24.1 C
Kathmandu
October 2, 2022
अभियान साँचो जीवननिर्माण अभियान

आफैलाई चिन्न नसक्दा

मानिसहरूले आफ्नो ध्येय र लक्ष्य चिन्न नसकेर यसरी अल्मलिएका हुन्छन् कि कहाँ जाने? कुन दिशामा लाग्ने? कसरी लाग्ने? भन्नेमा नै आफूलाई अगाडि बढाउन सकेका हुँदैनन्। यसैको कारण मानिस विभिन्न बिचार, उदेश्य र लगनमा खण्डित हुन पुगेका हुन्छ।


एक किसिमले भन्ने हो भने हेर्दा सग्लो, पूर्ण जस्तो लागे पनि विचारहरू यसरी चिरा-चिरामा विभाजित भएको हुन्छ कि अधिकांशले त्यसलाई बुझ्नै प्रयत्नै गरेको हुँदैन जीवनभर! थोरै भाग्यमानी हुन्छन् जसले समयमै त्यसलाई बुझ्न चेष्टा गरेर, अपूर्णतामा नअटाएर ब्यूझन प्रयत्न गर्छन्।सांसारिक सुख, भोग, धन, दौलतको उपलब्धताले सम्झिन सक्छन् कि तिनै चीजको प्राप्तिभन्दा अर्को पूर्णता के हुन सक्छ? यसैको लागि त मानिसले मरिहत्ते गरिरहेका हुन् भन्ने भ्रमले उसलाई अझ अध्यारोमा पु-याउँछ।त्यसैमा दिनरात दलिएको दलियै, जोतिएको जोतिए नै हुन्छ। एउटाले गर्दा अर्को, अर्कोले गर्दा झन् अर्को गर्दा-गर्दै सबैतिर भ्रमै-भ्रम सिर्जना हुन पुग्छ। आखिर संसारको स्वभावै पनि त हो यही। यद्यपि मानिस बहुआयामिक प्रवृत्तिको हुन्छ।

मानिस प्रायश: मस्तिष्क र हृदयबाट अभिप्रेरित भई जीवनपथमा अगाडि बढेको हुन्छ। मस्तिष्कलाई स्वीकार गर्ने बानी परेकोले हृदयको भाव पक्षहरू- दया, माया, करुणा, अहिंसा जस्ता गुणग्राह्यतालाई बुझ्न सकिरहेको हुँदैन। उपयुक्त त के हुन्थ्यो भने मस्तिष्क र हृदय पक्ष दुवैलाई स्थान दिएर त्यसभन्दा पनि माथि आत्मपक्षलाई ग्रहण गर्न अगाडि बढ्ने।अझ त्यसमा सद्कर्मको चमत्कार होस् अनि न जीवन फुल्छ चाहेजस्तो गरी। तर कहाँ हुन्छ सोचे जस्तो! मस्तिष्कमा तर्क, शङ्का, अहंताले स्थान ओगटिरहने हुनाले मस्तिष्कमा करुणा, कोमल, सौन्दर्यपूर्ण अवस्थाको सूत्रपात हुनै सक्तैन।कहाँ मनोहारी फूलको सुवास पाउनु त्यस्तो मस्तिष्क निर्देशित व्यक्तिहरूमा!

त्यस्तो मानिसमा मधुरता, समरसता, मित्रता, आत्मीयताको अभाव सबैभन्दा बढी खटकिन्छ। भला उनीहरूमा पद, प्रतिष्ठा, धन, सम्पत्ति प्रशस्त किन नहोस्! तर उनीहरू आफूमा भएको शुष्कतालाई, अभावलाई, कमीलाई खुट्ट्याउनै सक्तैनन्। जीवन काव्यात्मक, गयात्मक र माधुर्यपूर्ण हुँदैन उनीहरूको। सपाट मरुभूमीतुल्य हुन्छ त्यस्तो व्यक्तिको जीवन। जहाँ उमङ्ग छैन, रस छैन, मनोहारिता छैन, सौन्दर्य छैन त्यस्तो जीवन कति कठोर, कति सङ्कीर्ण र लघुताले भरिएको होला अनुमान गर्न गाह्रो पर्दैन। सृष्टिमा त्यस्तो व्यक्ति जड, पदार्थ र प्रकृतिलाई मात्र देख्न पुग्छन्। त्यसभित्रको सूक्ष्मतामा अणु र परमाणुभन्दा पनि अझ सूक्ष्म तत्त्वलाई हेर्नै भ्याएको हुँदैन; आत्मतत्त्वलाई नियाल्नै सकेको हुँदैन, परमात्मतत्त्वलाई जान्नै सकेको हुँदैन। यसो भनौँ आफूलाई उसले वास्तवमा हेर्नै भ्याएको हुँदैन।आफूलाई हाड, छाला, मज्जा, मासुको थुप्रोमात्र सम्झिरहेको हुन सक्छ। बत्तीमुनिको अध्यारो भने झैँ यहाँ त्यस्तै परिस्थिति बन्न पुगेको हुन्छ। यो कसको दोष? यसबाट पन्छिन जे भने पनि हुन्छ, जसमाथि दोष थोपरे पनि हुन्छ। राज्य, परिस्थिति, वातावरण, शिक्षा, सङ्गत, आधुनिकता मैले भने नि जसले जसलाई दोष दिए पनि हुन्छ।
डा.गोविन्द टण्डन

Related posts

साधनामा अन्त:करणको शुद्धि जरुरी छ

Khoj Sanchar

राजनीतिमा युवा नेतृत्व

Khoj Sanchar

महत्त्वाकाङ्क्षा घातक हुन्छ

Khoj Sanchar