12.1 C
Kathmandu
January 23, 2022
अभियान साँचो जीवननिर्माण अभियान

आमा वात्सल्य की प्रतिमूर्ति हुन् भने बुबा उत्साह र भरोसाका स्रोत

जन्म दिने आमाबाबु सबैको प्रिय हुन्छन्।बुबालाई छुट्याएर आमा, आमालाई छुट्टयाएर बुबाको कुरा गर्न थालियो भने त्यो एकाङ्की हुन्छ।आमा पृथ्वी हुन् भने बुबा आकाश, आमा शिर हुन् भने बुबा शिरको सिन्दुर, आमा खुशी दिने स्रोत हुन् भने बुबा त्यसको ऊर्जा।

-डा.गोविन्द टण्डन

आमालाई माया गर्ने सबै हुन्छन्।यद्यपि आमालाई हेलाँ गर्ने, नसहने पनि नहुने होइनन्।त्यस्तै सन्तानको कारणले गर्दा वृद्ध आमाबुबा सडकको आश्रयमा आएको पनि देखिन्छ।त्यस्ता कति छन् कति उदाहरणहरू! सबै कहाँ असल सन्तान हुन्छन् र! आजकाल त झन्-झन्क लिकालको उदय भए जस्तो छ, के-के हो, के-के आमाको बारेमा सुन्नु नपर्ने कुराहरू सुन्नु परिरहेको छ।कुमारी आमा, अविवाहित आमा! अनि हुने भएन विकृति! सन्तान कुपुत्र हुन सक्छ तर आमा कहिले पनि कृतघ्न हुनै सक्तिनन् भन्ने विश्वास तैपनि मरिसकेको छैन।

जतिञ्जेल आमा आफ्नै अगाडि हुनुहुन्छ त्यतिञ्जेलसम्म आमाको महत्त्वबोध कतिको लागि नहुन सक्छ।जब उहाँको देहावसान हुन्छ अनि महत्त्व बुझिने हो कि जस्तो पनि कहिलेकाहीँ लाग्छ।अगाडि हुँदा सधैँ उहाँ साथमा भइहाल्नुहु्छ जस्तो लाग्दोरहेछ। कैयन् कुरा भनुँला भन्दाभन्दै भन्नै नपाई समय बित्दो रहेछ भन्ने कुरा अहिले बुझ्दैछु।मैले कैयन् कुरा आमाबुबासँग गरुँला, भनुँला भन्दाभन्दै भन्न भ्याइनँ।आज सम्झदा पनि अपशोच लाग्छ।जे भन्ने हो, जे गर्ने हो समय छँदै गर्नु पर्ने रहेछ पछुताउ नहुनलाई।

आमाको तुलना कोसँग गर्ने? उहाँ त साँच्चै नै भन्ने हो भने अतुलनीय हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, प्रात: स्मरणीय हुनुहुन्छ।आमा पृथ्वी हुन्, जे पनि सहने, जस्तोसुकै अप्ठ्यारो पनि सहने। विशाल हृदयको ज्वलन्त उदाहरण हुन् आमा। आमाको परिभाषा दिएर सकिएला जस्तो लाग्दैन।जन्म दिने आमा र जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ ( जननी जन्मभूमिश्च स्वर्गादपिगरियशी) भन्ने कुरा साँचो हो।

समाजका अन्य व्यक्तिसँग आमाको तुलना हुनै सक्दैन।आमाको अभावमा आमा बनेर उदारतापूर्वक माया, ममता, स्नेह दिने विशाल हृदय भएका नारीहरूबाट कैयन् टुहुराहरूको लालन-पालन र सेवा भएको अनेक उदाहरण यत्रतत्र देखिँदा मातृत्वको वात्सल्यमयी भाव नारीको नैसर्गिक गुण बनेर प्रस्फुटित हुन्छ।यसैले आमा शब्दले मातृशक्ति सबैलाई एकमुष्ट सम्बोधन गरेको भान हुन्छ।

आमा एउटी मात्र हुन्छिन्।बच्चाहरू थुप्रै हुन सक्छन्।आमा सरहको माया-ममता थुप्रैबाट पाउन सकिएला।तर आफ्नो आमाको जस्तो शर्तरहित वात्सल्य, माया, दया र प्रेम अरूबाट विरलै पाइन्छ।

आमा एउटै हुन्छिन्।संसारमा एक पटक मात्र पाइने कुरा हो-आमा! दुइटा हुनै सक्दिनन्! एउटा शरीर छुट्टिएर दुइटा बन्छ, त्यो नै आमा र सन्तान हो। आमा र बाबु दुवै पूजनीय छन्। बाबुले गर्भधारण गर्न सक्दैनन्।बाबुले आँट दिन्छन्, भर दिन्छन्, हौसला र प्रोत्साहनको अनगिन्ती साहस दिन्छन्।आमाले गर्भधारण गर्छिन्, जन्म दिन्छिन् र काख पनि दिन्छिन्।उनी वात्सल्यकी जीवन्त स्वरूप हुन्।आमाको
काखमा शिशुका लागि सबै कुरा हुन्छ। एउटा बालक कुनै देशको माटोमा मात्रै जन्मेर हुँदैन, उसलाई आमाको काख चाहिन्छ।आमाको माया चाहिन्छ, आमाको स्नेहाशीष चाहिन्छ।आमाको काख, आमाको माया एवं वात्सल्य जुन बच्चाले पायो उसले सर्वस्व पायो भने हुन्छ।बच्चाको लागि आमा देवीकै साक्षात् स्वरूप हुन भन्न हिच्किचाउनु पर्दैन। देवीकै रूपमा आएकी हुन्छिन् आमा।उनी वन्दनीय छिन्, पूजनीय छिन्।जन्मनासाथ काख दिने, भर दिने, खुवाउने, पियाउने आमा नै हुन्छिन्। आमा वास्तवमै त्यतिखेर ईश्वरको प्रतिरूप स्वरूप बनेकी हुन्छिन्।

त्यसैले बालकका लागि आमाको स्नेहाशिक्त काख सबैभन्दा ठूलो हुन्छ, सर्वस्व हुन्छ।चराचुरुङ्गीलाई नै हेरौँ न! साना चल्ला भएका बेला माउले अरूमाथि आक्रमण गर्छे।बच्चालाई केही गरिदिने हो कि भन्ने पीर हुन्छ। किन भने उनी आमा हुन्, उनलाई आफ्ना स-साना बचेराको माया छ।उनको सन्तानलाई कसैले केही गर्ला भन्ने। त्यस्तै भर्खरै आमा भएका बेला पोथी कुकुरले पनि मान्छेलाई छाउराछेउ पुग्नै दिन्नँ।सिधै टोक्न आउँछे,अरू बेला नटोक्नेले पनि। किनकि ऊ आमा भएकी छे। उसलाई सन्तानको माया छ, हरहालतमा उसलाई आफ्ना सन्तान हुर्काउनु छ, बचाउनु छ, बढाउनु छ।त्यस्तै अरू बेला केही नगर्ने सोझो मानिने पोथी गैंडाले पनि बच्चा पाएपछि, बच्चा नहुर्केसम्म मानिस लगायत वरपर आउने पशुपक्षीलाई देख्नै हुन्न आक्रमण गर्छे।बचेरा भएका बेला कागले पनि ठुँग्छ।गुँडको वरपर कसैलाई देख्नु हुन्न ठुङ्न आउँछे।जुनसुकै प्राणीका आमाले आफ्ना सन्तानलाई असाध्यै माया गर्छे।अझ बाँदरले त मरेको सन्तानलाई छातीमा कैयौँ दिनसम्म बोकेर हिँड्छे,गन्हाएर टुक्राटुक्रा भई नझरुञ्जेलसम्म पनि छातीमा टाँसिरहेकी हुन्छे। कति निस्वार्थ माया? कत्रो प्रेम सन्तानप्रति! पशुमा पनि त्यत्रो वात्सल्य, त्यत्रो माया-स्नेह!

उनैको भाग्य धेरै ठूलो हुन्छ जस्तो लाग्छ, जसले लामो समय आमाको माया पाउँछन् र आमा बृध्द या रोगी हुँदा हेरचाह गरेर आमाको काखको ऋण तिर्छन्।उऋण हुने अवसर भनेकै आमाबुबाको सेवा, सुश्रूषा हो।

Related posts

असल परिणाम खोज्ने हो भने!

Khoj Sanchar

मद्यपान र धुमपानबाट हामी कहिले मुक्त हुन्छौँ…?

Khoj Sanchar

आत्मव्यवस्थापन जरुरी छ

Khoj Sanchar