरुका लागि भने उपचार हो । सामान्यहरुका लागि समय समयमा गरिने व्रतले स्वस्थता, शुद्धता, शक्ति, सञ्जविनी स्फूर्ति प्राप्त हुन्छ । व्रत तथा उपासनाका समयमा पाचन क्रियाका स्थानमा रेचन क्रिया प्रबल हुन्छ । शरीरबाट विजातीय द्रव्य रेचनद्वारा बाहिर निस्कन्छन् । हाम्रो शारीरिक शक्ति भोजनकालमा भोजनको पाचनमा संलग्न हुन्छ भने त्यो शक्ति व्रतकालमा विजातीय तथा विकार वस्तुहरु बाहिर निकाल्ने कार्यमा संलग्न हुन्छ । पाचन क्रियामा अधिक शक्ति प्रयोग हुने हुँदा शरीरलाई विश्राम मिलिरहेको हुँदैन । उपवास तथा व्रतमा रेचनक्रिया मात्र हुने भएकाले शरीरलाई विश्राम मिलिरहेको हुन्छ ।

हाम्रो शरीरमा मल विकार पानीमा लेउ लागेझैँ पत्रपत्र भएर बसेको हुन्छ । व्रतद्वारा यस्ता पत्रहरु फाट्न थाल्छन् । यस्ता विकार शरीरबाट बाहिर निस्कन्छन् । यस्ता विकारहरु बाहिर ननिस्कँदासम्म हाम्रो शरीरमा कष्टको अनुभव हुन्छ । शरीरबाट विजातीय द्रव्य बाहिर निस्कन थालेसँगै विस्तारै हाम्रो शरीरमा यसको प्रभाव देखिन्छ । यसका साथै यसका कारण हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

उपवास (उप र वास)शब्दको कोशीय अर्थ भोजन नगर्ने काम हो तर यसले दिने अर्को अर्थ शुद्धताको नजिक हुनु हो । उपवासमा हाम्रो मन भोकका कारणले पनि आफू केन्द्रित हुन्छ । यसबाट आध्यात्मिक जागरणको साधनामा पनि सहायता पुग्छ । उपवासमा आकाश तत्त्व तथा शून्यता (Vacuum) उत्पन्न हुन्छ । यसबाट शून्य शक्तिमा केन्द्रित हुन सजिलो हुन्छ । शून्यलाई नै शक्ति केन्द्र मानिएको छ ।

उपवास वा व्रत गर्दा यसबाट अझ लाभ लिनका लागि यसको तरिका तथा महत्त्वलाई बुझेर गर्दा अझ बढी फाइदा हुन्छ । सामान्यतया रोग विशेषको उपवास चिकित्सकका सल्लाह अनुसार गर्दा राम्रो हुन्छ भने सामान्य उपवास हामीले घरमै गर्न सक्छौँ । उपवासमा समय अवधिको तथा उपवासको अन्त्यको पनि उत्तिकै महत्त्व हुन्छ । उपचारका लागि गरिने उपवास लामो समयको हुन्छ। यसमा चिकित्सकको निगरानी आवश्यक पर्छ । कुनै पर्व विशेष वा स्वैच्छिक उपवास पनि हामीले गरेका हुन्छौँ । उपवासका क्रममा दुध, दही फलफूल खाएर उपवास गर्ने पनि चलन छ । सामान्य उपवासमा फलफूल, पानी, फलको रस, खाएर पनि गरिन्छ तर उपवासमा दुध नखाँदा नै राम्रो हुन्छ ।

सामान्य स्वास्थ्य अवस्था भएकाहरुले महिनामा दुई पटक तथा हप्तामा एकपटक पानी मात्र खाएर उपवास गर्दा राम्रो मानिन्छ । नसक्नेहरुले मौसम अनुसारको फलफूल खाएर उपवास गर्दा राम्रो हुन्छ । सामान्यतया उपवास चौबिस घन्टाको हुन्छ । उपवास र स्वास्थ्यको मर्म बोध गरी यसलाई आफ्नो जीवनशैली बनाउन सक्दा झन् राम्रो हुन्छ ।

उपवासको चिकित्सकीय फाइदाहरु:

(१) रगतमा ग्लुकोजको मात्रा कम गराउँछ
(२) रोग प्रतिरोध क्षमता बढाउँछ ।
(३) तौल कम गर्न मद्दत पुग्छ ।
(४) स्नायू क्षय गराउने रोगमा जस्तो (अल्जाइमर, पार्किन्सन) सहयोग गर्छ ।
(५) ग्रोथ हर्मोन बढाउँछ ।
(६) दीर्घजीवी बनाउँछ ।
(७) क्यानसरबाट बचाउन सहायता मिल्छ ।
(८) चिल्लो बोसो कम गर्न मद्दत मिल्छ ।

अन्य फाइदाहरु:
(१) शरीरमा ताजापन आउँछ ।
(२) शारीरिक तथा मानसिक आराम हुन्छ ।
(३) साधना मार्गमा पनि सहयोगीको भूमिकाको रुपमा काम गर्न सक्छ ।

Related posts

दुर्घतनामा घाइतेको प्राथमिक उपचार

Khoj Sanchar

खाना खाने बित्तिकै गर्न नहुने कुरा, निम्त्याउँछ विभिन्न रोग

Khoj Sanchar

निन्द्रा र हाम्रो स्वास्थ्य

Khoj Sanchar