11.1 C
Kathmandu
January 23, 2022
अभियान साँचो जीवननिर्माण अभियान

साँचो धर्मको खोजी

धर्मलाई हिजोआज यस्तो तुल्याइएको छ कि जे-जति कुडाकङ्कट समाजमा विद्यमान छन्, मानौँ ती सबै धर्मकै उपज हुन्।त्यति मात्रै कहाँ हो र…? धर्मको नाममा जे गर्न पनि छुट छ समर्थवान्‌हरूलाई।

नानाभाँती विकृति, दुष्कृति सबैलाई धर्मसँग नाता-साइनो गाँसेको जताजतै देखिन्छ। धर्म कहाँ त्यो हो र…? धर्मले त मानिसलाई यस्तो जीवनशैली प्रति आकर्षित गर्नुपर्छ, जसको सहाराले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व यस्तो सुन्दर स्थल, जहाँ सत्यप्रति आम जनताको निष्ठा होस्, इमानदारी, सच्चरित्रता, दया, माया, करुणा, अहिंसा, सद्‌भाव, आत्मीयता, अनुशासन, आदर, सत्कार, मर्यादामा सबैलाई लालायित तुल्याइदेओस्, हुनु पर्ने हो। यी असल गुणहरू धर्मको नाममा जबसम्म आफ्नो आचरणमा ल्याउन सक्दैनौँ भने धर्मको देखावटी ढोँग गरेर आफ्नो धन्दा चलाउन मात्र प्रयासरत् छौँ भनी सम्झिदिए हुन्छ, त्यस्तो धर्मले कसैको निहित स्वार्थ सिध्दि होला तर समष्टिको हित गर्न असमर्थ हुन्छ। यस्तो विकृत स्वरूपको धर्मले त धर्मान्धतालाई बढाउँछ, अन्धविश्वासलाई जन्माउँछ, रुढीबूढीलाई मलजल गर्छ। अन्ततोगत्वा अन्धकारलाई निम्त्याउँछ, अज्ञानतालाई बढाउँछ।निष्पट चारैतिर अध्यारै-अध्यारो बाहेक के देखिन्छ त्यस्तो अवस्थामा…?

धर्मको रक्षा गरियो भने नै धर्मले व्यक्तिको रक्षा गर्छ। उदाहरणको लागि सत्य धर्म हो। सत्यको प्रतिष्ठा जीवनमा गर्न सकियो भने त्यसले असत्यको बाटोबाट लज्जित हुनु पर्दैन भनिएको हो। धर्म भनेको यहाँ कर्मकाण्डलाई भन्न खोजिएको पटक्कै छैन। परम्पराको नाउँमा चल्ने संस्कृति र विकृतिलाई पनि भनिएको होइन। अहिंसा, दया, माया, करुणा जस्ता जे-जति सद्‌गुणहरू छन्, तिनको अनुसरण गरियो भने त्यस विपरीतका अवगुणहरूबाट जीवन बर्बाद हुँदैन भन्ने मूलभूत सिध्दान्त नै धर्मको वास्तविक स्वरूप हो।हामीले धर्मलाई यस रूपमा कति आत्मसात् गर्न सकेका छौँ ? धर्मको नाउँमा हुने अनेक किसिमका विकृति र विसङ्गति कसरी धर्मसँग जोडिन गयो…? त्यो दुख:द छ।

धर्मलाई त्यसबाट माथि उठाउन सकियो भने बल्ल धर्मको नाममा विश्वमा अशान्ति, हत्या, मारकाट हुने छैन। यो जटिल तर नगरी नहुने, नसोची नहुने विषय छ। यो कुनै एक जनाको वा कुनै एक देशको समस्या होइन, म त भन्छु विश्वकै लागि चुनौती बनेको छ सबैको अथक प्रयासको शुरूवात यसतर्फ जतिसक्दो चाँडो भयो, त्यत्ति नै विनासबाट विश्वलाई जोगाउन सकिने हुन्छ। यसका लागि घरबार त्यागेका साधु, सन्त, महात्माको आवश्यकता पर्छ भनेर छोडिदियौँ भने कहिल्यै पनि न व्यक्ति, न परिवार, न समाज, न राष्ट्र , न विश्व कसैलाई पनि विकृतिमुक्त तुल्याउन सक्ने छैनौँ।

वाह्य आभूषण, जटा, तिलक, गेरुवावस्त्र वा व्रत, उपासनाले कोही साधु हुने होइन। यसको लागि घर- परिवार छोड्नुपर्छ वा घर-परिवार बाधक छ होइन, त्यसलाई कसरी साधक बनाउन सकिन्छ? त्यसप्रति निष्ठावान् हुने हो भने असल व्यक्तिहरू घर-घरमा हुने छन्, वस्ती वस्तीमा हुने छन्। सम्झौँ त्यस्तो अवस्था आएको घडी कस्तो होला! कति सुखपूर्ण, शान्तिपूर्ण र आनन्ददायक हुन्छ होला!

जुन दिन मानिसमा सत्यको प्रतीति हुन्छ त्यसै दिनदेखि नै ऊ सन्त बन्न पुग्छ, महात्मा बन्न पुग्छ। वाह्य आवरण जस्तो होस् त्यसको के अर्थ ? मानिसले गल्ती गरिरहेको छ कि उसले त्यही वाह्य आवरणलाई पर्खेर धेरै समयदेखि प्रतीक्षारत् रह्यो। बाहिरतिर खोजेर बस्यो आफूलाई हेर्नेतर्फ कहिल्यै ध्यानै दिएन। सबैभन्दा ठूलो भूल यहीँनिर भयो र यो भूल अहिलेको होइन युगौँयुगदेखिको महाभूल हो। अब हामी त्यसबाट बाहिर उत्रिन सक्नुपर्छ। तयार अरू होइन आफै हुनु जरुरी छ।

सन्तत्व रूपान्तरणको परिप्राप्ति हो। सन्तत्व द्रष्टाको अनुभूति हो। सन्त, साधु, महात्मा, धर्मात्मा शब्दमा त्यत्तिविधि भिन्नता छैन। सबै सम्बोधनहरूले महान् आत्मा, महान् विचार, महान् कर्म गर्नेहरूलाई बुझाउनु पर्ने हो। तर त्यसो भइरहेको छैन कतिपय अर्थमा उनीहरूको कर्मको कारण अधिकारत्व स्वत: प्रभावित भएको हुन्छ। सुपात्रता बनी सकेको हुन्छ। त्यस्ता अधिकारी व्यक्तिहरूको आचरण र कर्म गराइबाट समाजमा धेरै परिवर्तनहरू देखिन थाल्छ। विश्वलाई उनीहरू धेरै देन दिन समर्थ हुन्छन्; यदि मानिसले यस्ता व्यक्तिहरूको बिचार, धारणा र चिन्तनलाई बुझे भने। त्यति मात्र होइन उनीहरूले जीवनमा जितैजित प्राप्त गर्न सक्ने छन्। यस्तो पनि सम्भव छ भन्ने नलाग्ने होइन हारैहारबाट वाक्कव्याक्क भएकाहरूको जमातमा। तर हारमा पनि जितको अनुभूति हुने गजबको ज्ञान पाइन्छ यस मार्गको अनुगामी भएपछि। यहीँ त छ अध्यात्म ज्ञानको चमत्कार!
-डा.गोविन्द टण्डन

Related posts

जीवन वरदान बनाउने कि अभिशाप ?

Khoj Sanchar

आत्मव्यवस्थापन जरुरी छ

Khoj Sanchar

आफै शत्रु आफै मित्र

Khoj Sanchar