27.1 C
Kathmandu
June 25, 2022
अभियान साँचो जीवननिर्माण अभियान

मद्यपान र धुमपानबाट हामी कहिले मुक्त हुन्छौँ…?

प्रारम्भमा देखासिकी, संगत, लहैलहैमा लागेर शुरू हुने मद्यपान र सूर्तिजन्य पदार्थको कुलत हुँदाहुँदै “खाना खान छोड्न सक्छु” तर मद्यपान र सूर्तिजन्य पदार्थलाई छोड्न सक्तिनँ भन्ने जस्तो अवस्थामा पुग्दछ।

-डा.गोविन्द टण्डन

मद्यपान र सूर्तिजन्य पदार्थहरूको भेलले संसारका सम्पन्न/ विपन्न, विकसित/अविकसित तथा विकासोन्मुख सबै देशमा प्रभाव पारेको तथा यिनको सेवनबाट अनेकौं किसिमका रोगहरू जन्मने कुरा वैज्ञानिकहरूले गरेका अनेकौँ अध्ययन/अनुसन्धानबाट पुष्टि भएको भए तापनि यससम्बन्धी उद्योगधन्दाहरू सबैभन्दा बढी फस्टाउने र फाइदाजनक उद्योगको श्रेणीमा पर्छन्।मद्यापान एवं सूर्तिजन्य पदार्थहरूको सेवन गर्नेहरूको सङ्ख्या दिनानुदिन भने जस्तो बढ्दै गएको देख्दा जो कोहीलाई आश्चर्य लाग्नु स्वाभाविकै हो।जसले सेवन गर्छ, उसलाई बिस्तार-बिस्तार लत बस्दै जान्छ र अन्ततोगत्वा सेवन गर्नेको विभिन्न रोगहरूको कारण अकाल मृत्यु हुन्छ भन्ने कुराको प्रमाणको लागि अनेकौँ वैज्ञानिक तथ्याङ्कहरूले सावित गरिसकेका छन्।जति गरीब र निर्धन मुलुक छ, त्यहाँ झन् यसको भयावह र विकराल चर्तिकला देखिने गरेको विभिन्न अध्ययनबाट देखिएको स्मरणीय छ ।

क्यान्सर जस्तो डरलाग्दो रोगका साथै मुटुजन्य अनेकौँ रोगको कारकतत्वको रूपमा मद्यपान र सूर्तिजन्य पदार्थहरूलाई लिइन्छ। अम्मलीहरूको व्यक्तिगत र सामाजिक जीवनमा देखापर्न जाने विविध समस्याहरू तथा उनीहरूको कारण उत्पादनशीलतामा आउने ह्रासलाई हेर्दा यो एउटा व्यक्तिमा मात्र सीमित नभई विस्तारै सम्पूर्ण परिवारमा विस्तार हुन्छ।अन्ततोगत्वा त्यसको असर समाज र राष्ट्रलाई नै हुन्छ।हुँदाखाँदाको परिवार ध्वस्त बन्छ, सन्तानहरूको भविष्य अन्धकारमय हुन्छ।

मद्यपान र सूर्तिजन्य पदार्थको सेवनले अनाहकमा कतिको ज्यान गएको छ, कतिले दु:ख पाइरहेका छन्, कतिले घरखेत बेचेर औषधिउपचार गराइरहेका छन्, त्यसको साधि नै छैन।यसले गर्दा कति घरपरिवारको विचल्ली भएको छ । घर-घरमा भनेजसो कुलत बढ्दै जान थालेको चिन्तनीय छ । विश्व स्वास्थ्य संगठनको एक तथाङ्क अनुसार धुमपानले मात्र पैतीस वटा रोगहरू निम्त्याउँछ। एक वर्षमा यसैबाट विश्वमा ३५ लाख मानिसहरूको अकाल मृत्यु हुन्छ । नेपालका ६०-८०% प्रतिशत पुरुष र ६२ % प्रतिशत महिलाहरू धुमपान गर्दछन्, जुन बंगलादेश, श्रीलंका र भारतको भन्दा पनि माथि छ ।

नेपालमा पाँच-छ दशक अगाडिसम्म मद्यपान केही वर्ण र जातविशेषमा मात्र सीमित भएकोमा बिस्तार-बिस्तार यसको पकड बढ्दै गई अहिले के सुगम, के दुर्गम, के ब्राह्मण, के क्षेत्री, के धनी, के गरीब सबैतिर यसको विनाशकारी लीला देखिदैछ।

बाह्य संस्कृतिको प्रभाव तथा खुलारूपमा यिनको आकर्षक विज्ञापन तथा प्रचारहरूले पनि यसलाई बढाउन धेरै हदसम्म मद्दत गरेको छ। यहाँ केही दशक अघिसम्म केही वर्ण तथा जातमा मद्यपान गरे जात जान्छ भन्ने सामाजिक मान्यता थियो र त्यसले शताब्दियौँ – शताब्दियौँसम्म मद्यपानलाई समाजमा सरोबर हुन दिएको थिएन। अहिले स्थिति विल्कुल फरक छ।

धुमपान पनि त्यस्तै थियो । पुगीसरी आउने केही व्यक्तिहरू तमाखु, सुल्फा र चुरोट खान्थे। अरूको लागि सुलभ थिएन।साथै ठूलाबडाको अघिल्तिर खान हुन्न भन्ने सामाजिक मान्यताले यसलाई पनि केही हदसम्म सीमाबद्ध तुल्याएर राखेको थियो। खाने सीमित व्यक्तिहरू लुकीछिपी खान्थे।

त्यसको विपरीत केही दशकयता सरकार मातहतका आम सञ्चारका माध्यमहरूले मद्यपान र सूर्तिजन्य पदार्थहरू “पौरख बढाउने”, “गौरव बढाउने”, “फूर्ति बढाउने”, “साहसीको एकमात्र चाहना” जस्तो अनेकौं आकर्षक शब्द र शैलीमा विज्ञापन खुलारूपमा गरिदिनाले हो न हो, सही हो भन्ने भ्रमले गर्दा पनि समाजमा रहँदै आएको सामाजिक मान्यता भत्किन पुग्यो। सरकारकै संलग्नतामा चुरोट, बिडीङ खैनी,गुटखा जस्ता उद्योगहरू स्थापना हुने जस्तो विडम्बना पनि हुन गए। रक्सी, बियरका उद्योगधन्दाहरू कसरी हात पार्ने भन्ने अस्वस्थकर प्रतिस्पर्धा पनि बढ्दै गए। “अरू जे सुकै हुन् मरुन् कि बाचून्” पैसा जसरी हुन्छ कमाउनुपर्छ भन्ने नियतले उद्योगीलाई र सरकारलाई पैसा कमाउन पाए पुग्यो भन्ने मान्यताले स्थान पाउँदै गयो।

जुनसुकै सरकारको पनि राजस्वको आय स्रोत यिनै मद्यपान र धुमपानका उद्योगहरू बन्न पुगे। नेपाल जस्तो गरीब मुलुकमा अनगिन्ती मद्यजन्य उद्योगहरू स्थापना भइसके र हुँदैछन् । कति विडम्बना छ!

जुन आमाबाबु कमजोर आर्थिक अवस्थाको कारण आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउन सक्तैनन्, उनै मद्यपान र सूर्तिजन्य पदार्थको कुलतको कारण भएको धनसम्पत्ति बेचेर वा साहुबाट चर्को व्याजमा ऋण काढेर कुलतलाई साम्य पार्न वा औषधिउपचार गर्न बाध्य भएको देखिनु सामान्य जस्तै भइसकेको छ।अझ यसको भयाबह रूप गाउँघरमा देखिन्छ। चरित्र तथा नैतिकतालाई जुन देशमा उच्च मान्यता दिइएको थियो, अहिले गएर यस्तै अनेकौँ कारणहरूले गर्दा ती पक्षहरू कमजोर हुँदै गइरहेको देखिनु ठूलो चुनौती हो भन्ने सम्झनुपर्छ। मद्यपान र धुमपानबाट हामी कहिले मुक्त हुन्छौँ? कसले मुक्त तुल्याइ दिन्छ होला? भविष्य अन्धकारमय बन्दै गएको छ।

Related posts

टिकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष

Khoj Sanchar

आमा वात्सल्य की प्रतिमूर्ति हुन् भने बुबा उत्साह र भरोसाका स्रोत

Khoj Sanchar

विज्ञानको पनि आफ्नै सीमा छ

Khoj Sanchar