घर त्यो ठाउँ हो जहाँ हाम्रो सम्पूर्ण जीवन व्यतीत भएरहेको हुन्छ। धेरै जसो मानिसहरू २४ घण्टामा १५ घण्टाको समय आफ्नो घरमा नै बिताइरहेका हुन्छन्।
मानिसले सबै भन्दा धेरै बिताउने ठाउँ भनेको नै आफ्नु घर हो। त्यसैले घरको वातावरण स्वच्छ तथा सफा हुन एकदमै जरुरी हुन्छ। किनकि स्वच्छ तथा सफा वातावरण मानव जीवनका लागि अत्यावश्यक तत्व हो। मानिस आफू मात्र सफा सुगर भएर स्वस्थ रहन सक्दैन आफू बस्ने वातावरण पनि सफा हुन अति आवश्यक हुन्छ। फोहोर वातावरणको कारणले गर्दा नै विभिन्न प्रकारका रोगहरूको उत्पत्ति भइरहेको हुन्छ। हाम्रो व्यस्त जीवनशैलीका कारण भनूँ या त अल्छिका कारणले हामी अरु बेला भन्दा विभिन्न चाडपर्वको आगमनले मात्र घरको सरसफाइमा विशेष रूपमा ध्यान पुर्याईरहेको हुन्छौ। आफू बस्ने घर सफा गर्न चाडपर्व नै पर्खिनु पर्ने पक्कै जरुरी छैन। जती नै व्यस्त भएपनि आफू बस्ने ठाउँ सरसफाइको लागि समय निकाल्न धेरै नै आवश्यक छ। किनकि स्वच्छ वातावण हाम्रो स्वास्थ सँग जोडिएको हुन्छ। हामी बस्ने वातावरण सफा भएमा मात्र हामी स्वस्थ रहन सक्छौ।
हाम्रो देशमा स्वास्थ्य मन्त्रालय साथै अन्य विभिन्न संस्थाहरुले वातावरण सरसफाइ सम्बन्धी विभिन्न योजना र अभियानहरु विस्तार समेत गरिरहेका छन्। तर सरसफाइको सुरुवात सर्वप्रथम मानिसले आफ्नो आफ्नो घरबाटै गर्नुपर्छ। सबैले आफ्नो घर र घर वरिपरि सरसफाइ को सुरुवात गरेपछि समाज स्वच्छ हुन्छ सबै समाज स्वच्छ भएपछि एउटा सिङ्गो मुलुक नै स्वच्छ हुन्छ। तर मानिस आफू बस्ने घरको सरसफाइप्रति नै सचेत हुन सकेन भने यसरी सार्वजनिक भएका योजना र अभियानले मात्रै मुलुक स्वच्छ हुनै सक्दैन। किनकि वातावरण सरसफाइको मुख्य भूमिका हरेक मानिसको नै हुन्छ र सरसफाइ भन्ने बिषय मानिसको दैनिक जीवन पद्धतिसँग जोडिएको पनि छ। हामी देख्न सक्छौ विकसित राष्ट्रहरुमा सरसफाइ र वातावरणीय स्वच्छतालाई मुख्य रुपमा ध्यान दिइएको। त्यसमा राष्ट्रको मात्र भूमिका छैन त्यहाँ बसोबास गर्ने मानिहरूको मुख्य भूमिका रहेको छ। वातावरण सरसफाइमा राज्यको भन्दा पनि मुख्य भूमिका हामी आम मानिसको छ किनकि ती फोहोरहरु पनि हामी आफै बाट हामी आफै बस्ने ठाउँबाट उत्पन्न भएका हुन् र त्यसको व्यवस्थापन पनि आफैले गर्नु पर्छ।
सरसफाइ भनेको मानव स्वास्थ्य यानकी हाम्रो आफ्नै स्वास्थ सँग जोडिएको अत्यन्तै संवेदनशील बिषय हो। यस विषयमा हामी आफै अग्रसर हुनै पदर्छ। हामीले हाम्रो घरलाई स्वच्छ राख्नका निम्ति कोठा, चूला–चौका र आँगनलाई सफा सुग्घर बनाऊ। साथै दिनहुँ घरबाट निस्कने फोहरलाई उचित ढंगले व्यवस्थापन गर्नु पर्छ। दिनहुँ पिउने पानीको मुहान को सरसफाइ गर्नु पर्छ। किनकि हामीले पिउने पानीको माध्यम बाट विभिन्न प्रकारका रोगहरूको निम्त्याउने गर्दछ। फोहोर पानी कै कारणले गर्दा नै झाडापखालाको महामारी फैलिन्छ। हामीले आफू बस्ने घर र घर वरिपरि सफा गरेमा धेरै किसिमका रोगहरुबाट बच्न सकिन्छ र स्वस्थ भएर बाँच्न सकिन्छ।त्यसैले आफू र आफू बस्ने ठाउँ लाई सधैं सफा सुग्घर गर्ने इच्छा शक्ति आफू भित्र जागृत गरी स्वस्थ भएर जीवन व्यतीत गरौ। सुरुवात आजैबाट गरौ।
प्रस्तुति: सिर्जना शर्मा