मानिसहरू आफ्ना सन्तानहरूलाई चानचुने मानिस बनाउन चाहदैनन्। सबैको चाहना ठूलो मान्छे बनाउने हुन्छ। उनीहरू ‘ठूलो’ भन्नाले भोलि गएर डाक्टर, इञ्जिनियर, प्रशासक, सांसद, मन्त्री, प्रधानमन्त्री बनोस् भन्ने कामना गर्दछन्। केटाकेटी पनि जस्तो आमा-बाबुको चाहना छ त्यस्तै बन्न लालायित हुन्छन्। सानो को नै बन्न चाहन्छ…?
-डा.गोविन्द टण्डन
ठूलो बन्ने होडबाजी नै चल्छ/चलेको छ। यही प्रतिस्पर्द्धामा सारा विश्व लागेको छ। कसैले मलाई तपाईँ के बन्नु हुन्छ ? भनेर सोध्यो भने मेरो चाहिँ धारणा अलग्गै छ। संसारमा अहिले जे जति नराम्रा कार्यहरू- घुसखोरी, अन्याय अत्याचार, भ्रष्टाचार, अपहरण, हत्या ठूलो बन्ने र बनाउने होडबाजीकै कारण भइरहेको छ।समाजमा हामी यत्रतत्र जताततै यस्तै घटना देखिरहेका छौँ। या त गरीबीको कारणले मानिस आफ्नो लक्ष्य र गन्तव्य बिर्सी रहेको छ या ठूलो मानिस बन्ने दौडमा मानिस नकाम गर्न सधैँ अग्रपक्तिमा हुन्छ।
ठूलो बन्ने होडबाजीकै कारण विश्वमा मानवता भन्ने गुण नै हराउँदै जान थालेको देखिन्छ।ठूलो, सफल व्यक्ति होइन ‘असल’ छोराछोरी, असल नातिनातिना, असल सन्ततिको चाहनालाई मानिसले किन बिर्सदै गयो? समाजमा भ्रष्टाचार, हत्या, हिंसा जस्ता अवगुणहरू बढ्नुको कारण हामीले ‘असल’ सन्तानको सट्टा सफल र ठूला सन्ततिको चाह राखेकोले नै हो भन्न हिच्किचाउनु पर्दैन।सफल जो कोही बन्न सक्छ, ठूलो देखाउन जे पनि गर्न सक्छ भन्ने कुरालाई बिर्सिदै गयौँ। फलस्वरूप परिवारमा, समाजमा, राष्ट्र-राट्र र विश्वमा बेथिति, अन्याय, अत्याचार, अमानवीयता बढ्दै गयो।
चाहना राख्ने सफल र ठूला व्यक्तिको अनि छोराछोरी बिग्रे, समाज बिग्र्यो, देश डुब्यो भनेर चिन्ता लिएर के काम? यो त रोप्ने बखतमा विषको वृक्ष रोप्ने अनि त्यसबाट अमृत फलोस् भनेर कामना राखे जस्तै हो। के त्यसो हुन सक्छ? पटक्कै हुँदैन।तपाईँ जे रोप्नु हुन्छ त्यही फल्छ। ज्ञान/विज्ञानले यही भन्छ।
तपाईँ आफ्नो लक्ष्य अनुसार डाक्टर बन्न सक्नु होला या नहोला, इञ्जिनियर बन्न सक्नु होला या नहोला, मन्त्री / प्रधानमन्त्री बन्न सक्नु होला या नहोला। किन भने ती पद-प्रतिष्ठा प्राप्तिको लागि समय, परिस्थिति, औकात, क्षमता, लगानी, अनकूलको वातावरण सबै मिल्नुपर्छ।त्यो लामो यात्राको दौरान बाटोमा आइपर्ने के के चाहिने/नचाहिने काम गर्नु पर्ने हो थाहा छैन। तर ‘जीवनमा म असल बन्छु’ भन्ने लक्ष्य राख्न कुनै तिथि, बार, समय कुर्नु पर्दैन। आजै, अहिले, तत्कालदेखि नै जीवनको लक्ष्य यसलाई बनाएर हिँड्ने हो भने घरपरिवार, समाज, राष्ट्र र विश्वमा धेरै ठूलो परिवर्तन देख्न पाइने छ, जसका लागि मानिसहरू युगयुगदेखि कुरेर बसिरहेका छन्।
‘असल” भन्नाले कुनै पनि हालतमा कसैको कुभलो नगर्ने, अहित नचिताउने, आफू पनि बाँचौँ अरू पनि बाचूनको सिद्धान्तमा रमाउने, अर्काको सम्पत्तिलाई माटो सम्झने, घुसखोरी, भ्रष्टाचारलाई पाप सम्झने, परस्त्री/परपुरुषलाई आमा/ बुबा सम्झने, पराया धनलाई विष सम्झने सन्तान तपाईँको घरमा, समाजमा, राष्ट्र र विश्वमा भए भने कस्तो होला ? कल्पना गर्नुस् त!
असल डाक्टर, असल इञ्जिनियर, असल प्रशासक, असल सांसद, असल मन्त्री, असल प्रधानमन्त्री भए आज जे जति दुर्गति देख्नु परेको छ त्यो कहीँ कतै देख्नु पर्ने थिएन। यसैले म भन्छु- ‘जे बनौँ तर असल बनौँ’।