22 C
Kathmandu
February 25, 2021
अभियान साँचो जीवननिर्माण अभियान

के आफूलाई चिन्ने प्रयाश ग-यौँ …?

एकछिन सम्झौँ त जीवनको कति भाग जीवनको पूर्णता खोज्नेपट्टि लगायौँ…? अधिकांशको जीवनको धेरैजसो समय जीवनको खण्डित सत्यमा नै बितेको महसूस हुन्छ।

अतीतको समयको कुरा छोडिदिऔँ अहिलेका मानिसकै कुरा गर्ने हो भने स्कूले जीवन, कलेजको जीवन, विश्वविद्यालयको जीवन गर्दा-गर्दै पच्चीस वर्ष जतिको उर्वर समय भौतिकताको परिप्राप्ति, जड पदार्थको शिक्षा आर्जन गर्नुमा नै बित्छ होइन ? जब जड वस्तु, पदार्थ र वाह्य ज्ञानको कुरामा अभ्यस्त हुन्छौँ, त्यत्तिखेर आत्मिक विषय वा अध्यात्म विषय वा जीवनमूल्यसँग सम्बन्धित विषय त काम नपाएका, बुढाबूढी, सेवानिवृत्त वा केही नपाएपछि ध्यान दिने विषय हो कि भन्ने सम्झनेहरूकै बोलाबाला हुनु कुनै अनौठो कुरा नै भएन। किन भने राज्यको नीति, शिक्षापध्दति, चासो र आवश्यकता नै त्यसैलाई बनाइयो। कहिलेकाहीँ मलाई भित्र-भित्रै हाँसो उठ्छ कि यस परिस्थितिमा नैतिक, इमानदार, सत्यनिष्ठ, चरित्रवान्, गुणी, अध्यात्मवादी व्यक्तिहरू भएनन् भनेर गुनासो गर्नुको के औचित्य? आजको समाजले चाहेको कहाँ त्यस्ता व्यक्तिहरू हुन् र? सफल हुने व्यक्ति भए पुग्छ, असलको खोजी कसैले गर्न खोजे जस्तो पटक्कै लाग्दैन। तपाईँ पनि त्यस्तै महसूस गर्नु हुन्न ? यत्रतत्रको परिवेश बुझिसके पछि।

धन्य हुन् ती व्यक्तिहरू जो विपरित परिस्थितिमा पनि, वातावरण प्रतिकूल रहँदा-रहँदै पनि पूर्णताको बाटोमा लाग्न सके, सम्भव तुल्याए र अनेकौँ दुर्दान्त परिस्थितिको माझ पनि धिपधिपे बत्ती नै सही समाज, राष्ट्र र विश्वमा मानिसलाई जीवनको पूर्णताको रहस्य केही नै भए पनि बुझाउन सकिन्छ कि भनी आफ्नो समय, परिश्रम र अमूल्य जीवन उत्सर्गित गरिरहेका छन्। सबैको आफ्नो-आफ्नो अलग बाटो होला, तौरतरिका होला त्यसो भए पनि तिनलाई नमन छ, वन्दना छ कमसेकम जीवनको पूर्णताको पहिचानको लागि केही न केही त गरिरहेका छन्। त्यस्तै सृजनशील, ऊर्जावान्, सामाजिक वास्तुकार, आध्यात्मिक व्यक्तित्व, सुधारक, सकारात्मक चिन्तकहरूको कारण नै अझै मानिसहरूमा आशा हराइसकेको छैन।

जीवनलाई ऊर्जामय, काव्यमय, उपकारमय र सेवामय तुल्याउन जसले सक्छ, उसले बाँच्नुको सार्थकतालाई यसरी हासिल गर्दछ कि मानौँ यो जीवन नै उसलाई पुगेन, चौबीस घण्टे रातदिनको समयले पनि चाहे जति काम गर्न भ्याइएन! अझै गर्नु छ, धेरै गर्नु छ। यस्तो सक्रियता, यस्तो कर्मशीलता, यस्तो रचनात्मकता सबैमा आइदिए कस्तो हुन्थ्यो! यो सम्भव छ यदि कर्मयोगी बन्नेतर्फ मानिसले ध्यान दिने हो भने। कर्मी त धेरै छन् तर हर युगमा कर्मयोगीको अभाव हुन्छ। हिजो यस्तै थियो आज यस्तै छ भोलि पनि त्यस्तै हुन सक्छ।जीवन जसोतसो चलाउने त धेरै छन्, योजक व्यक्तिको खडेरी परेको छ यत्रतत्र सबैतिर। चेतनाको स्तर बढाउन आवश्यक साधना गर्ने हो भने यो पनि असम्भव चाहिँ छैन। मात्र ध्येय, लक्ष्य सद्सङ्कल्पले अभिप्रेरित भएको हुनुपर्छ न कि स्वार्थले। यसका लागि भावनामा बहेर पनि पुग्दैन। उदेश्य र कार्यक्रमका साथ नित्य अगाडि बढ्ने हो, अग्रगामी बन्ने हो भने साध्यको प्राप्ति सहज छ, गाह्रो पटक्कै छैन मात्र उठे, जागे र बढे पुग्छ।

मानिस न मस्तिष्क मात्रै हो न हृदय मात्रै। मस्तिष्कको साथ मात्रले त तर्क-वितर्क जन्मन्छ, हुनसक्छ गणीतीय सूत्र जन्मिन्छ, विज्ञान जन्मन्छ। त्यत्तिले त जीवन रुखो र सुखा हुन्छ। हृदयको भावको पछाडि उभिँदा कोमलता जन्मन्छ, कविता जन्मन्छ, साहित्य जन्मन्छ, रचना र सृजना जन्मिन्छ अनि जन्मन्छ सकारात्मकता र सात्विकता। मस्तिष्क र हृदयबाट बाहिर निस्कन सके साँचो धर्मको जन्म हुन्छ। यस्तो धर्म जहाँ परम्पराले आत्मसात् गरिरहेको रीतिरिवाज, चालचलन, कर्मकाण्ड, रुढीबूढी, संस्कृति-विकृतिप्रति जिज्ञासा, प्रश्न-प्रतिप्रश्न भित्रभित्रै गर्दै त्यसको यथार्थ रूप, शाश्वत स्वरूपको पहिचान गर्न समर्थ भई धर्मको साँचो परिदर्शन गराउने समर्थता राख्न सकियोस्।
-डा.गोविन्द टण्डन

Related posts

मद्यपान र धुमपानबाट हामी कहिले मुक्त हुन्छौँ…?

Khoj Sanchar

परपीडानन्द स्वभाव त्याज्य छ

Khoj Sanchar

सच्चा गुरु कस्तो हुन्छन् ?

Khoj Sanchar