29.1 C
Kathmandu
August 16, 2022
अभियान साँचो जीवननिर्माण अभियान

धार्मिक कि आध्यात्मिक…?

विश्वमै धार्मिक संलग्नता घट्दै गर्दा धेरै मान्छे आफूलाई ‘आध्यात्मिक’ व्यक्तिको नवीन परिचय बनाउनतिर उद्यत छन्।

-डा.गोविन्द टण्डन

विश्वका धेरैजसो मानिसहरू हिजोआज आफूलाई कुनै धर्मविशेषको अनुयायी भनेर चिनाउनुभन्दा आध्यात्मिक व्यक्ति भन्न रुचाउँछन्। यसो हुनुको अनेक कारणहरू होलान्। कुनै धार्मिक आस्थामा अडेर कुरा गर्दा जहाँ आस्था प्रकट गरिएको हुन्छ, त्यसका अनेक विकृति र विसंगतिहरू छताछुल्ल भएको कारणले पनि चनाखो हुनु पर्ने अवस्था सिर्जना भएको हुन सक्छ। आफूलाई आध्यात्मिक भन्नुको अर्थ कुनै सर्वशक्तिमान ईश्वरप्रति अनास्था नराख्नु तथा अन्य सम्प्रदायप्रति घृणा भाव नराख्नुलाई ज्यादात्तर सम्झिएको छ।यद्यपि भिन्न-भिन्न मान्छेको आ-आफ्नो बुझाइ हुन सक्छ आध्यात्मिकको अर्थको सम्बन्धमा।यसो भएता पनि आध्यात्मिक भन्ने बित्तिकै कोही कसैको विचारमा कुनै हस्तक्षेप नगर्ने, कुनै शक्तिशाली अस्तित्वलाई स्वीकार्ने ईश्वरको रूपमा होस्, परमसत्यको रूपमा होस् या सर्वशक्तिमान अदृश्य शक्तिकै रूपमा किन नहोस्! यदि यस प्रकारको सोच, दृष्टिकोण र चिन्तन राखेर व्यावहारिक जगत्‌मा कर्ममा प्रवृत्त छ भने त्यो अध्यात्मकै सेरोफेरोको नजिक छ भन्दा फरक पर्दैन।

नास्तिकहरू आध्यात्मिक व्यक्तिले जस्तो ईश्वरलाई सर्वशक्तिमान त मान्दैनन्, त्यसो भए पनि आध्यात्मिकताको बाटोलाई छोडिहाल्दैनन्। एकथरि जो आफूलाई एग्नस्टिक (देवताको अस्तित्वबारे ठोकुवा गर्न नचाहने ‘अज्ञातवादी’) भन्छन्, उनीहरू ‘आफूलाई ईश्वरका बारेमा थाहा नभएको’ बताउँछन्। त्यसो हुँदाहुँदै पनि आध्यात्मिकतातर्फको बाटोलाई उनीहरू असर परोस् भन्ने चाहदैनन्य सरी अज्ञातवादी र नास्तिकहरूको आफ्नै बुझाइको आध्यात्मिकता अँगालेका हुन्छन्।जसले जेसुकै भने पनि जुनसुकै धर्म-सम्प्रदायमा रहेको कर्मकाण्डी रूप र स्वरूपलाई हिजोआज धेरैजसो मानिसहरूले छोड्दै गैरहेको देख्न पाउनु आश्चर्यको विषय होइन।

ईश्वर या सर्वशक्तिमान या परमसत्यसँग जोडिने सबैलाई बुझ्न सजिलो हुने कुरा भनेको आफ्नै वरपरको प्रकृतिको विराट छटा हो महाकवि लक्ष्मीप्रसाद देवकोटाले यस्तै दिव्य भावलाई बुझाउन “ उद्यानमा बस गई सब तत्त्व खुल्छन्” भनेका हुन्। हुन पनि ईश्वर या परमसत्य परमात्माको दिव्य लीला प्रकृतिमै देखिन्छन्।

कतिपय धर्मनिरपेक्षतावादीहरू या भनौँ चार्वाकवादी, साङ्ख्यवादी ,वामपन्थी विचारधारा राख्ने मार्क्सवादी, माओवादी, नित्सेवादी नास्तिकहरू या कुनै वादलाई नसमाएका कामकाजीहरू प्रकृतिलाई सवैको कारक मान्छन्।उनीहरू ईश्वरको पक्षमा छैनन। यसलाई उनीहरू पर्यावरणीय मनोविज्ञानका रूपमा व्याख्या पनि गर्लान्। किनभने मानव र प्रकृतिबीच भावनात्मक सम्बन्धको कारण प्रकृतिमा सबै रहस्य हुन सक्ने भएकोले त्यो पर्यावरणीय मनोविज्ञान भन्न सक्छन्।हो, पर्यावरणीय मनोविज्ञानले मान्छेहरूलाई एकान्तप्रेमी, वातावरणको सौन्दर्यप्रति लालायित एवं मोहित गराउँछ भन्नेमा असहमत हुनेहरू कमै होलान्।

शान्त र एकान्तपनले मानिसलाई दैवी भावसँग जोड्छ। ईश्वर या परमसत्य या परमात्माको सत्तासँगको सान्निध्यता शान्तिबाट मात्रै सम्भव छ। यसको अर्थ नदी, झर्ना, हिमाल, जङ्गल र खोला, जंगल र हिमालमा मात्र एकान्तपना पाइन्छ भन्न खोजेको होइन एकान्तपनको अनुभूति त मनको हृदयसँगको तादाम्यताको कुरा हो, जुन मानिस स्वयंले महसूस गर्ने कुरा हो।

चाहे सत्य भनेर नामाकरण गरौँ, चाहे अदृश्य शक्ति जे भनौँ त्यो ईश्वरभिन्न नाम होइन। सृष्टि ईश्वरकै सिर्जना हो, रचना हो अनि हो वरदान। ईश्वर कहाँ छ? सोध्नुभन्दा ऊ जहाँतहीँ छ भनेर माने हरेक मनुष्यका लागि अन्त:प्रेणा दिने हुन्छ, यो सबैका लागि कल्याणदायक पनि हुन्छ।ईश्वरको स्वरूप सगुण, निर्गुण, साकार, निराकार सबै प्रकारका छन्। जसको जुन स्वरूपप्रति श्रद्धा,विश्वास छ त्यहीँ रूपमा सम्झे पुग्छ।

दर्शनशास्त्रको स्थान जे सुकै होस्, तत्त्वज्ञानको स्थान जे सुकै होस्, जबसम्म यस लोकमा ‘मृत्यु’ नामको भयङ्कर डरलाग्दो वस्तु मानवहृदयमा दुर्बलता बनेर बस्छ, जबसम्म मनुष्यको अन्त:करणबाट दुर्बलताजनित करुणक्रन्दन बाहिर निक्लन्छ तबसम्म यस संसारमा ईश्वरमाथिको विश्वास ज्यूँकात्यू रहिरहन्छ।त्यो कसैले तोडेर तोड्न सक्ने विषय पनि होइन। समयको लामो कालखण्डका अनेकौँ चरणमा कहीँ कतै कसैले विद्रोह मच्चयाउन सक्छ तर त्यो मात्र केही दिनको रमाइलो बनेर सकिन्छ।कसैले ईश्वर छैन भनून्, ईश्वर मरिसक्यो भनून् त्यसको कुनै अर्थ छैन।

कुनै निश्चित ठाउँमा यसो ग-यो, उसो ग-यो भने मात्र शान्ति पाइन्छ भन्ने कुनै नियम र विधान छैन।कुटी, छाप्रो, घर, भवन, बगैँचा, पूजाकोठा जताततै एकान्तस्थितिको अनुभव गर्न सकिन्छ। हो, हल्ला-गुल्ला, घच्चाघमासान, झैझगडायुक्त वातावरणले मनमा अशान्ति पैदा गर्छ जुन एकान्तपनाको वाधक बन्न पुग्छ।एकान्तबोध बाहिरी वस्तुहरूमा खोज्नेभन्दा पनि आफैभित्र निश्चलता, पवित्रता, इमानदारिता, पावनताको माध्यमबाट स्वत: प्राप्त हुने अवस्थाको सिर्जना भयो भने चिरस्थायी स्रोतमाथि पकड हुन थाल्छ, जसले जहाँ गए पनि जता बसे पनि, हल्लामा पनि, अशान्तिमा पनि, शान्तिमा पनि जे-जस्तो परिस्थिति आउँछ त्यही आनन्दको अज्रस स्रोत भेटिएको अनुभूति भइहाल्छ।

कतिपय मानिसहरू बाहिरी हल्लाखल्लाबाट बच्न कानमा हेडफोन घुसार्छन् र एकान्तपनको खोजी गर्छन्। हेडफोनको बाह्य साधनबाट एकान्तपनको खोजी केही समयको लागि काम लाग्न सक्छ। तर एकान्तपनको आनन्द त आफैभित्रबाट स्वत:स्फूर्त आउनुपर्छ।

धार्मिक कर्मकाण्डी प्रवृत्तिबाट आध्यात्मिकताको नवीन पथमा हिड्न खोज्नेहरू जहाँसुकैका हुन् उनीहरूमा सेवाभावको जागरण बढ्दै गएको छ।जीवमात्रप्रति दया, करुणा, अहिंसा, प्रेमजस्ता मानवीय गुणहरूको अभिवृद्धि देखिदै जानु आफैमा आत्मबोधतर्फको यात्रा हो।जबसम्म ऊ र म ( चाहे मानिस हुन्, चाहे पशुप्राणी एवं वनस्पति) बीच रहेको संस्कारवशात्‌का अनेक बाधा, भेद र पर्खालका जङ्घारलाई नाघ्ने आँट नआईकन यस्तो हुनु सम्भव हुँदैन।बाहिरी रूप-रङ्ग, स्वरूप भिन्नाभिन्नै जस्तो देखिए पनि त्यसभित्रको मूलतत्त्व उही ईश्वर हो, जुन ऊ र ममा भिन्न छैन भन्ने भाव आयो कि समभाव आफूमा आउन थाल्छ।बगैँचामा भएका फूलहरू अनेक रूप, रङ्ग र स्वरूपका हुन्छन् तर त्यसभित्रको मूलतत्त्व त सबैमा एउटै छ।यही शाश्वत भाव हरेक मानिसको मनमा उब्जनु नै आध्यात्मिकताको प्रस्फुटन हुनु हो।यस्तो दृष्टि आउनासाथ समता, समबोध र समत्वको विशाल र दिव्य दृष्टिकोण प्राप्त हुन थाल्छ संकीर्णताको सीमितता, जसले अनेक किसिमका बाधा, व्यवधान, अडचन र भेदभावजन्य संस्कार, रीतिथिति एवं परिस्थितिको सिर्जना गरेको थियो ती सारा हट्न थालिहाल्छ।हिंसा, लडाईँ-झगडा, अशान्ति, मारकाटका अनेक विकृतिबाट मनलाई टाढा राखेर व्यवहार जगत्‌मा उत्रन शुरू भयो कि सम्झे हुन्छ आध्यात्मिकता फुल्न थाल्यो हृदयको बगैँचामा।

आध्यात्मिकताको सुवासलाई बढाउन धेरै विषयहरूको योगदान छ।अध्यात्ममा जातीयता हुँदैन, क्षेत्रीयता हुँदैन, नसंकुचितता हुन्छ, न एकदेशीय राष्ट्रियता नै हुन्छ। बरु अध्यात्ममा विशालता हुन्छ, महानता हुन्छ अनि हुन्छ उदारता! अध्यात्ममा साम्प्रदायिकता हुँदैन, धार्मिक मूढता हुँदैन। सबैप्रति मर्यादित समभावको अनुशासित उच्च सम्मान हुन्छ।अध्यात्मवादीहरू विभिन्न दर्शन र प्रयोगद्वारा संसारलाई जोड्न प्रयत्न गर्छन्।

धर्म कुनै सम्प्रदायविशेषको मतवाद होइन न कुनै पारलौकिक कर्मकाण्डको नाम नै हो, न यो कुनै प्रकारको उपासनाप्रणाली या आचारव्यवहार नै हो। वास्तविक जीवनलाई अस्वीकार गरेर कुनै काल्पनिक वस्तु या कुनै अव्यवहारिक आदर्शको सेवा पनि होइन मानिसको अन्त:जीवन, बाह्यजीवन, व्यष्टि जीवन र समष्टिजीवनका सबै पक्षमा समरसतापूर्ण सामञ्जस्य स्थापित गरेर मनुष्यको आत्माको चरम स्वरूप ‘सत्यं शिवं सुन्दरम्’ को उपलब्धिलाई लक्ष्यमा राखेर यस जगत्‌मा सर्वाङ्ग सुन्दर सुखी मानवजीवन, शान्तिमय मानव चाहना हुन सके धर्मबाट विश्वसमुदायले ठूल्ठूला मानवीय महत्त्वका उपलब्धिहरू पाउन गाह्रो पर्दैन।

साम्प्रदायिकताले ग्रस्त समाजमा अनेक किसिमका बाधा, अडचन हुन्छन्। यो यहाँ छ, त्यहाँ छैन भन्ने छैन। जहाँतहीँ यही अवस्था हो। साम्प्रदायिकताले अर्थात् धार्मिकताले मानिसमा अन्धविश्वास, रुढीबूढी एवं भेदभावको जरोलाई नजानिदोँ तरिकाले फैलाइरहेको हुन्छ।

पर्यावरणीय मनोविज्ञानको धेरै हदसम्मको स्वध्ययन पहिले गुरुकुलको माध्यमबाट संस्कृत शिक्षाको प्राचीन पद्धतिमा अनुसरण गरिएको पाइन्छ। अहिले पनि गुरुकुल भन्नासाथै कुनै सुरम्य जङ्गलको छेउमा, नदी-नाला, झर्ना, ताल-तलाउको वरपर स्थापना गरिएको पाइन्छ।उहिलेदेखि नै मानिसको लागि पर्यावरणको महत्त्वबोध गराउन नै त्यस्तो सुरम्य स्थलको चयन हुने रहेछ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन।

मानिसको जीवनमा आउने तनावको नकारात्मक असर नै धेरै हुन्छ। यसैले तनावलाई हटाउन पनि पर्यावरणीय मनोविज्ञानले ठूलो भूमिका खेल्न सक्छ।साम्प्रदायिकता धर्मको सही स्वरूप हुँदै होइन। यो त राजनीतिको क्षेत्रमा अनेक वाद र मत भएजस्तै धर्मको नाममा खडा गरिएका आ-आफ्नो मत, वाद हुन्।यसलाई अङ्ग्रेजी भाषामा ‘कल्ट’ भन्छन्।उनीहरू पनि कल्टलाई सकारात्मक दृष्टिले हेर्दैनन्। किनभने जहाँ साम्प्रदायिकता हुन्छ, त्यहाँ मेरो र तेरोबीचमा अनेक प्रकारका वैभिन्यताहरूको सृष्टि हुन्छ।

धर्मको नाममा साम्प्रदायिकतालाई प्रोत्साहन दिनु र राजनीतिको नाउँमा अनेकथरी वादलाई बढाउनु एउटै कुरा हो।किनभने अन्तत: तिनीहरूले विभिन्न समस्याहरूको सिर्जना गरी मानिस-मानिसबीच फाटो, विभेद र दूरी बढाउने कामलाई नै मलजल गर्ने हुन्आ ध्यात्मिकताको मुख्य प्रयोजन भन्नु नै यो संसार ईश्वरको बरदान हो यहाँ सबै मिलेर बस्नुपर्छ भन्ने भावना अन्तर्निहित हुन्छ। त्यस्ता दृष्टिकोण राख्नेहरू हरेक दिन त्यही भाव, त्यही दृष्टिले आफ्नो जीवनलाई सबैको मङ्गल कामनामा समर्पित भइरहेको हुन्छ। प्रार्थना गर्दा पनि यही भाव अन्तर्निहित हुन्छ। हेरौँ प्रार्थनाका हृदयस्पर्शी शब्दहरू। शब्द-शब्दमा गहन भाव लुकेको छ, त्यसलाई अन्तर्हृदयदेखि नै महसूस गरौँ- हे ईश्वर! तिमीलाई के नामले पुकारौँ! सत्य तिमी नै हौ, सनातन तिमी छौँ, एक भएर पनि अनेक नामले पुकारिन्छौ। सबमा घट-घटबासी तिमी छौँ। तिमी जताततै छौँ, यहाँ छौँ, उहाँ छौ, सर्वत्र छौँ, जल, स्थल, नभ सबतिर तिमी छौँ।

दु:खको कुरा अज्ञानता र मोहान्धताको कारण बुध्दि, विवेकले सम्पन्न भएर पनि तिमीप्रति मनुष्य कृतज्ञ हुनुको सट्टा कृतघ्न छ। अत: अज्ञानताको कालो बादललाई हटाउने प्रेरणा देऊ।

हे ईश्वर यस्तो कृपा गर तिमीलाई सर्वत्र देख्न सकौँ, प्राणीमात्रलाई तिम्रो रूपमा ग्रहण गर्न सकौँ। परसेवालाई ईश्वरसेवा सम्झन सकौँ, लिनेभन्दा बढी त्याग्न सकौँ, आफ्नो स्वार्थलाई पन्छाइ निस्वार्थतामा रम्न सकौँ, आफूमा भएका जति पनि अवगुणहरू- काम, क्रोध, लोभ,मोह, घमण्ड, अहंकार आदि छन् तिनको बदला सत्य, न्याय, अनुशासन, दया, माया, करुणा, अहिंसाजस्ता मानवीय गुणहरूलाई आत्मसात् गरी जीवनलाई सर्वोत्कृष्टतामा बदल्न सकौँ।शान्ति, सद्भाव र आनन्द प्राप्त गर्न सकौँ।

पहिले स्वयं आफू बदलिऔ त्यसपछि परिवार, समाज, राष्ट्र र विश्वलाई बदल्न सक्ने क्षमता आर्जन गर्न सकौँ। धर्मान्धता, रुढीबूढी, अन्धविश्वास, विकृति र अज्ञानतालाई कतै प्रोत्साहन नदिऔँ।यो सृष्टि सबैको लागि वरदान हो मिलेर बस्न सक्ने उदार, विशाल र आत्मीय गुणहरू विकसित गर्न सकौँ।

सबैको मङ्गल होस्
सबैको कल्याण होस्
प्राणीमात्रको हित होस्
विश्वको जय होस्

—–००००००—–

Related posts

जे बनौँ तर असल बनौँ

Khoj Sanchar

आवेश घातक हुन सक्छ

Khoj Sanchar

जीवनको सही रूपान्तरण कस्तो हुन्छ?

Khoj Sanchar